शब्दयात्रा प्रकाशनले हरि मञ्जुश्रीको सम्पादनमा ‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति अङ्ग्रेजी भाषामा रहेको छ । यसअघि नै प्रकाशित ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ नामक कृतिभित्र रहेका विशेष लेखहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी यो कृति तयार पारिएको हो । ती लेखहरूको अङ्ग्रेजी अनुवाद डा. भास्कर हुमागाई र इ. रोशन अधिकारीले गर्नुभएको हो ।
डा. हेमराज काफ्ले मन्तव्यसहितको उक्त कृतिलाई आगामी फागुन महिनामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’
शब्दयात्राबाट ‘भर्तृहरि शतक’ छापिने
शब्दयात्रा प्रकाशनले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिको बहुचर्चित काव्यकृति ‘भर्तृहरि शतक’ को नेपाली भाषामा भावानुवाद गरिएको काव्य प्रकाशित गर्ने भएको छ । ‘भर्तृहरि शतक’ को नेपाली भाषामा काव्यिक भावानुवाद महाकाव्यकार श्रीधर प्याकु¥यालले गर्नुभएको हो । उक्त काव्यलाई २०७४ साल फागुनमा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
‘भर्तृहरि शतक’ समेत शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा श्रीधर प्याकु¥यालका प्रकाशित काव्यकृति चारवटा पुग्ने भएका छन् । यसअघि २०७४ जेठमा सत्यनारायण व्रतकथा (काव्यिक भावानुवाद), भदौमा ‘मञ्जुश्री’ (ज्योतिषकाव्य) र मङ्सिरमा ‘शैक्षिक शिरोभूषण’ (लघुकाव्य) प्रकाशित भई सार्वजनिक भइसकेका छन् ।
शब्दयात्राले बनायो ‘कवितामा रोजनाथ’
शब्दयात्रा प्रकाशनले ‘कवितामा रोजनाथ’ नामक कवितात्मक सीडी उत्पादन गरेको छ । काभ्रे जिल्लाका ग्रामकविका रूपमा सुपरिचित कवि रोजनाथ लुइँटेलले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा प्रस्तुत गरेका कविताहरूका आधारमा सीडी उत्पादन गरिएको हो । सीडीमा रोजनाथ लुइँटेलले आफ्नै आवाजमा आफ्ना कविताहरू वाचन गरेको सुन्न र कविताका भावअनुसारका छविचित्रहरू देख्न सकिनेछ ।
हरि मञ्जुश्रीको परामर्श, पदमनाथ ढुङ्गानाको परिचयलेखन, शारदाप्रसाद शर्माको उद्घोषण र इ. रोशन अधिकारीको सम्पादन रहेको यो सीडी शब्दयात्रा प्रकाशनबाट उत्पादन गरिएको यस प्रकारको पहिलो सीडी हो । यु–ट्युबमा अङ्ग्रेजी भाषाबाट ‘रोजनाथ’ टाइप गरेर पनि ‘कवितामा रोजनाथ’ पाउन सकिन्छ ।
वत्सलाल श्रेष्ठको धामगमन
शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेका पिता वत्सलाल श्रेष्ठले धामगमन गर्नुभएको छ । उहाँले ९८ वर्षको उमेरमा गत २०७४ माघ ४ गते बिहीबार अपराह्न धामगमन गर्नुभएको हो ।
वत्सलाल श्रेष्ठ लेखक तथा आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका ‘श्रीकृष्णस्तुति’ लगायतका कृतिहरू प्रकाशित छन् । उहाँको जन्म १९७७ साल मङ्सिर ३० गते मङ्गलबार विवाहपञ्चमीका दिन काठमाडौँमा भएको थियो ।
शब्दयात्रा प्रकाशनले दिवङ्गत आत्माको आत्मशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
फणीन्द्रराज अधिकारीलाई पुत्रीशोक
शब्दयात्रा प्रकाशनद्वारा गठित ‘शब्दयात्रा सालिक अनावरण स्मारिका प्रकाशन समिति’ का संयोजक शिक्षासेवी फणीन्द्रराज अधिकारीलाई पुत्रीशोक परेको छ । गत २०७४ माघ २ गते उहाँकी पुत्री गीता आचार्यको निधन भएको हो । उहाँ ५० वर्षकी हुनुहुन्थ्यो ।
शब्दयात्रा प्रकाशनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिका लागि भगवान् नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गरेको छ ।
शब्दयात्राको अवलोकन
अमेरिकाबाट नेपाल आउनुभएका सूचना–प्रविधिविज्ञ समुन्नत श्रेष्ठको नेतृत्वमा शेषा कर्माचार्य, सफू श्रेष्ठ र प्रभास कर्माचार्य सम्मिलित टोलीले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण ग¥यो । गत २०७४ माघ ४ गते गरिएको उहाँहरूको भ्रमण सम्मान व्यवस्थापक समितिका सदस्य द्रोणप्रसाद श्रेष्ठको अग्रसरतामा भएको थियो ।
