Home Blog Page 168

अग्रज पत्रकार रामचन्द्र हुमागाईं यस संसारबाट बिदा हुनुभो

0

‘नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका’ का संस्थापक प्रधान सम्पादक, ‘नेपालभूमि’ को स्वामित्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएका दाता, शब्दयात्रा पत्रकार समाजका संस्थापक सभापति, ‘समयको अभिलेख’ (असार २०६६) र ‘जापानमा अलमलिँदा’ (मङ्सिर २०७२) नामक दुई कृतिका लेखक, गुणनिधि हुमागाईं र खलकुमारी हुमागाईंका सुपुत्रका रूपमा २०१० साल असार ५ गते मङ्गलबार काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवीमा जन्मेर काठमाडौँलाई कर्मस्थल बनाई आजीवन सङ्घर्षशील रहनुभएका अग्रज पत्रकार, आफ्नो जन्मजिल्लाको मात्र नभई राष्ट्रकै गौरव बन्नुभएका आदरणीय व्यक्तित्व रामचन्द्र हुमागाईं गत २०७५ कार्तिक ४ गते आइतबार अपराह्न ३ः१५ बजे यस संसारबाट सधैँका लागि बिदा हुनुभएको छ । उहाँको आत्मा परब्रह्म परमात्मामा एकाकार होस् भनी प्रार्थना गर्दै उहाँका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हरि मञ्जुश्रीको १११ औं पुस्तक प्रकाशित

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ‘वरिष्ठ समाजसेवी सावित्री जङ्गम थापा अभिनन्दनग्रन्थ’ प्रकाशित भएको छ । जम्मा ६ सय पृष्ठको यस ग्रन्थलाई आगामी कार्तिक १५ गते काठमाडौँमा सार्वजनिक गरिने भएको छ ।
यस ग्रन्थमा शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्वहरू अङ्गुरबाबा जोशी, चेतनाथ धमला, नीलकण्ठ भट्टराई, शब्दयात्रा प्रकाशनको कार्यक्रममा अतिथि बन्नुभएका व्यक्तित्वहरू डा. इन्दुल केसी, कमलराज रेग्मी, कान्ता भट्टराई, भरत जङ्गम तथा अन्य राष्ट्रिय व्यक्तित्वहरू अम्बिका श्रेष्ठ, आरडी प्रभास चटौत, कमल राणा, डा. केदार न्यौपाने, डा. कृष्णप्रसाद भट्टराई, डा. खेम कोइराला बन्धु, खेमराज केशवशरण, गम्भीरबहादुर हाडा, गीता केशरी, घटराज भट्टराई, डम्बरवीर थापा, तोया गुरुङ, दीनबन्धु अर्याल, दुर्गा घिमिरे, देवी शर्मा, ध्रुव मधिकर्मी, ध्रुव सापकोटा, परशु प्रधान, पुरुषोत्तम दाहाल, प्रयागराज वाशिष्ठ, बबिता बस्नेत, बमकुमारी बुढा मगर, डा. बेनी जङ्गम रावल, डा. बेन्जू शर्मा, डा. भूचन्द्र वैद्य, डा. माधुरी राणा सिंह, मित्रसेन दाहाल, मीना सुवेदी, मुकुन्दराज सत्याल, यज्ञेश्वर निरौला, राधेश्याम कमारो, लिली थापा, डा. वासुदेव त्रिपाठी, विमला तुम्खेवा, विश्वबन्धु थापा, डा. शशी अधिकारी, शान्ता मानवी, शैलेन्द्र साकार, सहाना प्रधान, हिरण्यकुमारी पाठक आदिसहित १ सय १३ जनाका लेख–संस्मरणहरू राखिएका छन् । तीमध्ये ७० जना महिला महिला हुनुहुन्छ ।
हरि मञ्जुश्रीको मौलिक लेखनमा २९ वटा, अनुवादमा १ वटा र सम्पादनमा ८१ वटा पुस्तक प्रकाशित भइसकेका छन् । यो पुस्तकसमेत उहाँका कृतिको सङ्ख्या १११ पुगेको छ ।

