शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित विचारप्रधान राष्ट्रिय साप्ताहिक ‘नेपालभूमि’ का व्यवस्थापन प्रमुख कविराज ढकालले अबदेखि ‘नेपालभूमि’ मा आबद्ध नरहने जानकारी गराउनुभएको छ ।
‘नेपालभूमि’ साप्ताहिक परिवार कविराज ढकालले हालसम्म गर्नुभएको सशुल्क सेवाका लागि धन्यवाद व्यक्त गर्दछ ।
‘नेपालभूमि’ बाट कविराज अलग
शब्दयात्राको सम्पर्कस्थल कपनमा
शब्दयात्रा प्रकाशनले काठमाडौँको कपनमा सम्पर्कस्थल बनाएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको शब्दयात्रा प्रकाशनलाई अन्यत्र पनि विस्तार गर्दै जाने लक्ष्यअनुरूप काठमाडौँको कपनमा सम्पर्कस्थल बनाइएको हो ।
शब्दयात्रा प्रकाशनले कपन सम्पर्कस्थलको जिम्मा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य कविप्रसाद (श्रीधर) प्याकु¥याललाई दिएको छ ।
शब्दयात्राको परिसर कृष्णगीता परिसर
शब्दयात्रा प्रकाशनले बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको निकट रहेको आफ्नो जग्गाको परिसरलाई ‘कृष्णगीता परिसर’ नाम राख्ने निर्णय गरेको छ ।
उक्त जग्गा समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान गरी हक हस्तान्तरण गर्नुभएको हुँदा उहाँ र उहाँकी धर्मपत्नी भोजकुमारी (गीता) कुइँकेलको सम्मानस्वरूप उक्त परिसरको नाम ‘कृष्णगीता परिसर’ राख्ने निर्णय गरिएको हो ।
शब्दयात्राबाट दातालाई कृतज्ञता
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले शब्दयात्रा प्रकाशनलाई बनेपा नगरपालिका क्षेत्रभित्रको ३ आना जग्गा दान गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलप्रति कृतज्ञता व्यक्त गर्ने निर्णय गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
शब्दयात्रा प्रकाशनले जग्गा पायो
शब्दयात्रा प्रकाशनको सहयोगार्थ जग्गा दान गर्ने घोषणा गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलले घोषणाअनुसार नै आफ्नो नाउँको ३ आना जग्गा शब्दयात्रा प्रकाशनको नाउँमा दानपत्र गरी रजिस्ट्रेसन पास गरिदिनुभएको छ ।
गत भदौ २७ गते मालपोत कार्यालय काभ्रेमा गई उहाँले बनेपा नगरपालिका वडा नं. ११ नीलकण्ठेश्वर महादेव मन्दिरको निकट रहेको जग्गा पास गरिदिनुभएको हो ।
शब्दयात्रा प्रकाशनबाट गत भदौ १४ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सभापतिका रूपबाट कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई जग्गा दान गर्ने घोषणा गर्नुभएको थियो ।
शब्दयात्रा कलाकार समाज गठन
शब्दयात्रा प्रकाशनको आयोजनामा गत भदौ २८ गते बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न कलाकार भेलाले ‘शब्दयात्रा कलाकार समाज’ को गठन गर्ने निर्णय गरेको छ ।
नौ सदस्यीय उक्त शब्दयात्रा कलाकार समाजमा हरि कर्माचार्य संयोजक तथा शर्मिला श्रेष्ठ, मुकुन्द थापा, रामहरि न्यौपाने, भुवन रायमाझी, विनोद बन्जारा, रामशरण हुमागाई, गोकुल राउत र विशाल काल्तान सदस्य रहनुभएको छ ।
अग्रज कलाकर्मीहरू पङ्कज चित्रकार, मच्छेश्वर सापकोटा र भूषण भोमि श्रेष्ठको आतिथ्य, शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा गन्थसम्पादक हरि मञ्जुश्रीको सभापतित्व र गायक–सङ्गीतकार हरि कर्माचार्यको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य रामहरि न्यौपानेले र कार्यक्रम सञ्चालन भुवन रायमाझीले गर्नुभएको थियो ।
भेलामा कलाका विभिन्न विधामा सक्रिय रहेका झन्डै एक सय जनाजति काभ्रेली कलाकारहरूको सहभागिता रहेको थियो ।
उक्त भेलाले ‘राष्ट्रिय काभ्रेली कलाकार सङ्घ’ को पनि गठन गरी हरि कर्माचार्यको अध्यक्षतामा सङ्घको २५ सदस्यीय तदर्थ समितिसमेत बनाएको छ । सङ्घको संरक्षकमा हरिवंश आचार्यलाई र सल्लाहकारमा पङ्कज चित्रकार, भूषण भोमि श्रेष्ठ, मच्छेश्वर सापकोटा, सुरेश अधिकारी र चन्द्रकुमार दोङलाई चयन गरिएको छ ।
मञ्जुश्रीलाई मानार्थ सदस्यता
