Home Blog Page 149

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

0

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा काभ्रेपलान्चोक जिल्लाका दुईजना पत्रकारलाई कदर गर्ने भएको छ । हरेक वर्ष दुई–दुईजना पत्रकारलाई कदर गर्ने क्रममा यस वर्ष नेपाल पत्रकार महासङ्घका काभ्रे जिल्ला सभापति मोतीराम तिमल्सिना र ‘सौर्य दैनिक’ का काभ्रे प्रतिनिधि शुकदेव थपलियालाई कदर गरिने भएको हो ।
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य शिव बन्जारालाई कदर गर्नुपर्ने पत्रकारको चयन गर्ने जिम्मा दिइएको थियो ।

मच्छेश्वर सापकोटाका विषयमा अन्तक्र्रिया

0

हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९५ औँ शृङ्खलामा काभ्रे जिल्लाका गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटाद्वारा गाइएका गीतहरू र उहाँलाई भन्ने गरिएको ‘लोकगायक’ शब्दका बारेमा अन्तक्र्रिया गरियो । त्यस बखत मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले आफ्ना गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
गत २०७६ साल भदौ ६ गते सम्पन्न उक्त कार्यक्रममा मच्छेश्वर सापकोटाको गीत–सङ्गीतका विषयमा हरि मञ्जुश्री, डा. इन्दुल केसी, रमेश अधिकारी, पुण्यवती घले, पदम दाहाल, केदारनाथ तिमल्सिना, पूर्णबहादुर कर्माचार्य, शिव बन्जारा, कृष्णमणि कुइँकेल, दामोदर घिमिरे, शारदाप्रसाद शर्मा र निर्मला श्रेष्ठले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गीता केसी, देवीप्रसाद ढुङ्गाना, वासुदेव कुइँकेल, छविलाल कुइँकेल, बालमुकुन्द पराजुली, श्री शर्मा मूर्ख, चन्द्रमान सुवाल र लालप्रसाद पौड्यालको पनि उपस्थिति थियो ।

हार्दिक बधाई

0

हुमागाईं समाज नेपाल उपत्यका समितिको सचिवमा यस संस्थाका सर्भर सहयोगी डा. भास्कर हुमागाईं निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक शब्दश्रद्धा !

0

‘अक्षरधाम’ को सक्रियतामा काभ्रे जिल्लाका ६० वटा संस्थाले डा. सुरेशराज शर्मालाई जनस्तरबाट शैक्षिक शिरोभूषण उपाधि दिई एकैसाथ अभिवन्दना गरेको कार्यक्रममा पूर्वीय दर्शनका प्रकाण्ड विद्वान्, अग्रज पत्रकार तथा अग्रज साहित्यकार मदनमणि दीक्षित प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस समारोहलाई सम्बोधन गर्दा डा. सुरेशराज शर्मालाई इङ्गित गर्दै उहाँले भन्नुभएको थियो — ‘कुनै–कुनै व्यक्ति देशभन्दा पनि ठूला हुन्छन् ।’ मदनमणि दीक्षित स्वयं पनि त्यसै कोटिका महामना हुनुहुन्थ्यो । पछि २०६८ सालमा शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ पहिलोपटक मदनमणि दीक्षितलाई समर्पण गरियो । त्यस बखत शब्दयात्रा प्रकाशनले समर्पण गरेको किरीट डा. सुरेशराज शर्माको हातबाट लगाएपछि उहाँले भन्नुभएको थियो — ‘राजतन्त्र हटेपछि पहिलोपटक मुकुट लगाउने व्यक्ति मै परेँ ।’ ‘अक्षरधाम’ र ‘शब्दयात्रा प्रकाशन’ सँग त्यसरी जोडिनुभएका समादरणीय व्यक्तित्व मदनमणि दीक्षितको देहावसानले अत्यन्त दुःखित बनाएको छ । उहाँलाई हार्दिक शब्दश्रद्धा !

शब्दयात्रा प्रकाशन परिवार

पत्रकार छान्ने जिम्मा शिव बन्जारालाई

0

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा कदरपत्र प्रदान गर्नका लागि काभ्रे जिल्लाका दुईजना पत्रकार छान्ने जिम्मा सञ्चालक समितिका सदस्य शिव बन्जारालाई दिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको असोज महिनामा काभ्रे जिल्लामा कार्यरत पत्रकारहरूमध्ये दुईजनालाई कदरपत्र प्रदान गर्ने गरेको छ । हालसम्म शब्दयात्रा प्रकाशनबाट काभ्रे जिल्लाका एक दर्जन पत्रकारलाई कदरपत्र प्रदान गरिसकिएको छ ।

