Home Blog Page 20

स्वामी सच्चिदानन्द विशुद्धदेव विषयक गान सार्वजनिक

0
श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवको २४ औँ महानिर्वाण स्मृतिदिवसको अवसर पारी यही वैशाख १७ गते अक्षयतृतीयाका दिन बनेपा जनागालस्थित हंसदा योग आश्रमले आयोजना गरेको कार्यक्रममा स्वामी सच्चिदानन्द विशुद्धदेवसँग सम्बन्धित आध्यात्मिक गान सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष साहित्यकार, गायक तथा सङ्गीतकार हरि मञ्जुश्रीको शब्द र सङ्गीतमा तयार भएको उक्त गान स्वामी नीलकण्ठ र स्वामी कल्याणमित्रले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । मच्छेश्वर सापकोटाले सुपरिवेक्षण गर्नुभएको उक्त गानमा हरि मञ्जुश्री, डा. इन्दुल केसी र बबिता प्याकुरेलको स्वर रहेको छ भने बालकृष्ण सेवाचार्यले गानमा बाद्यसंयोजन तथा ध्वनिमिश्रण गर्नुभएको छ । यही गानबाट डा. इन्दुल केसीले ८४ वर्षको उमेरका गानको स्वराङ्कन गराउने गायकको अभिलेख राख्नुभएको हो । गान सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वामी पञ्चशीलले स्वागत गर्नुभएको थियो भने कार्यक्रम डा. इन्दुल केसीले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा हरि मञ्जुश्रीले उक्त गानका बारेमा जानकारी गराउनुभएको थियो । उक्त गान आजैदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न सकिनेछ ।

कमला पुस्तकालयलाई शब्दयात्रा प्रकाशनबाट पुस्तक सहयोग

0
शब्दयात्रा प्रकाशनले सिन्धुली जिल्लाको कमला सामुदायिक पुस्तकालयलाई एक दर्जन पुस्तक सहयोगस्वरूप प्रदान गरेको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट कमलामाई नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर खत्रीले ग्रहण गर्नुभएको छ । पुस्तकालयलाई उपलब्ध गराएका पुस्तकहरू हरि मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दचित्रमा मोहन दुवाल’ र ‘नेपालपथ’, श्याम अधिकारीको ‘झापाली आमा’ र ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’, वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’, डा. गोपाल पौड्याल मन्डनेको ‘अमरज्योति’, टीकादत्त बरालको ‘महाकवि देवकोटाका काव्यको अध्ययन’, डा. शालिग्राम शर्माको ‘अहर्निश उकालो’, ‘देहात तापेर आयुर्वेद’ र ‘पहिलो अस्पताल’, श्रीधर प्याकुरेलको ‘पञ्चतन्त्र’ तथा माधवप्रसाद चापागाईंको ‘नजोडिएको सम्बन्ध’ रहेका छन् ।

२५०. भक्तिसुधा (जोशमुनि संस्कारसहित)

सन्त भक्तिदिल (भक्तिनारायण घिमिरे) द्वारा लिखित तथा सम्पादित ‘भक्तिसुधा’ (जोशमुनि संस्कारसहित) नामक प्रस्तुत पुस्तक आध्यात्मिक क्षेत्रमा रुचि राख्ने सनातन वैदिक धर्मावलम्बी पाठक वर्गका लागि उपयोगी रहेको छ । यस पुस्तकभित्र ८८ वटा विभिन्न शीर्षकमा विभिन्न प्रकारका सामग्रीहरू रहेका छन् । जान्नुपर्ने कैयौँ प्रसङ्गहरू यस पुस्तकमा सङ्क्षिप्त रूपमा समेटिएका छन् । त्यसैले यो पुस्तक पढ्नुपर्ने पुस्तकका रूपमा आएको छ । सनातन वैदिक धर्म अन्तर्गतको जोशमुनि परम्पराका विषयमा अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि पनि यस पुस्तकले राम्रो सामग्री प्रदान गर्दछ ।

२४९. खेलौना (लघुकथासङ्ग्रह)

