नेपाल रेडक्रस सोसाइटी काभ्रे सेतीदेवी उपशाखाको सभापति पदमा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले र खरिबोट उपशाखाको सभापति पदमा शब्दयात्रा पत्रकार समाजका सदस्य प्रदीप के. सी. निर्वाचित हुनुभएकोमा हार्दिक बधाई !
नारी स्रष्टाहरूलाई अनुरोध
भानुजयन्तीको सन्दर्भ पारी शब्दयात्रा नारी स्रष्टा समाजले आगामी असार ३० गते शुक्रबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा ‘भानुसाहित्यमा नारीको स्थान’ विषयक विमर्श कार्यक्रम र नारी स्रष्टाहरूको रचना वाचन गर्ने कार्यक्रम राखेको हुँदा आआफ्ना कवितासहित उपस्थितिका लागि नारी स्रष्टाहरूलाई अनुरोध छ ।
संयोजक पुण्यवती घले, तथा
शब्दयात्रा नारी स्रष्टा समाज परिवार
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
डा. स्वामी रामानन्द गिरिका बारेमा लेखेर पठाउनुहोस्
‘नेपालभूमि साप्ताहिक’ ले आगामी अङ्कलाई डा. स्वामी रामानन्द गिरि विशेषाङ्क बनाउने भएकाले उहाँका विषयमा आफ्ना लेख–संस्मरणहरू २०७४ असार मसान्तभित्र उपलब्ध गराइदिन अनुरोध छ ।
— नेपालभूमि साप्ताहिक
स्वामी रामानन्द गिरि ब्रह्मलीन
पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् डा. स्वामी रामानन्द गिरि ब्रह्मलीन हुनुभएको छ । केही दिनअघि उहाँलाई काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा गत असार २४ गते शनिबार अपराह्न ५ बजे उहाँ ब्रह्मलीन हुनुभएको हो । उहाँलाई उहाँको कर्मस्थल दवघाटमा समाधिस्थ गरियो ।
धादिङको केवलपुरमा २००५ साल जेठ १० गते रामप्रसाद सुवेदीका रूपमा जन्मनुभएका रामानन्द गिरिले तीनधारा पाकशालामा बसेर पढ्नुभएको थियो । त्यस बेला उहाँलाई गोपालनिधि तिवारीले वेदान्त पढाउनुभएको थियो । उहाँले २०३० सालमा त्रिभुवन विश्वविद्यालयबाट २०३० सालमा शाङ्करवेदान्त विषयमा आचार्य उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयबाटै २०४१ सालमा ‘राजर्षि जनकका विदेह सिद्धान्तहरूको समीक्षात्मक अध्ययन’ विषयमा विद्यावारिधि गर्नुभएको थियो ।
उहाँका संन्यासगुरु श्री १००८ स्वामी महेशानन्द गिरिजी महाराज हुनुहुन्थ्यो । विभिन्न शिक्षण संस्थाहरूमा अध्यापन गर्नुका साथै अद्वैत वेदान्तदर्शन एवं सनातन धर्म र संस्कृतिका विषयमा प्रवचन गर्ने गर्नुभएका उहाँ पाणिनि पुरस्कार, गुणराज पुरस्कार, डा. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार, राजर्षि जनक स्मृति सम्मान, पृथ्वीबहादुरसिंह कार्की–भक्तकुमारी पुरस्कार, भारती खरेल पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु, अन्य विविध सम्मान तथा पुरस्कारहरूद्वारा पुरस्कृत तथा सम्मानित हुनुहुन्थ्यो ।
जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ), माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या), रामगीता (नेपाली अनुवाद तथा व्याख्या), वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या), श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती (नेपाली अनुवाद एवं व्याख्या) उहाँका प्रकाशित पुस्तकहरू हुन् । उहाँले संन्यासगुरुको नामबाट तनहूँमा महेश संन्यास आश्रम र महेश संस्कृत गुरुकुलको स्थापना गर्नुभएको थियो । उहाँ कास्कीको अम्बरेश्वर संन्यास आश्रमका संस्थापक तथा काठमाडौँको शङ्कराचार्य मठका संरक्षक पनि हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको महेश संस्कृत गुरुकुललाई शब्दयात्रा प्रकाशनले शिक्षा सम्मानबाट सम्मानित गरेको थियो ।
