शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा नियमित रूपमा प्रकाशा भइरहेको ‘प्रलेखनभूमि’ स्तम्भका स्तम्भकार तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायलाई अन्तर्राष्ट्रिय योगदिवसको अवसर पारी आयोजित पञ्चदिवसीय योगमहोत्सवमा सम्मान गरियो । उहाँका साथमा राष्ट्रविकासमा योगदान पु¥याउने अन्य विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।
गत असार ७ गते पाशुपत क्षेत्रमा आनन्दमार्ग प्रचारक सङ्घ नेपाल, पशुपतिनाथ सेवक सङ्घ, लायन्स–लियो क्लब अफ नेपाल र नेपाल योग एकेडेमीबाट संयुक्त रूपमा आयोजना गरिएको उक्त समारोहमा आध्यात्मिक लेखक श्री उपाध्यायले योगदर्शन र त्यसको व्यावहारिक प्रयोगका विषयमा प्रवचन गर्नुभएको थियो ।
श्री उपाध्यायद्वारा लिखित आध्यात्मिक पुस्तक शब्दयात्रा प्रकाशनबाट पनि प्रकाशन गरिएका छन् । उहाँ ‘चिरन्तन चिन्तन’ कृतिका लागि ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट पनि सम्मानित हुनुभएको थियो ।
योगदिवसमा सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन तथा नेपालभूमि साप्ताहिक परिवार मुकुन्दप्रसाद उपाध्यायमा हार्दिक बधाई ज्ञापन गर्दछ ।
मुकुन्दप्रसाद उपाध्याय सम्मानित
शब्दयात्राको प्रबन्धक शर्मा
शब्दयात्रा प्रकाशनले कवि शारदाप्रसाद शर्मालाई प्रबन्धक बनाएर उहाँलाई शब्दयात्रा प्रकाशनको प्रशासनिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । उहाँको जिम्मेवारी शब्दयात्रा समाजहरूसँग पनि सम्बन्धित रहने भएको छ ।
शारदाप्रसाद शर्माले साहित्य, प्राध्यापन, प्रशासन र लेखापरीक्षण विधामा लामो समय बिताउनुभएको छ ।
शब्दयात्रा प्रकाशनअन्तर्गत नेपालभूमि साप्ताहिक र अक्षरधाम साहित्यिक प्रकाशन, शब्दसञ्चार पाक्षिक प्रसारण, पुस्तक प्रकाशन, विविध कार्यक्रम सञ्चालन, अक्षरसेवी सहयोग कोष सञ्चालन, सम्मान समर्पण आदि विभिन्न कार्यक्रमहरू नियमित रूपमा भइरहेका छन् ।
शब्दयात्रा प्रकाशनको प्रबन्धक बन्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ ।
शब्दयात्रा नवीन कार्यक्रममा
शब्दयात्रा प्रकाशनको अगुवाइमा आगामी असार १७ गते शुक्रबार धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस सार्वजनिक रूपमा मनाइने भएको छ । कार्यक्रमका सहयात्री संस्थाहरूका रूपमा सुभाष स्मृति प्रतिष्ठान, सामाजिक जागरण मञ्च, पूर्वप्रहरी कर्मचारी परिषद् र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्र रहनेछन् ।
होटल हिमालयन होराइजनमा हुने उक्त कार्यक्रमलाई काभ्रे जिल्लाको इतिहासमै नवीन इतिहासको गोरेटो निर्माण गर्ने खालको बनाउन लागिएको छ । शब्दयात्रा प्रकाशनले बेलप्रसाद श्रेष्ठका विषयमा पुस्तकहरू प्रकाशन गर्नुका साथै उहाँलाई यसअघि ‘हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ द्वारा सम्मानित पनि गरिसकेको थियो ।
शब्दयात्राबाट ‘पानी मनकी रानी’
नयाँ कृतिकारहरूलाई उत्प्रेरित र प्रोत्साहित गर्ने क्रममा शब्दयात्रा प्रकाशनले अर्को एउटा कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । काभ्रे जिल्लाबाट महिला कृतिकारहरू पर्याप्त मात्रामा प्रकाशनमा आउन नसकेको परिप्रेक्ष्यमा प्रकाशन हुन लागेको उक्त कवितासङ्ग्रहले काभ्रेली भूमिमा लुकेका महिला साहित्यिक प्रतिभाहरू वैचारिक र शैलीगत रूपमा कति सशक्त छन् भन्ने देखाउनेछ ।
प्रकाशोन्मुख कवितासङ्ग्रहको नाउँ ‘पानी मनकी रानी’ राखिएको छ । ‘पानी मनकी रानी’ नवप्रतिभा कवयित्री सरस्वती शर्मा सुवेदीको पहिलो कवितासङ्ग्रह हो । कवयित्री सुवेदी शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।
शब्दयात्राबाट पर्रोहामा पुस्तक
