शब्दयात्रा प्रकाशनले मुलुककै मूर्धन्य र ऐतिहासिक पाँच व्यक्तित्वहरूको सालिक काभ्रेको बनेपामा एकै ठाउँमा स्थापना गरेपछि ती सालिकहरू अवलोकन गर्न देशका विभिन्न भागहरूबाट बौद्धिक व्यक्तित्वहरू बनेपामा आउन थालेका छन् ।
यसै क्रममा नवलपरासीको प्रगतिनगरमा अवस्थित पशुपति वैदिक पुस्तकालय तथा वैदिक आश्रमबाट धर्मराज बरालले बनेपामा आई ती सालिकहरूको अवलोकन गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य कृष्णमणि कुइँकेलले स्वागत गर्नुभएको थियो । उहाँ ‘मुस्कान’ नामक हास्यव्यङ्ग्य पत्रिकाका सम्पादक पनि हुनुहुन्छ ।
यसै गरी भक्तपुर जिल्लाबाट प्रकाशित हुने ‘वासुकी आवाज’ नामक अनुसन्धानात्मक त्रैमासिक पत्रिकाका सम्पादक विश्वराम खत्रीले पनि सालिकहरूको अवलोकन गर्नुभएको छ ।
सालिक हेर्न सम्पादकहरू बनेपामा
शब्दयात्राबाट अरू दुई पुस्तक
शब्दयात्रा प्रकाशनले यही माघ महिनामा थप दुई पुस्तक पनि प्रकाशन गर्ने भएको छ । यी दुई कृतिसमेत जोड्दा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १७ पुग्नेछ ।
पछिल्ला दुई पुस्तकमा सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र’ तथा दामोदर घिमिरेद्वारा लिखित ‘समाजका कर्मवीर’ रहेका छन् ।
शब्दयात्राको साधारण सभा
शब्दयात्रा प्रकाशनको पाँचौँ वार्षिक साधारण सभाले संस्थाको दोस्रो कार्यकालका लागि हरि मञ्जुश्रीको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समितिको चयन गरेको छ । समितिका सदस्यहरूमा हरिगोपाल प्रधान, कृष्णमणि कुइँकेल, शिव बन्जारा र माधवप्रसाद तिवारी चयन हुनुभएको छ । यसअघिको सञ्चालक समितिमा सदस्य रहनुभएका सकुल थापा, सुमन खड्का र श्यामकृष्ण लम्साल संरक्षण समितिमा बस्नुभएको छ ।
साधारण सभाले संस्थापक सदस्य सकुल थापा संयोजक तथा साधारण सदस्यद्वय पूर्णबहादुर कर्माचार्य र सोमकाजी शाक्य सदस्य रहेको तीन सदस्यीय चयन समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको सञ्चालक समितिलाई साधारण सभाले अनुमोदन गरेपछि नयाँ सञ्चालक समितिको निर्माण भएको हो ।
सभाले यसअघिको सञ्चालक समितिबाट आफ्नो प्रकाशन स्वामित्वको ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पादकमा इ. रोशन मञ्जुश्री अधिकारीलाई नियुक्त गरी जिल्ला प्रशासन कार्यालयमा उहाँकै नाउँमा पत्रिका दर्ता गराउने भनी गरिएको निर्णयलाई पनि अनुमोदन गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदनका साथै आगामी वर्षका लागि ७१ लाख रुपियाँको वार्षिक बजेट पनि पारित गरेको छ ।
सभाको प्रारम्भमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईं तथा शब्दयात्रा प्रकाशनका सदस्यद्वय गणेशदास उलक र तुतुकाजी प्रणामी श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
शब्दयात्राको सम्मान माघ १५ गते
शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा आयोजना गर्ने तेस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह यस वर्ष आगामी माघ १५ गते मङ्गलबार आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम बनेपाको होटल सत्यम्मा हुने भएको छ । उक्त कार्यक्रममा ६ विधामा सम्मान समर्पण गरी ४ वटा साहित्यिक कृतिलाई सार्वजनिक गरिने भएको छ ।
सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको प्रमुख आतिथ्य पूर्व प्रधान न्यायाधीश श्रीमती सुशीला कार्कीले गर्नुहुने भएको छ ।
शब्दयात्राबाट नवीना श्रेष्ठका दुई कृति आउँदै
शब्दयात्रा प्रकाशनले साहित्यकार नवीना श्रेष्ठद्वारा लिखित दुई कृति प्रकाशन गर्ने भएको छ । उहाँको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ र कवितासङ्ग्रह ‘मेरो हराएको कविता’ एकसाथ प्रकाशन गर्न लागिएको हो ।
