Home Blog Page 169

हाम्रो छनोट, सबैको स्वीकृति

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको असोज महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, शब्दयात्रा फोटो पत्रकारिता सम्मान, शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान र शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामार्फत सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले ध्रुवराज नेपाललाई संयोजक एवं राजाराम कार्की र मीरा चापागाईलाई सदस्य तोकेर सम्मानित व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी तीनैजना शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट समितिको बैठकले निर्धारण गरेको कार्यविधिअनुसार हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, अग्रज पत्रकार राजेश्वर नेपाली, अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ, स्तम्भकार मुकुन्दप्रसाद उपाध्याय, ‘कौशिकी’ साहित्यिक द्वैमासिक पत्रिका र आध्यात्मिक पत्रकार अच्युत सुवेदीप्रति चयन समिति आभार व्यक्त गर्दछ र सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई अर्पण गर्दछ ।
सम्मानित हुने महानुभावहरूका विशेष जानकारी ‘नेपालभूमि साप्ताहिक’ को अतिरिक्त विशेषाङ्कमा दिइएको छ ।
सार्वजनिक हुन लागेका छवटा कृतिका कृतिकारहरू दामोदर घिमिरे, प्रकाश उज्ज्वल बनेपा, जगन्नाथ गिरी, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र टेकलाल भारतीलाई तथा कदरपत्र पाउन लाग्नुभएका काभ्रेली सञ्चारकर्मीद्वय कविराज ढकाल र सजना आचार्यलाई हाम्रो समिति हार्दिक बधाई ज्ञापन गर्दछ । (चयन समितिको संयोजकका रूपबाट अभिव्यक्त मन्तव्यको मुख्यांश)

अक्षयकोष थप्न १ लाख ११ हजार

0

शब्दयात्रा प्रकाशनका गतिविधिहरूसँग म थोरै भए पनि परिचित छु । यस संस्थाका अध्यक्षज्यूले मलाई ‘नेपालभूमि साप्ताहिक’ सँग आबद्ध गराइदिनुभएको हुनाले म यस संस्थासँग जोडिएको छु । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा पनि म उपस्थित हुने गरेको छु ।
म सामाजिक क्षेत्रमा रुचि राख्ने व्यक्ति भएको र पत्रकारिता पनि मन पर्ने क्षेत्र भएकाले शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने गरेको ‘स्तम्भकार सम्मान’ प्रति मेरो विशेष चासो रहेको छ । यस्तो सम्मानले पत्रकार र स्तम्भकारहरूलाई ऊर्जा मिल्नेछ । सम्मानित व्यक्तित्व चयन समितिमा बस्ने व्यक्तिहरूलाई पनि सम्बन्धित विषयको अध्ययन र अनुसन्धान गर्न कर लाग्नेछ ।
त्यसैले शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गर्ने गरी स्थापित १८ विधाका सम्मानहरूमध्ये ‘स्तम्भकार सम्मान’ का लागि हाम्रा पारिवारिक सदस्यहरूका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपियाँको अक्षयकोष खडा गरिदिने निधो गरेका छौँ । २००७ सालको क्रान्तिमा सुन्दरराज चालिसेको सहयोगी बनेर योगदान गर्ने मेरा हजुरबुबा भवानीशङ्कर तिवारीको स्मृतिमा हामीले उक्त सम्मानका लागि अक्षयकोषको व्यवस्था गर्न खोजेका हौँ ।
हामीले छुट्याएको रकमले शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि थोरै भए पनि सहयोग पुग्ला भन्ने हामीले आशा गरेका छौँ । (सभापतिका रूपबाट गरिएको घोषणा)

