Home Blog Page 129

विश्व हिन्दू महासङ्घका सदस्यहरूबाट शब्दयात्रा प्रकाशनको अवलोकन

0

विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका सदस्यहरूले गत २०७७ साल मङ्सिर १३ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रवीण धितालको नेतृत्वमा रहेको उक्त टोलीले शब्दसाधक तीर्थ, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र नीलकण्ठेश्वर महादेव मन्दिरको अवलोकन गरेको थियो ।

शब्दसञ्चारः मंसिर ०९, २०७७

0
  1. Episode 33 – Shabda Sanchar 27:48

शब्दयात्रा प्रकाशनबाट पहिलो बाछिटासङ्ग्रह छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहको प्रकाशन हुन लागेको छ । ‘त्रिरत्न’ नाम दिइएको यस सङ्ग्रहमा विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालका गरी १ हजार १ सङ्ख्याका बाछिटा कविता सङ्कलित छन् । यस सङ्ग्रहको सम्पादन उपप्राध्यापक शेषनाथ पौडेलले गर्नुभएको छ ।
नेपाली कविता साहित्यमा बाछिटा उपविधाको प्रारम्भ गरिएपछि बाछिटासङ्ग्रहका रूपमा प्रकाशित पहिलो पुस्तक यही नै हो । कविता विधाको लघुतम उपविधा बाछिटामा तीन पाँच तीन अक्षरका तीन पङ्क्तिको संरचनामा ११ अक्षरको पूर्ण कविता सिर्जना गर्ने गरिएको छ । नयाँ संरचनाको यस उपविधाका प्रथम कृतिकार विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धिताल बन्नुभएको छ ।
अम्बिका धिताल शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य पनि हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यस कृतिको ‘प्रकाशकीय’ मा लेख्नुभएको छ — नेपाली साहित्यमा कविता विधाको एउटा भेद ‘बाछिटा’ नामबाट नयाँ प्रयोगका रूपमा आएको छ । त्यसैले ‘बाछिटा’ लाई कविताको उपविधा भन्न सकिन्छ । ‘बाछिटा’ को प्रयोग गरी कविता लेख्न थालिएको एक वर्ष पनि पुगेको छैन । ‘छोक’, ‘इन्द्रेणी’, ‘साइनो’ जस्तै स्वतन्त्र अस्तित्वको र छुट्टै संरचना रहेको ‘बाछिटा’ उपविधा पाठक र सर्जकका बीचमा प्रिय बनिरहेको छ र यस विधाका पाठक तथा सर्जकहरूको सङ्ख्या पनि बढिरहेको छ । सामाजिक सन्जालमा देखिएका ‘बाछिटा’ र त्यसमाथिका प्रतिक्रियाहरूले पनि यसको पुष्टि गर्दछन् । यस्तो नयाँ प्रयोग साहित्यिक गतिशीलताको प्रमाण हो । यस्ता प्रयोगहरूलाई सहज रूपमा आत्मसात गर्नु र आफूलाई जुनसुकै प्रयोगमा समाहित गराउन सक्नु पाठक तथा सर्जकको साहित्यिक गतिशीलताको द्योतक हो ।
‘बाछिटा’ पछिल्लो साहित्यिक प्रयोग भएर पनि यसको लेखन प्रारम्भ भएको एक वर्ष नपुग्दै यस उपविधाको प्रथम कृति तयार भएबाट यसको जनप्रियताको मापन गर्न सकिन्छ । विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालले नेपाली साहित्यलाई ‘त्रिरत्न’ नामक पहिलो बाछिटासङ्ग्रह नै उपहार दिनुभएको छ । ‘त्रिरत्न’ शब्दलाई तीनजना कृतिकाररत्न, ‘बाछिटा’ का तीन हरफरत्न, तीनजनाका ३३३ — ३३३ कवितारत्न, सर्जक, सम्पादक र प्रकाशकको सम्मिलनरत्न, जुनसुकै अर्थ पनि दिन सकिन्छ ।
शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयमा धेरै प्रकारको प्रयोग गरेको छ र प्रयोग नै कर्मशीलता, गतिशीलता र जीवन्तताको प्रतीक हो भन्ने कुरामा विश्वास राख्ने गरेको छ । त्यसैले प्रयोगमूलक कृतिको प्रकाशनका लागि कृतिकारहरूलाई साथ दिन यो संस्था तयार भएको हो । आफ्नो १४८ औँ प्रकाशनपुष्पका रूपमा पाठकवर्गमा ‘त्रिरत्न’ बाछिटासङ्ग्रह अर्पण गर्न पाएर शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । यो सौभाग्य प्रदान गर्नुभएकोमा बाछिटाकार तीनैजना सर्जकप्रति शब्दयात्रा प्रकाशन आभार व्यक्त गर्दछ ।

शब्दसञ्चारः मंसिर ०२, २०७७

0
  1. Episode 32 – Shabda Sanchar 29:09

मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत

0

शब्दयात्रा प्रकाशनबाट गठित कार्यक्रम मूल्याङ्कन समितिले पाँच फरक–फरक क्षेत्रका प्रतिवेदनहरू प्रस्तुत गरेको छ । डा. इन्दुल केसीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिमा चन्द्रबहादुर खड्का, पदम दाहाल, रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको थियो ।
कोरोना महामारीको समयमा पनि निरन्तर सक्रिय रहेर प्रतिवेदन बनाई प्रस्तुत गरेकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले मूल्याङ्कन समितिका सबैलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

शब्दसञ्चारः कार्तिक २५, २०७७

0
  1. Episode 31 – Shabda Sanchar 29:13

सातौं वार्षिक साधारण सभा बस्नेसम्बन्धी सूचना

0

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७७ कार्तिक १६ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको सातौँ वार्षिक साधारण सभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारण सभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रसारित गरिएको छ ।
सातौं वार्षिक साधारण सभा हुने मिति, समय र स्थान ः
मिति : २०७७ साल पुस ४ गते शनिबार तदनुसार १९ डिसेम्बर २०२०
समय : दिउँसो १ बजे
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे
छलफलका विषयहरू :
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७६–७७ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७७–७८ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारण सभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारण सभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
शारदाप्रसाद शर्मा
महाप्रबन्धक : शब्दयात्रा प्रकाशन

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा स्थापना गरी बालसाहित्यकार गोपाल पराजुलीद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका बालसाहित्यकार तथा हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको एक लाख रुपियाँ राशीको भैरव पुरस्कार प्राप्त गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा केवल कार्कीद्वारा लिखित पद्मकवितासङ्ग्रह ‘छानोविनाको घर’ लाई गत २०७७ साल असोज २२ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ११ औँ शृङ्खलामा सार्वजनिक गरियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कवि विप्लव प्रतीक र अतिथि रङ्गकर्मी राजन खतिवडा हुनुहुन्थ्यो । प्रमुख अतिथि, सभापति र कृतिकारले थैलीबाट पुस्तक निकालेर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको उक्त कार्यक्रममा कवि केवल कार्कीले मन्तव्यका साथ छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो । कवितासङ्ग्रहमाथि शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले समीक्षा गर्नुभएको थियो ।
‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कृष्णमणि कुइँकेलले स्वागत मन्तव्य, पं. रमेश अधिकारीले स्वस्तिवाचन, निर्मला श्रेष्ठले सभाविसर्जन, पुण्यवती घले र सङ्गीता केसीले सामग्री व्यवस्थापन, चूडाप्रसाद चौलागाई र सहदीप पलान्चोकेले रुद्राक्षमाला अर्पण तथा दामोदर घिमिरेले अतिथिहरूलाई उपहार अर्पण गर्नुभएको थियो । पत्रकारहरू निर्भीकजङ्ग रायमाझी र दीपक सापकोटाका साथै छविलाल कुइँकेल, नवराज पराजुली आदि पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

शब्दसाधक तीर्थको अवलोकन

0

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थले वाङ्मयसेवीहरूलाई आकर्षित गरिरहेको छ । त्यस तीर्थमा पाँच विधाका प्रथम नेपाली पाँचजनाको सालिक स्थापना गरिएको हुनाले त्यस तीर्थको अवलोकन गर्न वाङ्मयसेवीहरू हालको कोरोना महामारीका बीचमा पनि बनेपा आइरहनुभएको छ ।
यसै क्रममा कवि, पत्रकार तथा सिनेकर्मी विप्लव प्रतीक, रङ्गकर्मी राजन खतिवडा तथा पत्रकारहरू दीपक सापकोटा र निर्भीकजङ्ग रायमाझीले गत असोज २२ गते शब्दसाधक तीर्थको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूलाई कृष्णमणि कुइँकेल, शारदाप्रसाद शर्मा र पं. रमेश अधिकारीले शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा पुस्तकालयको अवलोकन गराउनुभएको थियो । उहाँहरूले हनुमान, नीलकण्ठेश्वर महादेव, कुण्ड, शेषशायी विष्णु र नागस्थानको पनि दर्शन गर्नुभएको थियो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै विभिन्न संरचनाहरू कसरी निर्माण गर्न सकियो भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।