शब्दयात्रा प्रकाशनबाट उपहार, किरीट, अभिवन्दनापत्र र रु. ५००० सहित हरेक वर्ष समर्पण गरिने निम्नलिखित विधाका सम्मानहरू २०७५ सालका लागि आगामी असोज महिनामा समर्पण गरिने भएकाले उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही भदौ २५ गतेभित्र कार्यालयमा आइपुग्ने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
(१) शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान (२) शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, (३) शब्दयात्रा सुदर्शन आचार्य आध्यात्मिक पत्रकारिता सम्मान, (४) शब्दयात्रा योगेन्द्र खत्री साहित्यिक पत्रिका सम्मान, (५) शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, (६) शब्दयात्रा होमतोत्र शिक्षा सम्मान
नाम सिफारिस पठाउन अनुरोध
शब्दयात्रा प्रकाशन
हार्दिक समवेदना
शब्दयात्रा सहयोगी समाजका सदस्य गणेशदास उलक (जन्म : साउन १९९७ ÷ निधन : २०७५ साउन २२) को स्वर्गारोहण भएकोमा गतात्माको मोक्षप्राप्तिका कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा प्रकाशबहादुर कायस्थ
शब्दयात्रा प्रकाशनबाट नियमित रूपमा सञ्चालन भइरहेको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छपन्नौँ शृङ्खला गत २०७५ साउन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता लेखक, स्वास्थ्यसेवी तथा उद्यमी प्रकाशबहादुर कायस्थ हुनुहुन्थ्यो । कवि केदारनाथ तिमल्सिनाको सभापतित्व र शिक्षासेवी फणीन्द्रराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो भने प्रमुख वक्ताको परिचय शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको थियो ।
उक्त कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शिव बन्जारा, उद्धवप्रसाद नेपाल, रोशन मञ्जुश्री अधिकारी, सहदीप पलान्चोके, दामोदर घिमिरे, रोजनाथ लुइँटेल, माधवप्रसाद तिवारी आदिको समुपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख वक्ता श्री कायस्थले वर्तमान अवस्थामा शरीरलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।
शीघ्र स्वास्थ्यलाभको कामना
शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहयोगी श्री गणेशदास उलक अस्वस्थ भई अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएको छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, हरिगोपाल प्रधान, सकुल थापा, श्यामकृष्ण लम्साल, शारदाप्रसाद शर्मा, रामचन्द्र हुमागाईं, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, मच्छेश्वर सापकोटा, रामप्रसाद अधिकारी, शिव बन्जारा, ओतबहादुर खड्का, पुण्यवती घले, दामोदर घिमिरे तथा
शब्दयात्रा प्रकाशन परिवार
अनुसन्धानपत्र प्रकाशित
शब्दयात्रा प्रकाशनका सूचना–प्रविधि अधिकृत तथा नेपालभूमि साप्ताहिकका नियमित स्तम्भकार इ. रोशन मञ्जुश्री अधिकारीले डा. गजेन्द्र शर्मासँग मिलेर तयार पार्नुभएको अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।
A study of Social Engineering Based Attacks in Kathmandu University to propose a conceptual framework शीर्षकको उक्त अनुसन्धानात्मक लेख International Journal of Management and Information Technology, Volume (3), p. 1-9, 2018 मा प्रकाशित भएको हो ।
एकैसाथ दुई किताब प्रकाशन
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा एकैसाथ दुई पुस्तक प्रकाशित भएका छन् । दुवै पुस्तकलाई राजधानीमा आयोजित समारोहमा हालै सार्वजनिक गरिएको छ ।
तीमध्ये ‘सम्झना र सृजनामा मनु ब्राजाकी’ जीवनचन्द्र कोइरालाका साथमा सम्पादन गरिएको हो । ३ सय ८६ पृष्ठको उक्त पुस्तकको मूल्य ४ सय रुपियाँ राखिएको छ । यो पुस्तक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीबाट प्रकाशन गरिएको हो । ‘समस्या अनेक समाधान एक’ दीपक न्यौपानेका साथमा सम्पादन गरिएको हो । २ सय ८ पृष्ठको उक्त पुस्तकको मूल्य २ सय ५० रुपियाँ राखिएको छ । यो पुस्तक जीवन विज्ञान प्रतिष्ठानबाट प्रकाशन गरिएको हो ।
शब्दयात्राबाट ‘पुष्प सौगात’ आउँदै
