Home Blog Page 150

शब्दयात्राबाट सिफारिस आह्वान

0

शब्दयात्रा प्रकाशनले २०७६ सालको दोस्रो चरणको सम्मान समर्पण समारोहका रूपमा आगामी असोज महिनामा समर्पण गरिने ६ विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी आगामी भदौ २० गतेभित्र शब्दयात्रा प्रकाशनमा प्राप्त भइसक्ने गरी सिफारिस पठाइदिन सार्वजनिक आह्वान गरेको छ । सम्मान गर्दा रुद्राक्षमाला, ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार समर्पण गर्ने गरिन्छ ।
शब्दयात्रा प्रकाशनबाट हरेक असोज महिनामा आमसञ्चार, साहित्यिक पत्रिका, आध्यात्मिक पत्रकारिता, फोटो पत्रकारिता, स्तम्भकार र शिक्षा सम्मान समर्पण गर्ने गरिएको छ । गत वर्ष यी सम्मानहरूबाट राजेश्वर नेपाली, कौशिकी साहित्यिक पत्रिका, पं. अच्युत सुवेदी, वैकुण्ठकृष्ण श्रेष्ठ, मुकुन्दप्रसाद उपाध्याय र डा. विद्यानाथ कोइराला सम्मानित हुनुभएको थियो । यी सम्मानहरूको आर्थिक व्यवस्थापन सुनील सापकोटा, योगेन्द्र खत्री, सुदर्शन आचार्य, हरिगोपाल प्रधान, नेपालभूमि साप्ताहिक र रमेश पौड्यालबाट हुने गरेको छ ।

शब्दयात्राले ‘स्पेनको यात्रा’ छाप्तै

0

शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित यात्रासंस्मरणात्मक पुस्तक ‘स्पेनको यात्रा’ प्रकाशन गर्ने भएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १२८ औँ प्रकाशनपुष्प हो ।
स्पेनमा यात्रा गर्दा देखेका, भोगेका र अनुभूत गरेका स्मरणीय क्षणहरूलाई अक्षरमा उतारेको उक्त पुस्तकलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ ।

सिफारिस पठाउन अनुरोध

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षझैँ यस वर्ष पनि २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत रुद्राक्षमाला, ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहारसहित निम्नलिखित ६ विधामा ६ जनालाई सम्मान गर्ने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ आगामी भदौ २० गतेभित्र यस कार्यालयमा प्राप्त भइसक्ने गरी सिफारिस पठाइदिन सबैमा अनुरोध छ — १. शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान (गत वर्ष राजेश्वर नेपालीमा समर्पित) २. शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान (गत वर्ष मुकुन्दप्रसाद उपाध्यायमा समर्पित) ३. शब्दयात्रा योगेन्द्र खत्री साहित्यिक पत्रिका सम्मान (गत वर्ष ‘कौशिकी’ मा समर्पित), ४. शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान (गत वर्ष वैकुण्ठकृष्ण श्रेष्ठमा समर्पित), ५. शब्दयात्रा सुदर्शन आचार्य आध्यात्मिक पत्रकारिता सम्मान (गत वर्ष अच्युत सुवेदीमा समर्पित), ६. शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान (गत वर्ष डा. विद्यानाथ कोइरालामा समर्पित)

शब्दयात्रा प्रकाशन

अक्षरधाम, कृष्णगीता परिसर
नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क : ०११४१५२१५, इमेल : [email protected]

‘शब्दसंवाद’ मा एकै दिन दस वक्ता

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९२ औँ शृङ्खला गत २०७६ साल साउन १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा दसजना वक्ताहरूले शब्दयात्रा प्रकाशनका विभिन्न पक्षहरूका विषयमा बोल्नुभएको थियो । त्यस क्रममा पाँचजना शब्दसाधकहरूको सालिकका विषयमा कृष्णमणि कुइँकेलले, शब्दयात्रा प्रकाशनलाई नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट प्रदान गरिएको कार्यालयका विषयमा सङ्गीता केसीले, शब्दयात्रा प्रकाशनलाई कृष्णमणि कुइँकेलले जग्गा दान गरेको विषयमा पूर्णबहादुर कार्कीले, ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका विषयमा पुण्यवती घलेले, शब्दयात्रा प्रकाशनद्वारा समर्पण गरिने सम्मानहरूका विषयमा पदम दाहालले, शब्दयात्रा प्रकाशनको पुस्तक प्रकाशनका विषयमा सहदीप पलान्चोकेले, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का विषयमा डा. इन्दुल केसीले, अक्षरसेवी सहयोग कोषका विषयमा दामोदर घिमिरेले, शब्दयात्रा प्रकाशन पुस्तकालयका विषयमा ओतबहादुर खड्काले र शब्दयात्रा शारदा मन्दिरका विषयमा ज्यो. पं. रमेश अधिकारीले बोल्नुभएको थियो ।
कार्र्यक्रममा श्री शर्मा मूर्ख, नवराज पराजुली आदिको पनि उपस्थिति थियो ।

शब्दयात्राबाट ‘वेद के भन्छ ?’ आउँदै

0

शब्दयात्रा प्रकाशनले १२७ औँ प्रकाशनपुष्पका रूपमा ‘वेद के भन्छ ?’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त पुस्तकको सङ्कलन तथा सम्पादन आध्यात्मिक लेखक ओतबहादुर खड्काले गर्नुभएको हो ।
उक्त पुस्तकमा चारै वेदमा भएका प्रमुख सूक्तिहरूलाई सङ्कलन गरी नेपाली भाषामा अनुवाद गरेर सम्पादनसहित प्रस्तुत गरिएको छ । उक्त पुस्तक आगामी असोज महिनामा सार्वजनिक गरिनेछ ।