शब्दयात्रा प्रकाशन डा. स्वामी रामानन्द गिरिप्रति हार्दिक अक्षरश्रद्धा अर्पण गर्दछ ।
‘शब्दसंवाद’ मा सरस्वती सापकोटा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बाइसौँ शृङ्खलामा लोकगायिका सरस्वती सापकोटा प्रमुख वक्ता बन्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो जीवनयात्राका विषयमा जानकारी गराउँदै केही लोकगीतहरू पनि प्रस्तुत गर्नुभयो । गायनमा उहाँलाई उहाँका पति लोकगायक मच्छेश्वर सापकोटाले साथ दिनुभएको थियो ।
गत २०७४ साल असार २३ गते शुक्रबार मच्छेश्वर–सरस्वती निवास नयाँ बस्ती बनेपामा आयोजना गरिएको ‘शब्दसंवाद’ कार्यक्रमको सभापतित्व शब्दयात्रा सहयोगी समाजका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गर्नुभएको थियो । पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शारदाप्रसाद शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, कलाकार समाजबाट रामहरि न्यौपाने, नारी स्रष्टा समाजबाट संयोजक पुण्यवती घले र गीता मञ्जुश्री, लेखक समाजबाट संयोजक ओतबहादुर खड्का, पाठक समाजबाट संयोजक दामोदर घिमिरे, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, जगन्नाथ गिरी, विष्णुहरि तिमल्सिना, पूर्णबहादुर कर्माचार्य, हरिश्चन्द्र घिमिरे, शकुन्तला बन्जारा, अक्रुर शाह, कुलप्रसाद तिमल्सिना, श्री शर्मा मूर्ख, सहदीप पलाञ्चोके, बद्रीप्रसाद फुँयाल आदिको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ‘शब्दसंवाद’ को तेइसौँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा आगामी शुक्रबार अपराह्न ४ बजे प्रारम्भ हुने र त्यसमा शिक्षासेवी रामप्रसाद अधिकारी प्रमुख वक्ताका रूपमा प्रस्तुत हुने जानकारी गराइएको थियो ।
सालिकका लागि असी हजार रुपियाँ
शिक्षालय खोल्ने पहिलो शिक्षासेवी बालागुरु षडानन्द (भोजपुर), स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ (ओखलढुङ्गा), प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी (रामेछाप) र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा (काभ्रेपलाञ्चोक) का चारवटा सालिक शब्दयात्रा प्रकाशनले एकै ठाउँमा स्थापना गर्न लागेको हुनाले त्यसका लागि देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले ८० हजार रुपियाँ शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
काभ्रे जिल्लामा देवीप्रसाद सापकोटाको सालिक स्थापना गर्नु गौरवको विषय भएको बताउँदै प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले यो आर्थिक सहयोग पहिलो चरणको भएकाले थप रकम पनि केही समयपछि उपलब्ध गराउने जानकारी दिनुभएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान र सालिकहरूका बारेमा जानकारी गराई यस कार्यमा सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शिक्षा, सङ्गीत, साहित्य र पत्रकारिता क्षेत्रका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गर्न लागिएको नेपालमै यो पहिलोपटक हो । सालिकहरू बनेपाको ‘कृष्ण–गीता परिसर’ मा स्थापना गरिने भएका छन् ।
