शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक पत्रिका ‘नेपालभूमि’ का लागि सम्पादकको आवश्यकता परेकाले इच्छुक व्यक्तिले २०७६ असार १० गतेभित्र आफ्नो व्यक्तिगत विवरणका साथै अनुभवको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित नेपाली भाषामा आफैँले लेखेर निवेदन दिनुहोला । निवेदकले स्नातकोत्तर तह उत्तीर्ण गरेको र पत्रकारिता क्षेत्रमा पनि अनुभव हासिल गरेको हुनुपर्नेछ । सेवा–शुल्क र अन्य सुविधाहरूका विषयमा पत्रिकाका निम्ति दिन सक्ने समय र क्षमतालाई आधार बनाई आपसी सहमतिमा निर्णय गरिनेछ ।
सम्पादकको आवश्यकता
शब्दयात्रा प्रकाशन
हरि मञ्जुश्रीलाई बधाई
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री कुलचन्द्र कोइराला समाजसेवा सम्मान, २०७६ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
डा. इन्दुल केसीलाई बधाई
शब्दयात्रा प्रकाशनका सहयात्री डा. इन्दुल केसी राष्ट्रसंरक्षण मञ्च सम्मान २०७६ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा स्तम्भ बनाइदिन्छु
शब्दयात्रा प्रकाशनको स्थापनाकालदेखि नै यस संस्थासँग मेरो सम्बन्ध रहेको छ । मैले यस संस्थालाई केही सहयोग गर्ने मौका पनि पाएको छु । यु–सफ्ट कम्प्युटरका तर्फबाट मैले केही सामग्रीहरू यस संस्थालाई उपलब्ध गराएको छु र अन्य सहयोग पनि गरिरहेकै छु । यस संस्थाका गतिविधिहरूले हाम्रो काभ्रे जिल्लाको गौरव बढाइरहेको हुनाले यस्ता सहयोगहरू गरिरहने मेरो चाहना पनि छ ।
शब्दयात्रा प्रकाशनले आफ्नो नाउँमा रहेको बनेपाको जग्गामा नेपालका पाँचजना ऐतिहासिक व्यक्तिहरूको सालिक स्थापना गरेको छ । नेपालमा पहिलोपटक एकै ठाउँमा नेपालका प्रथम शब्दसाधकहरूको सालिक स्थापना भएकाले हाम्रो जिल्लाले गौरव गर्न पाएको छ । यस्ता कामहरू यस संस्थाले अरू पनि गरोस् भन्ने चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि शब्दयात्रा प्रकाशनलाई सहयोग गरिदिन आग्र्रह गर्दछु ।
केही दिनअघि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सालिक राखिएकै ठाउँमा शब्दयात्रा स्तम्भ बनाउन पाए हुन्थ्यो भन्ने कुरा मसँग व्यक्त गर्नुभयो । त्यसका लागि केही सहयोग गर्न सक्नुहुन्छ कि भनेर सोध्नुभयो । आठ वर्षभित्र बनेपामा पाँच आना जग्गा जोडेर पाँचवटा सालिक राखिसकेको र साप्ताहिक पत्रिका नियमित रूपमा निकालेर १२५ वटा किताब पनि छापिसकेको हुनाले यस संस्थालाई थप सहयोग गर्न म उत्साहित भएँ । त्यसैले शब्दयात्रा स्तम्भका लागि आवश्यक पर्ने आर्थिक सहयोग गरेर मेरा तर्फबाट स्तम्भ निर्माण गरिदिने वचनबद्धता म प्रकट गर्दछु । सकेसम्म तीन महिनाभित्र स्तम्भ निर्माण गरिसक्ने गरी काम अघि बढाउन म संस्थाका साथीहरूलाई आग्रह गर्दछु ।
शब्दयात्रा प्रकाशन नेपालको गौरवशाली संस्था बनोस् भन्ने मेरो कामना छ ।
सम्मानपत्रमा यस्तो लेखिएको छ —
(१)
श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित
शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६
नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका प्रा. डा. श्री सुरेन्द्र केसी (ताप्लेजुङ) लाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कृष्णहरि मैनाली सविता अर्याल हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(२)
श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित
शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६
कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदी (भोजपुर) लाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
गीता मञ्जुश्री सविता अर्याल हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(३)
श्री कल्याण लम्सालद्वारा व्यवस्थापित
शब्दयात्रा सिर्जना सम्मान, २०७६
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि डा. श्री हेमराज काफ्ले (मोरङ) लाई उक्त कृतिका लागि शब्दयात्रा सिर्जना सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कल्याण लम्साल रामप्रसाद तिमल्सिना हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(४)
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा शिक्षक सम्मान, २०७६
