शब्दयात्रा प्रकाशनले काभ्रेमा क्रियाशील दुईजना पत्रकारलाई हरेक वर्षको भदौ महिनामा प्रदान गर्ने गरेको कदरपत्रमध्ये २०७३ सालका लागि ‘काभ्रे टाइम्स साप्ताहिक’ का कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने र ‘कान्तिपुर’ दैनिकका काभ्रे संवाददाता नगेन्द्र अधिकारीलाई प्रदान गर्ने भएको छ ।
पत्रकारद्वय रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई उहाँहरूले शब्दयात्रा प्रकाशनका लागि आ–आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानको कदरस्वरूप कदरपत्र प्रदान गर्न लागिएको हो ।
दुवैजनाको कदरसम्बन्धी आर्थिक व्यवस्थापन शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानबाट हुने गरेको छ ।
शब्दयात्रा प्रकाशनको स्थापना भएको पाँचौँ वार्षिक दिवसको अवसर पारी आगामी भदौ महिनाको दोस्रो साता बनेपामा आयोजना गरिने विशेष समारोहमा उहाँहरूलाई कदरपत्र प्रदान गरिनेछ ।
शब्दयात्रा प्रकाशनले यसअघि प्रदीप के. सी, रामकृष्ण चापागाईं, विष्णुप्रसाद चौलागाईं, रमा दाहाल, नवराज बजगाईं र युवराज पाण्डेलाई कदरपत्र प्रदान गरिसकेको छ ।
शब्दयात्रा कदरपत्र रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई
शब्दयात्राबाट समवेदना
शब्दयात्रा प्रकाशनबाट २०७० साल माघमा हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नामक अभिनन्दनग्रन्थका नायक तथा यस संस्थाका शुभेच्छुक अग्रज पत्रकार डिल्लीराम निर्भीकको निधनप्रति शोकाकुल बन्दै उहाँको आत्मशान्तिको कामना गरेको छ र उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
डिल्लीराम निर्भीक १९९५ साल माघ २ गते इलाममा जन्मनुभएको थियो भने उहाँको निधन २०७३ साल साउन १९ गते काठमाडौँमा भएको थियो ।
शब्दयात्राबाट प्राविधिज्ञ आह्वान
शब्दयात्राबाट प्राविधिज्ञ आह्वान
मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा स्थापना भई राष्ट्रिय स्तरका विभिन्न वाङ्मयिक गतिविधिहरू सञ्चालन गरिरहेको शब्दयात्रा प्रकाशनलाई सूचना–प्रविधिसम्बन्धी सेवा प्रदान गर्न सक्ने एकजना दक्ष प्राविधिज्ञको सेवा आवश्यक भएकाले त्यसका लागि शब्दयात्रा प्रकाशनले एक सूचना प्रकाशित गरेको छ ।
(क) सेवा: सूचना–प्रविधिसम्बन्धी सेवा
(ख) कामको प्रकृति: शब्दयात्रा प्रकाशनका गतिविधिहरू, यस संस्थाद्वारा प्रकाशित पुस्तक–पत्रिकाहरू, यस संस्थासँग सम्बन्धित विभिन्न विधाका प्रतिभाहरूको विज्ञता र सिर्जनाहरू कम्प्युटरमार्फत विद्युतीय माध्यमको प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना–सन्जालसँग आबद्ध गराउने
(ग) खोजिएको दक्षता: सम्बन्धित विधामा स्नातक तह उत्तीर्ण गरी वेभ डिजाइन, वर्ड प्रेस, लेखनकला, नेपाली र अङ्ग्रेजी भाषा तथा अक्षराङ्कनमा दक्ष
(घ) खोजिएको व्यक्तित्व: स्वप्नद्रष्टा, प्रयोगशील, ऊर्जावान् तथा सकारात्मक सोच र आत्मविश्वासले भरिपूर्ण युवा
(ङ) सेवा–सुविधा: द्विपक्षीय समझदारीका आधारमा गरिने करारअनुसार
(च) कार्यावधि: न्यूनतम एक वर्षसम्म, त्यसपछि कार्यसम्पादनका आधारमा थप गर्न सकिने