काभ्रे जिल्ला उत्कृष्ट बनाऊँ
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको मेयर पदमा निर्वाचित भइसकेपछि मेरो जिम्मेवारी बढेको छ । आफ्नो नगरपालिकाको समग्र विकासका लागि जनताले मलाई विश्वास गरेर जिम्मेवारी सुम्पेकाले म अनुगृहीत त छँदैछु, योजना–निर्माण र कार्यान्वयनका लागि पनि सक्रियतापूर्वक लागिरहेको छु ।
हाम्रो नगरपालिकाको नाम नै नमोबुद्ध रहेको छ । यो क्षेत्र बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको आस्थाकेन्द्र र सांस्कृतिक समन्वयको विन्दु हो । संस्कृतिसँग जोडिएको यो नगरपालिका काभ्रे जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरूसँग र अर्को जिल्लासँग पनि उत्तिकै सम्बन्धित छ । छवटा नगरपालिका र सातवटा गाउँपालिकाको मुख्य लक्ष्य नै काभ्रे जिल्लालाई सर्वतोमुखी विकास दिनु हो । धर्म–संस्कृति, विभिन्न कलाकारिता, गीत–सङ्गीत, आमसञ्चार–पत्रकारिता, शिक्षा–शिक्षण, भाषा–साहित्य, अन्वेषण–अनुसन्धान, लेखन–प्रकाशन आदिजस्ता विधाहरूलाई समेत एकीकृत गरेर जनताको बौद्धिक, शैक्षिक, सामाजिक, आर्थिक स्तरमा अभिवृद्धि गराउनु निकै चुनौतीपूर्ण कार्य हो । कृषि, पर्यटन, उद्योग, व्यवसाय आदि विविध क्षेत्रहरूमा हामीले उपलब्धि हासिल गर्नुपरेको छ । उत्पादन र बजारीकरणको समस्यालाई हल गर्नुपरेको छ । विभिन्न प्रकारका विभेदहरूको अन्त्य गरी समतामूलक समाज बनाउनुपरेको छ । हामी जनप्रतिनिधिहरू त्यसै कार्यमा लागिपरेका छौँ ।
हामीले नमोबुद्धजस्तो धार्मिक, सांस्कृतिक, पर्यटकीय र पुराताàिवक क्षेत्रलाई आर्थिक उत्पादन र सांस्कृतिक समन्वय एवं बौद्धिकताको आधार बनाउनुछ । हाम्रो जिल्लामा रहेका पलाञ्चोक भगवती, चण्डेश्वरी, इन्द्रेश्वर, गौखुरेश्वर, बेथानचोक नारायण, तिमाल नारायणस्थान जस्ता पुराताàिवक सम्पदा, काठमाडौँ विश्वविद्यालय जस्ता शैक्षिक सम्पदा अनि यस्तै अन्य भौतिक सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र उपयोग नगर्ने हो भने समग्र समृद्धि सम्भव छैन । नगरपालिका र गाउँपालिका फरक–फरक भए पनि एउटाको प्रभाव अर्काेमा प्रत्यक्ष पर्ने भएकाले काभ्रे जिल्लाका हरेक नगरपालिका र गाउँपालिकाले समन्वयात्मक ढङ्गले अघि बढ्नु आवश्यक छ ।
यस जिल्लामा वाङ्मयिक क्षेत्रका शब्दयात्रा प्रकाशन, रोसी वाङ्मय प्रतिष्ठान, जनमत प्रकाशन जस्ता संस्थाहरू राष्ट्रिय गौरव बनिसकेका छन् । जनमत प्रकाशन यीमध्ये पुरानो संस्था हो र यसको आफ्नै गति छ । रोसी वाङ्मय प्रतिष्ठानले पनि आफ्नै इतिहास बनाइसकेको छ र अझै अघि बढ्दैछ । शब्दयात्रा प्रकाशनको गति झन् तीव्र छ । त्यस संस्थाले हामी छवटै नगरपालिकाका मेयर र उपमेयरलाई पहिलोपटक एकै ठाउँमा बोलाएर स्वागत–सम्मान गरेको थियो । त्यस बखत त्यस संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको उद्देश्यका बारेमा केही जानकारी दिनुभएको थियो । मैले थाहा पाएसम्म बनेपा नगरपालिकाको वडा नं. ६ मा त्यस संस्थाले ५ आना जग्गा दानमा पाएको छ । त्यहाँ नेपालमै पहिलोपटक अनुसन्धान केन्द्र बनाउन खोजिएको छ । हालसम्म विभिन्न विधामा अनुसन्धान