Home Blog Page 22

डा. कान्ता भट्टराईलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ विदुषी डा. कान्ता भट्टराई (खोटाङ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ आध्यात्मिक क्षेत्रकी विदुषी तथा प्रवाचिका हुनुहुन्छ । नेपाली समाजमा नैतिक चेतना, मानवीय कर्तव्यबोध र आध्यात्मिकताको जागरण गराउने खालका विभिन्न लेखहरू लेखी उहाँले प्रकाशन गराउनुभएको छ । उहाँजस्ती साधिकामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनाली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. कान्ता भट्टराईप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।

नरनाथ लुइटेललाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान’ हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल (भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ ‘सिस्नुपानी नेपाल’ नामक संस्थाका संस्थापकमध्येका एक तथा हास्यव्यङ्ग्य पत्रिका ‘फित्कौली डटकम’ का सञ्चालक–सम्पादक हुनुहुन्छ । उहाँले हास्यव्यङ्ग्य विधाका विभिन्न कृतिहरूको लेखन तथा नेपालको हास्यव्यङ्ग्य साहित्यसम्बन्धी अनुसन्धान गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्मा (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा नरनाथ लुइटेलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।

शब्दयात्रा प्रकाशनमा विद्यार्थीहरूको शैक्षिक भ्रमण

0
काभ्रेपलाञ्चोक जिल्लाको श्रीखण्डपुरस्थित श्रीखण्डपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक भ्रमण गर्ने क्रममा आज शब्दयात्रा प्रकाशनको भ्रमण गरे र विभिन्न संरचनाहरूको अवलोकन गरे । उनीहरूका साथमा पाँचजना शिक्षकहरू पनि आउनुभएको थियो । विद्यार्थीहरूले त्यहाँका सालिकहरूका विषयमा जिज्ञासा राखे । कस्ता मान्छेको सालिक राखिन्छ, यहाँ सालिक राखिएका मान्छेहरू को–को हुन् र उनीहरूको सालिक राख्नुको कारण के हो भनेर जानकारी गराइयो । उनीहरूले पुस्तकालय हेरे, अनुसन्धान कक्ष हेरे र पुस्तकका बारेमा जिज्ञासा राखे । उनीहरूलाई बताइयो र शब्दयात्रा प्रकाशनका तर्फबाट हरेक विद्यार्थीलाई बालसाहित्यका एक–एकवटा पुस्तक उपहार पनि दिइयो । उनीहरूले मन्दिरका विषयमा जिज्ञासा राखे । सरस्वतीको मन्दिर चिनाएपछि उनीहरूले सरस्वतीको मूर्तिलाई ढोगे । नीलकण्ठेश्वर महादेवको दर्शन गरे । एक सय आठ शिवलिङ्गको परिक्रमा गरे । हाइकुघरका अगाडि उभिएर तस्बिर खिचाउन भने । एकजना विद्यार्थीले ‘मैले यहाँबाट छात्रवृत्ति पाएको छु’ भनेर आफूलाई चिनाए । निकै बेर रमाएपछि उनीहरू फर्किए । यसको संयोजन गरिदिनुभएकोमा संयोजक शिव बन्जाराप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।

भजनमा आधुनिकीकरण सम्बन्धी विचारगोष्ठी

0

भक्तपुरमा हिजो फागुन ७ गते ‘भजनको लेखन, सङ्गीत तथा गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठीको आयोजना गरियो । कार्यक्रमका आयोजक कला–संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी हुनुहुन्थ्यो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई भजनलेखक, सङ्गीतकार र गायकका रूपमा प्रमुख वक्ता बनाइएको थियो । जम्मा २ घण्टा लामो त्यस कार्यक्रममा उहाँको मन्तव्यका लागि ४५ मिनेट समय छुट्याइएको थियो । त्यति समयभित्र उहाँले आफ्नो भनाइ प्रस्तुत गर्नुभयो । त्यसपछि रङ्गकर्मी हरिबहादुर थापा, वाराहीपीठका अध्यक्ष अनन्तप्रसाद धौभडेल, कवि विष्णु ओली, भजनलेखक ढुण्डिराज पोखरेल, भजनगायक प्रताप राना, गायिका कमला गौतम आदिले उहाँको मन्तव्यलाई लिएर आआफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा कवि पदम दाहाल र जयनारायण नेपाल, आख्यानकार प्रजापति तिमिल्सिना, गायक सत्यनारायण मानन्धर, शिक्षासेवी पशुपतिमान प्रधान आदिका साथै भक्तपुरका विभिन्न भजन समूहका गायक–गायिका तथा सङ्गीत प्रशिक्षकहरूको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व डा. इन्दुल केसीले, आतिथ्य रङ्गकर्मी हरिबहादुर थापा र वाराहीपीठका अध्यक्ष अनन्तप्रसाद धौभडेलले तथा सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो ।
एबीसीडी अनलाइन पत्रिकाका सम्पादक कृष्ण किसीका अनुसार भजनको लेखन, सङ्गीत तथा गायनमा आधुनिकीकरण विषयक विचारगोष्ठी भक्तपुरमा पहिलोपटक आयोजना गरिएको हुन सक्छ ।

आरती समाजलाई शब्दयात्रा प्रकाशनबाट आर्थिक सहयोग

0
शब्दयात्रा प्रकाशनले काठमाडौँ शङ्खमूलको त्रिवेणी गङ्गा आरती समाजलाई ११ हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य पूर्वप्रशासक तथा कवि चन्द्रबहादुर खड्काले आरती समाजका लागि उपसंयोजक भोगेन्द्र शर्मालाई प्रदान गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि अच्युत अधिकारीद्वारा लिखित ‘मेनका’ कवितासङ्ग्रहको सार्वजनिकीकरण समारोह कोटेश्वरको दोभान रेस्टुरेन्टमा हिजो फागुन ४ गते आयोजना गरिएको थियो । शब्दयात्रा प्रकाशनको आयोजनामा भएको उक्त समारोहमा उक्त पुस्तक श्रोता–दर्शकदीर्घामा रहनुभएका महानुभावहरूले स्वेच्छिक मूल्यमा खरिद गर्दा उठेको उक्त रकम आरती समाजलाई सहयोगस्वरूप प्रदान गरिएको हो । पुस्तकको मूल्य २ सय रुपियाँ राखिएको छ ।

विवाहको स्वर्णमहोत्सवमा ‘मेनका’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि अच्युत अधिकारी र रुक्मिणी अधिकारीको वैवाहिक स्वर्णमहोत्सव शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो काठमाडौँमा भव्य रूपमा मनाइयो । त्यस बखत कवि अच्युत अधिकारीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा २४३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘मेनका’ नामक कवितासङ्ग्रहको सार्वजनिकीकरण गरियो । शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन सदस्यहरूका विशेष दिनहरूमा यस्तै उत्सवको आयोजना गर्ने गरेको छ ।
हिजो आयोजित वैवाहिक स्वर्णमहोत्सव कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारी, सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार अच्युत अधिकारीले संयुक्त रूपमा ‘मेनका’ लाई सार्वजनिक गर्नुभयो । कार्यक्रममा कवि अच्युत अधिकारीको व्यक्तित्व र ‘मेनका’ को विशेषताका बारेमा कृष्णमुरारि कोइरालाले जानकारी गराउनुभएको थियो भने तारादत्त पनेरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘मेनका’ भित्रका तीनवटा कविता डा. इन्दुल केसी, केदारनाथ तिमल्सिना र प्रजापति तिमल्सिनाले वाचन गर्नुभएको थियो । प्रकाशन संस्थाका तर्फबाट पुण्यवती घलेले कृतिकारमा ‘मेनका’ समर्पण गर्नुभएको हिजोको कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट तयार पारिएको शुभकामनापत्र कवि ढुण्डिराज पोखरेलले कवि अच्युत अधिकारी र रुक्मिणी अधिकारीमा समर्पण गर्नुभएको थियो । त्यसपछि विभिन्न महानुभावहरूले अच्युत अधिकारीमा उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा ‘मेनका’ स्वेच्छिक रूपमा खरिद गर्ने महानुभावहरूबाट उठेको ११ हजार २ सय ५० रुपियाँ शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले शङ्खमूल त्रिवेणी गङ्गा आरती समाजका लागि उपसंयोजक भोगेन्द्र शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
शिक्षासेवी लोकेन्द्र ढकालले समुद्घाटन गर्नुभएको हिजोको कार्यक्रमको सञ्चालन आजीवन सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो । मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण शङ्कर मानन्धरले गर्नुभएको हिजोको कार्यक्रममा प्रा. केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गर्दै कार्यक्रमको समीक्षासहित विसर्जन गर्नुभएको थियो । कार्यक्रममा कृतिकार अच्युत अधिकारीले मन्तव्यका क्रममा आफ्नो वैवाहिक स्वर्णमहोत्सवको अवसरमा कृति सार्वजनिक गर्ने कार्यक्रमको आयोजना गरिदिएकोमा शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको व्यवस्थापन सहयोग सङ्गीता केसीले गर्नुभएको थियो ।