(छ) चयन–प्रक्रिया: प्रयोगात्मक र अन्तर्वार्ता
(ज) आवश्यक सामग्री: नागरिकता, शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रका प्रतिलिपिहरू, व्यक्तिगत विवरण र तस्बिरका साथमा निवेदन
इच्छुक युवाहरूलाई २०७३ साल साउन मसान्तभित्र निवेदन दिन आग्रह गरिएको छ र चयन–प्रक्रियामा सामेल हुन फोन गरेर बोलाइने जानकारी पनि गराइएको छ ।
शब्दयात्राको साधारण सभा भदौ १४ गते
शब्दयात्रा प्रकाशनको साधारणसभा आगामी भदौ १४ गते मङ्गलबार बिहान १० बजे प्रकाशनको आफ्नै सभाकक्षमा बस्ने भएको छ ।
शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्माका अनुसार सभामा विभिन्न विषयहरू छलफल गरी अनुमोदन गरिनेछन् र पारित गर्नका लागि चारवटा प्रस्तावहरू प्रस्तुत हुनेछन् ।
शब्दयात्राबाट उपन्यास छापिँदै
शब्दयात्रा प्रकाशनले टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उपन्यास ‘भग्नावशेष’ प्रकाशन गर्ने भएको छ । यसअघि उनका दुई पुस्तक ‘हराएको भाले’ (कथासङ्ग्रह) २०७१ सालमा र ‘मिहिनेतको रमझम’ (निबन्धसङ्ग्रह) २०७२ सालमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका थिए ।
शब्दयात्रा लेखक समाजसँग आबद्ध टेकलाल भारती ‘आदर्श’ को यो उपन्यास उनको चौथो पुस्तक हो । उनको पहिलो पुस्तक ‘धर्तीमाताको आँसु’ (कवितासङ्ग्रह) २०७० सालमा प्रकाशित भएको थियो ।
‘गणेशदास’ को दोस्रो संस्करण
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ६६ औँ प्रकाशनपुष्प ‘गणेशदास’ को दोस्रो संस्करण गर्न थालिएको छ । शब्दयात्रा पत्रकार समाजसँग आबद्ध सञ्चारकर्मी शिव बन्जाराको सम्पादन रहेको उक्त पुस्तकलाई गत साउन ५ गते सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको एक हप्ताभित्रमै उक्त पुस्तक सकिएको र पुस्तकको मागचाहिँ बढिरहेको हुनाले दोस्रो संस्करण गर्नुपरेको हो ।
प्रपन्नाचार्य अङ्क सार्वजनिक
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सेवा नेपाल’ को ‘डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क’ गत साउन ११ गते सार्वजनिक गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवले उक्त अङ्कलाई सार्वजनिक गरेका थिए ।
उक्त अवसरमा हरेक दुई वर्षमा प्रदान गरिने ५१ हजार रुपियाँसहितको ‘सेवा पुरस्कार नेपाल’ थाई नेपाली सेवासङ्घलाई र डा. लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम चरित्र–निर्माण पुरस्कार’ हिन्दू विद्यापीठ नेपालका छात्र निशान ओलीलाई प्रदान गरिएको थियो ।
गुठीका अध्यक्ष डा. सत्यमोहन जोशीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रा. डा. सुरेन्द्र के. सी., डा. चिन्तामणि योगी, सम्पादक हरि मञ्जुश्री र पुरस्कृत संस्थाका उपाध्यक्ष कुमार कार्कीले मन्तव्य व्यक्त गरेका थिए । स्वागत भाषण किरण थापा र कार्यक्रम सञ्चालन सन्ध्या पहाडीले गरेको उक्त समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट सुमन खड्का, सकुल थापा, रमेश पौड्याल, त्रिरत्न रन्जितकार, कविप्रसाद प्याकु¥याल र डा. विष्णु सापकोटा सहभागी भएका थिए ।
