शब्दयात्रा प्रकाशनले हरेक वर्षको असोज महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, शब्दयात्रा फोटो पत्रकारिता सम्मान, शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान र शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामार्फत सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले ध्रुवराज नेपाललाई संयोजक एवं राजाराम कार्की र मीरा चापागाईलाई सदस्य तोकेर सम्मानित व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी तीनैजना शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट समितिको बैठकले निर्धारण गरेको कार्यविधिअनुसार हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, अग्रज पत्रकार राजेश्वर नेपाली, अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ, स्तम्भकार मुकुन्दप्रसाद उपाध्याय, ‘कौशिकी’ साहित्यिक द्वैमासिक पत्रिका र आध्यात्मिक पत्रकार अच्युत सुवेदीप्रति चयन समिति आभार व्यक्त गर्दछ र सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई अर्पण गर्दछ ।
सम्मानित हुने महानुभावहरूका विशेष जानकारी ‘नेपालभूमि साप्ताहिक’ को अतिरिक्त विशेषाङ्कमा दिइएको छ ।
सार्वजनिक हुन लागेका छवटा कृतिका कृतिकारहरू दामोदर घिमिरे, प्रकाश उज्ज्वल बनेपा, जगन्नाथ गिरी, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र टेकलाल भारतीलाई तथा कदरपत्र पाउन लाग्नुभएका काभ्रेली सञ्चारकर्मीद्वय कविराज ढकाल र सजना आचार्यलाई हाम्रो समिति हार्दिक बधाई ज्ञापन गर्दछ । (चयन समितिको संयोजकका रूपबाट अभिव्यक्त मन्तव्यको मुख्यांश)