डा. तीर्थबहादुर श्रेष्ठमा पुरस्कार समर्पण

0
शब्दयात्रा प्रकाशनको टोलीले आज वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको घरैमा पुगेर ‘शब्दयात्रा टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा उहाँ शारीरिक अस्वस्थताका कारणले उपस्थित हुन सक्नुभएको थिएन । पुरस्कार समर्पण गर्न उहाँको निवासमा गएको टोलीमा हरि मञ्जुश्री, रामप्रसाद अधिकारी, केदारनाथ तिमल्सिना, पुण्यवती घले, नवीना श्रेष्ठ र सङ्गीता केसी हुनुहुन्थ्यो । पुरस्कारका कोष व्यवस्थापक डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसे पनि उपस्थित हुनुहुन्थ्यो । पुरस्कार समर्पण गर्ने क्रममा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला, नवीना श्रेष्ठले उपहार, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, डा. मुकेशकुमार चालिसेले भेटी र रामप्रसाद अधिकारीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । सामग्री व्यवस्थापन पुण्यवती घले र सङ्गीता केसीले गर्नुभएको थियो ।

जयनारायण नेपालबाट आर्थिक सहयोग

0
पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले शब्दयात्रा प्रकाशनलाई २ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार पूर्वप्रशासक तथा कवि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशनबाट विभिन्न पुरस्कारहरू समर्पण

