शब्दयात्रा प्रकाशनले फोटो–पत्रकार जगदीश तिवारी (तनहूँ) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो–पत्रकारिता सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान यही असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन फोटो–पत्रकार हरिगोपाल प्रधानले आफ्नी आमाको स्मृति र सम्मानमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा जगदीश तिवारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकालाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनले प्रथम साहित्यिक हुतात्मा कृष्णलाल अधिकारीको सम्मानमा स्थापना गरेको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८०’ साहित्यकार तथा साहित्यिक पत्रकार वियोगी बुढाथोकीको सम्पादनमा काठमाडौँबाट प्रकाशन हुने गरेको ‘शिवपुरी सन्देश’ नामक साहित्यिक पत्रिकालाई समर्पण गर्ने भएको छ । यो सम्मान यही असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन भोजपुरका समाजसेवी योगेन्द्र खत्रीले आफ्नी आमाको स्मृतिमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा वियोगी बुढाथोकीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
सुभाष खड्का विषयक कवितागोष्ठी सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा ‘सुभाष खड्का’ विषयक कवितागोष्ठी सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो भदौ ३० गते आयोजित कवितागोष्ठीको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र प्रमुख आतिथ्य शिक्षासेवी तथा लेखक हरिविनोद अधिकारीले गर्नुभएको थियो भने विशेष अतिथि प्राध्यापक तथा समालोचक डा. षडानन्द पौड्याल र सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्का हुनुहुन्थ्यो । कार्यक्रममा रश्मि हुमागाई, पदम दाहाल, सरस्वती चिमोरिया, अच्युत अधिकारी, शारदा घिमिरे भैल, दामोदर घिमिरे, कालिका त्रिपाठी पन्त, छत्रपति दाहाल, भवानी पाण्डे, ढुण्डिराज पोखरेल, केदारनाथ तिमल्सिना र चूडाप्रसाद चौलागाईंले कविता वाचन गर्नुभएको थियो भने कविता प्राप्त भएर पनि विभिन्न कारणले गर्दा जयनारायण नेपाल, शिव बन्जारा, लक्ष्मी बडाल र ओतबहादुर खड्का कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । कालिका त्रिपाठी पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसीले समुद्घाटन, कृष्णमणि कुइकेलले स्वागत भाषण, वेदप्रसाद गौतमले रुद्राक्षमाला अर्पण र सङ्गीता केसीले सामग्री व्यवस्थापन गर्नुभएको थियो । प्रमुख अतिथि र विशेष अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट पदमनाथ ढुङ्गानाले उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रममा कविता वाचन गर्ने सबैलाई आभारपत्रका साथमा एक–एकवटा आख्यानकृति चन्द्रबहादुर खड्काले प्रदान गर्नुभएको थियो ।
‘समयगाथा’ सार्वजनिक
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेख्नुभएको बहुप्रतीक्षित पुस्तक ‘समयगाथा’ को पहिलो भाग आज भदौ ३० गते शनिबार सार्वजनिक गरियो । प्रमुख अतिथि शिक्षासेवी हरिविनोद अधिकारी, विशिष्ट अतिथि समालोचक डा. षडानन्द पौड्याल, समाजसेवी चन्द्रबहादुर खड्का र कृतिकार हरि मञ्जुश्रीले उक्त पुस्तक संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । चार सय छयान्नब्बेवटा विषय समेटिएको उक्त पुस्तकको मूल्य तीन सय रुपियाँ राखिएको छ । सार्वजनिक गरिएको अवसरमा ५० प्रतिशत छुटमा पुस्तक बिक्री गरिएको थियो । कार्यक्रममा समुन्नति मिच्युयल फन्डका तर्फबाट समूहका सबै सदस्यका लागि भनेर समाजसेवी सकुल थापाले एकैपटक बीस प्रति र सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट कार्यसमितिका सदस्यहरूका लागि भनेर चन्द्रबहादुर खड्काले १२ प्रति पुस्तक किन्नुभएको थियो । उपस्थित अन्य महानुभावहरूले पनि छुट मूल्यमा पुस्तक किन्नुभएको थियो । पुस्तकका बारेमा प्रकाशकका तर्फबाट रश्मि हुमागाईंले जानकारी दिनुभएको उक्त कार्यक्रमको सञ्चालन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो ।
कमल रिजाललाई सम्मान गरिने —
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८०’ आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी कमल रिजाल (धादिङ) मा समर्पण गर्ने भएको छ । यो सम्मान उहाँलाई आगामी असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोक धुलिखेलका समाजसेवी सुदर्शन आचार्यले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा कमल रिजालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
बेटी बज्राचार्यलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०८०’ नृत्यविद्, नृत्य–अन्वेषक तथा लेखिका बेटी बज्राचार्य (पाल्पा) मा समर्पण गर्ने भएको छ । यो सम्मान उहाँलाई आगामी असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बेटी बज्राचार्यप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
अनारसिंह कार्कीलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनले विश्लेषक, टिप्पणीकार तथा स्तम्भकार अनारसिंह कार्की (सोलुखुम्बू) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले आफ्ना पिता गोपाल प्रधानको स्मृतिमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अनारसिंह कार्कीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
स्वर्णकौशिकी धामलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसेमा अवस्थित कफेश्वर महादेवस्थानलाई स्वर्णकौशिकी धाम पनि भन्ने गरिन्छ । उक्त सम्मान आगामी असोज महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । जयराम श्रेष्ठ संयोजक तथा उद्धवप्रसाद नेपाल र केशव खुलाल छेत्री सदस्य रहेको चयन समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो । सम्मानका लागि चयन भएकोमा कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।
छात्रवृत्तिका लागि सम्झौता
यही २०८० सालदेखि २०८४ सालसम्म काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा काभ्रेपलान्चोकको बनेपामा कार्यालय रहेको शब्दयात्रा प्रकाशन र काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शेखरप्रसाद ढुङ्गानाका बीच सम्झौता भएको छ । सम्झौतापत्रमा हरि मञ्जुश्री र शेखरप्रसाद ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार शेखरप्रसाद ढुङ्गानाले शब्दयात्रा प्रकाशनलाई छात्रवृत्तिको रकम उपलब्ध गराउनुहुनेछ भने उक्त रकमबाट शब्दयात्रा प्रकाशनले आफ्नै कार्यविधि अनुसार काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार १० जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनेछ । शेखरप्रसाद ढुङ्गानाद्वारा पितामाताको सम्मानमा व्यवस्थापित यस छात्रवृत्तिको नाउँ ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ राखिने भएको छ । यसअघि शब्दयात्रा प्रकाशनमार्फत ३ जनालाई छात्रवृत्ति दिइरहेको हुँदा अब शब्दयात्रा प्रकाशनमार्फत छात्रवृत्ति पाउनेहरू १३ जना हुने भएका छन् ।
चयन गर्ने जिम्मा तीनजनालाई
शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गर्ने सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्न शिक्षासेवी जयराम श्रेष्ठ संयोजक तथा समाजसेवी डा. केशवबहादुर खुलाल छेत्री र आध्यात्मिक लेखक उद्धवप्रसाद नेपाल सदस्य रहने गरी तीन सदस्यीय चयन समिति बनाएको छ । प्राप्त भएका सिफारिसमध्येबाट त्यस समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ । सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्ने जिम्मेवारी ग्रहण गरिदिनुभएकोमा शिक्षासेवी जयराम श्रेष्ठ, समाजसेवी डा. केशवबहादुर खुलाल छेत्री र आध्यात्मिक लेखक उद्धवप्रसाद नेपालप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।