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा तपाईं श्री हरिविनोद अधिकारी (सिन्धुली) लाई शब्दयात्रा शिक्षक सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
निर्मलाकुमारी यगोल श्रेष्ठ गोविन्दबहादुर खड्का हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(५)
श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६
लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा श्रीमती नवीना श्रेष्ठ (ललितपुर) लाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
उर्मिला श्रेष्ठ ‘भोजपुरे’ गोविन्दबहादुर खड्का हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(६)
श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६
नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा बाबा विश्वनाथ (सिन्धुपाल्चोक) लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
आनन्दराज श्रेष्ठ रामप्रसाद तिमल्सिना हरि मञ्जुश्री डा. वासुदेव त्रिपाठी
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
(७)
श्री सुदर्शन थापामा प्रदत्त आभारपत्र
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गरिएका पाँचजना शब्दसाधकहरू नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लाकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक कुशलतापूर्वक निर्माण गरिदिनुभएकोमा सालिक–कलाकार तपाई श्री सुदर्शन थापालाई यो आभारपत्र प्रदान गरिएको छ । भविष्यमा पनि तपाईबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ ।
कृष्णमणि कुइँकेल हरि मञ्जुश्री भरत जङ्गम
निर्माण संयोजक अध्यक्ष विशेष अतिथि
शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन भ्रष्टाचारविरोधी अभियन्ता
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
सन्दर्भ ः सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह
(८)
सुश्री रन्जिता उप्रेतीमा प्रदत्त
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्तिको प्रमाणपत्र
एसईई उत्तीर्ण गरेर काभ्रे जिल्लाको कलेजमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार काभ्रेली छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष प्रदान गर्ने गरी लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको रु. १०,०००।– राशीको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०७६ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा कक्षा ११ मा पत्रकारिता विषय अध्ययनरत काभ्रे भुम्लुटारनिवासी तपाईं सुश्री रन्जिता उप्रेतीलाई प्रदान गरिएको छ । तपाईंबाट काभ्रे जिल्लाको पत्रकारिता क्षेत्रले लाभान्वित हुन पाउने अपेक्षा यस संस्थाले राखेको छ ।
द्रोणप्रसाद श्रेष्ठ हरि मञ्जुश्री भरत जङ्गम
आर्थिक व्यवस्थापक अध्यक्ष विशेष अतिथि
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति शब्दयात्रा प्रकाशन भ्रष्टाचारविरोधी अभियन्ता
दिनाङ्क ः मङ्गलबार, २१ जेठ २०७६
सन्दर्भ ः सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह
यस्ता छन् सात पुस्तक
आज सार्वजनिक गरिएका पुस्तकहरूको परिचय दिन मलाई आग्रह गरिएकाले परिचयतिरै केन्द्रित हुन चाहन्छु ।
पहिलो पुस्तक ‘श्रीस्वस्थानी व्रतकथा’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ११८ औँ पुस्तक हो । यसका प्रकाशन सहयोगी सहदीप पलान्चोके हुनुहुन्छ । यसअघि उहाँको सङ्कलनमा दुईवटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइसकेका छन् । जम्मा ३२८ पृष्ठको यस पुस्तकको मूल्य ५०० रुपियाँ राखिएको छ । यस पुस्तकका लागि सहदीप पलान्चोकेलाई बधाई छ ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशित ११९ औँ पुस्तक मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ यसअघि नै वितरण भइसकेको छ । यसबाट ‘श्रीस्वस्थानी व्रतकथा’ लाई सार्वजनिक गर्न मात्र ढिलो भएको देखिन्छ ।
दोस्रो पुस्तक ‘बादलका तरेलीहरू’ नामक कवितासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२० औँ पुस्तक हो । यसका कवि पदम दाहाल हुनुहुन्छ । उहाँको यो पहिलो साहित्यिक कृति हो । यसमा छन्दकविता, गीतिकविता र गद्यकविता गरी ६७ वटा कविता सङ्कलित छन् । जम्मा १३६ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कवितासङ्ग्रहका लागि कविज्यूलाई बधाई छ ।