भ्रमण टोलीलाई शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा र अनु थापाले स्वागत गर्दै पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो भने अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका योजनाहरूका विषयमा जानकारी गराउनुभएको थियो ।
‘शब्दसंवाद’ मा गीता मञ्जुश्री
शब्दयात्रा प्रकाशनद्वारा हरेक शुक्रबार सञ्चालन हुने गरेको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पैँतालीसौँ शृङ्खला गत २०७४ साल माघ ५ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा शारीरिक अस्वस्थताका कारणले गीता मञ्जुश्रीको उपस्थिति हुन नसकेकाले उहाँले तयार पार्नुभएको प्रवचन उहाँको प्रतिनिधित्व गर्दै हरि मञ्जुश्रीले पढेर सुनाउनुभएको थियो ।
व्यवस्थापनविद् श्री शर्मा मूर्खको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, शब्दयात्रा स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी र सदस्य पूर्णबहादुर कार्की, नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, नेपालभूमि सञ्चालक समितिका संयोजक सुदर्शन आचार्य, महाप्रबन्धक शारदाप्रसाद शर्मा, समाजसेवी छविलाल कुइँकेल, शिक्षासेवी देवीप्रसाद ढुङ्गाना, धन शर्मा, अनु थापा आदिको समुपस्थिति रहेको थियो ।
सालिकका लागि आर्थिक सहयोग
अग्रज लोकगायक तथा शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएको सालिकको सहयोगार्थ ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
नेपालमै पहिलोपल्ट पाँचजना वाङ्मयसेवीको सालिक बनाइसकेको हुँदा शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा एकै ठाउँमा ती सालिकहरू स्थापना गर्न लागेको हो ।
शब्दयात्राबाट ‘सङ्गम’ छापिने
शब्दयात्रा प्रकाशनको ९६ औँ प्रकाशनपुष्पका रूपमा हरीश अधिकारीद्वारा सम्पादित तथा अनूदित कविताहरूको सङ्ग्रह ‘सङ्गम’ प्रकाशन हुने भएको छ ।
सङ्ग्रहमा वासु शशी, तुलसी दिवस, शैलेन्द्र साकार आदिसहित ६४ जना नेपाली कविका एक–एकवटा कविता र तिनको अङ्ग्रेजी अनुवाद रहेका छन् ।
‘शब्दसंवाद’ मा निर्मला श्रेष्ठ
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को … औँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट शिक्षासेवी तथा समाजसेवी निर्मला श्रेष्ठले आफ्नी भदै लघु–उपन्यासकार समिता श्रेष्ठ ‘पूरा’ का विषयमा जानकारी दिँदै उहाँको शारीरिक अपाङ्गता र साहित्यिक सिर्जनाका विषयमा उल्लेख गर्नुभयो । रामकृष्ण स्मृति प्रतिष्ठानको सहयोगमा शब्दयात्रा प्रकाशनबाट हालै मात्र समिता श्रेष्ठ ‘पूरा’ को लघु–उपन्यास ‘नयाँ सोच’ प्रकाशित भई सार्वजनिक गरिएको प्रसङ्गबाट प्रवचनको प्रारम्भ गरिएको थियो । काभ्रे बनेपाको नीलकण्ठेश्वरधाममा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ पुस २८ गते शुक्रबार सम्पन्न उक्त प्रवचन कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा भएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ का सञ्चालक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी तथा सदस्य पूर्णबहादुर कार्की, नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखक समाजका सदस्य केदारनाथ तिमल्सिना, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नेपालभूमि प्रकाशन समितिका संयोजक सुदर्शन आचार्य र सदस्य शिव बन्जारा, नैमिषारण्य संस्कृत गुरुकुलम्का प्राचार्य दिव्यमणि अधिकारी, दीपक तिमल्सिना, अनु थापामगर, देवीप्रसाद ढुङ्गाना, छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल, ईश्वरी कुइँकेल, भगवती कुइँकेल, विष्णुकुमारी थापा, कमला खत्री, सहदेव श्रेष्ठ, विष्णुमाया खत्री, चन्द्रमाया खत्री, धनकुमारी कुइँकेल, नानु पराजुली, पुरुषोत्तम हुमागाईं, मौसम पराजुली, निश्चल अधिकारी, सुजन बडाल, अनीश नेपाल, प्रसन्न ढुङ्गाना, प्रतीक पौडेल आदिको उपस्थिति रहेको थियो ।