१११ लाई सम्मान, १०९ पुस्तक

0

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ, असोज र माघ महिनामा ६–६ विधाका दरले सम्मान समर्पण गरिन्छ । असोज महिनामा समर्पण गर्ने विभिन्न ६ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि रमेश पौड्यालद्वारा व्यवस्थापित शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई, सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान अग्रज पत्रकार राजेश्वर नेपालीलाई, हरि गोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठलाई, नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान स्तम्भकार मुकुन्दप्रसाद उपाध्यायलाई, योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान साहित्यिक द्वैमासिक पत्रिका ‘कौशिकी’ लाई र सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान आध्यात्मिक पत्रकार अच्युत सुवेदीलाई समर्पण गर्ने निर्णय भएको छ । ७ वर्षभित्रमा १११ जना राष्ट्रिय प्रतिभाहरूलाई यस संस्थाले सम्मानित गरिसकेको छ ।
दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’ स्मृतिसङ्ग्रह, प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘मन’ लेखसङ्ग्रह, जगन्नाथ गिरीद्वारा सङ्कलित ‘सम्झना बुबाको’ बिरौंलासङ्ग्रह, केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ लेखसङ्ग्रह, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘धनेश्वर भजनमाला’ भजनसङ्ग्रह र टेकलाल भारतीद्वारा लिखित ‘स्वार्थी मान्छे’ गजलसङ्ग्रह गरी ६ वटा पुस्तकलाई पनि सार्वजनिक गरिँदैछ । यी सबै पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यी पुस्तकसमेत गरी यस संस्थाले ७ वर्षभित्रमा १०९ वटा पुस्तकको प्रकाशन गरिसकेको छ ।
हरेक वर्षको असोज महिनामा काभ्रे जिल्लाका सञ्चारकर्मीहरूलाई शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ कविराज ढकाल र सजना आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ । यसअघि यो कदरपत्र दसजना काभ्रेली सञ्चारकर्मीहरूलाई प्रदान गरिसकिएको छ । (स्वागत मन्तव्यको मुख्यांश)

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

0

यस्तो थियो कार्यक्रम

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७५ साल असोज १२ गते शुक्रबार काभ्रे बनेपाको होटल सत्यम्को सभाकक्षमा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुण्यवती घले र पूर्णबहादुर कार्कीले ब्याच तथा नानुदेवी कुइँकेल र त्रिरत्न रन्जितकारले माला अर्पण गर्नुभएको थियो भने निर्धारित आसन चिनाउने कार्य सकुल थापाबाट भएको थियो ।
समारोहका सभापति माधवप्रसाद तिवारी, प्रमुख अतिथि अग्रज साहित्यकार, पूर्वमन्त्री तथा प्रखर बौद्धिक व्यक्तित्व मोदनाथ प्रश्रित र विशेष अतिथि अग्रज साहित्यकार कृष्णप्रसाद पौड्याल हुनुहुन्थ्यो ।
‘नेपालभूमि’ को अतिरिक्त विशेषाङ्क रीक्षा घिमिरेले र पुस्तक राजु लामाले वितरण गर्नुभएको र उपस्थिति पुस्तिकामा दस्तखत गराउने कार्य दीपक तिमल्सिनाले गर्नुभएको उक्त कार्यक्रममा पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट गरिएको थियो । समारोहमा ज्यो. पं. रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएपछि ब्राह्मणपूजन गर्ने क्रममा टीका लगाइदिने काम शिव बन्जाराले र दक्षिणा प्रदान गर्ने काम नवीना श्रेष्ठले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइँकेलले प्रमुख अतिथिलाई र द्रोणप्रसाद श्रेष्ठले विशेष अतिथिलाई उपहार समर्पण गर्नुभएको थियो ।

