Home Blog Page 123

हरि मञ्जुश्रीलाई ‘शब्दसारथि’ उपाधि र ६ फिट अग्लो अभिवन्दनापत्र प्रदान

0
काभ्रेपलान्चोक जिल्लामा बसेर नेपालकै गौरव बढाउने काम गर्नुभएका साहित्यकार, भाषासेवी, ग्रन्थसम्पादक, साहित्यिक सङ्गठक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको छ । उहाँलाई काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गम, पूर्वमन्त्री कान्ता भट्टराई, समाजसेवी सावित्री थापा, नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार पोष चापागाई, बालसाहित्यकार गोपाल पराजुली, साहित्यिक पत्रकार चेतनाथ धमला, साहित्यकार नवीना श्रेष्ठ, समाजसेवी बेलप्रसाद श्रेष्ठ, गीतिभास्कर मच्छेश्वर सापकोटा, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला, शिक्षासेवी रामप्रसाद अधिकारी आदिसहित ३० जना व्यक्तिहरूले हस्ताक्षर गरेर ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको हो । उपाधिको अभिवन्दनापत्र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।
काभ्रेपलान्चोक जिल्लामा जनस्तरबाट उपाधि प्रदान गरिएको यो तेस्रोपटक हो । पहिलोपटक शिक्षासेवी तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई अक्षरधामको सक्रियतामा शैक्षिक शिरोभूषण उपाधि र दोस्रोपटक गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई शब्दयात्रा प्रकाशनको सक्रियतामा गीतिभास्कर उपाधि प्रदान गरिएको थियो । तेस्रोपटक हरि मञ्जुश्रीले ‘शब्दसारथि’ उपाधि प्राप्त गर्नुभएको छ । उपाधिको स्मृतिचिह्नका रूपमा हरि मञ्जुश्रीलाई डा. भोला थापाले ‘शब्दसारथि’ लेखिएको पदक प्रदान गर्नुभएको थियो ।
उपाधि गर्ने क्रममा हरि मञ्जुश्रीलाई त्यही समारोहमा ६ फिट अग्लो ताम्रपत्रबाट पनि अभिवन्दना गरिएको थियो । डा. भोला थापा र भरत जङ्गमले ताम्रपत्रमा लेखिएको अभिवन्दना समर्पण गर्नुभएको थियो । अभिवन्दित व्यक्तिको कदभन्दा अग्लो ताम्रपत्र यसअघिका सार्वजनिक समारोहमा प्रदान गरिएको थिएन ।
समारोहमा उपस्थित सबैजनाले दस्तखत गरेर तयार पारेको ६ फिट लम्बाइ र ६ फिट उचाइको बृहत् सम्मानपत्र पनि हरि मञ्जुश्रीलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा हरि मञ्जुश्रीलाई काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ, खोटाङ र ओखलढुङ्गा जिल्लाका विभिन्न ६० वटा संस्थाले सम्मान समर्पण गरेका थिए । एकै दिन एउटै समारोहमा ६० वटा संस्थाले एकजना व्यक्तिलाई सम्मान गर्नु दुर्लभ घटना मानिन्छ । यसअघि काभ्रे जिल्लामा डा. सुरेशराज शर्मालाई मात्र ६० वटा संस्थाले एकै दिन सम्मानपत्र प्रदान गरेका थिए ।
यसै गरी सोही समारोहमा हरि मञ्जुश्रीका विषयमा १ सय ३७ जना लेखकका लेखहरू समावेश भएको ६ सय ४८ पृष्ठको ‘शब्दकलाका नायक’ नामक हरि मञ्जुश्री सम्मानग्रन्थलाई डा. भोला थापा, डा. सुरेशराज शर्मा र भरत जङ्गमले थैलीबाट झिकेर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन शारदाप्रसाद शर्मा र निर्मला श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो । समारोहमा सम्पादक शारदाप्रसाद शर्माले पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो भने ग्रन्थका सम्पादक तथा समितिका सचिव निर्मला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
भाषासेवी हरि मञ्जुश्री र उहाँको अर्धाङ्गिनी गीता मञ्जुश्रीलाई भरत जङ्गमले दुवोको माला र डा. भोला थापाले किरीट लगाइदिनुभएको उक्त समारोहमा आयोजक समितिका सदस्य चन्द्रबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने हरि मञ्जुश्रीलाई समर्पण गरिएको मूल अभिवन्दनापत्रको बेहोरा कृष्णमणि कुइँकेलले पढेर सुनाउनुभएको थियो । यी सबै कार्यक्रमहरू मोती महोत्सव अन्तर्गत एकै दिन सम्पन्न गरिएका थिए ।
यसअघि हरि मञ्जुश्रीको मोती महोत्सव भव्य रूपमा मनाउन भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गम संयोजक र समाजसेवी निर्मला श्रेष्ठ सचिव रहेर साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति गठन गरिएको थियो । त्यस समितिले गत असोज ५ गते सोमबार मोती महोत्सव गर्नुपर्ने भए तापनि कोरोना महामारीका कारण सम्भव नभएकाले यही २०७७ साल चैत २८ गते शनिबार मोती महोत्सवको कार्यक्रमको आयोजना गरिएको थियो । विशिष्ट व्यक्तिहरूको उमेरको छैटौँ दशकमा मनाइने मोती महोत्सव अन्यत्र मनाइए पनि काभ्रे जिल्लामा पहिलोपटक सार्वजनिक रूपमा मनाइएको हो ।