शब्दयात्रा प्रकाशनबाट ‘पुष्प सौगात’ नामक पुस्तक प्रकाशन हुने भएको छ । काभ्रे जिल्लाका लेखक पुष्पदास स्याउलाको लेखकीय योगदानलाई जीवन्त बनाइराख्न उहाँको स्मृतिमा प्रकाशन हुन लागेको यस पुस्तकको सम्पादन दामोदर घिमिरेले गर्ने हुनुभएको छ ।
पुष्प सौगातले चारवटा पुस्तकको लेखन र दुईवटा स्मारिकाको सम्पादन गर्नुभएको थियो भने ‘कान्तिपुर’ र ‘नेपाल समाचारपत्र’ नामक दुईवटा दैनिक पत्रिकामा नियमित स्तम्भ लेख्नुभएको थियो । उहाँका अप्रकाशित पुस्तकहरू प्रशस्तै छन् । २०२४ साल असारमा पनौतीमा जन्मनुभएका उहाँको निधन २०७४ मङ्सिरमा बनेपामा भएको थियो ।
शब्दयात्रा पुस्तकालय बनाऊँ
शब्दयात्रा प्रकाशनले आफ्नो कार्यालयमा तुरुन्तै पुस्तकालयको व्यवस्था गरिहाल्नुपर्ने सुझाव दिँदै शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठले त्यसका लागि सहयोगस्वरूप प्रारम्भिक चरणमा टोकनस्वरूप आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा २ हजार रुपियाँ प्रदान गर्नुभएको छ । पुस्तकालय बनाउन थालेपछि थप ५ हजार रुपियाँ उपलब्ध गराउने वचनबद्धता पनि उहाँले प्रकट गर्नुभएको छ ।
उहाँको उद्गार सुनेपछि समाजसेवी सहदेव पलान्चोकेले पनि पुस्तकालयको निर्मााण गर्नका लागि तत्कालै १ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ ।
‘शब्दसंवाद’ मा द्रोणप्रसाद श्रेष्ठ
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पचपन्नौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ उपस्थित हुनुभयो । कवयित्री तथा कथाकार सरस्वती शर्मा सुवेदीको सभापतित्व एवं शिक्षासेवी तथा लेखक पूर्णबहादुर कर्माचार्यको प्रमुख आतिथ्यमा गत २०७५ साउन १८ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै प्रमुख वक्ता द्रोणप्रसाद श्रेष्ठको परिचय गराउनुभएको थियो भने शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, नेपालभूमि साप्ताहिकका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा पत्रकार समाजका सदस्य शिव बन्जारा, कवि केदारनाथ तिमल्सिना, लेखक तथा शिक्षासेवी तुयुकाजी ताम्राकार र समाजसेवीहरू सहदीप पलान्चोके, सुभद्रा मैनाली, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, ठाकुरप्रसाद कुइँकेल, शम्भुप्रसाद कुइँकेल, रामहरि खत्री आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख वक्ता द्रोणप्रसाद श्रेष्ठले पूर्वप्रशासक, पूर्वराजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको जीवनी, व्यक्तित्व, प्रशासनिक यात्रा र राष्ट्रिय स्तरमा पु¥याएको योगदानका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । उहाँले श्रीमतीको देहावसान भएपछि लेखनक्रमलाई अघि बढाएर मनोव्यथा भुल्ने प्रयत्न गर्दा साहित्यिक क्षेत्रलाई योगदान पुग्न गएको चर्चा पनि गर्नुभएको थियो ।
‘शब्दसंवाद’ मा पुष्पदासको चर्चा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५४ औँ शृङ्खला गत २०७५ साउन ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा दिवङ्गत भइसकेका काभ्रेली लेखक पुष्प सौगातका विषयमा चर्चा–परिचर्चा गरिएको थियो । पनौतीका पुष्पदास स्याउलाले पुष्प सौगात नाउँबाट साहित्यिक सिर्जना गर्नुभएको थियो । उहाँका बारेमा संस्थाका अध्यक्ष हरि मञ्जुश्री, पुष्प सौगातकी अर्धाङ्गिनी शर्मिला स्याउला, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य र माधवप्रसाद आचार्य तथा सञ्चारकर्मी शिव बन्जारा लगायतले बोल्नुभएको थियो । त्यस बखत पुष्पदास स्याउलाका विषयमा निकट भविष्यमा नै दामोदर घिमिरेको सम्पादनमा पुस्तक प्रकाशन गरिने जानकारी गराइएको थियो ।
वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्य, लेखक तुयुकाजी ताम्राकार र समाजसेवी त्रिरत्न रन्जितकारको आतिथ्य तथा आध्यात्मिक लेखक ओतबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्णबहादुर कार्की, पुण्यवती घले, चूडाप्रसाद चौलागाई, विष्णुहरि तिमल्सिना, सहदीप पलाञ्चोके, ज्ञानु दाहाल, छविलाल कुइँकेल, सरस्वती शर्मा सुवेदी, केदारनाथ तिमल्सिना, अनु थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्णमणि कुइँकेलले गर्नुभएको थियो ।