छ व्यक्तित्व सम्मानित

समारोहमा रमेश पौड्यालद्वारा व्यवस्थापित शब्दयात्रा होमतोत्र शिक्षा सम्मानद्वारा अग्रज शिक्षासेवी डा. विद्यानाथ कोइराला (सिन्धुली), सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा आमसञ्चार सम्मानद्वारा अग्रज पत्रकार राजेश्वर नेपाली (धनुषा) र हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मानद्वारा अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ (भक्तपुर) सम्मानित हुनुभयो । यसै गरी नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान स्तम्भकार मुकुन्दप्रसाद उपाध्याय (काभ्रेपलाञ्चोक) लाई, योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान ‘कौशिकी’ साहित्यिक पत्रिकाका लागि सम्पादक चेतनाथ धमला (ओखलढुङ्गा) लाई र सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान रेडियो कान्तिपुरको धार्मिक कार्यक्रमका सञ्चालक पं. अच्युत सुवेदी (धादिङ) लाई समर्पण गरियो ।
पहिलो चरणमा सम्मान समर्पण गर्दा सबै सम्मानित व्यक्तित्वलाई माधवप्रसाद तिवारीले रुद्राक्षको माला, मीरा चापागाईले उपहार, कृष्णप्रसाद पौड्यालले किरीट र मोदनाथ प्रश्रितले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो भने रकमचाहिँ आध्यात्मिक पत्रकार अच्युत सुवेदीलाई सम्मान व्यवस्थापक सुदर्शन आचार्यले, ‘कौशिकी’ पत्रिकाका सम्पादक चेतनाथ धमलालाई सम्मान व्यवस्थापक योगेन्द्र खत्रीका तर्फबाट गीता मञ्जुश्रीले र स्तम्भकार मुकुन्दप्रसाद उपाध्यायलाई सम्मान व्यवस्थापकका तर्फबाट डा. इन्दुल केसीले समर्पण गर्नुभएको थियो । दोस्रो चरणमा सम्मान समर्पण गर्दा सबै सम्मानित व्यक्तित्वलाई माधवप्रसाद तिवारीले रुद्राक्षको माला, ध्रुवराज नेपालले उपहार, कृष्णप्रसाद पौड्यालले किरीट र मोदनाथ प्रश्रितले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो भने रकमचाहिँ अग्रज पत्रकार राजेश्वर नेपालीलाई सम्मान व्यवस्थापक सुनील सापकोटाका तर्फबाट फणीन्द्रराज अधिकारीले तथा शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई सम्मान व्यवस्थापक रमेश पौड्यालले समर्पण गर्नुभएको थियो । वैकुण्ठकृष्ण श्रेष्ठ शारीरिक अस्वस्थताका कारणले समारोहमा उपस्थित हुन नसक्नुभएकाले उहाँको सम्मान सामग्री फोटो पत्रकार पदमसागर कक्षपतिलाई हस्तान्तरण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट संस्था सञ्चालनसम्बन्धी सुझावसहित आशीर्वचन अच्युत सुवेदी, चेतनाथ धमला, मुकुन्दप्रसाद उपाध्याय, राजेश्वर नेपाली र डा. विद्यानाथ कोइरालाले दिनुभएको थियो । सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका संयोजक ध्रुवराज नेपालले दिनुभएको थियो भने तथा सम्मान सामग्रीको व्यवस्थापन सकुल थापा र शारदाप्रसाद शर्माले गर्नुभएको थियो । चयन समितिका संयोजक तथा सदस्यलाई पोष चापागाईले उपहार समर्पण गर्नुभएको थियो ।