शब्दयात्राबाट दसैंको शुभकामना

0

शब्दयात्रा प्रकाशनमा गत २०७५ साल असोज २५ गते बिहीबार शब्दयात्रा प्रकाशनका सक्रिय कार्यकर्ताहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान गरियो । त्यस बखत हरि मञ्जुश्री, शारदाप्रसाद शर्मा, चूडाप्रसाद चौलागाईं, शिव बन्जारा, रोशन मञ्जुश्री अधिकारी, दामोदर घिमिरे, माधवप्रसाद तिवारी, रीक्षा घिमिरे र दीपक तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
त्यही अवसरलाई ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६४ औँ शृङ्खलाका रूपमा उपयोग गर्दै केदारनाथ अधिकारीले सङ्क्षिप्त प्रवचन पनि गर्नुभयो । उहाँका साथमा कविता अधिकारी र मौसमी उपाध्याय पनि उपस्थित हुनुहुन्थ्यो ।

दसैं फलिफाप होस्

0

नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका, अक्षरधाम साहित्यिक पत्रिका, ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम, पुस्तक प्रकाशन, सम्मान समर्पण, अक्षरसेवी सहयोग कोष, सालिक निर्माण जस्ता शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूसँग जोडिएर भावसँग नाच्ने, अक्षर मन पराउने, शब्दसँग खेल्ने, भाषा–व्याकरणमा रुचि राख्ने, संस्थाका लागि शुभेच्छा व्यक्त गर्ने, यस संस्थाका प्रकाशनहरू मनोयोगपूर्वक अध्ययन गर्ने, यस संस्थाका कार्यक्रमहरूमा उपस्थित हुने तथा लेख–रचना, अर्थ, विज्ञापन, भौतिक सामग्री आदि सहयोग गर्ने सम्पूर्ण वाङ्मयसेवीहरूलाई २०७५ सालको दसैं फलिफाप होस् ।

शब्दयात्रा प्रकाशन
कृष्ण–गीता परिसर, अक्षरधाम
नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रेपलाञ्चोक
दूरभाषाङ्क ः ०११–४१५२१५, ०११–६६२९६२

‘नेपालभूमि’ का कार्यकारी सम्पादक सम्मानित

0

नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई नेपाल शिक्षक महासङ्घबाट सम्मानित हुनुभएको छ । काभ्रे जिल्लाको कोसीपारी क्षेत्रमा रहेको चौँरी देउराली गाउँपालिकाको भवनमा २०७५ असोज २० गते नेपाल शिक्षक महासङ्घले बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा पूर्वशिक्षकलाई सम्मान गर्ने कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद गंगाबहादुर दोङ हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सङ्घीय संसद सदस्य नवीना लामा, प्रदेश नं. ३ का सांसद रत्न ढकाल आदि हुनुहुन्थ्यो । गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतम तथा शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधिको समेत उपस्थितिमा रामचन्द्र चौलागाईंको सभापतित्व रहेको उक्त कार्यक्रममा अन्य शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

‘शब्दसंवाद’ मा रेखा सापकोटा दाहाल

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को त्रिसट्ठीऔँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल प्रस्तुत हुनुभयो । गत २०७५ असोज १९ गते शुक्रबार अपराह्न ३ बजेदेखि शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको उक्त कार्यक्रममा उहाँले आफ्नो जीवनसङ्घर्षका बारेमा बताउँदै बनेपा नगरपालिकाले जनहितका लागि गरिरहेका र गर्न खोजेका कार्यहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व, शिक्षासेवी तुयुकाजी ताम्राकारको प्रमुख आतिथ्य र शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य कृष्णमणि कुइँकेल, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, नेपालभूमि साप्ताहिकका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई, शब्दयात्रा नारीस्रष्टा समाजका संयोजक पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शिक्षासेवीद्वय फणीन्द्रराज अधिकारी र खड्गप्रसाद सापकोटा, कवि केदारनाथ तिमल्सिना, शब्दयात्रा पत्रकार समाजका सदस्य शिव बन्जारा, भजनसङ्कलक सहदीप पलान्चोके, विदुर थापा, पुरुषोत्तम हुमागाईं, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।

