हाम्रा मान्यवर डा. पुष्पलाल हुमागाई अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
डा. पुष्पलाल हुमागाईंमा हार्दिक बधाई
हरि मञ्जुश्री गीता मञ्जुश्री
शब्दयात्राबाट थापाको श्रद्धाञ्जली सभा
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौँ) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको दसौँ दिनको पुण्यतिथिको अवसरमा शब्दयात्रा प्रकाशनको सभाकक्षमा श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
शब्दयात्रा प्रकाशनबाट गत २०७६ साउन ३ गते शुक्रबार संस्थाको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९० औँ शृङ्खलाअन्तर्गत सो सभाको आयोजना गरिएको थियो । सभाको सभापतित्व धनराम सुवालले, प्रमुख आतिथ्य चन्द्रमान सुवालले, विशेष आतिथ्य रोजनाथ लुइँटेलले र सञ्चालन संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गोविन्दबहादुर थापाको साहित्यिक योगदान, उहाँको कृतिगत विशेषता र उहाँको व्यक्तित्वका विभिन्न पाटाहरूका बारेमा प्रकाश पार्नुभएको थियो भने शिक्षासेवीत्रय रामप्रसाद अधिकारी, पूर्णबहादुर कर्माचार्य र चूडाप्रसाद चौलागाईं, लोकगायक मच्छेश्वर सापकोटा, ज्यो. पं. रमेश अधिकारी र पुरुषोत्तम हुमागाईंले गोविन्दबहादुर थापासँगका संस्मरणहरू मन्तव्यका क्रममा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पदम दाहाल, ओतबहादुर खड्का, केदारनाथ तिमल्सिना र शारदाप्रसाद शर्माले कवितावाचन गर्नुभएको थियो भने डा. इन्दुल केसी र नवराज पराजुलीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू हस्तान्तरण गनुर््भएको थियो । ती पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, समाजसेवी छविलाल कुइँकेल, श्री शर्मा मूर्ख, सुषमा खड्का आदिको पनि उपस्थिति रहेको सो सभामा उपस्थित सबैजनालाई गोविन्दबहादुर थापाको अन्तिम कृति ‘मित्रलहर’ शब्दयात्रा प्रकाशनका तर्फबाट निःशुल्क वितरण गरिएको थियो ।
‘शब्दसंवाद’ मा भानुगोष्ठी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८९ औँ शृङ्खलामा जातीय कवि भानुभक्त आचार्यको स्मृतिमा कविता वाचन गरियो । शब्दयात्रा प्रकाशन पुस्तकालयमा गत २०७६ असार २७ गते शुक्रबार भएको उक्त गोष्ठीको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । कवि पदम दाहालको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नवराज पराजुली, सङ्गीता केसी, रीक्षा घिमिरे, श्रीजल बस्नेत, सिमोन बस्नेत आदिको उपस्थिति रहेको थियो ।
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौं) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको गत २०७३ असार २५ गते बुधबार देहावसान भएकाले शब्दयात्रा प्रकाशनका हामी सम्पूर्ण परिवार विह्वल बनेका छौं । हामी उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी प्रार्थना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘नेपालभूमि’ को सम्पादकमा रश्मि हुमागाई नियुक्त
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको गत २०७६ असार २२ गते आइतबार बसेको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सम्पादकमा रश्मि हुमागाईंलाई नियुक्त गरेको छ ।
शब्दयात्रा प्रकाशनले २०७६ साल असार ३ गते ‘नेपालभूमि’ मा सूचना प्रकाशित गरी सम्पादकका लागि आवेदन माग गरेको थियो । त्यसैका आधारमा रश्मि हुमागाईंलाई सम्पादक नियुक्त गरिएको हो ।
रश्मि हुमागाईंले ‘अक्षरधाम’ नामक साहित्यिक पत्रिकाको सम्पादन–प्रकाशन र ‘बालआवाज’ नामक बालपत्रिकाको सम्पादन पनि गरिसक्नुभएको छ । उहाँका तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । उहाँले एनाटोमी विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको सम्पादक नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई छ । शब्दयात्रा प्रकाशनले उहाँको अनुभवबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ अझै स्तरीय, बौद्धिक र व्यापक हुने अपेक्षा गरेको छ ।
यसअघि समयाभावको कारण देखाई रोशन मञ्जुश्री अधिकारीले सम्पादक पदबाट राजिनामा दिनुभएको थियो ।
शब्दयात्रामा कविता र गीत
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तेस्रो वर्षको कार्यक्रमअन्तर्गत गत २०७६ असार २० गते शुक्रबार कवितागोष्ठीको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा शिक्षासेवी शङ्करप्रसाद काफ्ले सभापति र साहित्यकार पशुपतिमान पःमाँ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कवितागोष्ठीमा कवि–कवयित्री डा. इन्दुल केसी, पं. रमेश अधिकारी, चूडाप्रसाद चौलागाईं, केदारनाथ तिमल्सिना, ओतबहादुर खड्का, पुण्यवती घले, प्रकाश उज्ज्वल बनेपा, सहदीप पलान्चोके, पदम दाहाल, दण्डपाणि अधिकारी, रीक्षा घिमिरे र शारदाप्रसाद शर्माले कविता वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले कविताको छन्द र लयका विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा र पुरुषोत्तम हुमागाईंले गीत प्रस्तुत गर्नुभएको थियो । मच्छेश्वर सापकोटाको गीतले कार्यक्रमलाई नृत्यमय बनाएको थियो । कार्यक्रममा सङ्गीता केसी, श्री शर्मा मूर्ख, छविलाल कुइँकेल, नानुदेवी कुइँकेल, हरिराम सापकोटा आदिको पनि उपस्थिति थियो ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी गोसाइँकुण्ड सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
एसईई उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई छ ।
एसईई उत्तीर्ण गरेर पत्रकारिता विषय पढ्ने जेहेन्दार र विपन्न काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनले वर्षको १० हजार रुपियाँ छात्रवृत्ति दिने गरेको कुरा त तपाईंलाई थाहा होला नि !
