Home Blog Page 48

सम्झौता सम्पन्न

0

शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित लेखक, पत्रकार र कलाकारहरूलाई आर्थिक सहयोग गर्न संस्थापित अक्षरसेवी सहयोग कोषको अक्षयकोषका लागि धुलिखेलनिवासी समाजसेवी डा. केशवबहादुर खुलाल छेत्रीले पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा २ लाख ७ हजार ७ सय ७७ रुपियाँ उपलब्ध गराउनुभएको थियो । त्यससम्बन्धी सम्झौतापत्रमा दाता डा. केशवबहादुर खुलाल छेत्री र शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले हस्तखत गरी सम्झौतापत्र आदानप्रदान गर्नुभएको छ । सम्झौतापत्रमा त्यस कोषको ब्याजबाट प्राप्त रकम प्राकृतिक प्रकोप लगायत कुनै पनि प्रकारले आपतविपतमा परेका लेखक, पत्रकार र कलाकारहरूलाई शब्दयात्रा प्रकाशनको कार्यविधि अनुसार प्रदान गरिने कुरा उल्लेख गरिएको छ ।

आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

0
हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उहाँलाई भाषासेवी प्रा. डा. नन्दीश अधिकारीले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । पहिले नै आजीवन सदस्य बनेर पनि कार्यक्रममा उपस्थित नभएका कारण प्रमाणपत्र ग्रहण गर्न नसकेकी लक्ष्मी बडालले पनि आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

वीणा पौड्याल सम्मानित, इस्माली पुरस्कृत

0

शब्दयात्रा प्रकाशनले हिजो २०८० साल भदौ २ गते शनिबार एकजनालाई सम्मान र एकजनालाई पुरस्कार समर्पण गरेको छ ।
शिक्षार्थीहरूलाई आफ्नो विषयमा शिक्षा दिने क्रममा आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यबोध, सामाजिक मर्यादा, मानवीय भावना र आध्यात्मिक चेतनाको पनि शिक्षा दिनुका साथै ती विषयमा शिक्षार्थीहरू थप सबल बनून् भन्ने ध्येयले विभिन्न पुस्तकहरूको लेखन–प्रकाशन समेत गर्नुभएकोमा ललितपुरकी प्रा. डा. वीणा पौड्याललाई २०८० सालको शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान समर्पण गरिएको हो । सम्मान गर्दा प्रा. डा. कुलप्रसाद कोइरालाले अभिवन्दनापत्र, हरि मञ्जुश्रीले किरीट, रामप्रसाद अधिकारीले भेटी, इस्मालीले उपहार र मच्छेश्वर सापकोटाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो । यस सम्मानका कोष व्यवस्थापक धुलिखेलकी शिक्षासेवी निर्मलाकुमारी यगोल श्रेष्ठ हुनुहुन्छ ।
यसै गरी नेपाली राष्ट्रिय परिवेशको भावभूमिमा आञ्चलिकतालाई समेत आधार बनाई विचारशील र राष्ट्रप्रेमयुक्त कथा, उपन्यास र बालकथा विधाका साहित्यिक कृतिहरूको लेखन–प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणमा साहित्यका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा महोत्तरीका कथाकार श्री इस्माली अथवा महेश्वरप्रसाद उपाध्याय पौडेललाई २०८० सालको शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिएको हो । सम्मान गर्दा प्रा. डा. कुलप्रसाद कोइरालाले अभिवन्दनापत्र, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, सुवर्णलता थापाले भेटी, प्रा. डा. वीणा पौड्यालले उपहार र मच्छेश्वर सापकोटाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो । यस पुरस्कारको कोष व्यवस्थापक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी रहेको छ ।
यी सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत हुनुभएकोमा दुवैलाई हार्दिक बधाई ज्ञापन गर्दै समारोहमा समुपस्थित सहभागीहरूका तर्फबाट सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूको कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको छ । दुवै अभिवन्दनापत्रको वाचन नवराज तिमल्सिनाले गर्नुभएको थियो ।

कर्मयोगी बद्रीविक्रम थापा विषयक कवितागोष्ठी सम्पन्न

0

शब्दयात्रा प्रकाशनले कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको सहयोगमा ‘कर्मयोगी बद्रीविक्रम थापा’ विषयक कवितागोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा सकुल थापा, केशव रूपाखेती, रश्मि हुमागाई, चन्द्रबहादुर खड्का, सहदीप पलान्चोके, लक्ष्मी बडाल, प्रकाश उज्ज्वल बनेपा, ढुण्डिराज पोखरेल, कालिका त्रिपाठी पन्त, जयनारायण नेपाल, गोविन्दबहादुर खड्का, केदारनाथ तिमल्सिना, शारदा घिमिरे भैल, सोमकाजी शाक्य, लालबहादुर भुजेल, छत्रपति दाहाल, पदम दाहाल, शारदाप्रसाद शर्मा, दामोदर घिमिरे, जयराम श्रेष्ठ र लीलादेवी श्रेष्ठ गरी २१ जनाले आआफ्ना कविता वाचन गर्नुभएको थियो । उपस्थित कविहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट भाषासेवी प्रा. डा. नन्दीश अधिकारीले रुद्राक्षमाला, उपहार र आभारपत्र समर्पण गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न

