शब्दयात्रा प्रकाशनको ७८ औँ प्रकाशनपुष्पका रूपमा ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ नामक पुस्तिका प्रकाशन हुने भएको छ । यो पुस्तिका ‘घटना र विचार साप्ताहिक’ का कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीले लेख्नुभएको हो ।
‘घटना र विचार साप्ताहिक’ मा छापिई इन्टरनेटबाट झन्डै २ लाख ७६ हजार पाठकले पढिसकेको सामग्रीलाई पुस्तिकाका रूपमा पनि प्रकाशन गरिदिने माग बढेकाले शब्दयात्रा प्रकाशनले यसको प्रकाशनसम्बन्धी व्यवस्था मिलाएको हो ।
‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ आउँदै
शब्दयात्राका पुस्तक नैमिषारण्यमा सार्वजनिक हुने
शब्दयात्रा प्रकाशनबाट प्रकाशित दुई पुस्तक र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट प्रकाशित एक पुस्तक आगामी माघ महिनाको पहिलो साता सार्वजनिक हुने भएका छन् । तीनैवटा पुस्तक नैमिषारण्य क्षेत्रमा हुने विशेष समारोहमा सार्वजनिक गरिनेछन् ।
सार्वजनिक हुन लागेका पुस्तकमा शब्दयात्रा प्रकाशनको ७६ औँ प्रकाशनपुष्प ‘जागनीबोध’ र ७७ औँ प्रकाशनपुष्प ‘नागा बाबा रमेश गिरि’ एवं गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको प्रथम प्रकाशन ‘नैमिषारण्य नेपाल’ रहेका छन् । ‘नागा बाबा रमेश गिरि’ शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको सहयोगमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन भएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ती पुस्तकहरू प्रकापशत भएका हुन् ।
‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ छापिने
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशन हुने भएको छ । देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले प्रकाशन गर्ने उक्त स्मृतिग्रन्थलाई आगामी फागुन ७ गते काठमाडौँमा विशेष समारोहको आयोजना गरी सार्वजनिक गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले गराउनुभएको छ ।
देवीप्रसाद सापकोटाको योगदानलाई जनसमक्ष ल्याउने पहिलो प्रयास हरि मञ्जुश्रीबाटै भएको थियो । त्यसपछि शब्दयात्रा प्रकाशनले उहाँको नाउँमा सम्मानको स्थापना गरी पुस्तकको प्रकाशन पनि गरेको थियो । शब्दयात्रा प्रकाशनकै सक्रियतामा बनेपामा देवीप्रसाद सापकोटाको सालिक पनि राखिने भएको छ ।
नाम पठाइदिन अनुरोध
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको फागुन महिनामा झैँ २०७३ सालको फागुन महिनामा पनि निम्नलिखित चार विधाका विशिष्ट व्यक्ति वा संस्थालाई सम्मान गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७३ माघ १५ गतेभित्र यस संस्थामा प्राप्त हुने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
१. शिक्षा सम्मान (गत वर्ष तनहूँको महेश संस्कृत गुरुकुल सम्मानित)
२. आमसञ्चार सम्मान (गत वर्ष विराटनगरका कोशराज रेग्मी सम्मानित)
३. सामाजिक जागरण सम्मान (गत वर्ष तनहूँका भीमबहादुर अधिकारी सम्मानित)
४. विज्ञान–प्रविधि सम्मान (गत वर्ष अर्घाखाँचीका प्रा. डा. होमनाथ भट्टराई सम्मानित)
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६२ / ०११–६६३१६१
काठमाडौँ सम्पर्क : घट्टेकुलो — ९८४१३७२७०७ (रामचन्द्र हुमागाईंं), कपन — ९८४११९६६६७ (कविप्रसाद प्याकुयाल)
इमेल :[email protected]
‘नागा बाबा रमेश गिरि’ पुस्तक छापिँदै
शब्दयात्रा प्रकाशनको ७७ औँ प्रकाशनपुष्पका रूपमा ‘नागा बाबा रमेश गिरि’ नामक पुस्तक प्रकाशन हुने भएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा उक्त पुस्तक प्रकाशन हुन लागेको हो । पुस्तकमा काभ्रे जिल्लाको बनेपा बुडोलस्थित गोसाइँस्थानमा २०४२ सालमा आई त्यहीँ समाधिस्थ हुनुभएका प्रसिद्ध नागा बाबा रमेश गिरिका बारेमा जानकारी गराउने सामग्रीहरू रहेका छन् । यस पुस्तकका लागि शान्ति सेवा आश्रमले आर्थिक सहयोग गरेको छ ।
पुस्तकमा उद्धवप्रसाद नेपाल, कृष्णप्रसाद कोइराला, कृष्णमणि कुइँकेल, गुणबहादुर पाण्डे, जयकृष्ण भण्डारी, डिल्लीप्रसाद कोइराला, भैरव के. सी., मुकुन्दप्रसाद उपाध्याय, योगानन्द गिरी, राधाकृष्ण प्रधान, रामप्रसाद तिमल्सिना, शम्भु दाहाल, शिवलाल पाण्डे, शारदाप्रसाद शर्मा, शिवहरि के. सी., सुदर्शन आचार्य, सुमन खड्का आदिका लेखहरू रहेका छन् ।
