Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications२२०. युगपुरुष

२२०. युगपुरुष

भरत जङ्गमका विषयमा कविप्रसाद प्याकुरेलको ‘भरतेन्दु’, नीलकण्ठ भट्टराईको ‘भरतांशु’ र मनिराज जोशीको ‘भरत’ महाकाव्य प्रकाशित छन् । ‘युगपुरुष’ चौथो महाकाव्य बनेको छ । एक वर्षमा औसत १८ वटाभन्दा बढी पुस्तक प्रकाशन गर्ने गरेको शब्दयात्रा प्रकाशनले यसअघि १२ वटा महाकाव्य प्रकाशन गरिसकेको छ । ‘युगपुरुष’ १३ औँ महाकाव्यमा पर्छ । लोकसंस्कारमा १२ वर्षको समयावधिलाई युग भनिन्छ । पौराणिक कालविभाजनमा सत्य, त्रेता, द्वापर र कलि युगको अवधि फरक–फरक हुन्छ । नेपाली बृहत् शब्दकोशले कुनै महत्त्वपूर्ण घटना, व्यक्ति, कार्य आदिद्वारा प्रभावित कालावधिलाई युग भनेको छ । युगलाई उचित मार्गमा हाँक्ने प्रतिभा, निश्चित समयका लागि प्रमुख मानिने व्यक्तित्व या निश्चित समयको सीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल भएको व्यक्तिलाई युगपुरुष र युगनायक मानेको छ । यस महाकाव्यका नायक भरत जङ्गमले साहित्यिक क्षेत्रमा निश्चित समयावधिभन्दा बढी अवधिको प्रतिनिधित्व गर्नुभएको कुरा उहाँको कालजयी उपन्यास ‘कालो सूर्य’ ले प्रमाणित गरेको छ । उहाँले प्रतिनिधित्व गर्नुभएको नेपाली युग उहाँको कार्यद्वारा प्रभावित बनेको कुरा नीतिगत भ्रष्टाचारका विरुद्ध उहाँले गर्नुभएको कानुनी लडाइँमा उहाँको विजय भएको कुराले प्रस्ट पार्दछ । उहाँ यस युगलाई उचित मार्गमा हाँक्ने प्रमुख व्यक्तित्व हुनुभएको कुरा ‘भ्रष्टविरोधी शास्त्र’ को प्रतिपादन र त्यसले पाएको अन्तर्राष्ट्रिय मान्यताले पुष्टि गरेको छ । यसबाट भरत जङ्गमको चरित्रलाई ‘कालो सूर्य’ ले राष्ट्रिय स्तरको र योगदानलाई ‘भ्रष्टविरोधी शास्त्र’ ले अन्तर्राष्ट्रिय स्तरको बनाइदिएको देखिन्छ । तसर्थ भरत जङ्गमलाई महाकाव्यको नायक बनाउनु र महाकाव्यको नाउँ ‘युगपुरुष’ राख्नु स्वाभाविकै लाग्छ । सिर्जना खनालले प्राच्य सिद्धान्तबाट निर्धारित लक्षणहरू समावेश गराएर महाकाव्यलाई सकेसम्म पूर्ण पार्ने प्रयास गर्नुभएको छ । भरत जङ्गमको जीवनयात्रा, राष्ट्रिय चरित्र र अन्तर्राष्ट्रिय योगदानलाई जीवन्त स्वरूपमा उतार्न यो महाकाव्य सफल भएको छ । यसका लागि महाकाव्यकार सिर्जना खनाललाई हार्दिक बधाई छ ।