शब्दयात्रा प्रकाशनको आयोजनामा गत साउन ५ गते बुधबार ‘गणेशदास’ पुस्तकको सार्वजनिकीकरण, ‘जीवनको भोगाइमा गणेशदास उलक’ वृत्तचित्रको प्रदर्शन तथा समाजसेवी गणेशदास उलकको सम्मान कार्यक्रम सम्पन्न भयो । बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र प्रमुख आतिथ्य साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालले गर्नुभएको थियो ।
संस्कृतिविद् ज्ञानकाजी मानन्धरले गणेशदास उलकबारे परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सञ्चालन ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा शिव बन्जाराद्वारा सम्पादित ‘गणेशदास’ कृतिलाई साहित्यिक पत्रकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर र समाजसेवी चन्द्रबहादुर खड्काबाट तथा ‘जीवनको भोगाइमा गणेशदास उलक’ वृत्तचित्रको सार्वजनिकीकरण अग्रज कलाकार तथा साहित्यकार पङ्कज चित्रकार र समाजसेवी तथा शिक्षासेवी रामप्रसाद अधिकारीबाट गरिएको थियो ।
कार्यक्रममा कृतिनायक गणेशदास उलकलाई शब्दयात्रा प्रकाशनका तर्फबाट ७७ औँ जन्मदिवसको अवसरमा सम्मान पनि गरियो । सम्मान गर्ने क्रममा सार्वजनिक गरिएको पुस्तक शिव बन्जाराले, ‘नेपालभूमि साप्ताहिक’ को एक वर्षको सङ्कलन चन्द्रबहादुर खड्काले, उपहार नैमिषारण्य गुरुकुलका गुरु राजन नेपालले र सम्मानपत्र मोहन दुवालले प्रदान गर्नुभयो भने किरीट हरि मञ्जुश्रीले लगाइदिनुभयो । कृतिनायककी अर्धाङ्गिनीलाई शब्दयात्रा प्रकाशनका तर्फबाट सकुल थापाले उपहार प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा गणेशदास उलकका बारेमा तयार पारिएको वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।