शब्दयात्रा प्रकाशनले यही जेठ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरूका लागि योग्य व्यक्तित्वहरूको निर्णय गरेको छ । सम्मानित व्यक्तित्व चयन समितिको सिफारिसअनुसार सम्मान समर्पण गरिने व्यक्तिहरूको निर्णय गरिएको हो ।
निर्णय भएअनुसार प्रशासनिक महिला प्रतिभा सम्मानबाट नेपालकै प्रथम महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई र राष्ट्रझङ्कार सम्मानबाट नेपालका एकमात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ) लाई सम्मान गरिने भएको छ । यसै गरी शब्दयात्रा प्रकाशनबाट २०७४ सालभरि प्रकाशित २० वटा पुस्तकहरूमध्ये पाठकहरूको दृष्टिमा उत्तम ठहरिएको पुस्तक ‘केही दृष्टि केही दृष्टिकोण’ नामक निबन्धसङ्ग्रहका लागि लेखक द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई शब्दयात्रा सिर्जना सम्मानबाट र कश्यपगोत्रीय अधिकारीको वृहत् वंशावली तयार पार्ने नरेन्द्रकुमार अधिकारी (झापा) लाई नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मान गरिने निर्णय गरिएको छ । काभ्रे जिल्लामा विभिन्न सामाजिक कार्यहरू गरिरहेको संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौँ) सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी रामप्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) शिक्षक सम्मानबाट सम्मानित हुनुहुने भएको छ ।
यीमध्ये शिक्षक सम्मान यसै वर्ष पहिलोपटक समर्पण गर्न लागिएको हो । अन्य सम्मानहरूबाट गत वर्ष सुधा कोइराला न्यौपाने, बुद्धिनारायण श्रेष्ठ, ज्ञानेन्द्रराज भट्टराई, डा. टीकाराम अधिकारी र लभग्रीन नेपाललाई सम्मान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा ६ विधाका सम्मान समर्पण गर्न लागिएको हो । बाँकी १२ विधाका सम्मानहरूमा ६ विधाका सम्मान आगामी असोज महिनामा र ६ विधाका सम्मान आगामी माघ महिनामा समर्पण गरिनेछन् ।
जेठ महिनामा समर्पण गरिने सम्मानहरूका लागि शब्दयात्रा प्रकाशनले डा. रजनी शाक्यको संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको तीन सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको थियो । उहाँहरू तीनैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापकहरूमा श्रीमती उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, कल्याण लम्साल, गीता मञ्जुश्री अधिकारी, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठ रहनुभएको छ । सम्मान समर्पण गर्दा ५ हजार रुपियाँ, प्रमाणपत्र, किरीट र उपहार समर्पण गर्ने गरिएको छ ।