Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट पहिलो बाछिटासङ्ग्रह छापिँदै

शब्दयात्रा प्रकाशनबाट पहिलो बाछिटासङ्ग्रह छापिँदै

शब्दयात्रा प्रकाशनबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहको प्रकाशन हुन लागेको छ । ‘त्रिरत्न’ नाम दिइएको यस सङ्ग्रहमा विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालका गरी १ हजार १ सङ्ख्याका बाछिटा कविता सङ्कलित छन् । यस सङ्ग्रहको सम्पादन उपप्राध्यापक शेषनाथ पौडेलले गर्नुभएको छ ।
नेपाली कविता साहित्यमा बाछिटा उपविधाको प्रारम्भ गरिएपछि बाछिटासङ्ग्रहका रूपमा प्रकाशित पहिलो पुस्तक यही नै हो । कविता विधाको लघुतम उपविधा बाछिटामा तीन पाँच तीन अक्षरका तीन पङ्क्तिको संरचनामा ११ अक्षरको पूर्ण कविता सिर्जना गर्ने गरिएको छ । नयाँ संरचनाको यस उपविधाका प्रथम कृतिकार विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धिताल बन्नुभएको छ ।
अम्बिका धिताल शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य पनि हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यस कृतिको ‘प्रकाशकीय’ मा लेख्नुभएको छ — नेपाली साहित्यमा कविता विधाको एउटा भेद ‘बाछिटा’ नामबाट नयाँ प्रयोगका रूपमा आएको छ । त्यसैले ‘बाछिटा’ लाई कविताको उपविधा भन्न सकिन्छ । ‘बाछिटा’ को प्रयोग गरी कविता लेख्न थालिएको एक वर्ष पनि पुगेको छैन । ‘छोक’, ‘इन्द्रेणी’, ‘साइनो’ जस्तै स्वतन्त्र अस्तित्वको र छुट्टै संरचना रहेको ‘बाछिटा’ उपविधा पाठक र सर्जकका बीचमा प्रिय बनिरहेको छ र यस विधाका पाठक तथा सर्जकहरूको सङ्ख्या पनि बढिरहेको छ । सामाजिक सन्जालमा देखिएका ‘बाछिटा’ र त्यसमाथिका प्रतिक्रियाहरूले पनि यसको पुष्टि गर्दछन् । यस्तो नयाँ प्रयोग साहित्यिक गतिशीलताको प्रमाण हो । यस्ता प्रयोगहरूलाई सहज रूपमा आत्मसात गर्नु र आफूलाई जुनसुकै प्रयोगमा समाहित गराउन सक्नु पाठक तथा सर्जकको साहित्यिक गतिशीलताको द्योतक हो ।
‘बाछिटा’ पछिल्लो साहित्यिक प्रयोग भएर पनि यसको लेखन प्रारम्भ भएको एक वर्ष नपुग्दै यस उपविधाको प्रथम कृति तयार भएबाट यसको जनप्रियताको मापन गर्न सकिन्छ । विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालले नेपाली साहित्यलाई ‘त्रिरत्न’ नामक पहिलो बाछिटासङ्ग्रह नै उपहार दिनुभएको छ । ‘त्रिरत्न’ शब्दलाई तीनजना कृतिकाररत्न, ‘बाछिटा’ का तीन हरफरत्न, तीनजनाका ३३३ — ३३३ कवितारत्न, सर्जक, सम्पादक र प्रकाशकको सम्मिलनरत्न, जुनसुकै अर्थ पनि दिन सकिन्छ ।
शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयमा धेरै प्रकारको प्रयोग गरेको छ र प्रयोग नै कर्मशीलता, गतिशीलता र जीवन्तताको प्रतीक हो भन्ने कुरामा विश्वास राख्ने गरेको छ । त्यसैले प्रयोगमूलक कृतिको प्रकाशनका लागि कृतिकारहरूलाई साथ दिन यो संस्था तयार भएको हो । आफ्नो १४८ औँ प्रकाशनपुष्पका रूपमा पाठकवर्गमा ‘त्रिरत्न’ बाछिटासङ्ग्रह अर्पण गर्न पाएर शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । यो सौभाग्य प्रदान गर्नुभएकोमा बाछिटाकार तीनैजना सर्जकप्रति शब्दयात्रा प्रकाशन आभार व्यक्त गर्दछ ।