समुन्नत धुलिखेलका स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालक बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस गत २०७३ साल असार १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनबाट सार्वजनिक समारोहको आयोजना गरी मनाइयो ।
धुलिखेलमा अवस्थित होटल हिमालयन होराइजनको सभाकक्षमा विशेष समारोहको आयोजना गरी मनाइएको सो समारोहमा शब्दयात्रा प्रकाशनका सहयात्री संस्थाहरूका रूपमा सुभाष स्मृति प्रतिष्ठान, सामाजिक जागरण मञ्च, पूर्वप्रहरी कर्मचारी परिषद् र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्र रहेका थिए ।
उक्त कार्यक्रममा काभ्रे जिल्लामा पहिलोपटक समाजसेवी व्यक्तिको प्रतिमा जीवित अवस्थामा नै बनाई सम्बन्धित व्यक्ति र परिवारको उपस्थितिमा स्थापना गरेर अनावरण गराइयो । यस्तो कार्यबाट समुदायको हितमा समर्पित रहन सबैलाई प्रेरणा मिल्ने अपेक्षा राखिएको थियो ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सभापतिका रूपमा कार्यक्रमबारे जानकारी गराइएको उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक सुमन खड्काले गर्नुभएको थियो । समारोहमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. नरेन्द्रबहादुर राणा, स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिन डा. रमेशकुमार मास्के र डा. बिमप्रसाद श्रेष्ठ, काभ्रे जिल्ला अदालतका न्यायाधीश लेखनाथ ढकाल, धुलिखेल, पनौती, पाँचखाल र काशीखण्ड नगरपालिकाका कार्यकारी प्रमुखहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू र समाजसेवीहरूको उपस्थिति थियो ।
समारोहमा बेलप्रसाद श्रेष्ठलाई जन्मदिनको उपहारस्वरूप शब्दयात्रा प्रकाशनद्वारा निर्माण गराइएको उहाँकै प्रतिमा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, सामाजिक जागरण मञ्चका अध्यक्ष ईश्वर शर्मा, पूर्वप्रहरी कर्मचारी परिषद्का अध्यक्ष जगन्नाथ गिरी र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्रका सञ्चालक प्रकाशबहादुर कायस्थले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो भने उपहारपत्र र तस्बिर प्रमुख अतिथिले प्रदान गर्नुभएको थियो । कवि श्रीधर प्याकु¥यालद्वारा लिखित कवितासमेत वाचन गरिएको उक्त समारोहमा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट बेलप्रसाद श्रेष्ठमा जन्मदिनको शुभकामना र उपहार प्रदान गरिएको थियो ।
बेलप्रसाद श्रेष्ठको प्रतिमा राख्ने स्थल उपलब्ध गराइदिएकोमा होटल हिमालयन होराइजनका लागि किरण श्रेष्ठलाई आभारपत्र प्रदान गरिएको सो समारोहमा प्रमुख अतिथिबाट बेलप्रसाद श्रेष्ठको प्रतिमा तथा शिलापत्रको अनावरण पनि गरिएको थियो । रामचन्द्र हुमागाईंले प्रमुख अतिथिमा शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । समारोहको व्यवस्थापन सकुल थापा, शारदाप्रसाद शर्मा, कविराज ढकाल र दीपक तिमल्सिनाले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको विशेषताका रूपमा काभ्रे जिल्लामा पहिलोपटक समाजसेवीको सम्मानस्वरूप प्रतिमा निर्माण गराइएको, जीवित व्यक्तिको प्रतिमा राखिएको, सम्बन्धित व्यक्ति र परिवारको समुपस्थितिमा प्रतिमा र शिलापत्रलाई अनावरण गरिएको तथा प्रतिमा स्थापना गर्न होटलले स्थल उपलब्ध गराइदिएको कुरामा विशेष चर्चा भएको थियो ।