यस्तो थियो कार्यक्रम

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७५ साल असोज १२ गते शुक्रबार काभ्रे बनेपाको होटल सत्यम्को सभाकक्षमा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुण्यवती घले र पूर्णबहादुर कार्कीले ब्याच तथा नानुदेवी कुइँकेल र त्रिरत्न रन्जितकारले माला अर्पण गर्नुभएको थियो भने निर्धारित आसन चिनाउने कार्य सकुल थापाबाट भएको थियो ।
समारोहका सभापति माधवप्रसाद तिवारी, प्रमुख अतिथि अग्रज साहित्यकार, पूर्वमन्त्री तथा प्रखर बौद्धिक व्यक्तित्व मोदनाथ प्रश्रित र विशेष अतिथि अग्रज साहित्यकार कृष्णप्रसाद पौड्याल हुनुहुन्थ्यो ।
‘नेपालभूमि’ को अतिरिक्त विशेषाङ्क रीक्षा घिमिरेले र पुस्तक राजु लामाले वितरण गर्नुभएको र उपस्थिति पुस्तिकामा दस्तखत गराउने कार्य दीपक तिमल्सिनाले गर्नुभएको उक्त कार्यक्रममा पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट गरिएको थियो । समारोहमा ज्यो. पं. रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएपछि ब्राह्मणपूजन गर्ने क्रममा टीका लगाइदिने काम शिव बन्जाराले र दक्षिणा प्रदान गर्ने काम नवीना श्रेष्ठले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइँकेलले प्रमुख अतिथिलाई र द्रोणप्रसाद श्रेष्ठले विशेष अतिथिलाई उपहार समर्पण गर्नुभएको थियो ।

छ व्यक्तित्व सम्मानित

समारोहमा रमेश पौड्यालद्वारा व्यवस्थापित शब्दयात्रा होमतोत्र शिक्षा सम्मानद्वारा अग्रज शिक्षासेवी डा. विद्यानाथ कोइराला (सिन्धुली), सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा आमसञ्चार सम्मानद्वारा अग्रज पत्रकार राजेश्वर नेपाली (धनुषा) र हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मानद्वारा अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ (भक्तपुर) सम्मानित हुनुभयो । यसै गरी नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान स्तम्भकार मुकुन्दप्रसाद उपाध्याय (काभ्रेपलाञ्चोक) लाई, योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान ‘कौशिकी’ साहित्यिक पत्रिकाका लागि सम्पादक चेतनाथ धमला (ओखलढुङ्गा) लाई र सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान रेडियो कान्तिपुरको धार्मिक कार्यक्रमका सञ्चालक पं. अच्युत सुवेदी (धादिङ) लाई समर्पण गरियो ।
पहिलो चरणमा सम्मान समर्पण गर्दा सबै सम्मानित व्यक्तित्वलाई माधवप्रसाद तिवारीले रुद्राक्षको माला, मीरा चापागाईले उपहार, कृष्णप्रसाद पौड्यालले किरीट र मोदनाथ प्रश्रितले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो भने रकमचाहिँ आध्यात्मिक पत्रकार अच्युत सुवेदीलाई सम्मान व्यवस्थापक सुदर्शन आचार्यले, ‘कौशिकी’ पत्रिकाका सम्पादक चेतनाथ धमलालाई सम्मान व्यवस्थापक योगेन्द्र खत्रीका तर्फबाट गीता मञ्जुश्रीले र स्तम्भकार मुकुन्दप्रसाद उपाध्यायलाई सम्मान व्यवस्थापकका तर्फबाट डा. इन्दुल केसीले समर्पण गर्नुभएको थियो । दोस्रो चरणमा सम्मान समर्पण गर्दा सबै सम्मानित व्यक्तित्वलाई माधवप्रसाद तिवारीले रुद्राक्षको माला, ध्रुवराज नेपालले उपहार, कृष्णप्रसाद पौड्यालले किरीट र मोदनाथ प्रश्रितले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो भने रकमचाहिँ अग्रज पत्रकार राजेश्वर नेपालीलाई सम्मान व्यवस्थापक सुनील सापकोटाका तर्फबाट फणीन्द्रराज अधिकारीले तथा शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई सम्मान व्यवस्थापक रमेश पौड्यालले समर्पण गर्नुभएको थियो । वैकुण्ठकृष्ण श्रेष्ठ शारीरिक अस्वस्थताका कारणले समारोहमा उपस्थित हुन नसक्नुभएकाले उहाँको सम्मान सामग्री फोटो पत्रकार पदमसागर कक्षपतिलाई हस्तान्तरण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट संस्था सञ्चालनसम्बन्धी सुझावसहित आशीर्वचन अच्युत सुवेदी, चेतनाथ धमला, मुकुन्दप्रसाद उपाध्याय, राजेश्वर नेपाली र डा. विद्यानाथ कोइरालाले दिनुभएको थियो । सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका संयोजक ध्रुवराज नेपालले दिनुभएको थियो भने तथा सम्मान सामग्रीको व्यवस्थापन सकुल थापा र शारदाप्रसाद शर्माले गर्नुभएको थियो । चयन समितिका संयोजक तथा सदस्यलाई पोष चापागाईले उपहार समर्पण गर्नुभएको थियो ।