पत्रकारिता छात्रवृत्ति प्रदान

0

शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसको स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय अध्ययनरत छात्रा सुजाता तिमल्सिनालाई प्रदान गरेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित विशेष कार्यक्रममा छात्रवृत्तिका आर्थिक व्यवस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि प्रर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठले दस हजार रुपियाँ नगद र प्रमाणपत्रसहित सुजाता तिमल्सिनालाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । उक्त छात्रवृत्तिका लागि द्रोणप्रसाद श्रेष्ठले आफ्नी दिवङ्गत धर्मपत्नी श्रीमती मनका श्रेष्ठको स्मृतिमा अक्षयकोष राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा पत्रकारिता विषय अध्ययनरत काभ्रे जिल्लाकै गरिब तर जेहेन्दार एउटी छात्रालाई शिक्षालयको सिफारिसमा हरेक वर्ष दस हजार रुपियाँ छात्रवृत्ति प्रदान गर्ने गरेको छ । २०७६ सालदेखि ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्न थालिएको हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढाउन यो छात्रवृत्तिले भूमिका खेल्ने कुरामा शब्दयात्रा प्रकाशनले विश्वास राखेको छ ।

काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान

0

शब्दयात्रा प्रकाशनले दुईजना काभ्रेली पत्रकारलाई २०७७ सालका लागि ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । नागरिक दैनिकका काभ्रे प्रतिनिधि मधुसूदन गुरागाईं र कामना प्रकाशन समूहका कार्यरत भगवती तिमल्सिनालाई उक्त कदरपत्र प्रदान गरिएको हो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित विशेष कार्यक्रममा पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई कदरपत्रका व्यवस्थापक तथा कार्यक्रमका सभापति हरिगोपाल प्रधानले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सम्मानित पत्रकारको चिनारी चयन समितिका संयोजकका रूपबाट शब्दयात्रा प्रकाशनका सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गराउनुभएको थियो ।
सम्मानित पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनाले शब्दयात्रा प्रकाशनले प्रदान गरेको कदरपत्रले आफूलाई थप ऊर्जा प्राप्त भएको कुरा बताउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य हरिगोपाल प्रधानले व्यवस्थापन गर्नुभएको उक्त कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि प्रदान गर्न थालेको हो । यो सम्मानपत्र हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ ।