शब्दयात्राले सिफारिस माग्यो
शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गरिने शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि गरी चार विधाका सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ र योगदानको विवरण आगामी माघ १५ गतेभित्र शब्दयात्रा प्रकाशनमा प्राप्त हुने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ । त्यसरी सिफारिस प्राप्त भएका व्यक्ति अथवा संस्थाहरूमध्येबाट नै चयन समितिले सम्मान गर्नुपर्ने व्यक्ति अथवा संस्थाको नाउँ चयन गर्ने गर्दछ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि विधामा सम्मान समर्पण गर्ने गरेको छ । गत वर्षको फागुन महिनामा शिक्षा सम्मानबाट तनहूँको महेश संस्कृत गुरुकुल, आमसञ्चार सम्मानबाट विराटनगरका कोशराज रेग्मी, सामाजिक जागरण सम्मानबाट तनहूँका भीमबहादुर अधिकारी र विज्ञान–प्रविधि सम्मानबाट अर्घाखाँचीका प्रा. डा. होमनाथ भट्टराई सम्मानित भएका थिए ।
सालिकका लागि सहयोग उठ्न थाल्यो
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित साप्ताहिक पत्रिका ‘नेपालभूमि साप्ताहिक’ र शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ बाट काभ्रे जिल्लामा चारजना वरिष्ठ व्यक्तित्वहरूको सालिक स्थापना गर्नका लागि सहयोग गर्न सार्वजनिक रूपमा आह्वान गरिएपछि अत्यन्त खुसी भएर सहयोगदाताहरूले सहयोग गर्न थालेका छन् । बनेपामा चारजनाको सालिक राखिने समाचार राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूले प्रकाशन गरेपछि शब्दयात्रा प्रकाशनले सहयोगका लागि सार्वजनिक आह्वान गरेको थियो ।
सालिकको निर्माण तथा स्थापनासम्बन्धी कार्यक्रमका लागि गीता मञ्जुश्री अधिकारीले १० हजार १ सय १ रुपियाँ, द्रोणप्रसाद श्रेष्ठले ११ हजार १ सय ११ रुपियाँ, माधवप्रसाद अधिकारीले ५ हजार १ सय रुपियाँ र सोमकाजी शाक्यले ५ हजार ५ सय २५ रुपियाँ सहयोग गर्नुभएको छ । अन्य थुप्रै व्यक्तिहरूले फोन गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहयोगी मित्रहरूको नाउँ र सहयोगसम्बन्धी जानकारी ‘नेपालभूमि साप्ताहिक’ र ‘शब्दसञ्चार कार्यक्रम’ बाट गराइनेछ । सालिकको अनावरण गर्दा सार्वजनिक गरिने पुस्तकमा हरेक सहयोगदाताको नाउँ र सहयोगको विवरण उल्लेख गरिनेछ । घटीमा ५ हजार १ सय रुपियाँसम्मको आर्थिक सहयोग गर्ने सहयोगीहरूको नाउँ शिलापत्रमा राखिने भएको छ ।
हार्दिक बधाई
हाम्रा आत्मीय मित्र, ‘कौशिकी’ का सम्पादक तथा शब्दयात्रा प्रकाशनका शुभेच्छुक चेतनाथ धमला प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य पदमा चारवर्षे कार्यकालका लागि नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको ज्ञान र अनुभवले नेपाली प्रेस जगत्लाई निरन्तर लाभान्वित गराइरहन सकोस् भन्ने कामना गर्दछौं ।
अध्यक्ष हरि मञ्जुश्री, तथा
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे
व्यथित हृदयबाट मोक्षकामना
शब्दयात्रा प्रकाशनका हितचिन्तक, नेपाली भाषा–साहित्यका अनन्य साधक एवं अक्षरपूजामा आजीवन समर्पित भक्त कमलमणि दीक्षित सङ्कलन, अध्ययन, अन्वेषण, लेखन, सम्पादन, प्रकाशन, संस्था–सञ्चालन आदिजस्ता वाङ्मयिक क्रियाकलापहरूबाट आफूलाई मुक्त पार्दै इहलोकबाट परलोकतर्फ प्रस्थान गर्नुभएको दुःखद अवस्थाले हामी शब्दसाधकहरूलाई अत्यन्त व्यथित बनाएको छ । नेपाली जातिलाई गौरवान्वित बनाइरहने उहाँका कृति र कीर्तिले उहाँको स्मृतिलाई चिरजीवन दिइरहने विश्वासका साथ उहाँप्रति आत्मिक श्रद्धाभाव र मोक्षकामना व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र सहवेदनाको अनुभूति सम्प्रेषण गर्दछौं ।
अध्यक्ष हरि मञ्जुश्री, तथा
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट सम्मानित अग्रज पत्रकार नारायणप्रसाद शर्मा संस्थापक तथा सल्लाहकार रहेको ‘युगबोध राष्ट्रिय दैनिक’ (दाङ) रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार, २०७२’ बाट पुरस्कृत भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे

