समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्री जङ्गम थापा’ नामक पुस्तकले आफ्नो नाउँबाटै यो पुस्तक सावित्री जङ्गम थापाको इतिवृत्त हो भन्ने जानकारी दिएको छ । यस पुस्तककी नायिका सावित्री जङ्गम थापाको असी वर्षसम्मको जीवनयात्रा यस पुस्तकमा सङ्क्षिप्त रूपमा समेटिएको छ । त्रिचालीसवटा उपशीर्षक दिएर संरचित यस पुस्तकले सावित्री जङ्गम थापालाई चिन्न, जान्न, बुझ्न सघाउँछ र उहाँका विषयमा अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि राम्रो सामग्री प्रदान गर्दछ ।
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ बालसाहित्यकार कन्हैया नासननी (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । विविध साहित्यिक सिर्जना गर्दागर्दै पनि अढाइ दशकसम्म नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रही बालबालिकाहरूका लागि उपयोगी हुने जीवनी, कथा र वैज्ञानिक तथ्यहरू पुस्तकका रूपमा प्रस्तुत गरेर उहाँले विशिष्ट योगदान गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको थियो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा कन्हैया नासननीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।