शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थले वाङ्मयसेवीहरूलाई आकर्षित गरिरहेको छ । त्यस तीर्थमा पाँच विधाका प्रथम नेपाली पाँचजनाको सालिक स्थापना गरिएको हुनाले त्यस तीर्थको अवलोकन गर्न वाङ्मयसेवीहरू हालको कोरोना महामारीका बीचमा पनि बनेपा आइरहनुभएको छ ।
यसै क्रममा कवि, पत्रकार तथा सिनेकर्मी विप्लव प्रतीक, रङ्गकर्मी राजन खतिवडा तथा पत्रकारहरू दीपक सापकोटा र निर्भीकजङ्ग रायमाझीले गत असोज २२ गते शब्दसाधक तीर्थको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूलाई कृष्णमणि कुइँकेल, शारदाप्रसाद शर्मा र पं. रमेश अधिकारीले शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा पुस्तकालयको अवलोकन गराउनुभएको थियो । उहाँहरूले हनुमान, नीलकण्ठेश्वर महादेव, कुण्ड, शेषशायी विष्णु र नागस्थानको पनि दर्शन गर्नुभएको थियो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै विभिन्न संरचनाहरू कसरी निर्माण गर्न सकियो भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।