गर्न चाहनेहरूका लागि निश्चित स्थान नभएको स्थितिमा काभ्रे जिल्लामा अनुसन्धान केन्द्र बन्न सके नेपालभरिका बौद्धिक वर्गका लागि काभ्रे जिल्ला पर्यटनस्थल बन्नेछ । त्यसैअन्तर्गत प्रथम शिक्षासेवी, प्रथम लोकतान्त्रिक पत्रकार, प्रथम गायिका र प्रथम साहित्यिक सहिदका सालिकहरू त्यहाँ राख्न लागिएको छ । यी चारै विधाका शीर्ष व्यक्तित्वको सालिक पहिलोपटक काभ्रे जिल्लामा राख्न लागिएको हो । चारैवटा सालिक तयार भइसकेको सूचना मैले पाएको छु । यसबाट म हर्षित बनेको छु ।
मैले अघि उल्लेख गरेका सांस्कृतिक सम्पदा, लोकजीवन, कृषि, शिक्षा, पर्यटन, उद्योग, व्यवसाय, यातायात, पत्रकारिता, कलाकारिता, भूगोल, इतिहास, जलविद्युत आदि सम्पूर्ण विषयमा शब्दयात्रा प्रकाशनको अनुसन्धान केन्द्रबाट अनुसन्धान गराउन सके त्यसबाट आउने निष्कर्षका आधारमा हाम्रा हरेक नगरपालिका र गाउँपालिकाले विकासको नमुना यस देशमा प्रस्तुत गर्न सक्नेछन् । अनि काभ्रे जिल्ला कुनै पनि विधाको बौद्धिक व्यक्तित्वले आउनैपर्ने जिल्ला बन्नेछ । उक्त अनुसन्धान केन्द्रको केन्द्रस्थल बनेपा नगरपालिका क्षेत्रभित्र पर्ने भए पनि त्यसलाई आवश्यकताअनुसार अन्यत्र पनि विस्तार गर्न सकिनेछ । उक्त केन्द्र काभ्रे जिल्लाको राष्ट्रिय गौरवको आयोजना भएकाले र त्यसबाट प्राप्त हुने प्रतिफल समग्र जिल्लावासीले पाउने भएकाले त्यसको निर्माणमा यथाशक्य आर्थिक–भौतिक सहयोग गर्नु काभ्रे जिल्लाका हरेक नगरपालिका र गाउँपालिकाको दायित्व पनि हो ।
हामी हाम्रो जिल्लामा नेपालभरिका ‘थिङ्क ट्याङ्क’ हरूको जमघट गराऊँ, यस जिल्लालाई विकासको नमुना बनाऊँ, सानो कुरामा पनि केन्द्रीय राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गराऊँ, यहीँ रोजगारीको सिर्जना गराऊँ, जनताको आर्थिक–बौद्धिक स्तर बढाऊँ र हाम्रो जिल्लालाई उत्कृष्ट बनाऊँ ।
गुन्जन्छ भित्रको ध्वनि
जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो
पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो
त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि
यो तीर्थस्थलमा बस्ता गुन्जन्छ भित्रको ध्वनि ।
— राष्ट्रकवि माधवप्रसाद घिमिरे
(नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्दको प्रतिमास्तम्भमा राख्न लेखिएको कविता)
अग्निजल कवयित्री अस्वस्थ
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कवितासङ्ग्रह ‘अग्निजल’ की कवयित्री मीरा पौड्याल अस्वस्थ हुनुहुन्छ । उहाँ भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी हाल आफ्नै निवासमा उपचाररत हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशन परिवार उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
प्रेमबहादुर खड्का अस्वस्थ
शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्काका पिता एवं शब्दयात्रा प्रकाशनद्वारा संस्थापित आध्यात्मिक पत्रकारिता सम्मानका आर्थिक व्यवस्थापक प्रेमबहादुर खड्का अस्वस्थ हुनुभएको छ । उहाँलाई उपचारार्थ काठमाडौँको न्युरो अस्पतालमा राखिएकोमा हाल बनेपास्थित आफ्नै निवासमा उहाँको उपचार गरिँदैछ ।
शब्दयात्रा प्रकाशन परिवार उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