काभ्रे बनेपाको गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका बाबा रमेश गिरीका विषयमा प्रकाशन गर्न लागिएको पुस्तकका लागि सामग्रीहरूको सङ्कलन गर्ने सिलसिलामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री रूपन्देही जिल्लामा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा पुग्नुभयो । त्यहाँ उहाँले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का, दामोदर अर्याल, यागेन्द्र केशव र मुक्ति शर्माका आध्यात्मिक पुस्तकहरू उपलब्ध गराउनुभएको थियो ।
पर्रोहा परमेश्वर बोलबम धामको निर्माण गर्न रमेश गिरी बाबाले २०३६ सालमा सुरु गर्नुभएको थियो ।
शब्दयात्राबाट नेपालभूमि प्रदान
शब्दयात्रा प्रकाशनले नेपाल पत्रकार महासङ्घ पाल्पालाई ‘नेपालभूमि साप्ताहिक’ का वार्षिक अङ्कहरू उपहारस्वरूप प्रदान गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पाल्पाको भ्रमणका क्रममा पाल्पाली पत्रकार कविराज नेपालमार्फत वार्षिक अङ्कहरू प्रदान गर्नुभएको थियो ।
पाल्पामा पुरोहितको अभाव
पाल्पा जिल्लाको सदरमुकाम तानसेन र त्यसनजिकैका स्थानहरूमा पुरोहितहरूको अभाव रहेको गुनासो आएको छ । निजी कामका सिलसिलामा पाल्पा पुग्नुभएका शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले काभ्रेको बनेपामा स्थापित गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति र त्यस समितिद्वारा सञ्चालित नैमिषारण्य गुरुकुलम्का विषयमा त्यहाँको स्थानीय समुदायमा चर्चा चलाएपछि त्यो गुनासो आएको हो । बजारक्षेत्रको तुलनामा गाउँघरमा चाहिँ अझै पुरोहितको अभाव भइनसकेको कुरा पनि सुनियो ।
संस्कृत विद्यालयको अभाव हुनु, संस्कृत भाषाको अध्ययन नहुनु, संस्कृत भाषा सिकाउने गुरुवर्ग थोरै हुनु, कर्मकाण्डप्रति नयाँ पुस्ताको रुचि कम हुनु पुरोहितहरूको अभाव हुनुका मुख्य कारणहरू हुन् भन्ने भनाइ स्थानीय बासिन्दाबाट सुनियो । नेपाललाई धर्मनिरपेक्ष बनाइदिएपछि भने आफ्नो मौलिक चिनारी नै खतम हुने भयो भनेर नयाँ पुस्ता संस्कृत भाषा र कर्मकाण्डप्रति जुर्मुराउन थालेको कुरा पनि विद्वत्वर्गबाट थाहा पाइयो ।
शब्दयात्राबाट अङ्ग्रेजी उपन्यास आउँदै
शब्दयात्रा प्रकाशनले ‘द ट्य्राजेडिक स्टोरी’ नामक लघु उपन्यास प्रकाशन गर्ने भएको छ । उपन्यासकार भरतराज महतद्वारा लिखित नेपाली उपन्यास ‘कथा वियोगको’ लाई अङ्ग्रेजी भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशन गर्न लागिएको हो ।
भरतराज महत शब्दयात्रा लेखक समाजको कार्यसमितिका सदस्य हुनुहुन्छ । उहाँको उपन्यास ‘कथा वियोगको’ लाई डा. भास्कर हुमागाईंले अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको हो । डा. हुमागाईंले यसअघि बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘म र मेरो धुलिखेल’ पुस्तकको अनुवाद पनि गरिसक्नुभएको छ ।
यस्तो भयो शब्दयात्रा प्रकाशनको विशेष कार्यक्रम
शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रमअन्तर्गत गत जेठ ११ गते मङ्गलबार सम्मान समर्पण समारोह तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । बनेपाको केएन ब्यान्क्वेटमा दिउँसो २ः३० बजे सुरु भएको उक्त कार्यक्रम ४ः३० बजे समापन भएको थियो । कार्यक्रमको सिलसिलेवार विवरण यहाँ प्रस्तुत गरिएको छ ।
कार्यक्रमको सञ्चालन गर्नका लागि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री सर्वप्रथम मञ्चमा पुग्नुभयो । उहाँले ब्याच अर्पण गर्न गीता अधिकारी र सरस्वती शर्मा सुवेदीलाई, माला अर्पण गर्न मोहनविनोद बजगाईं र जगन्नाथ गिरीलाई तथा निर्धारित आसन चिनाउन नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्कालाई आगह गर्नुभयो । त्यसपछि आसनग्रहणको क्रम अगाडि बढ्यो ।