तेस्रो पुस्तक ‘डा. इन्दुल केसीको चौथो आयाम’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२१ औँ पुस्तक हो । यस पुस्तकमा डा. इन्दुल केसीका विषयमा डा. सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, हरि मञ्जुश्री, मोहन दुवाल, डा. कृष्णप्रसाद दाहाल, बेलप्रसाद श्रेष्ठ, डा. गोविन्दशरण उपाध्याय, द्रोणप्रसाद श्रेष्ठ, डा. हेमराज काफ्ले आदि १७ जना लेखकले लेखेका अनुभूति र उहाँका रचनाका समीक्षा प्रस्तुत गरिएका छन् । यस पुस्तकका सम्पादक हरि मञ्जुश्री हुनुहुन्छ । जम्मा ८८ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपियाँ राखिएको छ । यस कृतिका लागि कृतिनायक र सम्पादकज्यूलाई बधाई छ ।
चौथो पुस्तक ‘मान्छे, प्रकृति र भेगन’ नामक बिरौँलासङ्ग्रह हो । अचेल बिरौँलासङ्ग्रह थोरै मात्र देखिएका छन् । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२२ औँ पुस्तक हो । यसका लेखक साधुराम गिरी हुनुहुन्छ । उहाँ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिर्जना गर्नुहुन्छ । यस कृतिमा पनि दुवै भाषाका रचना रहेका छन् । यो उहाँको पहिलो कृति हो । जम्मा ८८ पृष्ठको यस सङ्ग्रहको मूल्य १३० रुपियाँ राखिएको छ । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
पाँचौँ पुस्तक ‘बत्तीस कर्मयोद्धा’ हो । २०७५ सालमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा प्रवचन गर्ने डा. गोपाल पौड्याल मन्डने, द्रोणप्रसाद श्रेष्ठ, डा. इन्दुल केसी, डा. सरस्वती आचार्य, डा. हेमराज काफ्ले, डा. विवेक बराल, हरि मञ्जुश्री, सावित्री ढुङ्गेल, राधा कार्की आदि ३२ जना व्यक्तित्वको चिनारी यस पुस्तकमा गराइएको छ । यस पुस्तकका लेखकद्वय गीता मञ्जुश्री र दामोदर घिमिरे हुनुहुन्छ । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२३ औँ पुस्तक हो । जम्मा १२८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कृतिका लागि प्रवाचकहरूका साथै लेखकद्वयलाई पनि बधाई छ ।
छैटौँ पुस्तक ‘भोजप्रबन्ध’ हो । यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो । यस पुस्तकका अनुवादक श्रीधर प्याकुरेल हुनुहुन्छ । पहिले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका’ मा धारावाहिक रूपमा प्रकाशित भइसकेको यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२४ औँ पुस्तक हो । जम्मा १२८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कृतिका लागि प्रवाचकहरूका साथै लेखकद्वयलाई पनि बधाई छ ।
सातौँ कृति ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ हो । यो रङ्गीन पुस्तिका हो । यस पुस्तिकाकी लेखिका गीता मञ्जुश्री हुनुहुन्छ । यो पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२५ औँ प्रकाशनपुष्प हो । जम्मा २४ पृष्ठको यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ । यस पुस्तिकाका लागि कृतिनायक र लेखिका दुवैलाई बधाई छ ।
यी सातैवटा कृतिले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा अभिव्यक्त कृतिपरिचयको अंश)
जनमतका आधारमा सम्मान
शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा राष्ट्रझङ्कार सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, सिर्जना सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, सामाजिक जागरण सम्मान र शिक्षक सम्मान गरी ६ विधामा सम्मान समर्पण गर्ने गरेको छ । सम्मान गर्न उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन सार्वजनिक आह्वान गरेपछि विभिन्न व्यक्तिहरूले केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउने गरेका छन् । केही नाउँहरू उपलब्ध भएपछि शब्दयात्रा प्रकाशनले सविता अर्यालको संयोजकत्वमा रामप्रसाद तिमल्सिना र गोविन्दबहादुर खड्का सदस्य रहेको सम्मान्य व्यक्तित्व चयन समिति बनायो ।
शब्दयात्रा प्रकाशनले उपलब्ध भएका सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ र योगदानको विवरण हामीलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँमध्येबाट हामीले सम्बन्धित विधा र उद्देश्यअनुसार सम्मान समर्पण गर्न योग्य व्यक्तिको चयन गरेका छौँ ।
नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका ताप्लेजुङका प्रा. डा. श्री सुरेन्द्र केसीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा भोजपुरका वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदीलाई नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि मोरङका डा. श्री हेमराज काफ्लेलाई उक्त कृतिका लागि सिर्जना सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा सिन्धुलीका श्री हरिविनोद अधिकारीलाई शिक्षक सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा ललितपुरकी श्रीमती नवीना श्रेष्ठलाई प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा सिन्धुपाल्चोकका बाबा विश्वनाथलाई सामाजिक जागरण सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका सहदीप पलान्चोके, पदम दाहाल, हरि मञ्जुश्री, साधुराम गिरी, गीता मञ्जुश्री, दामोदर घिमिरे र श्रीधर प्याकुरेलका पुस्तकहरू सार्वजनिक गरिँदैछन् । काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार काभ्रेली छात्रा रन्जिता उप्रेतीलाई १० हजार रुपियाँको छात्रवृत्ति प्रदान गरिँँदैछ । शब्दयात्रा प्रकाशनले स्थापना गरेका सालिकहरू बनाइदिने सालिक कलाकार सुदर्शन थापालाई पनि आभारपत्र प्रदान गरिँदैछ ।
यिनै अभिव्यक्तिका साथ म यहाँहरूबाट बिदा लिन चाहन्छु ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्यको अंश)
आठ वर्षमा यति गरेछौं
शब्दयात्रा प्रकाशनको स्थापना गरिएको ८ वर्ष पूरा भएको छ । यस अवधिमा यस संस्थाले केही कामहरू गर्न सकेको छ । मुख्य रूपमा समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट हालको चलनचल्तीको मूल्यअनुसार करिब ५० लाख रुपियाँ बराबरको जग्गा दानमा प्राप्त गरेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ । रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क प्राप्त गरेको छ र त्यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । सम्मानकोषका लागि उर्मिला श्रेष्ठ भोजपुरे, गोपाल पराजुली, योगेन्द्र खत्री, कृष्णहरि मैनाली, द्रोणप्रसाद श्रेष्ठ, कविप्रसाद प्याकुरेल, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, सुनील सापकोटा, सुदर्शन आचार्य, राजेन्द्र विरही र निर्मला श्रेष्ठले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । गीता मञ्जुश्री, आनन्दराज श्रेष्ठ, हरिगोपाल प्रधान र रमेश पौडेलले हरेक वर्ष सम्मानका लागि आर्थिक सहयोग गर्नुभएको छ । हरेक वर्ष १८ विधाका सम्मानहरू राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूमा समर्पण गरिरहेको छ । विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १२५ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ । पुस्तकालयको स्थापना पनि भइसकेको छ । हरिगोपाल प्रधान, बुद्धरत्न मानन्धर, त्रिरत्न रन्जितकार, सुनील सापकोटा जस्ता विभिन्न व्यक्तिहरूबाट विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती गरी नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनेपामा रहेको आफ्नै स्वामित्वको जग्गामा स्थापना गरेको छ । यसका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्नुभएको छ । धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ । वेभसाइट सञ्चालन गरेको छ । वृत्तचित्रको निर्माण पनि गरेको छ ।
यो संस्था यी कार्यक्रमलाई निरन्तरता दिँदै ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । नेपाललाई वाङ्मयिक क्षेत्रको विशिष्ट उपहार दिने यस अभियानमा सबैको बौद्धिक र आर्थिक सहयोगको अपेक्षा राखिएको छ ।
यस संस्थाबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये जेठ महिनामा समर्पण गरिने सम्मानहरूमा २०७६ साल जेठका लागि उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान नवीना श्रेष्ठलाई, कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान प्रा. डा. सुरेन्द्र केसीलाई, कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान डा. हेमराज काफ्लेलाई, गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान प्रा. लालानाथ सुवेदीलाई, आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान बाबा विश्वनाथलाई र निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान हरिविनोद अधिकारीलाई समर्पण गरिँदैछ ।
