Home Blog Page 131

शब्दसञ्चारः पौष १४, २०७७

0
  1. Episode 38 – Shabda Sanchar 24:19

शब्दयात्रा प्रकाशनबाट म्युजिक भिडिओ निर्माण

0

शब्दयात्रा प्रकाशनले म्युजिक भिडिओको निर्माण गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य हरिगोपाल प्रधानको ‘जीवनभरि तिमीलाई साथ दिन्छु’ बोलको आधुनिक गीतमा म्युजिक भिडिओको निर्माण गरिएको हो । उहाँ वरिष्ठ गीतकार, स्वतन्त्र पत्रकार, फोटो पत्रकार र साहित्यकार पनि हुनुहुन्छ ।
म्युुजिक भिडिओमा गायिका सरिता अधिकारीको स्वर र सङ्गीतकार किशोर खतिवडाको सङ्गीत रहेको छ । प्रदीपराज वन्त र कृजना डङ्गोलले नायक–नायिकाका रूपमा अभिनय गर्नुभएको उक्त म्युजिक भिडिओको नृत्यनिर्देशन लक्ष्मी खड्गीले र छायाङ्कन तथा सम्पादन सोहन मानन्धरले गर्नुभएको छ भने गीतका अन्य कलाकारहरू कुसुम तामाङ, नेहा महर्जन, मेघना महर्जन र नीलम तामाङ रहनुभएको छ ।
गीतका सिनियर एरेन्जर र संयोजक अमूल कार्कीढली, शृङ्गार सहयोगी हेम पुन मगर, मनु थापा मगर र रेखा बलामी, वेशभूषा सहयोगी शोभा महर्जन र कुसुम श्रेष्ठ, व्यवस्थापन सहयोगी निकेश सुवेदी, स्थीर फोटोग्राफर तथा निर्देशक राजेश मानन्धर, प्रबन्ध निर्देशक पदमसागर कक्षपति हुनुहुन्छ । गीतको छायाङ्कन फर्पिङ लुमन्ती स्थानमा गरिएको छ ।

शब्दयात्रा प्रकाशनबाट संस्मरण आह्वान

0

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका पुराना राजनीतिक व्यक्तित्व गोविन्दनाथ उप्रेतीको सम्मानमा अभिनन्दनग्रन्थको प्रकाशन गर्ने भएको छ । उक्त अभिनन्दनग्रन्थमा प्रकाशन गर्नका लागि गोविन्दनाथ उप्रेतीका विषयमा आफ्नो संस्मरण र मूल्याङ्कन सकेसम्म छिटै उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले सबैमा हार्दिकतापूर्वक अनुरोध गरेको छ । गोविन्दनाथ उप्रेतीका कार्यहरूको मूल्याङ्कन गरिएका लेखहरू काभ्रे जिल्लाका बौद्धिक व्यक्तित्वहरूबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

कोरोना महामारीको अवस्थामा पनि शब्दयात्रा प्रकाशनबाट के–के काम गरिए ?

0

शब्दयात्रा प्रकाशनले कोरोना महामारी भएकै अवस्थामा पनि स्वास्थ्यसम्बन्धी पूर्ण सतर्कताका साथ सीमित व्यक्तिको उपस्थितिमा केही कार्यहरू सम्पन्न गर्न सकेको छ । जस्तै —
आजीवन सदस्य चारजना थप गरियो । सामाजिक परीक्षण मूल्याङ्कन गराइयो । शब्दयात्रा स्तम्भ निर्माण तथा अनावरण गराइयो । शब्दयात्रा शारदा मन्दिर निर्माण गरी पूर्णता दिइयो । शब्दसाधक तीर्थलाई सुरक्षित पार्न फलामको बारबन्देज थपियो । कार्यालयमा बिजुलीको मिटर जडान गरियो । सालिकका लागि सहयोग गर्ने दाताहरूको अभिलेख बनाई अनावरण गराइयो । बन्दाबन्दीकै अवस्थामा पनि १३ वटा पुस्तक प्रकाशन गरी प्रकाशित पुस्तकको सङ्ख्या १५० पु¥याइयो । पुस्तक सार्वजनिकीकरण कार्यक्रमहरू गर्न सकियो । ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम बन्द रहेकोमा २०७७ साल वैशाखको पहिलो सातादेखि प्राइम एफएम १०४.५ बाट पुनः प्रसारण सुरु गरियो । कार्यालयको सुरक्षाका लागि फलामको द्वार बनाइयो । नीलकण्ठेश्वरको ट्रसमा बार लगाइयो ।
यसै गरी पुस्तकालयका लागि पुस्तकहरू थप गरियो । पुस्तकालयका लागि दुइटा दराज सहयोगस्वरूप प्राप्त गर्न सकियो । प्राप्त भएका पुस्तकहरूमध्ये २ हजारभन्दा केही बढी पुस्तकको अभिलेख राखियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम फाटफुट रूपमा मात्रै भए पनि सञ्चालन गरियो । ‘नेपालभूमि’ का स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गरियो । प्रदेश सभासद्, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, पूर्वउपकुलपति, साहित्यकारहरू आदिलाई शब्दसाधक तीर्थको अवलोकन गराइयो । बनेपा नीलकण्ठेश्वरमा रहेको जग्गामा बन्ने संरचनाका लागि गुरुयोजनाको खाका निर्माण गराइयो । ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरियो । सम्मान समर्पण गर्ने कार्य बाँकी राखेर त्यससँग सम्बन्धित आवश्यक अन्य कार्यहरू अनलाइन पद्धतिबाट सम्पन्न गरियो ।
कोभिड — १९ का कारण शब्दयात्रा प्रकाशन परिवार यति कार्यमै मात्र सन्तुष्ट बन्न बाध्य बनेको छ ।

शब्दयात्रा प्रकाशनको साधारणसभा सम्पन्न

0

शब्दयात्रा प्रकाशनको सातौँ वार्षिक साधारणसभा यही २०७७ साल पुस ४ गते तदनुसार १९ डिसेम्बर २०२० का दिन शनिबार वसन्तपञ्चमीका दिन सम्पन्न गरियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त सभा बनेपा नीलकण्ठेश्वर अक्षरधाममा रहेको शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १ बजे प्रारम्भ भएको थियो ।
शब्दयात्रा प्रकाशनले सालिक स्थापना गरेका विशिष्ट पाँच व्यक्तित्वमध्येका ज्येष्ठ व्यक्तित्व प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको जन्मजयन्ती वसन्तपञ्चमीकै दिन भएकाले साधारणसभामा उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्य केदारनाथ तिमल्सिनाले षडानन्द अधिकारीको सालिकमा रुद्राक्षको माला अर्पण गरेपछि कार्यक्रमलाई औपचारिक स्वरूप दिइएको थियो । महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रारम्भमा उपस्थित सदस्यमध्ये कनिष्ठ सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । पण्डित रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएको उक्त साधारणसभामा शिव बन्जारा, नवीना श्रेष्ठ, हरिगोपाल प्रधान, सकुल थापा, सुमन खड्का, निर्मला श्रेष्ठ, पुण्यवती घले र वेदप्रसाद गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सङ्गीता केसीले व्यवस्थापन पक्ष सम्हाल्नुभएको थियो ।
साधारणसभामा विभिन्न प्रस्तावहरू पारित गरिएका थिए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको थियो भने लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७६–७७ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरू पनि पारित गरेको थियो । यसै गरी सो साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण पनि पारित गरेको थियो ।
सो साधारणसभा २०७७ साल कार्तिक १६ गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम सम्पन्न भएको थियो । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य २१ जना हुनुहुन्छ ।

शब्दयात्रा प्रकाशनबाट नेपालको प्राचीन इतिहासका भ्रम निवारण गर्ने पुस्तक छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘नेपालको प्राचीन इतिहास भ्रम तथा निवारण’ नामक पुस्तक प्रकाशन हुने भएको छ । अनुसन्धाता भरतमणि जङ्गमद्वारा लिखित यो पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ४९ औँ प्रकाशनपुष्प हो । जम्मा २ सय ६४ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपियाँ राखिएको छ ।
यस पुस्तकमा भिँद्यो महाभारतकालीन भीमसेन होइनन्, चाँगुनारायणको नाउँ दोलाशिखर स्वामी होइन, अनन्तलिङ्गेश्वर लोकपाल स्वामी शैवदेवता हुन्, हलिपट नागनागिनी होइन तथा धनेश्वर महादेव र त्यसको ऐतिहासिक पृष्ठभूमि जस्ता १३ वटा लेखहरू राखिएका छन् ।
यस पुस्तकमा प्राचीन नेपालको इतिहासलेखनमा देखिएका अपुष्ट, अव्याख्येय, अतार्किक र असान्दर्भिक विषयलाई पुष्टि गर्ने, व्याख्या गर्ने, तर्कसम्मत बनाउने, सान्दर्भिकता प्रदान गर्ने र अपव्याख्या भएका प्रसङ्गलाई सही व्याख्या गरेर इतिहासलेखनलाई प्रामाणिक स्वरूप दिने लेखहरू रहेकाले यस पुस्तकबाट प्राचीन नेपालको इतिहासलेखनमा देखापरेका भ्रमहरूको निवारण गर्न सकिने र हालसम्मको पछिल्लो अनुसन्धान यही नै भएकाले यसपछिको अनुसन्धानले यसभित्रका किटानीहरूको खण्डन नगरेसम्म प्राचीन नेपालको इतिहासमा देखापरेका केही भ्रमहरूको अन्तिम निवारण यही नै हो भनेर स्वीकार गर्नुपर्ने कुरा प्रकाशन संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले बताउनुभएको छ ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष सम्मानित