मञ्चको अगाडिपट्टिको सोफामा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापा, सम्मानित व्यक्तित्वहरू गजलकार डा. कृष्णजङ्ग राणा, पूर्वप्रशासक तथा साहित्यकार शुभलक्ष्मी श्रेष्ठ र नियात्राकार पोष चापागाईं, अतिथि डा. गार्गी शर्मा तथा सभापतिका रूपमा बाबा विश्वनाथ बस्नुभयो । सम्मानित व्यक्तित्व अग्रज पत्रकार नकुल काजी शारीरिक अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व गर्दै उहाँका भतिज उत्तम पाण्डे समारोहमा उपस्थित हुनुहुन्थ्यो । पछाडिपट्टिको कुर्सीमा चाहिँ त्यस दिन सार्वजनिक हुने कृतिका कृतिकारहरू शिवभक्त शर्मा, श्रीधर प्याकु¥याल, केदारनाथ तिमल्सिना, रोजनाथ लुइँटेल र अनुवादक डा. हेमराज काफ्ले तथा सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू कृष्णप्यारी नकर्मी र पदमनाथ ढुङ्गाना बस्नुभएको थियो । यथास्थानमा आसनग्रहण गर्नका लागि मुकुन्दप्रसाद उपाध्याय, नारायणभक्त अधिकारी, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, श्री शर्मा मूर्ख, बिकु लामा, नगेन्द्र अधिकारी, पुण्यवती घले, पीताम्बर अधिकारी, श्याम अधिकारी, दण्डपाणि अधिकारी, रुक्मिणी सिग्देल, रमेश पौड्याल आदि धेरैजनालाई अनुरोध गरिएको थियो ।
त्यसपछि गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका उपाध्यक्ष कृष्णमणि कुइँकेलको संयोजनमा नैमिषारण्य गुरुकुलम्का पाँचजना वटुकहरूबाट स्वस्तिवाचन गरियो । वटुकहरूलाई सुभाष स्मृति प्र्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले त्यस संस्थाबाट प्रकाशित ‘कल्पवृक्ष’ नामक नीतिकथासङ्ग्रह प्रदान गर्नुभयो । त्यसपछि प्रमुख अतिथिबाट पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरियो । त्यस बखत मङ्गलधुन बजाइएको थियो ।
समारोहमा स्वागत मन्तव्य शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य हरिगोपाल प्रधानले प्रस्तुत गर्नुभयो भने अक्षरधाम साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक सकुल थापाको संयोजनमा संस्थागत गान पनि प्रस्तुत गरियो । कार्यक्रम प्रारम्भ गर्न सभापतिका रूपबाट बाबा विश्वनाथले अनुमति दिएपछि सुमन खड्का र सकुल थापाको प्रबन्धनमा रङ्गीन थैलीभित्र राखिएका पुस्तकहरू झिकेर डा. भोला थापाले ‘प्रशासनिक दाउपेच’ (नियात्रासङ्ग्रह) लाई र डा. गार्गी शर्माले ‘नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल’ लाई सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूबारे कान्तिपुर दैनिकमा संलग्न युवा पत्रकार नगेन्द्र अधिकारीले प्रतिक्रिया व्यक्त गर्नुभयो । त्यसपछि ‘प्रशासनिक दाउपेच’ पुस्तक सुमन खड्का, सकुल थापा र जगन्नाथ गिरीले उपस्थित सबैमा निःशुल्क उपलब्ध गराउनुभयो ।
अनि सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी गराउन चयन समितिका सदस्य पदमनाथ ढुङ्गाना उपस्थित हुनुभयो । उहाँको भनाइ सकिएपछि सम्मान व्यवस्थापकहरूका तर्फबाट गीता अधिकारी, रुक्मिणी सिग्देल, श्याम अधिकारी र रमेश पौड्याललाई बोलाइयो । सम्मान सामग्रीको व्यवस्थापन सुमन खड्का र सकुल थापाबाट भयो । हरेक अभिवन्दनापत्र पढ्दै सम्मान गर्ने क्रम चलाइयो । डा. कृष्णजङ्ग राणालाई राष्ट्रिय गजल सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक रुक्मिणी सिग्देलले रकम, पदमनाथ ढुङ्गानाले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, नकुल काजीलाई नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गर्दा उहाँका भतिज उत्तम पाण्डेलाई सम्मान व्यवस्थापक गीता मञ्जुश्रीका तर्फबाट श्याम अधिकारीले रकम, पदमनाथ ढुङ्गानाले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, शुभलक्ष्मी श्रेष्ठलाई प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट गीता अधिकारीले रकम, कृष्णप्यारी नकर्मीले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, पोष चापागाईंलाई शब्दयात्रा सिर्जना सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक कल्याण लम्सालका तर्फबाट रमेश पौड्यालले रकम, कृष्णप्यारी नकर्मीले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभयो ।