मोक्ष प्राप्त होस्

0

शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (दसौँ) तथा शब्दयात्रा लेखक समाजका सदस्य डा. हेमराज काफ्लेकी ममतामयी माता यशोदादेवी काफ्लेको २०७५ असोज ६ गते शनिबार निधन भएको छ । यो प्रकाशन गतात्मालाई मोक्ष प्राप्त होस् र शोकग्रस्त परिवारजनमा शोकलाई सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार

जनसहयोगबाट साहित्यसेवा

0

नेपालका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्ने गरिमामय समारोहमा शब्दयात्रा प्रकाशनले हामी ६ जना शब्दसाधकहरू दामोदर घिमिरे, प्रकाश उज्ज्वल बनेपा, जगन्नाथ गिरी, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र टेकलाल भारतीलाई पनि मञ्चमा उपस्थित गराएको छ । हामीमध्ये तीनजनाले सम्पादन गरेका र तीनजनाले लेखेका गरी जम्मा ६ वटा पुस्तकहरू शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिएको छ र आजको कार्यक्रममा सार्वजनिक पनि गराइदिएको छ ।
शब्दयात्रा प्रकाशन अहिले ७ वर्षको भएको छ । यस अवधिमा यस संस्थाले १ सय ११ जना राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ भने १ सय ९ वटा पुस्तक प्रकाशन गरिसकेको छ । यस संस्थाले बनेपामा ३ आना जग्गा दानमा प्राप्त गरेको छ र नेपाली वाङ्मयका ५ जना शीर्ष व्यक्तित्वको सालिक निर्माण गरिसकेको छ । १० लाख रुपियाँभन्दा बढीको अक्षयकोष स्थापना गर्न सकेको छ । सरकारी निकायबाट अलिकति पनि आर्थिक सहयोग नलिईकन जनस्तरको सहयोगबाट मात्रै यति काम गर्न सक्नु ठूलो कुरा हो । एकलौटी ढङ्गले साहित्यिक संस्था नचलाई समुदायको विश्वास जितेर काम गर्ने हो भने साहित्यिक संस्थाले धेरै काम गर्न सक्छ भन्ने उदाहरण यस संस्थाले देखाउन सकेको छ । त्यसैले यस संस्थाप्रति साहित्यकार, पत्रकार, शिक्षासेवी, समाजसेवी सबैले आस्था र विश्वास राख्ने गरेका छन् । समारोहमा हुने गरेको उपस्थितिले पनि यस कुरालाई पुष्टि गरेको छ । (कृतिकारका तर्फबाट अभिव्यक्त मन्तव्यको मुख्यांश)

पञ्चमाता, भजनमाला र स्वार्थी मान्छे

0

शब्दयात्रा प्रकाशनबाट दोस्रो चरणमा सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । यसका लागि म शब्दयात्रा प्रकाशन परिवारप्रति आभार व्यक्त गर्दछु ।
मलाई चिनारी गराइदिन जिम्मा दिइएको पहिलो पुस्तक ‘पञ्चमाता’ हो । केदारनाथ तिमल्सिनाले लेख्नुभएको यो लेखसङ्ग्रह मातासँग सम्बन्धित रहेको विचारप्रधान पुस्तक हो । सुरुमा गद्य विधामा र परिशिष्टमा पद्य विधामा गरी दुवै विधामा लेखिएको यो पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको पुस्तालाई समेत चिन्तनशील बनाउने सामथ्र्य राखेको छ । यस कृतिका कृतिकारको बौद्धिक परिचय कस्तो छ र लेखनमा कति शक्ति छ भन्ने कुरा पनि देखाएको छ । यस पुस्तकको मूल्य १०० रुपियाँ राखिएको छ ।
चिनारी गराइदिन मलाई जिम्मा दिइएको दोस्रो पुस्तक ‘धनेश्वर भजनमाला’ हो । सहदीप पलान्चोकेले यी भजनहरूको सङ्कलन गर्नुभएको हो । नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू यस पुस्तकमा सङ्कलन गरिएका छन् । भजनहरू पुराना र नयाँ दुवै प्रकारका छन् र विभिन्न मन्दिरहरूमा गाउने गरिएका छन् । यस सङ्ग्रहको मूल्य २०० रुपियाँ राखिएको छ ।
तेस्रो पुस्तक टेकलाल भारतीको ‘स्वार्थी मान्छे’ गजलसङ्ग्रह हो । आफ्नो मनका वेदनाहरू, आस्था र विचारका कुराहरू, सामाजिक र राजनीतिक प्रसङ्गहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनामा परेका छन् । २०७१ सालदेखि हालसम्म प्रत्येक वर्ष उहाँको एउटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने गरेको छ । त्यसै क्रममा २०७५ सालमा यो पुस्तक प्रकाशनमा आएको हो । यस पुस्तकको मूल्य १०० रुपियाँ रहेको छ ।
यी तीनैवटा पुस्तकहरूले आ–आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु । (पुस्तकहरूमाथि गरिएको टिप्पणीको मुख्यांश)

