शब्दयात्रा प्रकाशनका गतिविधिहरूसँग म थोरै भए पनि परिचित छु । यस संस्थाका अध्यक्षज्यूले मलाई ‘नेपालभूमि साप्ताहिक’ सँग आबद्ध गराइदिनुभएको हुनाले म यस संस्थासँग जोडिएको छु । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा पनि म उपस्थित हुने गरेको छु ।
म सामाजिक क्षेत्रमा रुचि राख्ने व्यक्ति भएको र पत्रकारिता पनि मन पर्ने क्षेत्र भएकाले शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने गरेको ‘स्तम्भकार सम्मान’ प्रति मेरो विशेष चासो रहेको छ । यस्तो सम्मानले पत्रकार र स्तम्भकारहरूलाई ऊर्जा मिल्नेछ । सम्मानित व्यक्तित्व चयन समितिमा बस्ने व्यक्तिहरूलाई पनि सम्बन्धित विषयको अध्ययन र अनुसन्धान गर्न कर लाग्नेछ ।
त्यसैले शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गर्ने गरी स्थापित १८ विधाका सम्मानहरूमध्ये ‘स्तम्भकार सम्मान’ का लागि हाम्रा पारिवारिक सदस्यहरूका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपियाँको अक्षयकोष खडा गरिदिने निधो गरेका छौँ । २००७ सालको क्रान्तिमा सुन्दरराज चालिसेको सहयोगी बनेर योगदान गर्ने मेरा हजुरबुबा भवानीशङ्कर तिवारीको स्मृतिमा हामीले उक्त सम्मानका लागि अक्षयकोषको व्यवस्था गर्न खोजेका हौँ ।
हामीले छुट्याएको रकमले शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि थोरै भए पनि सहयोग पुग्ला भन्ने हामीले आशा गरेका छौँ । (सभापतिका रूपबाट गरिएको घोषणा)