शब्दयात्रा प्रकाशनले वसन्त शर्मा कविताकाव्य सम्मानद्वारा २०७७ सालमा सम्मान गरेका कवि तुलसी दिवसलाई नेपाली साहित्यको श्रीवृद्धिका लागि ५ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पु¥याएबापत त्रिमूर्ति निकेतनले पचास हजार रुपियाँसहित देवकोटा काव्य पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत हुनुभएकोमा तुलसी दिवसप्रति हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
कालिन्चोक बाबाका विषयमा प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रममा यसपटक शान्तदिलदास र तामाङ स्वामी पनि भनिने कालिन्चोक बाबाका विषयमा प्रवचन गर्नुभयो । उहाँले हरेक आइतबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म सनातन वैदिक विवेचना कार्यक्रममा नेपाली सन्तहरूको परिचय गराउने गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको सन्तगाथा यु–ट्युबमा पनि हेर्न र सुन्न सकिन्छ ।
नव कविता वाचन सम्पन्न
शब्दयात्रा प्रकाशन र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा नवकविता वाचनको दोस्रो शृङ्खला सम्पन्न भएको छ । डिल्लीराम गौतमको सभापतित्व, लोकमान मास्केको प्रमुख आतिथ्य र हरि मञ्जुश्रीको विशेष आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा डा. इन्दुल केसी, सुनील सापकोटा, पदम दाहाल, निर्मला श्रेष्ठ, पुण्यवती घले, प्रजापति तिमिल्सिना, राजबाबु श्रेष्ठ सागर, विरजा घिमिरे, विश्वनाथ बराल प्रेम, रमेशकुमार शर्मा, पशुपतिमान प्रधान, विनोदकुमार कोइराला, हरिसुन्दर पोतामा, ढुण्डिराज पोखरेल, कृष्णप्रसाद गौतम आदिले कविता वाचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनबाट अर्को प्रतिमा निर्माण गराइँदै
शब्दयात्रा प्रकाशनमार्फत फेरि अर्को प्रतिमा निर्माण भइरहेको छ । साङ्गीतिक क्षेत्रबाट विश्वकीर्तिमान कायम गरेका एक नेपाली गीतकारको सम्मानस्वरूप प्रतिमाको निर्माण भइरहेको हो । शब्दयात्रा प्रकाशनले जीवित व्यक्तिको प्रतिमा निर्माण गर्न लगाएको यो दोस्रोपटक हो । यसअघि शब्दयात्रा प्रकाशनले धुलिखेलका रूपान्तरक अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा निर्माण गरी धुलिखेलमा स्थापना गरेको थियो ।
‘गोमाको फूलबारी’ छापिँदै —
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित ‘गोमाको फूलबारी’ नामक पुस्तक शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा मुद्रण गर्न थालिएको छ । कृष्णमणि महाराज, मोहन प्रियाचार्य, अमृतराज महाराज, टहलकिशोर महाराज, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति आदिको शुभकामनासहित गोमा घिमिरेको प्रेरक जीवनगाथा रहेको त्यो पुस्तक १५६ पृष्ठको छ । शब्दयात्रा प्रकाशनको १५६ औँ प्रकाशनपुष्प बनेको त्यस पुस्तकको आर्थिक व्यवस्थापक हेमप्रसाद घिमिरे, यमप्रसाद घिमिरे र झमकप्रसाद घिमिरे हुनुहुन्छ । मोटो गाता भएको त्यस पुस्तकमा २० पृष्ठ रङ्गीन तस्बिरहरू छन् । पुस्तकको मूल्य २५० रुपियाँ राखिएको छ ।
भोजपुर प्रतिभा पुरस्कारका लागि सिफारिस आह्वान
भोजपुर जिल्लामा जन्मेर राष्ट्रसेवाको कुनै पनि क्षेत्रमा योगदान गरेको ६० वर्षभन्दा कम उमेरको व्यक्तिलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ बाट यही भदौ महिनामा पुरस्कृत गरिने भएकाले उपयुक्त व्यक्तिको तस्बिरसहितको विवरण [email protected] मा पठाइदिन शब्दयात्रा प्रकाशनले भोजपुरे मित्रहरूसँग अनुरोध गरेको छ ।
शब्दयात्रा प्रकाशनबाट जङ्गमसम्बन्धी पुस्तक प्रकाशित
शब्दयात्रा प्रकाशनले ‘धार्मिक र सांस्कृतिक विकासमा जङ्गम जातिको भूमिका’ नामक पुस्तक प्रकाशन गरेको छ । अनुसन्धाता भरतमणि जङ्गमले लेख्नुभएको यो पुस्तक ६४ पृष्ठको छ । यसमा जङ्गम जातिले नेपालको धार्मिक र सांस्कृतिक विकासमा खेलेको भूमिकाका विषयमा चर्चा गर्दै पशुपतिनाथ, डोलेश्वर, सरस्वतीस्थान, अनन्तलिङ्गेश्वर, शिखरेश्वर, वागेश्वर, बानेश्वर, धनेश्वर, उग्रेश्वर र शब्दसाधक तीर्थ नीलकण्ठेश्वर क्षेत्रका लागि भरतमणि जङ्गमबाट गरिएका कार्यहरूका बारेमा जानकारी गराइएको छ ।
शब्दयात्रा प्रकाशनबाट भिँद्योसम्बन्धी पुस्तिका प्रकाशित
शब्दयात्रा प्रकाशनले भिँद्योसम्बन्धी पुस्तिका प्रकाशन गरेको छ । यस पुस्तिकामा नेवार जातिले देवताका रूपमा पूजा गर्ने गरेका भीमसेन अथवा भिँद्यो महाभारत कालका भीमसेन हुन् भन्ने भनाइको खण्डन गर्दै अनुसन्धाता भरतमणि जङ्गमले भिँद्यो भनेका भैरव र भद्रकालीका संयुक्त शक्तिरूप भीमभैरव हुन्, महाभारत कालका भीमसेन होइनन् भन्ने प्रमाण र तर्कहरू प्रस्तुत गर्नुभएको छ । त्यसैले पुस्तिकाको नाउँ ‘भिँद्यो महाभारतकालीन भीमसेन होइनन्’ भन्ने राखिएको छ । जम्मा ३२ पृष्ठको यो पुस्तिका पठनीय र सङ्ग्रहणीय रहेको छ ।
शब्दसञ्चारः साउन १९, २०७८
- Episode 61 – Shabda Sanchar 28:09
भजनसङ्ग्रह प्रकाशन गरिने
शब्दयात्रा प्रकाशनले कवि केदारनाथ तिमल्सिनाको सङ्कलन तथा सम्पादनमा भजनसङ्ग्रह प्रकाशन गर्ने भएको छ । त्यस सङ्ग्रहमा नेपाली र संस्कृत भाषाका भजनहरू रहनेछन् । केदारनाथ तिमल्सिनाले यसअघि पनि केही पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशन गराइसक्नुभएको छ ।