शब्दयात्रा प्रकाशन
नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
‘शब्दसंवाद’ फेरि सुरु हुँदै
शब्दयात्रा प्रकाशनले सञ्चालन गर्दै आएको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ केही भिन्न स्वरूपमा फेरि सञ्चालन हुने भएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित कर्मयोद्धाहरूको जीवनी प्रकाशन गर्ने प्रयोजनका लागि डेढ महिनाअघि उक्त कार्यक्रम स्थगित गरिएको थियो । प्रमुख वक्ता रहेका कर्मयोद्धाहरूको जीवनी पुस्तकका रूपमा प्रकाशन भइसकेको हुनाले उक्त कार्यक्रमलाई फेरि सञ्चालन गर्न लागिएको हो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम तेस्रो वर्षमा प्रवेश गर्दैछ । तेस्रो वर्षको पहिलो कार्यक्रम यही असार २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ ।
शब्दयात्राबाट ज्ञानशालालाई पुस्तक उपहार
काभ्रे बनेपाको सबैभन्दा पुरानो तथा ऐतिहासिक महàवको पुस्तकालयका रूपमा सुपरिचित सामयिक ज्ञानशाला पुस्तकालयको चिनारी बढाउन र पुस्तकालयमा आधुनिक पाठकहरूको बृद्धि गराउन शब्दयात्रा प्रकाशनले उक्त पुस्तकालयलाई एक सय एक थान पुस्तक उपहारस्वरूप प्रदान गरेको छ । गत २०७६ असार ६ गते शुक्रबार सामयिक ज्ञानशाला पुस्तकालयमा आयोजित एक कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले ती पुस्तकहरू सामयिक ज्ञानशाला पुस्तकालयका अध्यक्ष दीनानाथ श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पुस्तकालयलाई हरेक साता ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिका निःशुल्क उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गर्दै दुई संस्थाका बीचमा सहकार्य गर्न सकिने क्षेत्रहरूका बारेमा चर्चा गर्नुभयो र सामयिक ज्ञानशालालाई अनुसन्धाताहरूको आकर्षणको केन्द्र बनाउन सुझाव पनि दिनुभयो । पुस्तकालयका कोषाध्यक्ष समुद्रलाल श्रेष्ठले २०१० सालमा सामयिक ज्ञानशाला पुस्तकालयको स्थापना भएको बताउँदै पुस्तक–पत्रिका सहयोग गरेकोमा शब्दयात्रा प्रकाशनलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका सदस्यद्वय कृष्णमणि कुइँकेल र शिव बन्जाराले आगामी दिनहरूमा पनि सामयिक ज्ञानशाला पुस्तकालयलाई सहयोग गर्न शब्दयात्रा प्रकाशन तत्पर रहेको बताउनुभयो । कार्यक्रम पुस्तकालयका सचिव तथा बनेपा नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष बलराम अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलान्चोकेका साथै सामयिक ज्ञानशाला पुस्तकालयका तर्फबाट सञ्चालक समितिका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।
शब्दयात्रा प्रकाशनले यसअघि पनि भोजपुर, खोटाङ, सोलुखुम्बू र काभ्रे जिल्लाका विभिन्न पुस्तकालयहरूका साथै धुलिखेल कारागारलाई समेत गरी १ हजार थानभन्दा बढी पुस्तकहरू सहयोग गरिसकेको छ ।