शब्दयात्रा प्रकाशनलाई शुभकामना सन्देश

0

नेपालका ख्यातिप्राप्त बौद्धिक व्यक्तित्वहरूले शब्दयात्रा प्रकाशनलाई लिखित रूपमा शुभकामना र सन्देशहरू उपलब्ध गराउनुभएको छ । उहाँहरूबाट प्राप्त भएका शुभकामना र सन्देशहरू हामी बेलाबेलामा वाचन गर्नेछौँ । आजको कार्यक्रममा १० जनाले लेख्नुभएका शुभकामना सन्देशहरू वाचन गर्नेछौँ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशन मर्यादित होस् । म शब्दयात्रा प्रकाशनको उत्तरोत्तर अभिवृद्धिको हार्दिक मङ्गलमय शुभकामना अभिव्यक्त गर्दछु । शब्दयात्रा प्रकाशन नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको उन्नयनतर्फ अग्रसर होस् । राष्ट्रः धारयेत् ध्रुवम् । वयं राष्ट्र जागृयामः पुरोहिता ।
शिक्षाविद् डा. मनप्रसाद वाग्लेले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनको नामबाटै यसको अर्थ बुझ्न सकिन्छ । सबै कुराको आ–आफ्नो अर्थ त हुन्छ नै तर शब्दयात्राभित्र शब्दको यात्रा भन्ने अर्थले एउटा छुट्टै स्थान बनाएको छ । कमलजीवीहरूको यो एउटा यस्तो मञ्च हो जहाँ लेखक, कवि, समालोचक एवं शब्दका अन्य पारखीको समेत सम्मान हुन्छ । पुस्तक प्रकाशनदेखि अनवरत रुपमा आफ्नो सेवामा इमानदारीपूर्वक सेवा गर्नेहरूको सम्मान गर्ने क्रियाकलापमा व्यस्त छ शब्दयात्रा प्रकाशन । स्थापना कालदेखि २०७७ पौषसम्ममा १५० पुस्तक प्रकाशन गर्नु र नेपाली साहित्य र वाङ्मयको सम्बर्धन गर्नु ठट्टाको कुरा भएन । यसमा समय, अर्थ र विचारको लगानी प्रशस्त भएको छ र यसले नेपाली भाषाको सम्बद्र्धनमा विशिष्ट योगदान गरिरहेछ । अक्षरधाम साहित्यिक पत्रिका शब्दयात्रा प्रकाशनको अर्को विशेषता मान्न सकिन्छ । यो पत्रिकाको प्रकाशनबाट पाठकहरू त लाभान्वित हुने नै भए, त्यसको अतिरिक्त साहित्य प्रवर्धनमा समेत यसको योगदान अनुकरणीय मान्न सकिन्छ । आपतकालीन अवस्थामा लेखकको सहयोगार्थ स्थापना गरिएको ‘सहयोग कोष’ यसको अर्को महत्वपूर्ण पाटो हो । सहयोग कोष स्थापनार्थ चालिएका कदम र प्रक्रिया हेर्दा यो पारदर्शी देखिन्छ । निःस्वार्थ  भावले सञ्चालन भएको शब्दयात्रा प्रकाशनको सकारात्मक चिन्तन यहाँनेर उल्लेख्य मान्नुपर्दछ । संस्था ठूलो भएर उन्नति हुने होइन । ‘सानो नै राम्रो’ भन्ने सिद्धान्तमा अडिग भई शब्दयात्रा प्रकाशनले आफ्नो गन्तव्य अझ सूक्ष्म रुपमा पहिचान गरोस् । तथापि सङ्घीय, प्रादेशिक र स्थानीय स्तरका ‘शब्दयात्रा’ लाई एउटै मालामा उनेर भाषागत, साहित्यगत र विभिन्न विधागत क्षेत्रमा अग्रसर हुँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।
गुञ्जन साहित्य संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकले लेख्नुभएको छ — साहित्य समाजको ऐना हो । समाजमा भएका कुरीतिहरू, भेदभावका विभिन्न गतिविभिहरूलाई शब्दरुपी घेरामा बुन्दै–बुन्दै पाठकको मन छुने गरी दर्शाउन सक्नु नै साहित्यकारको कुशल लेखन हो भन्ने म ठान्छु । सिद्धहस्त लेखको कलमलाई सम्मान गर्न शब्दयात्रा प्रकाशनले विगत दश वर्षदेखि अनवरत रुपमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष १८ जना विभिन्न विधाका साहित्यकारहरूलाई सम्मान गर्नुका साथै प्रत्येक वर्ष पत्रकारिता पढ्दै गरेका एक महिला र एक अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा प्रकाशनलाई साधुवाद दिन चाहन्छु । साथै शब्दयात्रा प्रकाशनले देवी माता सरस्वतीको मन्दिर स्थापना गर्नुका साथै पुस्तकालयको स्थापना समेत गरेकोमा प्रकाशन संस्था चिरकालसम्म जीवित रहने र गौरवमय भएको प्रष्ट नै छ । यसबाट त्यस भेगका समाजलाई ठूलो योगदान पुगेको छ । प्रकाशनले यसरी नै साहित्यको विकासको लागि साहित्यकारहरूको आत्मसम्मान बढाउँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।
साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनले गर्दै आएका काम एवं गतिविधिहरू हामी सबैका लागि प्रेरणादायी छन् । पुस्तक प्रकाशन, सम्मान एवं पुरस्कार, रेडियो कार्यक्रम सञ्चालन जस्ता कामहरूका अतिरिक्त विभिन्न विशिष्ट व्यक्तित्वहरूको प्रतिमा स्थापना र संरक्षणको कार्यले अरु संस्थाभन्दा यसले बेग्लै र विशिष्ट परिचय बनाएको छ । मलाई शब्दयात्रा प्रकाशनसँग जोडिन पाएकोमा गौरवबोध भएको छ । वास्तवमा यस्ता सिर्जनात्मक कार्यहरूमा लाग्न र सधै सक्रिय भइरहन गाह«ो छ । तथापि हरि मञ्जुश्रीलगायत सम्बद्ध सबैको समर्पण र सक्रियताले मात्र यो सम्भव हुन सकेको हो ।
पहिलो कम्प्युटर इन्जिनियर देवीप्रसाद चापागाईले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनलाई विभिन्न प्रकारको कार्यक्रम सञ्चालन गरेकोमा साधुवाद दिन चाहन्छु । समाजका विविन्न क्षेत्रमा योगदान दिने व्यक्ति चयन गरी सम्मान गर्नु राष्ट्रलाई उन्नतितर्फ लाग्ने प्रयास हो । शब्दयात्रा प्रकाशनको यसरी अनुकरणीय कार्य गरेको छ । म शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन्छु ।
ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाले लेख्नुभएको छ — काभ्रे जिल्लामा स्थापित शब्दयात्रा प्रकाशन नेपाली भाषा, साहित्य, संस्कृति र ज्ञान विज्ञानका क्षेत्रमा सेवा पु¥याउने ध्येयले विगत १०–१२ वर्षदेखि कार्यरत सामाजिक संस्था हो । यो संस्था साहित्यकार हरि मञ्जुश्रीको नेतृत्वमा काभ्रे क्षेत्रका उत्साहित साहित्यसेवी मित्रहरूको सवल र सफल प्रयासबाट सञ्चालित हुँदै आएको छ । यस संस्थाका सम्पूर्ण सदस्यहरूको सामुहिक प्रयत्नबाट काभ्रे क्षेत्रमा गहकिला एवं नमुना कार्यहरू हुँदै आएका छन् । तसर्थ म यस शब्दयात्रा प्रकाशनका सम्पूर्ण बन्धुहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँहरूले स्रष्टा एवं राष्ट्रका विभूतिहरूको सालिक निर्माण गर्ने, पुस्तकालय र सङ्ग्रहालय बनाउने, स्रष्टाहरूका महत्वपूर्ण कृति प्रकाशन गर्ने महत्तम कार्य गर्दै आउनुभएको छ । यसको म मुरीमुरी प्रशंसा गर्दछु । त्यस्तै यस संस्थाबाट साप्ताहिक पत्रिका प्रकाशन, अक्षरधाम नामक साहित्यिक पत्रिका प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन, साहित्यिक वेबसाइड सञ्चालन र राष्ट्रिय स्तरका प्रतिभाहरूको सम्मान गर्ने कार्यक्रमहरू पनि नियमित रुपमा सञ्चालन गर्दै आउनु समाजका लागि महत्वपूर्ण कार्यहरू हुन् । आजको विकसित विज्ञान र प्रविधिलाई आत्मसात गरी साहित्यसेवा, समाजसेवाका अनुकरणीय कार्यलाई सर्वसाधारण जनतामा पु¥याउने, सूसुचित गराउने कार्य यहाँहरूबाट जुन प्रभावकारी रुपमा भएको छ, त्यसको म हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु । तपाईहरूको सकृयता र लगनशिलतामा अझ वृद्धि होस् र यस क्षेत्रकै नमुना संस्था बन्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ ले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनको ऐतिहासिक क्रियाकलाप देखेर अत्यन्त हर्षित भएको छु । यो संस्थाले आगामी दिनमा थप साहित्यिक उन्नयन  गर्नेछ भनेर विश्वाससहित हार्दिक शुभकामना अर्पण गर्दछु । विशेषतः हरि मञ्जुश्रीज्यूलाई हार्दिक कृतज्ञता टक्य्राउँछु ।
आख्यानकार प्रजापति तिमिल्सिनाले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशन जन्मेर यहाँसम्म आइपुग्दा कहिले काँडैकाँडामा हिँड्यो होला । कहिले तीखा ढुङ्गाको बगरै बगर पनि हिँड्यो होला । समस्यालाई कुल्चँदै, पहाड छिचोल्दै यहाँसम्म आइपुगेको होला । अब पनि यसका पैतालामा काँडा बिझेर रनस्ता अवरोध भए हटाइदिने हातहरू उत्ति नै जुटुन् । पयर नडगमगाई अनन्त यात्रामा लागिरहोस् । मङ्गलमय शुभकामना ।
शिक्षासेवी सुश्री एक्कुमाया पुनले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनलाई मेरो शुभकामना छ । निरन्तर रूपमा आफ्नो लक्ष्य र उद्देश्यमा अटल रही अघि बढ्नको लागि मेरो हृदयदेखि नै कामना गर्दछु ।
मनोक्रान्ति अभियन्ता सिमोन न्यौपानेले लेख्नुभएको छ — हार्दिक धन्यवाद छ है तिमीलाई । तिम्रो आत्मीय आलोकले आज प्रकाशित गरेको छ मलाई । हार्दिक धन्यवाद छ है तिमीलाई । तिमी युगयुग बाँच्नुपर्छ । शब्दयात्राबाटै सही, धारिला सत्यका आयाम साँच्नुपर्छ । शतशत प्रणाम तिम्रो सत्य प्रयासलाई । हार्दिक धन्यवाद छ है तिमीलाई ।