शब्दयात्राबाट हृदयतः शब्दश्रद्धा
शब्दयात्रा प्रकाशनका सहृदयी मित्र अधिवक्ता तथा पत्रकार हरिप्रसाद ढुङ्गेलका पिता, शैक्षिक–सामाजिक सम्बल एवं शब्दाक्षरका साधक भीमप्रसाद ढुङ्गेल (इहलोकागमन १९९४ साल भदौ ९ गते) ले ७९ वर्षको उमेरमा दृश्यमान् स्वरूपको भौतिक विसर्जन (परलोकप्रस्थान २०७३ साल साउन १ गते) गर्नुभएकोमा त्यसबाट व्यथित बनेर यस संस्थाका सदस्यहरूले उहाँलाई सहस्र अश्रुजलबाट मानसिक तर्पण दिएका छन् । उहाँका शोकापन्न पारिवारिक सम्बन्धीहरूसमान सहवेदना अनुभूत गरिरहेका यस संस्थाका सदस्यहरूले उहाँको अदृष्ट स्वरूप ब्रह्मलीन होस् भन्ने कामनाका साथ उहाँले गर्नुभएको योगदानप्रति हृदयतः भावपूर्ण शब्दश्रद्धा समर्पण गरेका छन् ।
चयन समिति गठन
शब्दयात्रा प्रकाशनबाट आगामी भदौ महिनामा समर्पण गरिने चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गरिदिन चार सदस्यीय चयन समिति निर्माण गरिएको छ ।
समितिमा एकुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
सम्मानका लागि सिफारिस प्राप्त भएका नाउँहरूमध्ये उहाँहरूबाट उपयुक्त ठानी चयन गरिएका व्यक्ति र संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।
पुस्तक सार्वजनिकीकरण, वृत्तचित्र प्रदर्शन र सम्मान एकैपटक
शब्दयात्रा प्रकाशनको आयोजनामा गत साउन ५ गते बुधबार ‘गणेशदास’ पुस्तकको सार्वजनिकीकरण, ‘जीवनको भोगाइमा गणेशदास उलक’ वृत्तचित्रको प्रदर्शन तथा समाजसेवी गणेशदास उलकको सम्मान कार्यक्रम सम्पन्न भयो । बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र प्रमुख आतिथ्य साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालले गर्नुभएको थियो ।
संस्कृतिविद् ज्ञानकाजी मानन्धरले गणेशदास उलकबारे परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सञ्चालन ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा शिव बन्जाराद्वारा सम्पादित ‘गणेशदास’ कृतिलाई साहित्यिक पत्रकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर र समाजसेवी चन्द्रबहादुर खड्काबाट तथा ‘जीवनको भोगाइमा गणेशदास उलक’ वृत्तचित्रको सार्वजनिकीकरण अग्रज कलाकार तथा साहित्यकार पङ्कज चित्रकार र समाजसेवी तथा शिक्षासेवी रामप्रसाद अधिकारीबाट गरिएको थियो ।
कार्यक्रममा कृतिनायक गणेशदास उलकलाई शब्दयात्रा प्रकाशनका तर्फबाट ७७ औँ जन्मदिवसको अवसरमा सम्मान पनि गरियो । सम्मान गर्ने क्रममा सार्वजनिक गरिएको पुस्तक शिव बन्जाराले, ‘नेपालभूमि साप्ताहिक’ को एक वर्षको सङ्कलन चन्द्रबहादुर खड्काले, उपहार नैमिषारण्य गुरुकुलका गुरु राजन नेपालले र सम्मानपत्र मोहन दुवालले प्रदान गर्नुभयो भने किरीट हरि मञ्जुश्रीले लगाइदिनुभयो । कृतिनायककी अर्धाङ्गिनीलाई शब्दयात्रा प्रकाशनका तर्फबाट सकुल थापाले उपहार प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा गणेशदास उलकका बारेमा तयार पारिएको वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।