सम्मानित प्रतिभाहरूको चयन विभिन्न व्यक्तिहरूको सिफारिसका आधारमा सविता अर्यालको संयोजकत्वमा रामप्रसाद तिमल्सिना र गोविन्दबहादुर खड्का सदस्य रहनुभएको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले गरेको हो ।
समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका ७ वटा पुस्तक सार्वजनिक गरिँदैछन् । ती पुस्तकहरूमा सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘श्रीस्वस्थानी व्रतकथा’, पदम दाहालद्वारा लिखित ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रह, हरि मञ्जुश्रीद्वारा सम्पादित ‘डा. इन्दुल केसीको चौथो आयाम’, साधुराम गिरीद्वारा लिखित ‘मान्छे, प्रकृति र भेगन’ बिरौँलासङ्ग्रह, गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा लिखित ‘बत्तीस कर्मयोद्धा’, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘भोजप्रबन्ध’ र गीता मञ्जुश्रीद्वारा लिखित ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ रहेका छन् ।
नेपालको पत्रकारिता क्षेत्रमा काभ्रे जिल्लाका महिलाहरूको सहभागिता धेरै रहोस् भन्ने उद्देश्यले एसईई उत्तीर्ण गरेर काभ्रे जिल्लाको क्याम्पसमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार एउटी काभ्रेली छात्रालाई यसै वर्षदेखि यस संस्थाबाट द्रोणप्रसाद श्रेष्ठको आर्थिक व्यवस्थापनमा हरेक वर्ष १० हजार रुपियाँका दरले छात्रवृत्ति दिने निर्णय गरिएको छ । यस वर्षको छात्रवृत्ति काभ्रे क्याम्पसमा पत्रकारिता विषय पढ्दै गरेकी कानपुरकी रन्जिता उप्रेतीलाई प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनले स्थापना गरेका सालिकहरू बनाइदिने सालिक कलाकार सुदर्शन थापालाई पनि हामी कदरपत्र प्रदान गर्नेछौँ ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा अभिव्यक्त स्वागत मन्तव्यको अंश)
शब्दयात्राबाट चार कार्यक्रम एकैपटक
शब्दयात्रा प्रकाशनले गत साता जेठ २१ गते मङ्गलबार सम्मान समर्पण, पुस्तक सार्वजनिकीकरण, छात्रवृत्ति वितरण तथा वृत्तचित्र प्रदर्शन कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रम नवौँ वर्षप्रवेशको अवसर पारी २०७६ सालका लागि पहिलोपटक आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र विशेष अतिथिका रूपमा भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा अग्रज आख्यानकार भरत जङ्गम रहनुभएको उक्त कार्यक्रममा युवा समाजसेवी तथा व्यवसायी बुद्धरत्न मानन्धर सभापति हुनुहुन्थ्यो ।
कार्यक्रममा अन्वेषक, चिन्तक तथा लेखक प्रा. डा. सुरेन्द्र केसीलाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट, लेखक तथा प्राध्यापक लालानाथ सुवेदीलाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट, ‘अक्षरहरूको बिस्कुन’ कृतिका लागि कृतिकार डा. हेमराज काफ्लेलाई शब्दयात्रा सिर्जना सम्मानबाट, पूर्वप्रशासक तथा साहित्यकार नवीना श्रेष्ठलाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट, साधक बाबा विश्वनाथलाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी तथा पत्रकार हरिविनोद अधिकारीलाई शब्दयात्रा शिक्षक सम्मानबाट सम्मानित गरियो । हरिविनोद अधिकारी नर्वे जानुभएकाले उहाँको सम्मान उहाँका तर्फबाट उहाँका छोरा सिद्धिविनोद अधिकारीले ग्रहण गर्नुभएको थियो ।
सम्मान समर्पण गर्ने क्रममा रकम सम्मान व्यवस्थापकले, उपहार चयन समितिका सदस्य रामप्रसाद तिमल्सिनाले, रुद्राक्षको माला सभापति बुद्धरत्न मानन्धरले, किरीट विशेष अतिथि भरत जङ्गमले र अभिवन्दनापत्र प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले समर्पण गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूले आशीर्वचनका रूपमा शब्दयात्रा प्रकाशनलाई विभिन्न सुझावहरू दिनुभएको थियो भने सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका सदस्य रामप्रसाद तिमल्सिनाले गराउनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष शारदाप्रसाद शर्माको