नेपाली साहित्यको लघुकथा क्षेत्रमा सुपरिचित नाम बनाइसक्नुभएका गायत्रीकुमार चापागाईंको प्रस्तुत पु्स्तक ‘खेलौना’ छोटा, प्रभावकारी र उद्देश्योन्मुख कथावस्तु भएका लघुकथाहरूको सङ्ग्रह हो । पारिवारिक र दाम्पत्य जीवनका समस्या, पहाड र तराईको लोकजीवन, ग्राम्य जीवनका विवशता, विदेश जानुपर्ने स्थिति, पाश्चात्य संस्कृतिको प्रभावमा परेर नेपालको मौलिक संस्कृति हराउँदै जाँदाको पीडा, राजनीतिको आडमा मौलाएका सामयिक विकृति र विसङ्गतिप्रतिको प्रहार, नेतृत्व वर्गका अराजक क्रियाकलापहरूप्रतिको वितृष्णा, नीतिगत भ्रष्टाचारको विरोध आदिजस्ता विषयहरू यस सङ्ग्रहका कथाहरूमा मुखरित भएका छन् । कथावस्तु या घटनाक्रम विश्वसनीय लाग्नु र कथाको अन्त्य हठात् हुनु यसभित्रका लघुकथाहरूको विशेषता हो । यस सङ्ग्रहले लघुकथाका पाठकलाई नवीन रसास्वादन गराउनेछ ।

दुई पुस्तकका विषयमा अन्तर्विमर्श

0
शब्दयात्रा प्रकाशनको आयोजनामा आज वैशाख १३ गते शनिबार दुई पुस्तकका विषयमा अन्तर्विमर्श कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तकका बारेमा डा. नन्दीश अधिकारी र शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो भने त्यस बखत उठेका प्रश्नहरूको उत्तर कृतिकारले दिनुभएको थियो । यसै गरी पोष चापागाईंद्वारा लिखित ‘सेतो मृग’ नियात्रासङ्ग्रहका बारेमा डा. श्याम भट्टराई र मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो भने त्यस बखत उठेका प्रश्नहरूको उत्तर कृतिकारले दिनुभएको थियो ।
अन्तर्विमर्श गर्नुअघि ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ लाई कृतिकारले थैलीबाट पुस्तक झिकेर सार्वजनिक गर्नुभएको थियो भने ‘सेतो मृग’ को सार्वजनिकीकरण कृतिकारले अन्तर्विमर्श कार्यक्रमको तुल टाँगेर गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सञ्चालित त्यस कार्यक्रममा सिन्धुलीको कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्री अतिथि हुनुहुन्थ्यो भने अधिवक्ता तथा लेखक स्वयम्भू शाक्यले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । आजीवन सदस्य कृष्णमणि कुइकेलले उद्घोषण गर्नुभएको आजको कार्यक्रमको समुद्घाटन प्रा. डा. बद्रीविशाल पोखरेलले गर्नुभएको थियो । अतिथि स्वयम्भू शाक्यलाई आजीवन केदारनाथ तिमल्सिनाले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दचित्रमा मोहन दुवाल’ पुस्तिका पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रा. पीताम्बर अधिकारी, डा. रूपनारायण श्रेष्ठ, डा. इन्दुल केसी, बलदेव थापा, रामप्रसाद अधिकारी, जयराम श्रेष्ठ, पूर्णबहादुर कर्माचार्य, शिव बन्जारा, कालिका त्रिपाठी पन्त, पुण्यवती घले, सहदीप पलाञ्चोके, मीना अधिकारी, दण्डपाणि अधिकारी, निश्चल अधिकारी, वेदप्रसाद गौतम, श्री शर्मा मूर्ख आदि बौद्धिक जमातको उपस्थिति थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो ।