यसपछि नकुल काजीले पठाउनुभएको आशीर्वचन पढेर सुनाइयो भने शुभलक्ष्मी श्रेष्ठ, डा. कृष्णजङ्ग राणा र पोष चापागाईंले आशीर्वचन दिनुभयो भने चयन समितिका मित्रहरूलाई रोशन मञ्जुश्रीले उपहार समर्पण गर्नुभयो । अनि बाँकी तीनवटा पुस्तकको सार्वजनिकीकरण गरियो । ‘सत्यनारायण व्रतकथा’ पोष चापागाईंले, ‘भावनाका भुल्का’ डा. कृष्णजङ्ग राणाले र ‘सबैतिर कम्पनको चोट’ शुभलक्ष्मी श्रेष्ठले सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूबारे रामप्रसाद अधिकारीले परिचयात्मक टिप्पणी गर्नुभयो । अनि कृतिकारका तर्फबाट शिवभक्त शर्माले मन्तव्य व्यक्त गर्नुभयो ।
समारोहमा संस्थागत केही जानकारी बिकु लामाले दिएपछि शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमा स्वस्तिवाचन गर्ने व्यवस्था मिलाइदिएकोमा नैमिषारण्य गुरुकुलम्लाई कृतज्ञतापत्र समर्पण गरियो । कृतज्ञतापत्र डा. गार्गी शर्माबाट कृष्णमणि कुइँकेलमा अर्पण गरियो । त्यसपछि पुण्यवती घलेले केही जानकारी गराउनुभयो र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट भरतराज महतले उपहार समर्पण गर्नुभयो । अनि प्रमुख अतिथिले मन्तव्य व्यक्त गर्नुभयो र कार्यक्रमका सञ्चालकले सभाविसर्जन गर्नुभयो । मञ्चमा उभिएर सामूहिक तस्बिर खिचिएपछि जलपान गरी उपस्थित महानुभावहरू त्यहाँबाट प्रस्थान गर्नुभएको थियो ।
समारोहमा उपस्थित महानुभावहरूलाई उपस्थिति पुस्तिकामा दस्तखत गराउने कामको जिम्मा दीपक तिमिल्सिनालाई दिइएको थियो । त्यस दिन प्रकाशित नेपालभूमि साप्ताहिक सबैमा वितरण गर्ने र अन्य काममा पनि सघाउने गर्दागर्दै कैयौँ महानुभावहरूको दस्तखत गराउन उनले भ्याउँदै भ्याएनन् । त्यसैले उपस्थिति पुस्तिकामा डेढ सयजतिको मात्रै हस्ताक्षर रह्यो, झन्डै पचासजनाजतिको उपस्थिति अभिलेखबद्ध गराउन सकिएन ।
जे होस्, कार्यक्रम भव्य रूपमा सञ्चालन भयो । कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
शब्दयात्राका लेखकहरू विश्वसन्जालमा जोडिँदै
शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनसँग सम्बन्धित लेखकहरूलाई विश्वको साहित्यिक सन्जालसँग जोड्ने अभियान चलाएको छ । त्यसका लागि हरेक लेखकको नाउँमा छुट्टाछुट्टै ब्लग बनाइदिन थालेको छ ।
शब्दयात्रा प्रकाशनले २०७२ साल फागुन महिनाको दोस्रो हप्तादेखि डब्लुडब्लुडब्लु डट एसवाईपब्लिकेसन डट कम डट एनपी नामक आफ्नै वेभसाइटको शुभारम्भ गरेको थियो । त्यही वेभसाइटबाट गत २०७३ साल जेठ ११ गतेदेखि शब्दयात्रा प्रकाशनसँग सम्बन्धित लेखकहरूको नाउँमा ब्लगको पनि आरम्भ गरिएको हो । त्यसै दिन सम्मान गरिएको ‘माटो’ पुस्तकका लेखक पोष चापागाईंको ब्लगबाट लेखकहरूको छुट्टाछुट्टै ब्लग बनाउन सुरु गरिएको हो । हरि मञ्जुश्रीको नाउँमा पनि ब्लग बनाइएको छ । शब्दयात्रा लेखक समाजका सदस्य बिकु लामाले उक्त जानकारी दिनुभएको हो ।
शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन भएका कृतिकारहरूले आफ्नो नाउँको छुट्टै ब्लगको आवश्यकता महसुस गरेको भए संस्थामा सम्पर्क राख्न शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ । शब्दयात्रा प्रकाशनमार्फत प्रकाशन भएका कृतिहरूलाई विश्वको साहित्यिक सन्जालसँग जोड्न यसबाट ठूलो सहयोग हुने कुरा शब्दयात्रा प्रकाशनले जनाएको छ ।