नीलकण्ठेश्वरमा जनैपूर्णिमा मनाइने

0

काभ्रे बनेपाको नीलकण्ठेश्वरधाममा यस वर्ष जनैपूर्णिमा भव्य रूपमा मनाइने भएको छ । नीलकण्ठेश्वरधाम संरक्षण समिति र शब्दयात्रा प्रकाशनले संयुक्त रूपमा त्यसको तयारी गरेका छन् । जनैपूर्णिमाका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न ज्यो. पं. रमेश अधिकारी नीलकण्ठेश्वरधाममा नै बस्नुभएको छ ।
नीलकण्ठेश्वर शिव, भगवान् विष्णु, भगवती सरस्वती, नागदेवता र हनुमान्को पूजा गरेर देवताबाट कृपा प्राप्त गर्ने र षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकको अवलोकन गरेर पितृबाट आशीर्वाद लिने ठाउँ नीलकण्ठेश्वरधाम देवता र पितृ दुवैको बासस्थान रहेको काभ्रे जिल्लाको पुण्यस्थल हो ।

शब्दयात्रा र पत्रकार सङ्घबीच छलफल

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित पाँचजना शब्दसाधकहरूको सालिक र शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन गर्न स्वतन्त्र पत्रकार सङ्घ भक्तपुर शाखाका पदाधिकारीहरूले शब्दयात्रा प्रकाशनको भ्रमण गर्नुभएको छ । डा. इन्दुल केसीको संयोजनमा भएको उक्त भ्रमणमा कृष्ण प्रजापति, कृष्ण किसी, रेणु त्वानावासु, चन्द्रमान सुवाल, धनराम सुवाल आदि सहभागी हुनुहुन्थ्यो ।
भ्रमणटोलीलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कार्यालयमा स्वागत गर्नुभएको थियो । त्यस बखत उहाँले स्थानीय समाजसेवी कृष्णमणि कुइँकेलको सौजन्यबाट नीलकण्ठेश्वरधाम निर्माण भएको र उहाँले नै दान गरेको जग्गामा नेपालका प्रथम शब्दसाधकहरूको सालिक नेपालमै पहिलोपल्ट एकै ठाउँमा राख्न सकिएको जानकारी दिँदै देवपूजन र पितृपूजनको सन्धिस्थलमा दुवै संस्थाको कार्यालय रहेको बताउनुभयो ।
त्यस भेटमा शब्दयात्रा प्रकाशन र स्वतन्त्र पत्रकार सङ्घका बीच आपसी हितमा आधारित रही विभिन्न विधामा सहकार्य गर्न सकिने विषयमा छलफल गरिएको थियो ।

शब्दयात्रा पुस्तकालयलाई पुस्तक प्रदान

0

साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि नेपाली तथा नेवारी भाषामा प्रकाशित तीन सयभन्दा बढी पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको छ । उहाँले पुस्तकालयमै आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई ती पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको हो ।
हस्तान्तरणपछि बोल्दै पुस्तकदाता पशुपतिमान पःमाँले ती पुस्तक–पत्रिकाहरू राख्नका लागि आफ्ना तर्फबाट छिटै नै काठको दराजसमेत उपलब्ध गराउने वचनबद्धता प्रकट गर्नुभएको छ ।

‘शब्दसंवाद’ मा शब्दयात्राकै चर्चा

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९३ औँ शृङ्खला गत २०७६ साल साउन २४ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा व्यवस्थापनविद् श्री शर्मा मूर्खको सभापतित्व तथा लेखक तथा पत्रकार कृष्ण प्रजापतिको प्रमुख आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा अघिल्लो साताको कार्यक्रमलाई नै निरन्तरता दिँदै शब्दयात्रा प्रकाशनका विभिन्न पक्षहरूका विषयमा विभिन्न वक्ताहरूले बोल्नुभयो । त्यस क्रममा ‘अक्षरधाम’ साहित्यिक पत्रिकाका विषयमा चूडाप्रसाद चौलागाईंले, बेलप्रसाद श्रेष्ठको प्रतिमा स्थापनाका विषयमा पदम दाहालले, शब्दयात्रा छात्रवृत्तिका विषयमा केदारनाथ तिमल्सिनाले, शब्दयात्रा कर्मशीलता पुरस्कारका विषयमा दामोदर घिमिरेले, घुम्ती पुस्तक पसलका विषयमा ओतबहादुर खड्काले, ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका विषयमा पुण्यवती घलेले र चयन समिति गठनका विषयमा डा. इन्दुल केसीले बोल्नुभएको थियो । त्यसपछि कार्यक्रममा बोल्ने विषयवस्तुका विषयमा पूर्णबहादुर कार्कीले केही सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहदीप पलान्चोके, ज्यो. पं. रमेश अघिकारी, फणीन्द्रराज अधिकारी, प्रकाशबहादुर कायस्थ, नवराज पराजुली, शारदाप्रसाद शर्मा, सङ्गीता केसी, छविलाल कुइँकेल आदिसमेतको उपस्थिति रहेको थियो ।

अक्षरसेवी सहयोग कोषलाई सहयोग

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषका लागि लेखक तथा सम्पादक दामोदर घिमिरेले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको अवसर पारी एक हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले यसअघि पनि उक्त कोषका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकम विभिन्न प्रकारका विपत्तीबाट पीडित बनेका लेखक, पत्रकार, कलाकार आदिलाई शब्दयात्रा प्रकाशनबाट सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ ।