- Episode 35 – Shabda Sanchar 25:30
शब्दसञ्चारः मंसिर २३, २०७७
शब्दसञ्चारः मंसिर १६, २०७७
- Episode 34 – Shabda Sanchar 30:33
पहिलो बाछिटासङ्ग्रह ‘त्रिरत्न’ सार्वजनिक
‘त्रिरत्न’ नाउँबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहका रूपमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७७ साल मङ्सिर १३ गते शनिबार भएको विशेष कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो । ‘त्रिरत्न’ शब्दयात्रा प्रकाशित १ सय ४८ औँ पुस्तक हो ।
विष्णु भट्टराई विभु, केशव बैरागी माइँलो र अम्बिका धितालद्वारा लिखित बाछिटा विधाका कविताहरूको सङ्ग्रह ‘त्रिरत्न’ मा १ हजार १ बाछिटाहरू सङ्कलित छन् ।
बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपबाट नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले ‘त्रिरत्न’ लाई सार्वजनिक गर्नुभएको हो । कार्यक्रमका अतिथि ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला र कवयित्री भारती न्यौपाने दाहाल हुनुहुन्थ्यो । गीता अधिकारी, सङ्गीता केसी र सहदीप पलान्चोकेले अन्य भूमिका निर्वाह गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुस्तकका सम्पादक उपप्राध्यापक शेषनाथ पौडेलले बाछिटा विधा र पहिलो बाछिटासङ्ग्रहका रूपमा प्रकाशित ‘त्रिरत्न’ कवितासङ्ग्रहका बारेमा बोल्नुभएको थियो भने कृतिकारद्वय विष्णु भट्टराई विभु र अम्बिका धितालले मन्तव्यसहित केही बाछिटाहरू वाचन गर्नुभएको थियो । अर्का सर्जक केशव बैरागी माइँलो अमेरिकामा हुनुभएकाले उपस्थित हुन सक्नुभएको थिएन ।
पुण्यवती घलेद्वारा सञ्चालित उक्त कार्यक्रममा पं. रमेश अधिकारीले स्वस्तिवाचन, महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत मन्तव्य र कार्यक्रमको मूल्याङ्कनसहित सभाविसर्जन लेखिका निर्मला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो र त्यसको प्रबन्ध सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले मिलाउनुभएको थियो ।
शब्दयात्रा पुस्तकालयलाई दराज प्रदान
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सामुदायिक सेवा केन्द्र र रोटरी क्लब अफ धुलिखेलले गत २०७७ साल मङ्सिर १३ गते शनिबार पुस्तक राख्नका लागि काठका एक–एक थान दराज शब्दयात्रा प्रकाशनलाई सहयोगस्वरूप प्रदान गरेका छन् ।
सामुदायिक सेवा केन्द्रका तर्फबाट अध्यक्ष अशोक श्रेष्ठले र रोटरी क्लब अफ धुलिखेलका तर्फबाट अध्यक्ष सुशील ब्यान्जू र मनीष यगोलले हस्तान्तरण गर्नुभएका ती दराजहरू शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो ।
पुस्तकालयलाई पुस्तक उपहार
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आफ्नो प्रकाशनका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष जीवनचन्द्र कोइरालाले गत २०७७ साल मङ्सिर १३ गते शनिबार पुस्तकहरू हस्तान्तरण गर्नुभएको थियो भने पुस्तकालयका तर्फबाट पं. रमेश अधिकारीले ती पुस्तकहरू ग्रहण गर्नुभएको थियो ।
यसै गरी कवि सोमकाजी शाक्यले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको छ ।
विश्व हिन्दू महासङ्घका सदस्यहरूबाट शब्दयात्रा प्रकाशनको अवलोकन
विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका सदस्यहरूले गत २०७७ साल मङ्सिर १३ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रवीण धितालको नेतृत्वमा रहेको उक्त टोलीले शब्दसाधक तीर्थ, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र नीलकण्ठेश्वर महादेव मन्दिरको अवलोकन गरेको थियो ।
शब्दसञ्चारः मंसिर ०९, २०७७
- Episode 33 – Shabda Sanchar 27:48
शब्दयात्रा प्रकाशनबाट पहिलो बाछिटासङ्ग्रह छापिँदै