प्रबन्धनमा एकैसाथ सातवटा पुस्तकलाई सार्वजनिक गरिएको थियो । त्यस बखत हरि मञ्जुश्रीद्वारा सम्पादित ‘डा. इन्दुल केसीको चौथो आयाम’ प्रा. डा. सुरेन्द्र केसीबाट, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘श्रीस्वस्थानी व्रतकथा’ प्रा. डा. वासुदेव त्रिपाठीबाट, पदम दाहालद्वारा लिखित ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रह भरत जङ्गमबाट, साधुराम गिरीद्वारा लिखित ‘मान्छे, प्रकृति र भेगन’ बिरौँलासङ्ग्रह प्रा. लालानाथ सुवेदीबाट, गीता मञ्जुश्री र दामोदर घिमिरेको संयुक्त लेखन रहेको ‘बत्तीस कर्मयोद्धा’ लेखसङ्ग्रह बाबा विश्वनाथबाट, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘भोजप्रबन्ध’ नवीना श्रेष्ठबाट र गीता मञ्जुश्रीद्वारा लिखित ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ डा. हेमराज काफ्लेबाट सार्वजनिक गरिएका थिए । सार्वजनिक गरिएका कृतिहरूको परिचयात्मक विवरण कृष्णमणि कुइँकेलले प्रस्तुत गर्नुभएको थियो भने कृतिकारका तर्फबाट साधुराम गिरीले मन्तव्य व्यक्त गर्दै शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता लिने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेका पाँचजना शब्दसाधकहरूको सालिक बनाइदिने मूर्तिकार सुदर्शन थापालाई कदरपत्र र छात्रा रन्जिता उप्रेतीलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस क्रममा रुद्राक्षको माला भरत जङ्गमबाट, कदरपत्र प्रा. डा. वासुदेव त्रिपाठीबाट र छात्रवृत्तिको रकम द्रोणप्रसाद श्रेष्ठबाट प्रदान गरिएको थियो । त्यसपछि द्रोणप्रसाद श्रेष्ठले छात्रवृत्ति कोषमा राख्न शब्दयात्रा प्रकाशनका लागि कृष्णमणि कुइँकेललाई १ लाख रुपियाँ हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शिव बन्जाराद्वारा निर्देशित तथा रोशन मञ्जुश्री अधिकारीद्वारा सम्पादित ‘शब्दसौगात’ नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज सङ्गीतकार, गायक, गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे, शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक उर्मिला श्रेष्ठ भोजपुरे, शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका आर्थिक व्यवस्थापक कृष्णहरि मैनाली, शब्दयात्रा सिर्जना सम्मानका आर्थिक व्यवस्थापक कल्याण लम्साल, शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानका आर्थिक व्यवस्थापक आनन्दराज श्रेष्ठ, शब्दयात्रा शिक्षक सम्मानका आर्थिक व्यवस्थापक निर्मलाकुमारी यगोल श्रेष्ठ, ‘डा. इन्दुल केसीको चौथो आयाम’ कृतिका नायक डा. इन्दुल केसी, बालसाहित्यकार गोपाल पराजुली, समाजसेवी चन्द्रबहादुर खड्का आदिको पनि उपस्थिति रहेको थियो ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको, मधु पराजुलीले कविता र पुरुषोत्तम रिजालले गजल वाचन गर्नुभएको उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले असारे गीत गाउनुभएको थियो भने गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका वटुकहरूले स्वस्तिवाचन गरेपछि वटुकहरूलाई टीका लगाइदिएर दक्षिणा प्रदान गरिएको थियो ।
कार्यक्रममा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, चूडाप्रसाद चौलागाईं, शकुन्तला बन्जारा, रीक्षा घिमिरे, ज्यो. पं. रमेश अधिकारी आदि सहयोगी भूमिकामा रहनुभएको थियो ।
प्रथम सामुदायिक विद्यालयका प्रथम प्राचार्य कवि नन्दिकेश्वर अधिकारी र काभ्रे जिल्लाका अग्रज समाजसेवी हंसराज श्रेष्ठको तस्बिर राखिएको उक्त कार्यक्रममा बुद्धरत्न मानन्धरले शब्दयात्रा स्तम्भ निर्माण गरिदिने वचनबद्धता व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको समीक्षा गर्दै विशेष अतिथि भरत जङ्गमले सभाविसर्जन गर्नुभएको थियो ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा जग्गादाता कृष्णमणि कुइँकेल नीलकण्ठेश्वरधाम संरक्षण समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा ‘नेपालभूमि’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का सल्लाहकार हरिगोपाल प्रधान नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ शाखाको उपसभापति पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।