काभ्रे बनेपाको सबैभन्दा पुरानो तथा ऐतिहासिक महàवको पुस्तकालयका रूपमा सुपरिचित सामयिक ज्ञानशाला पुस्तकालयको चिनारी बढाउन र पुस्तकालयमा आधुनिक पाठकहरूको बृद्धि गराउन शब्दयात्रा प्रकाशनले उक्त पुस्तकालयलाई एक सय एक थान पुस्तक उपहारस्वरूप प्रदान गरेको छ । गत २०७६ असार ६ गते शुक्रबार सामयिक ज्ञानशाला पुस्तकालयमा आयोजित एक कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले ती पुस्तकहरू सामयिक ज्ञानशाला पुस्तकालयका अध्यक्ष दीनानाथ श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पुस्तकालयलाई हरेक साता ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिका निःशुल्क उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गर्दै दुई संस्थाका बीचमा सहकार्य गर्न सकिने क्षेत्रहरूका बारेमा चर्चा गर्नुभयो र सामयिक ज्ञानशालालाई अनुसन्धाताहरूको आकर्षणको केन्द्र बनाउन सुझाव पनि दिनुभयो । पुस्तकालयका कोषाध्यक्ष समुद्रलाल श्रेष्ठले २०१० सालमा सामयिक ज्ञानशाला पुस्तकालयको स्थापना भएको बताउँदै पुस्तक–पत्रिका सहयोग गरेकोमा शब्दयात्रा प्रकाशनलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका सदस्यद्वय कृष्णमणि कुइँकेल र शिव बन्जाराले आगामी दिनहरूमा पनि सामयिक ज्ञानशाला पुस्तकालयलाई सहयोग गर्न शब्दयात्रा प्रकाशन तत्पर रहेको बताउनुभयो । कार्यक्रम पुस्तकालयका सचिव तथा बनेपा नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष बलराम अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलान्चोकेका साथै सामयिक ज्ञानशाला पुस्तकालयका तर्फबाट सञ्चालक समितिका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।
शब्दयात्रा प्रकाशनले यसअघि पनि भोजपुर, खोटाङ, सोलुखुम्बू र काभ्रे जिल्लाका विभिन्न पुस्तकालयहरूका साथै धुलिखेल कारागारलाई समेत गरी १ हजार थानभन्दा बढी पुस्तकहरू सहयोग गरिसकेको छ ।