शब्दयात्रा प्रकाशनको १०३ औँ प्रकाशनपुष्पका रूपमा ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रह आउने भएको छ । उक्त सङ्ग्रहलाई यही जेठ महिनामा सार्वजनिक गरिने भएको छ ।
डा. हेमराज काफ्ले ‘अक्षरहरूको बिस्कुन’ का स्रष्टा हुनुहुन्छ । यसअघि अङ्ग्रेजी भाषामा उहाँको कवितासङ्ग्रह …………… प्रकाशित भएको थियो ।
शब्दयात्राबाट अक्षरहरूको बिस्कुन
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गरिन लागेका सालिकहरूका लागि आर्थिक सहयोगस्वरूप मदनकाजी थापा (धनेश्वर, काभ्रे) ले ५ हजार १ सय ५० रुपियाँ र नानुदेवी कुइँकेल (बनेपा, काभ्रे) बाट ५ हजार १ सय रुपियाँ उपलब्ध गराउनुभएको छ ।
बनेपामा नेपालका प्रथम शिक्षासेवी, प्रथम लोकतान्त्रिक पत्रकार, प्रथम गायिका, प्रथम साहित्यिक सहिद र प्रथम वैज्ञानिकको सालिक स्थापना गर्न लागिएको हो ।
हार्दिक बधाई
साझा लोकसाहित्य पुरस्कार प्रा. डा. कुलप्रसाद कोइरालाले र साझा बालसाहित्य पुरस्कार गोपाल पराजुलीले पाउनुभएकोमा उहाँहरूलाई हार्दिक बधाई !
— शब्दयात्रा प्रकाशन परिवार
सम्मानका लागि व्यक्तित्व चयन
शब्दयात्रा प्रकाशनले यही जेठ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरूका लागि योग्य व्यक्तित्वहरूको निर्णय गरेको छ । सम्मानित व्यक्तित्व चयन समितिको सिफारिसअनुसार सम्मान समर्पण गरिने व्यक्तिहरूको निर्णय गरिएको हो ।
निर्णय भएअनुसार प्रशासनिक महिला प्रतिभा सम्मानबाट नेपालकै प्रथम महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई र राष्ट्रझङ्कार सम्मानबाट नेपालका एकमात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ) लाई सम्मान गरिने भएको छ । यसै गरी शब्दयात्रा प्रकाशनबाट २०७४ सालभरि प्रकाशित २० वटा पुस्तकहरूमध्ये पाठकहरूको दृष्टिमा उत्तम ठहरिएको पुस्तक ‘केही दृष्टि केही दृष्टिकोण’ नामक निबन्धसङ्ग्रहका लागि लेखक द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई शब्दयात्रा सिर्जना सम्मानबाट र कश्यपगोत्रीय अधिकारीको वृहत् वंशावली तयार पार्ने नरेन्द्रकुमार अधिकारी (झापा) लाई नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मान गरिने निर्णय गरिएको छ । काभ्रे जिल्लामा विभिन्न सामाजिक कार्यहरू गरिरहेको संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौँ) सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी रामप्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) शिक्षक सम्मानबाट सम्मानित हुनुहुने भएको छ ।
यीमध्ये शिक्षक सम्मान यसै वर्ष पहिलोपटक समर्पण गर्न लागिएको हो । अन्य सम्मानहरूबाट गत वर्ष सुधा कोइराला न्यौपाने, बुद्धिनारायण श्रेष्ठ, ज्ञानेन्द्रराज भट्टराई, डा. टीकाराम अधिकारी र लभग्रीन नेपाललाई सम्मान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा ६ विधाका सम्मान समर्पण गर्न लागिएको हो । बाँकी १२ विधाका सम्मानहरूमा ६ विधाका सम्मान आगामी असोज महिनामा र ६ विधाका सम्मान आगामी माघ महिनामा समर्पण गरिनेछन् ।
जेठ महिनामा समर्पण गरिने सम्मानहरूका लागि शब्दयात्रा प्रकाशनले डा. रजनी शाक्यको संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको तीन सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको थियो । उहाँहरू तीनैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापकहरूमा श्रीमती उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, कल्याण लम्साल, गीता मञ्जुश्री अधिकारी, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठ रहनुभएको छ । सम्मान समर्पण गर्दा ५ हजार रुपियाँ, प्रमाणपत्र, किरीट र उपहार समर्पण गर्ने गरिएको छ ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनलाई अत्यन्तै स्नेह गर्ने वरिष्ठ कवि तुलसी दिवसलाई आगामी जेठ ९ गते १ लाख रुपियाँसहित युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिँदैछ । उहाँलाई हार्दिक बधाई !