छ पुस्तक सार्वजनिक

समारोहमा विभिन्न ६ पुस्तकलाई २ चरणमा सार्वजनिक गरियो । पुस्तकको सार्वजनिकीकरण गर्दा सकुल थापा र शारदाप्रसाद शर्माले प्रबन्ध गर्नुभएको थियो ।
पहिलो चरणमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’ (स्मृतिसङ्ग्रह) लाई शीला कतिलाले, प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘मन’ (लेखसङ्ग्रह) लाई डा. विद्यानाथ कोइरालाले र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘सम्झना बुबाको’ लाई राजेश्वर नेपालीले सार्वजनिक गर्नुभएको थियो भने सार्वजनिक गरिएका ती तीन कृतिहरूको परिचय चूडाप्रसाद चौलागाईंले दिनुभएको थियो ।
दोस्रो चरणको पुस्तकको सार्वजनिकीकरण गर्दा केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ (लेखसङ्ग्रह) लाईं मुकुन्दप्रसाद उपाध्यायले, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘धनेश्वर भजनमाला’ (भजनसङ्ग्रहलाई) अच्युत सुवेदीले र टेकलाल भारतीद्वारा लिखित ‘स्वार्थी मान्छे’ (गजलसङ्ग्रह) लाई चेतनाथ धमलाले सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक गरिएका ती तीन कृतिहरूको परिचय मच्छेश्वर सापकोटाले गराउनुभएको थियो ।
सार्वजनिक गरिएका कृतिहरू मञ्चमा उपलब्ध गराउने कार्य सर्वश्री अधिकारी र शोभा तिवारीबाट गरिएको थियो भने कृतिकारका तर्फबाट दामोदर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई सञ्चारकर्मीलाई कदरपत्र

समारोहमा काभ्रे जिल्लाका दुई सञ्चारकर्मी कविराज ढकाल र सजना आचार्यलाई ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरिएको थियो ।
उहाँहरूलाई प्रमुख अतिथिबाट कदरपत्र प्रदान गरिएको थियो ।

अक्षयकोष राख्ने घोषणा

कार्यक्रम प्रारम्भ गर्न अनुमति प्रदान गर्ने क्रममा सभापतिका रूपबाट माधवप्रसाद तिवारीले २००७ सालको क्रान्तिमा सुन्दरराज चालिसेको सहयोगीका रूपमा योगदान गरेका आफ्ना हजुरबुबा भवानीशङ्कर तिवारीको सम्मानस्वरूप स्तम्भकार सम्मानका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा थप गरिदिने घोषणा गर्नुभयो ।

बालवैज्ञानिकलाई १६ हजार आर्थिक सहयोग

समारोहमा काभ्रेको बन्खु घर भई बनेपामा बसेर श्रीखण्डपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै गरेका १५ वर्षीय बालक राजु वाइबा तामाङले आफूले बनाएको घाँस काट्ने मेसिन र रिमोटबाट चल्ने मोटरको प्रदर्शन गरे । त्यो देखेर राजु तामाङलाई कवि सोमकाजी शाक्यले व्यक्तिगत रूपबाट उपहार प्रदान गरे र राजु तामाङका शिक्षक शिव बन्जाराले राजु तामाङको प्रतिभाका विषयमा जानकारी दिए ।
राजु तामाङको आर्थिक अवस्था र उनको लक्ष्यका बारेमा जानकारी गराई हरि मञ्जुश्रीले सहयोगका लागि आह्वान गरेपछि डा. विद्यानाथ कोइरालाबाट ३०००, द्रोणप्रसाद श्रेष्ठबाट १०००, अच्युत सुवेदीबाट १०००, सर्वश्री अधिकारीबाट १०१०, शब्दयात्रा प्रकाशनबाट १०००, सोमकाजी शाक्यबाट १०००, पुण्यवती घलेबाट १०००, विदुर थापाबाट १०००, नवीना श्रेष्ठबाट १०००, सकुल थापाबाट १०००, मीरा चापागाईबाट १०००, शीला कतिलाबाट १०००, कृष्णमणि कुइँकेलबाट ५००, रेणु थापाबाट ५००, शोभा तिवारीबाट ५००, नानुदेवी कुइँकेलबाट २००, चरी तिमल्सिनाबाट ११० गरी जम्मा १५ हजार ८ सय २० रुपियाँ तत्कालै सङ्कलन भयो । सङ्कलित रकम प्रमुख अतिथिले राजु तामाङलाई हस्तान्तरण गर्नुभयो र त्यो रकमबाट सामान खरिद गर्दा बिल लिएर शब्दयात्रा प्रकाशनमा त्यो बिल बुझाउन निर्देशन दिनुभयो ।
समारोहमा बनेपा इलेक्ट्रिक र जयकाली टीभी पसलबाट ती बालवैज्ञानिकलाई आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउने जानकारी गराइयो ।