एक वर्षमा २१ पुस्तक

0
शब्दयात्रा प्रकाशन प्रकाशक भई २०८१ सालभरिमा २१ वटा पुस्तक प्रकाशित भएछन् । (१) दिलहरि श्रेष्ठका कविता — दिलहरि श्रेष्ठ (२) सफल जीवनका लागि योग — दिवाकर जङ्गम (३) व्यथाको कथा — लीलादेवी श्रेष्ठ (४) अर्काको आँखामा आफू — रामकुमार पाँडे (५) सय पाइला पैले — खेमराज शर्मा (६) चमेली — यज्ञप्रसाद शर्मा त्रिपाठी (७) सत्य गीता ज्ञान — गीतादेवी शर्मा (८) जूनको जात्रा — अम्बिका धिताल (९) चलेको छ जिन्दगी — कमानसिंह घलान (१०) रङ्गमञ्चमा म — हरिबहादुर थापा (११) स्मृतिपुष्पका पराग — डा. इन्दुल केसी (१२) पृथ्वीमा मानिसका जीवनयात्रा — वेदप्रसाद गौतम (१३) दुई थुँगा फूल — रोशन मञ्जुश्री अधिकारी (१४) पाठकका आँखामा हरि मञ्जुश्री — रश्मि हुमागाईं र इ. रोशन अधिकारी (१५) नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द — सुदीप अधिकारी (१६) मेनका — अच्युत अधिकारी (१७) मान्छेभित्रको मान्छे — प्रकाश खड्का (८) दस पैसा — लक्ष्मणसुन्दर सैँजू (१९) सम्पादक्यौली — द्रोणप्रसाद श्रेष्ठ (२०) ग्वालटारदेखि बानेश्वरसम्म — अजयकुमार पोखरेल (२१) शब्दचित्रमा सावित्री जङ्गम थापा — समीर आचार्य ।

सम्मान समर्पण तथा पुस्तक र गीत सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

0
शब्दयात्रा प्रकाशनमा यही २०८१ साल चैत २३ गते शनिबार सम्मान समर्पण तथा पुस्तक र गीत सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरी आठजना राष्ट्रिय प्रतिभालाई सम्मान समर्पण गर्नुका साथै चारवटा पुस्तक र एउटा गीतलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका सल्लाहकार सावित्री जङ्गम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभयो । अभिवन्दनापत्रको वाचन कृष्णमणि कुइकेलले गर्नुभएको उक्त कार्यक्रममा पुस्तकहरूका बारेमा डा. इन्दुल केसीले जानकारी दिनुभयो ।
पानसमा दीप प्रज्ज्वलन गरेर कवि मुरहरि रायमाझीले कार्यक्रमको समुद्घाटन गर्नुभएपछि स्वस्तिवाचन र राष्ट्रिय गान प्रस्तुत गरियो । त्यसपछि आजीवन सदस्य जयनारायण नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रा. शङ्करराज पाठकले शब्दयात्रा प्रकाशनलाई आशीर्वाद प्रदान गर्नुभयो । कार्यक्रममा देवीप्रसाद सापकोटा, गोपाल पराजुली, जयदेव अधिकारी, पद्मकला–भीमप्रसाद सुवेदी र पं. रुद्रलाल शर्माको तस्बिरमा माल्यार्पण गर्नुका साथै दिवङ्गत वाङ्मयसेवीहरूको आत्मशान्तिको कामनाका साथ एक मिनेट मौनधारण गरियो । सार्वजनिक गरिएका पुस्तकहरू शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलाञ्चोके र अमृत अधिकारीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई निःशुल्क वितरण गर्नुभयो । चयन समितिका संयोजक चन्द्रबहादुर खड्कालाई आजीवन सदस्य अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभयो भने सम्मानित व्यक्तित्वका तर्फबाट मन्तव्य व्यक्त गर्दै कार्यक्रमको समीक्षासहित सभाविसर्जन महाकाव्यकार माधव वियोगीले गर्नुभयो ।
सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, आजीवन सदस्य केदारनाथ तिमल्सिनाले मञ्चस्थ महानुभावहरूलाई माला अर्पण र कार्यालय व्यवस्थापक सङ्गीता केसीले विभिन्न व्यवस्थापन गर्नुभयो ।