उल्लिखित दुवै कृति आगामी माघ १५ गते सार्वजनिक गरिने भएको छ । यसअघि उहाँको कृति ‘नेपाल कम्पन’ पनि शब्दयात्रा प्रकाशनले नै प्रकाशन गरेको थियो ।
शब्दयात्राबाट छजना सम्मानित हुने
शब्दयात्रा प्रकाशनले २०७५ सालका लागि विभिन्न ६ विधाका सम्मानहरू विभिन्न साधकहरूलाई समर्पण गर्ने भएको छ ।
त्यसअनुसार शब्दयात्रा समालोचना सम्मानबाट समालोचक डा. वासुदेव त्रिपाठीलाई, शब्दयात्रा कविताकाव्य सम्मानबाट कवि तथा गीतकार कालीप्रसाद रिजाललाई, शब्दयात्रा अनुसन्धान सम्मानबाट अनुसन्धाता डा. राजेश गौतमलाई, शब्दयात्रा विज्ञान–प्रविधि सम्मानबाट वैज्ञानिक प्रा. सुरेशराज चालिसेलाई, शब्दयात्रा बालसाहित्य सम्मानबाट बालसाहित्यकार विश्वम्भर चञ्चललाई र शब्दयात्रा महिला प्रतिभा सम्मानबाट चलचित्र अभिनेत्री वसुन्धरा भुसाललाई सम्मानित गरिने भएको छ ।
शब्दयात्रा प्रकाशनले डा. इन्दुल केसीको संयोजकत्वमा रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहने गरी गठन गरेको सम्मानित व्यक्तित्व चयन समितिले उहाँहरूलाई सम्मानित गर्ने निर्णय गरेको हो ।
यसअघि उल्लिखित विधाहरूमा सम्मान गर्न योग्य व्यक्तिहरूको नाउँ सिफारिस पठाउन ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाबाट सार्वजनिक आह्वान गरिएको थियो । त्यही आह्वानपछि विभिन्न पाठकहरूबाट सिफारिसहरू प्राप्त भएका थिए ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन हरिगोपाल प्रधान, कविप्रसाद प्याकु¥याल, राजेन्द्र विरही, निर्मला श्रेष्ठ, गोपाल पराजुली र द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो । गत वर्ष यी सम्मानहरूबाट डा. दयाराम श्रेष्ठ ‘सम्भव’, किरण खरेल, प्रा. चेतोनाथ गौतम, मुनिबहादुर शाक्य, कल्पना प्रधान र नूपुर भट्टाचार्यलाई सम्मानित गरिएको थियो ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारी युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा रमा दाहाल
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७१ औँ शृङ्खला गत २०७५ पुस २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख वक्ताका रूपमा कान्तिपुर टेलिभिजनसँग आबद्ध पत्रकार रमा दाहाल प्रस्तुत हुनुभयो । उहाँले आफ्नो जीवन–सङ्घर्षका बारेमा उल्लेख गर्दै परिवारमा बालबालिकालाई दिन सकिने व्यावहारिक शिक्षाका विषयमा प्रवचन गर्नुभएको थियो । शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काको सभापतित्व र समाजसेवी छविलाल कुइँकेलको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, कवि रोजनाथ लुइँटेल तथा नानुदेवी कुइँकेल, नवराज पराजुली, पुरुषोत्तम हुमागाईं, दण्डपाणि अधिकारी, मदन स्याङ्तान, रमेश सापकोटा, मञ्जु सापकोटा, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
शब्दयात्राबाट ‘चाणक्यनीति’
शब्दयात्रा प्रकाशनले ११३ औँ प्रकाशनपुष्पका रूपमा ‘चाणक्यनीति’ को काव्यानुवाद प्रस्तुत गर्ने भएको छ । आचार्य विष्णुगुप्त चाणक्यद्वारा संस्कृत भाषामा लिखित ‘चाणक्यनीति’ अत्यन्त प्रसिद्ध नीतिपुस्तक हो ।
संस्कृत भाषाबाट श्रीधर प्याकुरेलद्वारा अनुवाद गरिएको उक्त पुस्तकलाई आगामी माघ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिने भएको छ ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५’ बाट सम्मानित समाजसेवी श्रीमती सावित्री जङ्गम थापाले सुभाष स्मृति प्रतिष्ठानबाट ‘सुभाष स्मृति दानशीलता सम्मान, २०७५’ प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।