पुष्प सौगात, मन र सम्झना बुबाको

0

सार्वजनिक गरिएका पुस्तकहरूमध्ये तीनवटा पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको हुनाले म पुस्तककै विषयमा प्रवेश गर्न चाहन्छु ।
पहिलो पुस्तक दामोदर घिमिरेद्वारा सम्पादित स्मृतिसङ्ग्रह ‘पुष्प सौगात’ हो । काभ्रेली लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाको निधनपछि शब्दयात्रा प्रकाशनबाट उहाँको स्मृतिमा पुस्तक प्रकाशन गर्ने कुरा उठ्यो । शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे पुस्तक सम्पादनका लागि तत्पर हुनुभयो । दामोदर घिमिरेलाई पुष्पदास स्याउलाकी अर्धाङ्गिनी शर्मिला स्याउलाले सहयोग पु¥याउनुभयो । त्यसपछि यो पुस्तक निस्केको हो । यो पुस्तक पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ । पुष्पदास स्याउलाका बालबच्चाको शिक्षादीक्षाका लागि सहयोगार्थ यसपुस्तकको मूल्य १०० रुपियाँ राखिएको छ ।
दोस्रो पुस्तक प्रकाश उज्ज्वल बनेपा अर्थात् प्रकाशबहादुर कायस्थद्वारा लिखित लेखसङ्ग्रह ‘मन’ हो । ‘मन’ मा एघाह«वटा मानसिक खुराकहरू रहेका छन् । शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित रहेर लेखिएका रचनाहरूको यो सङ्ग्रह पाठकहरूका निम्ति उत्तम पठन–सामग्री बनेको छ । आत्मपरक शैलीसमेत प्रयोग गरिएका यसभित्रका हरेक रचना एक–अर्कासँग अन्तर्सम्बन्धित रहेका हुनाले एकै बसाइमा पढ्न सकिन्छ र पढिसकेपछि यिनले पाठकको मनलाई उद्वेलित बनाएर सकारात्मक मनोविज्ञानको निर्माण गर्ने दिशामा महàवपूर्ण भूमिकासमेत निर्वाह गर्नेछन् । यस पुस्तकको मूल्य ६० रुपियाँ राखिएको छ ।
तेस्रो पुस्तक जगन्नाथ गिरीको सङ्कलनमा आएको ‘सम्झना बुबाको’ बिरौंलासङ्ग्रह हो । यो पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका अतिरिक्त शोकावस्थामा भेट गर्न आउने व्यक्तिहरूको सूची, शोकसन्देशहरू, समवेदना विज्ञापनहरू, क्रियाकर्मका लागि आवश्यक सामग्रीहरूको सूची र केही तस्बिरहरू समावेश गरिएको यो कृति हरेक परिवारका लागि यस्तै खालको अभिलेख राख्नुपर्ने रहेछ भन्ने सन्देश दिन सफल बनेको छ । यो कृति तयार पारेर जगन्नाथ गिरीले पितृऋणको केही अंश भए पनि तिर्ने प्रयत्न गर्नुभएको छ । यसको मूल्य पनि १०० रुपियाँ नै राखिएको छ ।
यी पुस्तकहरूले नेपाली समाजमा सकारात्मक छाप छोड्नेछन् भन्ने आशा गर्दछु । (पुस्तकहरूमाथि गरिएको टिप्पणीको मुख्यांश)