शब्दयात्रा प्रकाशनबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहको प्रकाशन हुन लागेको छ । ‘त्रिरत्न’ नाम दिइएको यस सङ्ग्रहमा विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालका गरी १ हजार १ सङ्ख्याका बाछिटा कविता सङ्कलित छन् । यस सङ्ग्रहको सम्पादन उपप्राध्यापक शेषनाथ पौडेलले गर्नुभएको छ ।
नेपाली कविता साहित्यमा बाछिटा उपविधाको प्रारम्भ गरिएपछि बाछिटासङ्ग्रहका रूपमा प्रकाशित पहिलो पुस्तक यही नै हो । कविता विधाको लघुतम उपविधा बाछिटामा तीन पाँच तीन अक्षरका तीन पङ्क्तिको संरचनामा ११ अक्षरको पूर्ण कविता सिर्जना गर्ने गरिएको छ । नयाँ संरचनाको यस उपविधाका प्रथम कृतिकार विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धिताल बन्नुभएको छ ।
अम्बिका धिताल शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य पनि हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यस कृतिको ‘प्रकाशकीय’ मा लेख्नुभएको छ — नेपाली साहित्यमा कविता विधाको एउटा भेद ‘बाछिटा’ नामबाट नयाँ प्रयोगका रूपमा आएको छ । त्यसैले ‘बाछिटा’ लाई कविताको उपविधा भन्न सकिन्छ । ‘बाछिटा’ को प्रयोग गरी कविता लेख्न थालिएको एक वर्ष पनि पुगेको छैन । ‘छोक’, ‘इन्द्रेणी’, ‘साइनो’ जस्तै स्वतन्त्र अस्तित्वको र छुट्टै संरचना रहेको ‘बाछिटा’ उपविधा पाठक र सर्जकका बीचमा प्रिय बनिरहेको छ र यस विधाका पाठक तथा सर्जकहरूको सङ्ख्या पनि बढिरहेको छ । सामाजिक सन्जालमा देखिएका ‘बाछिटा’ र त्यसमाथिका प्रतिक्रियाहरूले पनि यसको पुष्टि गर्दछन् । यस्तो नयाँ प्रयोग साहित्यिक गतिशीलताको प्रमाण हो । यस्ता प्रयोगहरूलाई सहज रूपमा आत्मसात गर्नु र आफूलाई जुनसुकै प्रयोगमा समाहित गराउन सक्नु पाठक तथा सर्जकको साहित्यिक गतिशीलताको द्योतक हो ।
‘बाछिटा’ पछिल्लो साहित्यिक प्रयोग भएर पनि यसको लेखन प्रारम्भ भएको एक वर्ष नपुग्दै यस उपविधाको प्रथम कृति तयार भएबाट यसको जनप्रियताको मापन गर्न सकिन्छ । विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालले नेपाली साहित्यलाई ‘त्रिरत्न’ नामक पहिलो बाछिटासङ्ग्रह नै उपहार दिनुभएको छ । ‘त्रिरत्न’ शब्दलाई तीनजना कृतिकाररत्न, ‘बाछिटा’ का तीन हरफरत्न, तीनजनाका ३३३ — ३३३ कवितारत्न, सर्जक, सम्पादक र प्रकाशकको सम्मिलनरत्न, जुनसुकै अर्थ पनि दिन सकिन्छ ।
शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयमा धेरै प्रकारको प्रयोग गरेको छ र प्रयोग नै कर्मशीलता, गतिशीलता र जीवन्तताको प्रतीक हो भन्ने कुरामा विश्वास राख्ने गरेको छ । त्यसैले प्रयोगमूलक कृतिको प्रकाशनका लागि कृतिकारहरूलाई साथ दिन यो संस्था तयार भएको हो । आफ्नो १४८ औँ प्रकाशनपुष्पका रूपमा पाठकवर्गमा ‘त्रिरत्न’ बाछिटासङ्ग्रह अर्पण गर्न पाएर शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । यो सौभाग्य प्रदान गर्नुभएकोमा बाछिटाकार तीनैजना सर्जकप्रति शब्दयात्रा प्रकाशन आभार व्यक्त गर्दछ ।
शब्दसञ्चारः मंसिर ०२, २०७७
- Episode 32 – Shabda Sanchar 29:09
मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत
शब्दयात्रा प्रकाशनबाट गठित कार्यक्रम मूल्याङ्कन समितिले पाँच फरक–फरक क्षेत्रका प्रतिवेदनहरू प्रस्तुत गरेको छ । डा. इन्दुल केसीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिमा चन्द्रबहादुर खड्का, पदम दाहाल, रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको थियो ।
कोरोना महामारीको समयमा पनि निरन्तर सक्रिय रहेर प्रतिवेदन बनाई प्रस्तुत गरेकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले मूल्याङ्कन समितिका सबैलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

