शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । यस वर्ष कदर गरिने तीनजना पत्रकारमध्ये एकजना शङ्कर अधिकारी हुनुहुन्छ । काभ्रेपलान्चोक जिल्लाका चर्चित पत्रकार उहाँ अरनिको टेलिभिजनका अध्यक्ष हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिले उहाँलाई कदरपत्र समर्पण गर्ने निर्णय गरेको हो । कदरपत्रको व्यवस्थापन विश्वकीर्तिमान कायम गर्नुभएका अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्ने गर्नुभएको छ । कदरपत्र प्राप्त गर्न लाग्नुभएकोमा पत्रकार शङ्कर अधिकारीमा शब्दयात्रा प्रकाशन परिवार अग्रिम बधाई ज्ञापन गर्दछ ।
भरत जङ्गमका विषयमा कविप्रसाद प्याकुरेलको ‘भरतेन्दु’, नीलकण्ठ भट्टराईको ‘भरतांशु’ र मनिराज जोशीको ‘भरत’ महाकाव्य प्रकाशित छन् । ‘युगपुरुष’ चौथो महाकाव्य बनेको छ । एक वर्षमा औसत १८ वटाभन्दा बढी पुस्तक प्रकाशन गर्ने गरेको शब्दयात्रा प्रकाशनले यसअघि १२ वटा महाकाव्य प्रकाशन गरिसकेको छ । ‘युगपुरुष’ १३ औँ महाकाव्यमा पर्छ । लोकसंस्कारमा १२ वर्षको समयावधिलाई युग भनिन्छ । पौराणिक कालविभाजनमा सत्य, त्रेता, द्वापर र कलि युगको अवधि फरक–फरक हुन्छ । नेपाली बृहत् शब्दकोशले कुनै महत्त्वपूर्ण घटना, व्यक्ति, कार्य आदिद्वारा प्रभावित कालावधिलाई युग भनेको छ । युगलाई उचित मार्गमा हाँक्ने प्रतिभा, निश्चित समयका लागि प्रमुख मानिने व्यक्तित्व या निश्चित समयको सीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल भएको व्यक्तिलाई युगपुरुष र युगनायक मानेको छ । यस महाकाव्यका नायक भरत जङ्गमले साहित्यिक क्षेत्रमा निश्चित समयावधिभन्दा बढी अवधिको प्रतिनिधित्व गर्नुभएको कुरा उहाँको कालजयी उपन्यास ‘कालो सूर्य’ ले प्रमाणित गरेको छ । उहाँले प्रतिनिधित्व गर्नुभएको नेपाली युग उहाँको कार्यद्वारा प्रभावित बनेको कुरा नीतिगत भ्रष्टाचारका विरुद्ध उहाँले गर्नुभएको कानुनी लडाइँमा उहाँको विजय भएको कुराले प्रस्ट पार्दछ । उहाँ यस युगलाई उचित मार्गमा हाँक्ने प्रमुख व्यक्तित्व हुनुभएको कुरा ‘भ्रष्टविरोधी शास्त्र’ को प्रतिपादन र त्यसले पाएको अन्तर्राष्ट्रिय मान्यताले पुष्टि गरेको छ । यसबाट भरत जङ्गमको चरित्रलाई ‘कालो सूर्य’ ले राष्ट्रिय स्तरको र योगदानलाई ‘भ्रष्टविरोधी शास्त्र’ ले अन्तर्राष्ट्रिय स्तरको बनाइदिएको देखिन्छ । तसर्थ भरत जङ्गमलाई महाकाव्यको नायक बनाउनु र महाकाव्यको नाउँ ‘युगपुरुष’ राख्नु स्वाभाविकै लाग्छ । सिर्जना खनालले प्राच्य सिद्धान्तबाट निर्धारित लक्षणहरू समावेश गराएर महाकाव्यलाई सकेसम्म पूर्ण पार्ने प्रयास गर्नुभएको छ । भरत जङ्गमको जीवनयात्रा, राष्ट्रिय चरित्र र अन्तर्राष्ट्रिय योगदानलाई जीवन्त स्वरूपमा उतार्न यो महाकाव्य सफल भएको छ । यसका लागि महाकाव्यकार सिर्जना खनाललाई हार्दिक बधाई छ ।