अतिरिक्त विशेषाङ्क प्रकाशन

कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ ले ४ पृष्ठको अतिरिक्त विशेषाङ्क प्रकाशन गरेको थियो । त्यस अङ्कमा शब्दयात्रा प्रकाशनको चिनारी, संस्थागत गान, संस्थागत गतिविधिहरू, सम्मानित व्यक्तिहरूको सूची, प्रकाशित पुस्तकहरूको सूची, २०७५ असोजमा सम्मानित व्यक्तिहरूको परिचय, प्रमुख अतिथिको परिचय, सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरूको परिचय, सम्मान व्यवस्थापकहरूको परिचय, कृतिकारहरूको तस्बिर र पुस्तकको नाउँ, संस्थाको योजना र सम्मानहरूको सूची राखिएका थिए ।
समारोहमा दसैँ, तिहार, छठ र नेपाल संवत्को शुभकामनापत्रका साथमा उक्त अङ्क सबैलाई निःशुल्क वितरण गरिएको थियो ।

आध्यात्मिक लेखक तुतुकाजी प्रणामी दिवङ्गत

0

शब्दयात्रा लेखक समाजका सदस्य आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ ७५ वर्षको उमेरमा दिवङ्गत हुनुभएको छ । गत २०७५ साल असोज ३ गते बुधबार बिहान उहाँ दिवङ्गत हुनुभएको हो । दुई हप्ताअघि मात्र उहाँकी अर्धाङ्गिनी सूर्यकुमारी श्रेष्ठ दिवङ्गत हुनुभएको थियो ।
तुतुकाजी प्रणामी श्रेष्ठको जन्म २००० साल माघ १० गते आइतबार भएको थियो । कक्षा ५ सम्मको औपचारिक अध्ययन गर्नुभएका उहाँले अध्यात्म विधाका २५ वटा पुस्तक लेख्नुभएको थियो । उहाँका फुटकर लेखहरू ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित छन् । उहाँको पुस्तक ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो भने केही पुस्तकहरू अझै अप्रकाशित अवस्थामा रहेका छन् ।
तुतुकाजी प्रणामी श्रेष्ठका बारेमा ‘नेपाली लेखककोश’, ‘काभ्रेका केही कर्मयोद्धा’, ‘कर्मयोद्धासँग शब्दसंवाद’ आदि पुस्तकहरूमा उल्लेख गरिएको छ ।

शब्दयात्राबाट ६ पुस्तक सार्वजनिक गरिने

0

शब्दयात्रा प्रकाशनबाट आगामी असोज १२ गते विभिन्न ६ वटा पुस्तकलाई सार्वजनिक गरिने भएको छ । सार्वजनिक हुने पुस्तकहरूमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’, प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘मन’, जगन्नाथ गिरीद्वारा सङ्कलित ‘सम्झना बुबाको’, केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’, सहदीप पलान्चोकेद्वारा सम्पादित ‘धनेश्वर भजनमाला’ र टेकलाल भारतीद्वारा लिखित ‘स्वार्थी मान्छे’ हुनेछन् ।
काभ्रे जिल्लाको बनेपामा रहेको होटल सत्यम्मा आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न ६ विधाका सम्मानहरू पनि समर्पण गरिनेछन् ।

शब्दयात्राले ‘स्वार्थी मान्छे’ निकाल्ने

0

शब्दयात्रा प्रकाशनले यस वर्ष पनि सिन्धुपाल्चोक जिल्लाका युवा साहित्यकार टेकलाल भारतीको साहित्यिक कृति प्रकाशन गर्ने भएको छ । उनको साहित्यिक कृति यस संस्थाबाट हरेक वर्ष प्रकाशन हुने गरेको छ ।
यसपटक प्रकाशन हुन लागेको कृति ‘स्वार्थी मान्छे’ नामक गजलसङ्ग्रह हो । यसमा ३६ वटा गजलहरू रहेका छन् ।