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई विश्व हिन्दू महासङ्घ नेपालको बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ । वैदिक सनातन धर्म–संस्कृतिको संरक्षण र सम्वर्धनमा उहाँले पु¥याउनुभएको विशेष योगदानको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको कुरा सो संस्थाले जनाएको छ ।
विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश प्रमुख, केन्द्रीय सचिव, बागमती प्रदेश सहसचिव र काभ्रे जिल्ला कार्यसमितिका सहसचिवले गत मङ्सिर २६ गते शुक्रबार उहाँकै निवासमा पुगी उहाँलाई सम्मानपत्र र दोसल्ला समर्पण गरी सम्मान गर्नुभएको थियो ।

सम्मानका लागि नाम सिफारिस पठाउन अनुरोध

0

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७७ सालका लागि दोस्रो चरणका ९ विधामा सम्मानहरू समर्पण गर्न निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७७ साल पुस २० गतेभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।
दोस्रो चरणमा समर्पण गरिने सम्मानहरू —

(१) शब्दयात्रा सुब्बा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान (आमसञ्चार विधामा योगदान गर्ने विशिष्ट व्यक्ति वा संस्थालाई समर्पण गरिने । गत वर्ष ध्रुवहरि अधिकारी सम्मानित),
(२) शब्दयात्रा सुब्बा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान (नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरूमध्ये चयन भएको पत्रिकालाई समर्पण गरिने । गत वर्ष नवप्रज्ञापन सम्मानित),
(३) शब्दयात्रा बालागुरु षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान (आध्यात्मिक पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान गर्ने पत्रिका, सञ्चार–माध्यम, कार्यक्रम सञ्चालक, प्रवक्ता एवं प्रवाचकहरूलाई समर्पण गरिने । गत वर्ष भक्तिदर्शन टेलिभिजन सम्मानित),
(४) शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान (फोटो पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्ने महानुभावलाई समर्पण गरिने । गत वर्ष राजेन्द्र चित्रकार सम्मानित),
(५) शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान (प्रतिभावान् महिलाहरूमध्येबाट चयन भएका महिलालाई समर्पण गरिने । गत वर्ष रागिनी उपाध्याय सम्मानित),
(६) शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान (उत्कृष्ट बालसाहित्य सर्जकलाई समर्पण गरिने । गत वर्ष प्रा. रामकुमार पाँडे सम्मानित),
(७) शब्दयात्रा गोपाल प्रधान समालोचना सम्मान (समालोचनाका क्षेत्रमा विशिष्ट योगदान गर्ने समालोचकलाई समर्पण गरिने । गत वर्ष प्रा. राजेन्द्र सुवेदी सम्मानित),
(८) शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान (कविता–काव्य विधामा उल्लेख्य योगदान गरेका सर्जकलाई समर्पण गरिने । गत वर्ष प्रा. डा. रमेशचन्द्र अधिकारी सम्मानित),
(९) शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान (अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदान गर्ने अनुसन्धातालाई समर्पण गरिने । गत वर्ष डिल्लीराम मिश्र श्रमजीवी सम्मानित) ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क — ०११–४१५२१५

शब्दसञ्चारः पौष ०७, २०७७

0
  1. Episode 37 – Shabda Sanchar 26:38

शब्दसञ्चारः मंसिर ३०, २०७७

0
  1. Episode 36 – Shabda Sanchar 28:02