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार

0

साहित्यकार तथा गुञ्जन साहित्य संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकले आफ्नो सङ्ग्रहमा रहेका १ सय ८० थान साहित्यिक कृतिहरू शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । यसअघि पनि हिरण्यकुमारी पाठकले केही पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको थियो ।

शब्दसञ्चारः चैत २४, २०७७

0
  1. Episode 52 – Shabda Sanchar 31:53

शब्दसञ्चारः चैत १७, २०७७

0
  1. Episode 51 – Shabda Sanchar 33:02

शब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश

0

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य अग्रज गीतकार हरिगोपाल प्रधान विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । आफ्नो साङ्गीतिक एल्बम ‘यो मुटुमा सधैंभरि’ काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट सार्वजनिक गराएर उहाँले ‘वर्ल्ड बुक अफ रेकर्ड्स्’ मा कीर्तिमान कायम गर्नुभएको हो ।
‘यो मुटुमा सधैंभरि’ नामक साङ्गीतिक एल्बम शब्दयात्रा प्रकाशनले निर्माण गरेको हो । त्यसैले यो एल्बम र यसका गीतकारका कारण शब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश गरेको छ ।
उपराष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व कीर्तिमानको प्रमाणपत्र कीर्तिमानी गीतकार हरिगोपाल प्रधानलाई प्रदान गर्नुभएको थियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वर्ल्ड बुक अफ रेकर्ड्स् नेपालका अध्यक्ष सागर कटुवाल र हिपहप किङ निर्णय श्रेष्ठले दोसल्ला, वर्ल्ड बुक अफ रेकर्ड्सको पीन र माला लगाइदिएर विश्व कीर्तिमानी गीतकारलाई सम्मान गर्नुभएको थियो ।
हरिगोपाल प्रधान अग्रज पत्रकार, फोटो पत्रकार, साहित्यकार र समाजसेवीका रूपमा समाजमा विशिष्ट योगदान दिन सफल हुनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति गौरवान्वित छ ।

हरि मञ्जुश्रीको मोती महोत्सव चैत २८ गते गरिने

0
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव समारोह आगामी चैत २८ गते सार्वजनिक रूपमा मनाइने भएको छ । त्यस दिन करिब ६ सय पृष्ठको ‘शब्दकलाका नायक’ नामक हरि मञ्जुश्री स्मारकग्रन्थ सार्वजनिक गरी उहाँमा नवीन उपाधि प्रदान गरिनेछ भने पाँच दर्जन विभिन्न संस्थाहरूले उहाँमा सम्मानपत्र समर्पण गर्नेछन् । कार्यक्रमको आयोजना नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा सल्लाहकार, भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गम संयोजक, समाजसेवी निर्मला श्रेष्ठ सचिव तथा हिरण्य भोजपुरे, हरिगोपाल प्रधान, प्रा. सुरेशराज चालिसे, सुनील सापकोटा, सावित्री जङ्गम थापा, सकुल थापा, रामप्रसाद अधिकारी, मच्छेश्वर सापकोटा, बेलप्रसाद श्रेष्ठ, बुद्धरत्न मानन्धर, पोष चापागाई, नवीना श्रेष्ठ, द्रोणप्रसाद श्रेष्ठ, जीवनचन्द्र कोइराला, चेतनाथ धमला, चन्द्रबहादुर खड्का, घनश्याम राजकर्णिकार, गोपाल पराजुली, गणेश रसिक, केशव अर्याल, किरण थापा, कान्ता भट्टराई, उर्मिला श्रेष्ठ, डा. इन्दुल केसी, इन्द्रमणि अधिकारी, अरुणकुमार पाण्डे र अमृत अधिकारी सदस्य रहेको २९ सदस्यीय ‘साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति’ ले गर्नेछ । कोभिडको जोखिम बढ्दै गएकाले पूर्ण सुरक्षा सतर्कताका साथ कार्यक्रम सम्पन्न गरिने भएको छ । गत असोजमा गरिने भनिएको कार्यक्रम कोभिडका कारणले पछि सरेको थियो ।

शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग

0

इन्जिनियर तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्वडिन डा. डम्बरबहादुर नेपालीले शब्दयात्रा प्रकाशनलाई तीन हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।