शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न तीन सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ बनाएको छ ।
शिक्षासेवी ध्रुवराज नेपालको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चारकर्मी राजाराम कार्की र कवयित्री मीरा चापागाईं सदस्य रहनुभएको छ ।
शब्दयात्राले बनायो चयन समिति
शब्दयात्राबाट ‘सम्झना बुबाको’
शब्दयात्रा प्रकाशनले जगन्नाथ गिरीको सम्पादनमा ‘सम्झना बुबाको’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति शब्दयात्रा प्रकाशनको १०६ औँ प्रकाशनपुष्प हुनेछ ।
यसअघि उहाँको सम्पादनमा शब्दयात्रा प्रकाशनबाट ८१ औँ प्रकाशनपुष्पका रूपमा २०७४ वैशाखमा ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ प्रकाशित गरिएको थियो ।
अग्रज पत्रकारलाई हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०६९ सालमा सम्मानित हुनुभएका अग्रज पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा उच्च रक्तचापबाट गत भदौ ६ गते बिहान ४ बजे काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा निधन भएको खबरले शब्दयात्रा प्रकाशन परिवार स्तब्ध भएको छ ।
शब्दयात्रा प्रकाशन उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
शब्दयात्रा प्रकाशन
हार्दिक बधाई तथा शुभकामना
शब्दयात्रा प्रकाशनका शुभेच्छुक एवं सहकर्मी मित्र राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१८ — २०२०) को निर्वाचनमा अध्यक्ष पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा, काभ्रेपलाञ्चोक
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम गायिका मेलवादेवी गुरुङ, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक बनेपामा स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसै क्रममा काठमाडौँ विश्वविद्यालयका भरतकुमार श्रेष्ठले पाँच हजार एक सय एक रुपियाँ र बनेपा — ६ का रामहरि खत्रीले पाँच हजार दुई सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
‘शब्दसंवाद’ मा साधुराम गिरी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अन्ठाउन्नौँ शृङ्खला गत २०७५ भदौ ८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता शिक्षाकर्मी तथा होटल व्यवस्थापक साधुराम गिरी हुनुहुन्थ्यो । ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता जगन्नाथ गिरीले र प्रमुख आतिथ्य खड्गप्रसाद सापकोटाले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख वक्ताले शिक्षा र स्वास्थ्य विधामा सुधार गर्नुपर्ने विषयहरूमा आफ्नो प्रवचन केन्द्रित गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, लेखक प्रकाशबहादुर कायस्थ, कवि केदारनाथ तिमल्सिना, शिक्षासेवी फणीन्द्रराज अधिकारी, आध्यात्मिक लेखक ओतबहादुर खड्का, ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार दामोदर घिमिरे, समाजसेवी सहदीप पलाञ्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, रामहरि खत्री, उर्मिला गिरी, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
शब्दयात्राबाट ‘मन’ आउने
शब्दयात्रा प्रकाशनले प्रकाशबहादुर कायस्थद्वारा लिखित पुस्तक ‘मन’ प्रकाशन गर्ने भएको छ ।
मानसिक स्वस्थता, सकारात्मक चिन्तन र स्वास्थ्यसम्बन्धी विविध जानकारीमूलक लेखहरूको सङ्ग्रहका रूपमा ‘मन’ तयार पारिएको छ ।
‘शब्दसंवाद’ मा केदारनाथ तिमल्सिना
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सन्ताउन्नौँ शृङ्खला गत २०७५ भदौ १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख वक्ता कवि तथा समाजसेवी केदारनाथ तिमल्सिना हुनुहुन्थ्यो । ‘नेपालभूमि साप्ताहिक’ का संस्थापक सम्पादक अग्रज पत्रकार रामचन्द्र हुमागाईंको प्रमुख आतिथ्य र शिक्षासेवी तथा ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य सकुल थापा र श्यामकृष्ण लम्साल, शब्दयात्रा लेखक समाजका अध्यक्ष ओतबहादुर खड्का, शिक्षासेवी फणीन्द्रराज अधिकारी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, लेखक पूर्णबहादुर कर्माचार्य, समाजसेवी छविलाल कुइँकेल, जगन्नाथ गिरी, रामहरि खत्री, चुत्रबहादुर तोलाङ्गे, पुरुषोत्तम हुमागाईं, तिलकबहादुर लुइँटेल, दीपक तिमल्सिना, अनु थापा, राजु लामा आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्राबाट सिफारिस माग
शब्दयात्रा प्रकाशनले हरेक वर्ष असोज महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानहरू २०७५ सालका लागि आगामी असोज महिनामा समर्पण गर्नका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही भदौ २५ गतेभित्र कार्यालयमा आइपुग्ने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ ।
असोज महिनामा उपहार, किरीट, अभिवन्दनापत्र र रु. ५००० सहित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, शब्दयात्रा सुदर्शन आचार्य आध्यात्मिक पत्रकारिता सम्मान, शब्दयात्रा योगेन्द्र खत्री साहित्यिक पत्रिका सम्मान, शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान र शब्दयात्रा होमतोत्र शिक्षा सम्मान समर्पण गरिन्छ ।
शब्दयात्रामा रुद्री
साउन महिनामा रुद्री लगाउनुपर्ने धार्मिक मान्यता छ । त्यही मान्यतालाई आत्मसात गर्दै शब्दयात्रा प्रकाशनले आफ्नो कार्यालयमा रुद्री लगाएको छ । गत २०७५ साउन २४ गते बिहीबार कृष्णपक्षको त्रयोदशी तिथिमा नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूको वाचनमा रुद्री लगाइएको हो ।
उक्त धार्मिक कार्यक्रममा हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, चूडाप्रसाद चौलागाई, सकुल थापा, शारदाप्रसाद शर्मा, अमृत अधिकारी, दीपक तिमल्सिना, अनु थापा, छविलाल कुइँकेल, भुवन पाण्डे आदिको सहभागिता रहेको थियो ।