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, नेपाली काङ्ग्रेस काभ्रेका सभापति मधु आचार्य र समाजसेवी इन्द्रमणि अधिकारीलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले गत भदौ २५ गते शनिबार मानार्थ सदस्यता प्रदान गरेको छ ।
देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको साधारण सभाका लागि आयोजित समारोहमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले उहाँहरूलाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानले हरि मञ्जुश्री, मधु आचार्य, इन्द्रमणि अधिकारी, कविता सिटौला, सोमप्रसाद हुमागाईं, लक्ष्मण हुमागाईं र अच्युत पौडेल सम्मिलित सल्लाहकार समिति बनाएको छ भने सुनील सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको गठन पनि गरेको छ ।
शब्दयात्रा प्रकाशनबाट ‘हामी अब गर्छौं’ छापिने
शब्दयात्रा प्रकाशनले ७३ औँ प्रकाशनपुष्पका रूपमा ‘हामी अब गर्छौं’ नामक लघुकाव्य प्रकाशन गर्ने भएको छ । यस काव्यका काव्यकार गणेशबहादुर खत्री हुनुहुन्छ ।
यही भदौ महिनाको अन्तिममा ‘हामी अब गर्छौं’ लाई सार्वजनिक गरिने गरी कार्यक्रम तय भएको छ ।
‘हामी अब गर्छौं’ गणेशबहादुर खत्रीद्वारा लिखित कृतिहरूमध्ये शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित छैटौँ कृति हो भने कृतिकारको पन्ध्रौँ कृति हो ।
शब्दयात्रा प्रकाशनको साधारण सभा सम्पन्न
शब्दयात्रा प्रकाशनको साधारण सभा सम्पन्न भएको छ ।
सभाले विभिन्न प्रस्तावहरू पारित गर्नुका साथै वार्षिक कार्यक्रम तथा बजेट पनि स्वीकृत गरेको छ ।
शब्दयात्रा प्रकाशनको पाँचौं वार्षिक कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशनको पाँचौँ वार्षिक कार्यक्रमका रूपमा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । गत २०७३ भदौ १४ गते मङ्गलबार बनेपाको केएन ब्यान्क्वेटमा आयोजित उक्त समारोहमा साहित्यकार तथा सञ्चार–सचिव दिनेश थपलिया प्रमुख अतिथि हुनुहुन्थ्यो भने उहाँ उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व सूचना विभागका महानिर्देशक रघुराम विष्टले गर्नुभएको थियो । विशिष्ट अतिथिका रूपमा अग्रज साहित्यकार तथा समाजसेवी गणेशबहादुर खत्री र अतिथिका रूपमा प्रा. डा. नन्दीश अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहको प्रारम्भमा काभ्रे जिल्लाको एक मात्र संस्कृत गुरुकुल नैमिषारण्य संस्कृत गुरुकुलका वटुृकहरूले स्वस्तिवाचन गरेका थिए । वटुकहरूलाई तुतुकाजी प्रणामी श्रेष्ठले टीका लगाई दक्षिणा दिनुभएको थियो हरिभक्त भोछिभोयाले ‘सावित्री सुगीता’ पुस्तक उपहार दिनुभएको थियो । नैमिषारण्य गुरुकुललाई ‘नेपालभूमि साप्ताहिक’ का तर्फबाट संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईं र सम्पादक सुमन खड्काले आभारपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा ‘नेपालभूमि साप्ताहिक’ ले विशेषाङ्क प्रकाशन गरी वितरण गरेको थियो भने ‘डा. सुरेशराज शर्मा’ र ‘नेपाल कम्पन’ नामक दुई लघुकाव्य समारोहमा उपस्थित सबैलाई निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशन सदस्य हरिगोपाल प्रधानले स्वागत भाषण गर्नुभएको थियो भने अर्का सदस्य सकुल थापाले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिमा उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रमको समीक्षासहित सभाविसर्जन प्रा. डा. नन्दीश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमका विविध पक्षहरूमा मोहनविनोद बजगाईं, पदमनाथ ढुङ्गाना, सुदर्शन आचार्य, त्रिरत्न रन्जितकार, दीपक तिमल्सिना आदिले सहयोग गर्नुभएको थियो ।
समारोहमा प्रा. डा. सञ्जयनाथ खनाल, आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शिक्षासेवी रामप्रसाद अधिकारी आदिलगायत विभिन्न महानुभावहरूको उपस्थिति थियो ।
कार्यक्रमका विषयमा भोलिपल्ट बुधबार प्रसारण भएको शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ बाट पनि जानकारी गराइएको थियो ।