शब्दयात्राबाट ‘धनेश्वर भजनमाला’

0

शब्दयात्रा प्रकाशनले ‘धनेश्वर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन गर्न लागेको छ ।
काभ्रे बनेपाका युवा भजनकर्मी सहदीप पलान्चोकेले सङ्कलन गरेका नेपाली, नेवारी र हिन्दी भाषाका १ सय ८ वटा भजनहरूको सङ्ग्रहका रूपमा ‘धनेश्वर भजनमाला’ प्रस्तुत हुनेछ ।

‘शब्दसंवाद’ मा डा. हेमराज काफ्ले

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बासट्ठीऔँ शृङ्खलामा काठमाडौँ विश्वविद्यालयसँग आबद्ध अङ्ग्रेजी विषयका प्राध्यापनकर्मी, कवि, निबन्धकार तथा अनुवादक डा. हेमराज काफ्लेले प्रमुख वक्ताका रूपमा आफ्नो सङ्घर्षशील जीवनयात्राका विषयमा उत्प्रेरक प्रवचन गर्नुभयो ।
सरस्वती सापकोटाको प्रमुख आतिथ्य र माधवप्रसाद खतिवडाको सभापतित्वमा दामोदर घिमिरेबाट सञ्चालित उक्त कार्यक्रममा हरि मञ्जुश्री, डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, चूडाप्रसाद चौलागाईं, केदारनाथ तिमल्सिना, पुण्यवती घले, हरि प्रपन्न आचार्य, नानुदेवी कुइँकेल, पुण्य कोइराला, श्री शर्मा मूर्ख, सहदीप पलान्चोके, पुरुषोत्तम हुमागाईं, शकुन्तला बन्जारा, राजु लामा, रीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।

शब्दयात्रा प्रकाशनबाट ६ जनालाई सम्मान गर्ने निर्णय

0

शब्दयात्रा प्रकाशनले असोज महिनामा विभिन्न ६ विधाका साधकहरूलाई सम्मान समर्पण गर्ने भएको छ । हरेक वर्ष १८ विधाका विशिष्ट साधकहरूलाई सम्मान गर्ने क्रममा असोज महिनामा ६ विधामा सम्मान गर्न लागिएको हो ।
२०७५ सालका लागि गरिने सम्मानहरूमा शिक्षा सम्मानबाट शिक्षाविद् डा. विद्यानाथ कोइराला (सिन्धुली) लाई, आमसञ्चार सम्मानबाट अग्रज पत्रकार राजेश्वर नेपाली (धनुषा) लाई र स्तम्भकार सम्मानबाट आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय (काभ्रेपलाञ्चोक) लाई सम्मानित गरिने भएको छ । यसै गरी फोटो पत्रकारिता सम्मान फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ (भक्तपुर) लाई, साहित्यिक पत्रिका सम्मान ‘कौशिकी द्वैमासिक’ (काठमाडौँ) लाई र आध्यात्मिक पत्रकारिता सम्मान ‘रेडियो कान्तिपुर’ का पं. अच्युत सुवेदी (ललितपुर) लाई समर्पण गरिने भएको छ ।
शिक्षासेवी ध्रुवराज नेपाल संयोजक तथा सञ्चारकर्मी राजाराम कार्की र कवयित्री मीरा चापागाई पौड्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन रमेश पौड्याल (काभ्रेपलाञ्चोक), सुनील सापकोटा (मोरङ), नेपालभूमि साप्ताहिक (काभ्रेपलाञ्चोक), हरिगोपाल प्रधान (काठमाडौँ), योगेन्द्र खत्री (भोजपुर) र सुदर्शन आचार्य (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।