दोस्रो विश्वयुद्धको लगत्तै पछिको दक्षिण एसियाली परिवेशको चित्रणबाट ‘सङ्घर्षयात्रा’ (उपन्यास) को कथावस्तु शुरु भएको छ । नेपालको पूर्वी पहाडको कुनै गाउँबाट विस्थापित एउटा नेपालीको जीवनयात्रा र उसले सङ्घर्षका अनेकौँ चरण पार गर्ने क्रममा भोग्नुपरेको दुर्दान्त गाथालाई उपन्यासकार आर. सी. भट्टराईले यस उपन्यासमा जीवन्तता दिनुभएको छ । सृष्टि–सञ्चालन र मानव–सभ्यताको सङ्घर्षपूर्ण यात्राको परिणाम सुन्दर हुन्छ भन्ने दृष्टान्तका रूपमा उपन्यासको अन्त्यमा एउटा नयाँ पात्र देखापर्छ । समाजमा असल र खराब दुवै चरित्र पाइन्छन् र दुवैका बीचमा द्वन्द्व हुन्छ, अन्ततः असल चरित्रले नै समाजलाई अगाडि बढाएर मानवतायुक्त समाज निर्माण गराउँछ भन्ने सन्देश यस उपन्यासले दिएको छ । एउटाको दुःख अर्काको सुख बनेर आउँछ भन्ने पूर्वीय दर्शनलाई यसले अवलम्बन गरेको छ । उपन्यास पढुन्जेल वैदिक मन्त्र ‘चरैवेति चरैवेति’ को स्मरण भइरहन्छ ।