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्राको वृत्तचित्र प्रदर्शन
शब्दयात्रा प्रकाशनद्वारा निर्मित वृत्तचित्रको प्रथम प्रदर्शन गत वैशाख २८ गते शुक्रबार गरिएको छ । ‘शब्दसौगात’ नाम दिइएको वृत्तचित्र ‘शब्दसञ्चार’ का प्रस्तोता शिव बन्जाराको निर्देशन, शब्दयात्रा प्रकाशनका सूचना–प्रविधि अधिकृत रोशन मञ्जुश्री अधिकारीको सम्पादन र छायाकार निरञ्जुल कायस्थको छायाङ्कनमा निर्माण गरिएको हो ।
‘शब्दसौगात’ को प्रथम प्रदर्शन शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिएको थियो । वृत्तचित्र १ घन्टाको छ । यसमा शब्दयात्रा प्रकाशनको साढे ६ वर्षसम्मका गतिविधिहरू समेटिएको छ ।
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा नेपालका शीर्ष पाँचजना वाङ्मयसाधकहरूको प्रतिमा स्थापना हुन लागेको हुनाले त्यस कार्यमा आर्थिक सहयोग पु¥याउन शिव बन्जारा तथा शकुन्तला बन्जाराले ११ हजार ५ रुपियाँ, कुलप्रसाद तिमल्सिनाले १० हजार १ रुपियाँ, रघुनाथ घिमिरेले ५ हजार ५ सय रुपियाँ र नवराज तिमल्सिना तथा उर्मिला तिमल्सिनाले ५ हजार १ सय ५ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
स्मरणीय छ — प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, प्रथम गायिका मेलवादेवी गुरुङ र प्रथम वैज्ञानिक नरबहादुर भारतीका सालिकहरू तयार भएर आइसकेका छन् ।
शिव बन्जारा पुरस्कृत
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजको आयोजनामा शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ वैशाख २८ गते शुक्रबार आयोजित विशेष समारोहमा काभ्रे जिल्लाका सक्रिय सञ्चारकर्मी शिव बन्जारालाई १० हजार रुपियाँ नगदसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ बाट पुरस्कृत गरियो । पुरस्कार प्रदान गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. ६ का अध्यक्ष सच्चिदानन्द केसीले टीका, आध्यात्मिक लेखक ओतबहादुर खड्काले रुद्राक्षको माला, शिक्षासेवी निर्मलाकुमारी यगोलले उपहार प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रापट्ट लगाइदिनुभएको थियो र विशेष अतिथि कृष्णप्रसाद पौड्यालले नगद पुरस्कार र प्रमुख अतिथि पोष चापागाईंले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन भएको थियो । सभापतिका रूपबाट बोल्दै अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनलाई शिव बन्जाराले पु¥याउनुभएको योगदानको कदर गर्दै शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्न लाग्ने शुल्क नलिईकन उहाँलाई संस्थाको आजीवन सदस्यता प्रदान गर्ने विशेष निर्णय सञ्चालक समितिले गरेको जानकारी गराउनुभयो ।
सञ्चालक सदस्य सकुल थापाले प्रमुख अतिथिलाई उपहार प्रदान गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन कवयित्री चण्डिका वाग्लेले गर्नुभएको थियो भने कार्यक्रममा ‘हाम्री हजुरआमा मर्दा जो रोए’ नामक पुस्तिका त्यहाँ उपस्थित सबैलाई निःशुल्क वितरण गरिएको थियो ।
पुरस्कार प्रदान गरिने कार्यक्रममा निम्तो
आगामी वैशाख २८ गते शुक्रबार पत्रकार शिव बन्जारालाई रु. १०,०००।— राशीसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा दिउँसो २ बजे हुने उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
शब्दयात्रा प्रकाशन
शिव बन्जारालाई पुरस्कृत गरिने
शब्दयात्रा प्रकाशनले २०७५ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ शिव बन्जारालाई प्रदान गर्ने निर्णय गरेको छ । ‘शब्दसञ्चार’ नामक रेडियो कार्यक्रमका लागि नियमितता र कुशलतापूर्वक गरिएको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा प्रमाणपत्र, नगद १० हजार रुपियाँ र उपहार प्रदान गरिनेछ ।
आगामी वैशाख २८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने भएको छ । २०७४ सालदेखि ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गर्न थालिएको हो ।