0

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणमा समर्पण गर्ने पुरस्कारहरू हिजो २०८१ माघ २६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा समर्पण गरेको छ । समारोहमा गीतकार तथा सङ्गीतकार श्याम तमोट, साहित्यकार अनन्त कोइराला, आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’, प्रशासक हुमकला पाण्डे, इन्जिनियर दिनेश चौधरी, शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ र लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत व्यक्तित्व सबैलाई हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट लगाइदिनुभएको थियो ।
कवि कृष्ण जोशीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०८१’ गीतकार तथा सङ्गीतकार श्याम तमोटमा समर्पण गरियो । उहाँलाई पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले रुद्राक्षमाला र उपहार तथा कवि कृष्ण जोशीकी अर्धाङ्गिनी सरस्वती जोशीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
राम–रेवती प्रतिष्ठानले कोष व्यवस्थापन गरेको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, २०८१’ साहित्यकार अनन्त कोइरालामा समर्पण गरियो । उहाँलाई चिकित्सक तथा कवि डा. छत्रपति दाहालले रुद्राक्षमाला र उपहार तथा शिक्षासेवी रामप्रसाद अधिकारीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
बनेपा प्रकाशन प्रा. लि. का तर्फबाट गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक साहित्य पुरस्कार, २०८१’ आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’ मा समर्पण गरियो । उहाँलाई महाकाव्यकार दुर्गाप्रसाद अधिकारीका भाइ दण्डपाणि अधिकारीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
पूर्वप्रशासक तथा गायिका उर्मिला श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार, २०८१’ प्रशासक हुमकला पाण्डेमा समर्पण गरियो । उहाँलाई कवि विष्णु ओलीले रुद्राक्षमाला र उपहार तथा प्रा. केदारनाथ श्रेष्ठले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उहाँलाई पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठले रुद्राक्षमाला र उपहार तथा पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
समाजसेवी लीलाबहादुर केसीको स्मृतिमा निरोज थापाले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उहाँलाई हरि मञ्जुश्री र पत्रकार प्रदीप केसीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८१’ लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई संयुक्त रूपमा समर्पण गरियो । उहाँहरू हाल अमेरिकामा रहनुभएकाले उहाँहरूका तर्फबाट बहिनी लक्ष्मी खड्काले पुरस्कार ग्रहण गर्नुभएको थियो । उहाँलाई कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
वैज्ञानिक डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोष व्यवस्थापन गर्नुभएको ‘क्याप्टेन टीकाराम — रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार, २०८१’ ग्रहण गर्न शारीरिक अस्वस्थताले गर्दा उपस्थित हुन नसक्नुभएका वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठलाई आगामी फागुन ४ गते आइतबार उहाँको निवासमै गई पुरस्कार समर्पण गर्ने जानकारी समारोहमा गराइएको थियो ।

ह्याप्पी बर्थडे नभनौँ भन्ने सन्देश दिइएको जन्मदिनको शुभकामना गान सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले लेख्नुभएको जन्मदिनको शुभकामना गान यही माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । यस गानमा उहाँले पनि स्वर दिनुभएको छ र गानलाई उहाँले नै सार्वजनिक गर्नुभएको हो । उहाँ ८१ वर्षका हुनुहुन्छ ।
जन्मदिनमा बत्ती निभाउने, केक काट्ने, जुठो खुवाउने र अङ्ग्रेजी भाषाका केही शब्द बोल्दै थपडी बजाउने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा हाम्रो मौलिक संस्कृति पनि कायम रहोस् र जन्मदिन मनाउने परिपाटीलाई आधुनिक स्वरूप पनि दिन सकियोस् भन्ने उद्देश्यले जन्मदिनको शुभकामना गान तयार पारिएको हो । अरूको सांस्कृतिक र भाषिक दासता अस्वीकार गर्ने र आफ्नै संस्कृति र भाषाको जगेर्ना गर्न खोज्ने नेपालीहरूले आफ्नो, आफ्ना परिवारको र आफन्तको जन्मदिनमा उक्त गानको उपयोग गर्नुहुनेछ भन्ने आशा गरिएको छ । गानमा हाम्रो …… को र हाम्री …… को भनिएको छ । जन्मोत्सवमा योे गान गाउँदा जुन व्यक्तिको जन्मोत्सव हो, त्यही व्यक्तिको नाउँ या नाता भन्नुपर्ने हुन्छ । यस गानले ‘ह्याप्पी बर्थडे टु यु’ भन्नुको सट्टा ‘दीर्घ जीवन रहोस् सुख–शान्ति सहितको’ भन्नु वेश हुन्छ भन्ने सन्देश दिएको छ ।
यस गानका सङ्गीतकार हरि मञ्जुश्री, सुपरिवेक्षक मच्छेश्वर सापकोटा र बाद्यसंयोजक बालकृष्ण सेवाचार्य हुनुहुन्छ । यो गान इ. रोशन मञ्जुश्री अधिकारी, सरस्वती सापकोटा, गीता अधिकारी, केदारनाथ तिमल्सिना र रिभब सेवाचार्यले गाउनुभएको हो । यो गान अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।