0

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८० साल भदौ २ गते शनिबार सम्मान तथा पुरस्कार समर्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा प्रा. डा. नन्दीश अधिकारी र डा. रेखा यादवको आतिथ्य रहेको आजको कार्यक्रममा २०८० सालको शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान प्रा. डा. वीणा पौड्याललाई र शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार कथाकार श्री इस्मालीलाई समर्पण गरियो । आजकै कार्यक्रममा विभिन्न कविहरूले कर्मयोगी बद्रीविक्रम थापा विषयक कविताहरूको वाचन गर्नुभयो । पूर्वप्रशासक तथा लेखक शङ्करनारायण मानन्धरले कार्यक्रमको शुभारम्भ र कृष्णमणि कुइकेलले स्वागत भाषण गर्नुभएको आजको कार्यक्रममा चयन समितिका संयोजक गीतिभास्कर मच्छेश्वर सापकोटाले सम्मानित तथा पुरस्ृत व्यक्तित्वको चिनारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन शिव बन्जाराले गर्नुभएको थियो ।

असोजमा सात सम्मान

0

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा ७ विधाका सम्मान समर्पण गर्नुपर्नेछ — १. आध्यात्मिक पत्रकारिता सम्मान, २. आध्यात्मिक संस्था सम्मान, ३. साहित्यिक पत्रिका सम्मान, ४. स्तम्भकार सम्मान, ५. फोटो पत्रकारिता सम्मान, ६. महिला प्रतिभा सम्मान, ७. आयुर्वेद सम्मान ।

‘द ब्ल्याक सन’ शब्दयात्रा प्रकाशनबाट

0

आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ लाई सरोजकुमार शाक्यले अङ्ग्रेजी भाषामा गर्नुभएको अनुवाद ‘द ब्ल्याक सन’ को दोस्रो संस्करण शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुने भएको छ ।

‘कालो सूर्य’ अब शब्दयात्रा प्रकाशनबाट

0

आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ को नेपाली भाषाको पाँचौँ पटकको पुनर्मुद्रण शब्दयात्रा प्रकाशनबाट हुने भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको जीवन्त अभिलेखका रूपमा चित्रण गरिदिएपछि भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको चर्चा एकाएक चुलिएको थियो । २०३६ सालमा इन्दु प्रकाशन प्रकाशक बनी इन्डियाको बनारसबाट प्रकाशन भएयता यो उपन्यास नेपाली भाषाको चौथो पटकको पुनर्मुद्रणसम्ममा हजारौँ पाठकको हातमा परिसकेको छ । तैपनि पाठकको माग बढिरहेको र उपन्यास बजारमा किन्न पाइन छाडेको हुनाले उपन्यासकार भरत जङ्गमको सदिच्छा बमोजिम पाँचौँ पटकको पुनर्मुद्रणका रूपमा शब्दयात्रा प्रकाशनबाट यो उपन्यास प्रकाशन हुन लागेको हो । आफ्नो बहुचर्चित र विश्वप्रसिद्ध उपन्यासको प्रकाशनका लागि शब्दयात्रा प्रकाशनको स्मरण गर्नुभएकोमा आख्यानकार भरत जङ्गमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ कथाकार इस्माली (महेश्वरप्रसाद उपाध्याय पौडेल) मा समर्पण गर्ने भएको छ । गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले उहाँलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको औरहीमा २०१२ साल जेठमा जन्मनुभएका कथाकार इस्माली लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी हाल निवृत्त जीवन बिताइरहनुभएको छ । उहाँले नेपाली भाषामा कथा, उपन्यास र बालकथाका विभिन्न पुस्तकहरू लेख्नुभएको छ । उहाँमा पुरस्कार समर्पण गर्दा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको कोष व्यवस्थापनमा हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको यो पुरस्कार पहिलोपटक उहाँमा समर्पण गर्न लागिएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

अनुसन्धान कक्ष सञ्चालन उपसमिति पाँचजनाको

0

अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको उपस्थितिमा बसेको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ को बैठकले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैललाई सदस्य मनोनयन गरेको छ । उपसमितिका संयोजक भावना थापाको अध्यक्षतामा बसेको बैठकले उहाँहरूलाई सदस्यमा मनोनयन गरेपछि उपसमिति पाँच सदस्यीय बनेको छ । यसअघि सदस्यमा प्रदीप केसी र निर्मला श्रेष्ठ मात्र सदस्य हुनुहुन्थ्यो । सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गराउन, विद्वतवृत्तिको व्यवस्था गर्न तथा उहाँका कृतिहरू र उहाँका विषयमा गरिएका अनुसन्धानहरूको प्रकाशन तथा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन शब्दयात्रा प्रकाशनले उक्त उपसमितिको गठन गरेको थियो । उपसमितिको निर्देशिकामा भएको व्यवस्था अनुसार उपसिमितिको बैठकले दुईजना सदस्य थपेको हो । सदस्यमा मनोनीत हुनुभएकोमा कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैललाई हार्दिक बधाई छ ।