आठजनालाई शब्दयात्रा सम्मान

0

शब्दयात्रा प्रकाशनले कोशकार प्रा. शङ्करराज पाठक, आध्यात्मिक प्रवाचिका डा. कान्ता भट्टराई, पत्रकार आदित्यमान श्रेष्ठ, समालोचक प्रा. डा. उषा ठाकुर, बालसाहित्यकार कन्हैया नासननी, महाकाव्यकार माधव वियोगी, हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल र अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीमा सम्मान समर्पण गरेको छ ।
उहाँहरूलाई २०८१ सालको अन्तिम चरणको सम्मान समर्पण गरिएको हो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष विभिन्न विधाहरूमा तीन चरणमा सम्मान समर्पण समारोहको आयोजना गरी राष्ट्रिय ख्याति आर्जन गरेका व्यक्तित्वहरूमा सम्मान समर्पण गर्ने गरेको छ ।
प्रा. शङ्करराज पाठकमा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान, डा. कान्ता भट्टराईमा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान, आदित्यमान श्रेष्ठमा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, प्रा. डा. उषा ठाकुरमा हरिगोपाल प्रधान समालोचना सम्मान, कन्हैया नासननीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, माधव वियोगीमा वसन्त शर्मा कविताकाव्य सम्मान, नरनाथ लुइटेलमा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान र डा. दुर्गाबहादुर घर्तीमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरिएको हो । यी सम्मानहरूका लागि प्रा. लालानाथ सुवेदी, कृष्णहरि मैनाली, सुनील सापकोटा, हरिगोपाल प्रधान, गोपाल पराजुली, कविप्रसाद प्याकुरेल, शारदाप्रसाद शर्मा र राजेन्द्र विरहीले कोष व्यवस्थापन गर्नुभएको छ ।
स्वास्थ्यसम्बन्धी समस्याका कारण समारोहमा उपस्थित हुन नसक्नुभएका आदित्यमान श्रेष्ठ र कन्हैया नासननीको सम्मान सामग्री उहाँहरूको घरमा लगेर हस्तान्तरण गर्ने गरी शिव बन्जाराले तथा इन्डियामा उपचाररत प्रा. डा. उषा ठाकुरको सम्मान सामग्री उहाँका छोरा अभिषेक ठाकुरले ग्रहण गर्नुभएको थियो ।
सावित्री जङ्गम थापा सभापति रहनुभएको उक्त समारोहको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र अभिवन्दनापत्रको वाचन आजीवन सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो ।

चारवटा पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित चारवटा पुस्तकलाई यही चैत २३ गते शनिबार आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।
कार्यक्रममा लक्ष्मणसुन्दर सैँजूको कथासङ्ग्रह ‘दस पैसा’ लाई सावित्री जङ्गम थापा र नरनाथ लुइटेलले एवम् द्रोणप्रसाद श्रेष्ठको सम्पादकीय, भूमिका र मन्तव्यको सङ्ग्रह ‘सम्पादक्यौली’ लाई कृतिकार द्रोणप्रसाद श्रेष्ठ र पत्रकार बलदेव थापाले सार्वजनिक गर्नुभएको थियो ।
यसै गरी अजयकुमार पोखरेलद्वारा लिखित आत्मसंस्मरण ‘ग्वालटारदेखि बानेश्वरसम्म’ डा. फणिराज पाठक र डा. छत्रपति दाहालबाट एवम् समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्री जङ्गम थापा’ रामशरण न्यौपाने र डिल्लीप्रसाद मूलतिहुनबाट सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएका चारैवटा पुस्तकका विषयमा डा. इन्दुल केसीले सङ्क्षिप्त चिनारी गराउनुभएको थियो । यी चार पुस्तकसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या २४८ पुगेको छ ।
कार्यक्रम दिउँसो १२ः३० बजे शुरु भएर २ः३० बजे समापन गरिएको थियो ।

सुरेशराज शर्मा गान सार्वजनिक

0

काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति डा. सुरेशराज शर्माका विषयमा उहाँकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलले करिब १५ वर्षअघि लेख्नुभएको मार्मिक गीत उहाँको निधन भएको पाँच महिनापछि स्वराङ्कन गरी सार्वजनिक गरियो । सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा योजना खड्गीले गाउनुभएको उक्त गीत यही चैत २३ गते शनिबार शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा प्राज्ञ, प्राध्यापक तथा नृत्यविद् बेटी बज्राचार्यले सार्वजनिक गर्नुभयो ।
गीतको सार्वजनिकीकरणका अवसरमा गायनका लागि योजना खड्गी र बाद्यसंयोजन तथा ध्वनिमिश्रणका लागि बालकृष्ण सेवाचार्यलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आभारपत्र प्रदान गरियो । योजना खड्गीलाई आध्यात्मिक प्रवाचिका तथा पूर्वमन्त्री डा. कान्ता भट्टराईले र बालकृष्ण सेवाचार्यलाई अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीले आभारपत्र प्रदान गर्नुभएको थियो ।
गीतिभास्कर मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र कृष्णमणि कुइकेलको व्यवस्थापनमा तयार भएको उक्त गीत ‘सुरेशराज शर्मा गान’ टाइप गरी ‘अक्षरधाम’ यु–ट्युब च्यानलबाट सुन्न सकिनेछ ।