छ पुस्तक सार्वजनिक

समारोहमा विभिन्न ६ पुस्तकलाई २ चरणमा सार्वजनिक गरियो । पुस्तकको सार्वजनिकीकरण गर्दा सकुल थापा र शारदाप्रसाद शर्माले प्रबन्ध गर्नुभएको थियो ।
पहिलो चरणमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’ (स्मृतिसङ्ग्रह) लाई शीला कतिलाले, प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘मन’ (लेखसङ्ग्रह) लाई डा. विद्यानाथ कोइरालाले र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘सम्झना बुबाको’ लाई राजेश्वर नेपालीले सार्वजनिक गर्नुभएको थियो भने सार्वजनिक गरिएका ती तीन कृतिहरूको परिचय चूडाप्रसाद चौलागाईंले दिनुभएको थियो ।
दोस्रो चरणको पुस्तकको सार्वजनिकीकरण गर्दा केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ (लेखसङ्ग्रह) लाईं मुकुन्दप्रसाद उपाध्यायले, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘धनेश्वर भजनमाला’ (भजनसङ्ग्रहलाई) अच्युत सुवेदीले र टेकलाल भारतीद्वारा लिखित ‘स्वार्थी मान्छे’ (गजलसङ्ग्रह) लाई चेतनाथ धमलाले सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक गरिएका ती तीन कृतिहरूको परिचय मच्छेश्वर सापकोटाले गराउनुभएको थियो ।
सार्वजनिक गरिएका कृतिहरू मञ्चमा उपलब्ध गराउने कार्य सर्वश्री अधिकारी र शोभा तिवारीबाट गरिएको थियो भने कृतिकारका तर्फबाट दामोदर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई सञ्चारकर्मीलाई कदरपत्र

समारोहमा काभ्रे जिल्लाका दुई सञ्चारकर्मी कविराज ढकाल र सजना आचार्यलाई ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरिएको थियो ।
उहाँहरूलाई प्रमुख अतिथिबाट कदरपत्र प्रदान गरिएको थियो ।

अक्षयकोष राख्ने घोषणा

कार्यक्रम प्रारम्भ गर्न अनुमति प्रदान गर्ने क्रममा सभापतिका रूपबाट माधवप्रसाद तिवारीले २००७ सालको क्रान्तिमा सुन्दरराज चालिसेको सहयोगीका रूपमा योगदान गरेका आफ्ना हजुरबुबा भवानीशङ्कर तिवारीको सम्मानस्वरूप स्तम्भकार सम्मानका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा थप गरिदिने घोषणा गर्नुभयो ।

बालवैज्ञानिकलाई १६ हजार आर्थिक सहयोग

समारोहमा काभ्रेको बन्खु घर भई बनेपामा बसेर श्रीखण्डपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै गरेका १५ वर्षीय बालक राजु वाइबा तामाङले आफूले बनाएको घाँस काट्ने मेसिन र रिमोटबाट चल्ने मोटरको प्रदर्शन गरे । त्यो देखेर राजु तामाङलाई कवि सोमकाजी शाक्यले व्यक्तिगत रूपबाट उपहार प्रदान गरे र राजु तामाङका शिक्षक शिव बन्जाराले राजु तामाङको प्रतिभाका विषयमा जानकारी दिए ।
राजु तामाङको आर्थिक अवस्था र उनको लक्ष्यका बारेमा जानकारी गराई हरि मञ्जुश्रीले सहयोगका लागि आह्वान गरेपछि डा. विद्यानाथ कोइरालाबाट ३०००, द्रोणप्रसाद श्रेष्ठबाट १०००, अच्युत सुवेदीबाट १०००, सर्वश्री अधिकारीबाट १०१०, शब्दयात्रा प्रकाशनबाट १०००, सोमकाजी शाक्यबाट १०००, पुण्यवती घलेबाट १०००, विदुर थापाबाट १०००, नवीना श्रेष्ठबाट १०००, सकुल थापाबाट १०००, मीरा चापागाईबाट १०००, शीला कतिलाबाट १०००, कृष्णमणि कुइँकेलबाट ५००, रेणु थापाबाट ५००, शोभा तिवारीबाट ५००, नानुदेवी कुइँकेलबाट २००, चरी तिमल्सिनाबाट ११० गरी जम्मा १५ हजार ८ सय २० रुपियाँ तत्कालै सङ्कलन भयो । सङ्कलित रकम प्रमुख अतिथिले राजु तामाङलाई हस्तान्तरण गर्नुभयो र त्यो रकमबाट सामान खरिद गर्दा बिल लिएर शब्दयात्रा प्रकाशनमा त्यो बिल बुझाउन निर्देशन दिनुभयो ।
समारोहमा बनेपा इलेक्ट्रिक र जयकाली टीभी पसलबाट ती बालवैज्ञानिकलाई आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउने जानकारी गराइयो ।

अतिरिक्त विशेषाङ्क प्रकाशन

कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ ले ४ पृष्ठको अतिरिक्त विशेषाङ्क प्रकाशन गरेको थियो । त्यस अङ्कमा शब्दयात्रा प्रकाशनको चिनारी, संस्थागत गान, संस्थागत गतिविधिहरू, सम्मानित व्यक्तिहरूको सूची, प्रकाशित पुस्तकहरूको सूची, २०७५ असोजमा सम्मानित व्यक्तिहरूको परिचय, प्रमुख अतिथिको परिचय, सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरूको परिचय, सम्मान व्यवस्थापकहरूको परिचय, कृतिकारहरूको तस्बिर र पुस्तकको नाउँ, संस्थाको योजना र सम्मानहरूको सूची राखिएका थिए ।
समारोहमा दसैँ, तिहार, छठ र नेपाल संवत्को शुभकामनापत्रका साथमा उक्त अङ्क सबैलाई निःशुल्क वितरण गरिएको थियो ।