शब्दयात्राबाट ‘तारतमरस’ छापिदै

0

शब्दयात्रा प्रकाशनले १२६ औँ प्रकाशनपुष्पका रूपमा ‘तारतमरस’ नामक काव्य प्रकाशन गर्ने भएको छ । आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले लेख्नुभएको उक्त काव्य ४०० भन्दा बढी पृष्ठको रहेको छ ।
तारतमसागर पाठपारायणको सारसङ्क्षेपका रूपमा लेखिएको उक्त काव्यको प्रकाशन आगामी भदौ महिनामा गरिने भएको छ । काव्यमा जीवना बादे श्रेष्ठको मन्तव्य रहेको छ ।

शोकसभामा शब्दयात्राको सहभागिता

0

रोसी वाङ्मय प्रतिष्ठानले वाङ्मयसेवी गोविन्दबहादुर थापाको १३ औँ दिनको पुण्यतिथिको अवसर पारी काभ्रेको भकुन्डेबेँसीमा शोक तथा श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । सभामा शब्दयात्रा प्रकाशनका तर्फबाट ग्रन्थसम्पादक हरि मञ्जुश्री र अग्रज गायक मच्छेश्वर सापकोटा सहभागी हुनुभएको थियो । उहाँहरूले गोविन्दबहादुर थापाको व्यक्तित्वका आयामहरू, उहाँलाई स्मरण गर्नुपर्ने कारणहरू र उहाँका कृतिगत विशेषताहरूका विषयमा मन्तव्य राख्नुभएको थियो ।
रोसी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले सभापतिका रूपबाट सम्बोधन गर्ने क्रममा गोविन्दबहादुर थापाको वार्षिकोत्सवमा ‘नमोबुद्धका अर्का बुद्ध’ नामक स्मृतिग्रन्थ प्रकाशन गर्ने घोषणा गर्दै गोविन्दबहादुर थापाले थालनी गर्नुभएका सामाजिक कार्यहरू पूरा गर्न सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासक भोलाप्रसाद चापागाईं, कृष्णप्रसाद खनाल, कुमार दाहाल, पुष्कर न्यौपाने, जाह्नव थापा आदिले मन्तव्य राख्नुभएको थियो भने प्रतिष्ठानका सचिव यन्त्रनाथ खनालले सभा सञ्चालन गर्नुभएको थियो । सभामा स्थानीय वाङ्मयसेवीहरूका साथै गोविन्दबहादुर थापाका परिवारजनको पनि उपस्थिति थियो ।

‘शब्दसंवाद’ भक्तपुरमा, वक्ता प्रमोद मैनाली

0

भक्तपुर जिल्लाको लोकन्थलीमा रहेको पुष्पपराग साहित्य प्रतिष्ठानको सहकार्य र कवि पदम दाहालको संयोजन तथा उद्घोषणमा शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९१ औँ शृङ्खला लोकन्थलीस्थित दिव्येश्वरी मन्दिरको परिसरमा गत २०७६ साउन १० गते शुक्रबार सम्पन्न भयो । कार्यक्रममा लेखक तथा प्रशासक प्रमोद मैनालीले प्रमुख वक्ताका रूपमा आफ्नो सिर्जनायात्राका विषयमा प्रवचन गर्दै केही गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार नवीना श्रेष्ठको प्रमुख आतिथ्य, समाजसेवी प्रेमबहादुर खड्काको आतिथ्य र पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा र डा. राजनप्रसाद पोखरेलले प्रमुख वक्ताका विषयमा जानकारी गराउनुभएको थियो । पुष्पपराग साहित्य प्रतिष्ठानका सदस्य टीएन भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मच्छेश्वर सापकोटाले गीत तथा नृत्य प्रस्तुत गर्नुभयो भने डा. इन्दुल केसीले पुष्पपराग साहित्य प्रतिष्ठानलाई आफ्ना पुस्तकहरू उपहार दिनुभयो । मञ्चस्थ व्यक्तिहरूलाई सङ्गीता केसीले रुद्राक्षको माला लगाइदिनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट शारदाप्रसाद शर्मा, पशुपतिमान पःमाँ, रमेश अधिकारी, सुनील सापकोटा, दामोदर घिमिरे, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र पुष्पपराग साहित्य प्रतिष्ठानका तर्फबाट खेमनाथ दाहाल, भरत पराजुली, राजबाबु श्रेष्ठ सागर, गणेश घिमिरे मार्मिक, डम्बर घिमिरे, डा. प्रदीप मैनाली, ढुण्डिराज पोखरेल, उर्मिला कोइराला, परशुराम कट्टेल पनि सहभागी हुनुहुन्थ्यो ।

हृदयतः शब्दश्रद्धा

0

शब्दयात्रा प्रकाशनका सहयोगी शुभचिन्तक एवं शब्दाक्षरका साधक रामशरण खड्का (इहलोकागमन १९९५ असोज २० गते ः परलोकप्रस्थान २०७६ साउन २५ गते) को दृश्यमान् स्वरूपको भौतिक विसर्जनबाट व्यथित बनेर हामीले उहाँलाई सहस्र अश्रुजलबाट मानसिक तर्पण दिएका छौँ । उहाँका शोकापन्न पारिवारिक सम्बन्धीहरूसमान सहवेदना अनुभूत गरिरहेका हामी उहाँको अदृष्ट स्वरूप ब्रह्मलीन होस् भन्ने कामनाका साथ उहाँले गर्नुभएको सारस्वत योगदानप्रति हृदयतः भावपूर्ण शब्दश्रद्धा समर्पण गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

लोकेन्द्र ढकालमा हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार लोकेन्द्र ढकाल काभ्रे धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्र्दै उहाँको कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर अझ उकासिएको र भौतिक प्रगति पनि बढेको देख्न पाइयोस् भन्ने कामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार