Home Blog Page 124

हरि मञ्जुश्री र पोष चापागाईंको वार्ता यु–ट्युबमा

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग अग्रज नियात्राकार पोष चापागाईंले लिनुभएको सङ्क्षिप्त अन्तर्वार्ता शब्दयात्रा प्रकाशनको आधिकारिक वेबसाइट र यु–ट्युबमा राखिएको छ । शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर उहाँहरूले गर्नुभएको वार्तालापलाई सङ्गीता केसीले अभिलेखबद्ध गर्नुभएको थियो । वार्ताको क्रममा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालको पनि उपस्थिति रहेको थियो । उहाँहरू शब्दसाधक तीर्थको अवलोकन गर्न आउनुभएको थियो ।

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार

0

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि विभिन्न लेखकहरूले पुस्तकहरू प्रदान गरिरहनुभएको छ । यसै क्रममा साहित्यकार सुशीला देउजाले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका साहित्यिक कृतिहरू एक–एक थान उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसरी नै पूर्वमन्त्री तथा लेखक दीनबन्धु अर्याल र साहित्यकार डा. बेन्जू शर्माले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आफूले लेखेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको वाङ्मयिक अभियानलाई साथ दिन पुस्तकहरू उपहार प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

हरि मञ्जुश्रीलाई राष्ट्रिय स्वाभिमान जागरण सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई सुभाष स्मृति प्रतिष्ठानले यही २०७७ चैत १३ गते शुक्रबार ‘राष्ट्रिय स्वाभिमान जागरण सम्मान, २०७७’ समर्पण गरेको छ । सम्मानपत्रमा ‘सामाजिक सन्जालको एउटा अङ्ग मानिने फेसबुकको सदुपयोग गरी त्यसमा विभिन्न प्रकारका आध्यात्मिक, सामाजिक र ऐतिहासिक विषयवस्तुका अन्वेषणात्मक तथा जानकारीमूलक सामग्रीहरू राखेर सङ्क्षिप्त सूचनाबाट वृहत् सन्देश दिई राष्ट्रिय समाजमा नेपाली स्वाभिमानको जागरण गराउनका लागि विशिष्ट योगदान गर्नुभएकोमा तपाईं अन्वेषक श्री हरि मञ्जुश्रीज्यूलाई राष्ट्रिय स्वाभिमान जागरण सम्मान, २०७७ द्वारा हार्दिकतापूर्वक सम्मान गर्दै यो सम्मानपत्र समर्पण गर्दछौं’ लेखिएको छ । कार्यक्रममा उहाँसँगै दीनबन्धु अर्याल, आरडी प्रभास चटौत, डा. बेन्जू शर्मा र सीता पोखरेललाई पनि सम्मान गरिएको थियो ।

अनाथ बालबालिकाका लागि शब्दयात्राको सहयोग

0

शब्दयात्रा प्रकाशनले धुलिखेलमा अवस्थित हेल्प नेपाल नेटवर्कमा आश्रय लिइरहेका अनाथ बालबालिकाको शैक्षिक विकासका लागि केही आर्थिक सहयोग गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकमबाट आर्थिक सहयोग गरिएको हो । हेल्प नेपाल नेटवर्कका लागि आर्थिक सहयोग जुटाउन साइकलयात्री दीपेन्द्र बस्नेतलाई धुलिखेलबाट बिदाइ गर्न आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले अनाथ बालबालिकाको शैक्षिक विकासका लागि हेल्प नेपाल नेटवर्क धुलिखेलकी सञ्चालिका पुण्यवती घलेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार

0

काभ्रेली साहित्यकार सोमकाजी शाक्यले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि साहित्यिक विधाका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले ‘नारी’ र ‘परिवार’ पत्रिकाहरू उपहार प्रदान गर्नुभएको थियो । यसै गरी काठमाडौँको बानेश्वरबाट ऋषभ थापाले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहारस्वरूप पठाउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ नामक महाकाव्यको प्रकाशन हुन लागेको छ । महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित यो महाकाव्य भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमलाई विषयवस्तु बनाई लेखिएको छ । यसअघि भरत जङ्गमको जीवनवृत्तमा आधारित ‘भरतेन्दु’ महाकाव्य कविप्रसाद प्याकुरेलको लेखनमा प्रकाशित भइसकेको छ । ‘भरतांशु’ महाकाव्यका लेखक नीलकण्ठ भट्टराईलाई शब्दयात्रा प्रकाशनले २०७० सालमा कविताकाव्य सम्मानबाट सम्मानित गरेको थियो ।

शब्दसाधक तीर्थको अवलोकन

0

काभ्रे भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालले नियात्राकार पोष चापागाईंका साथमा शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थको अवलोकन भ्रमण गर्नुभयो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कार्यालय व्यवस्थापक सङ्गीता केसीले स्वागत गर्नुभएको थियो । त्यस बखत डा. राजु ढकालले सालिकहरू, स्तम्भ, पुस्तकालय र पोखरीको अवलोकन गर्नुका साथै सरस्वती, नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, हनुमान आदिको दर्शन गर्नुभएको थियो ।

शब्दयात्राको अर्को कार्यक्रम चैत महिनामा

0

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा सक्रिय दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई प्रदान गर्ने २०७७ सालको कदरपत्र यही चैत महिनामा गर्ने भएको छ । त्यही कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययन गर्ने छात्रा सुजाता तिमल्सिनालाई २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गरिने भएको छ ।
कोरोना महामारीका कारण कदरपत्र र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम स्थगित गर्नुपरेको थियो । अब स्थिति सहज हुँदै गएकाले कार्यक्रम गर्न लागिएको हो । गत फागुन २२ गते पनि शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरिएको थियो ।

हरि मञ्जुश्रीबाट आध्यात्मिक प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बनेपाको पुण्येश्वर महादेवस्थानमा आयोजित विशेष धार्मिक भेलामा उपस्थित भई सनातन धर्म, संस्कृति र परम्पराका सम्बन्धमा आध्यात्मिक प्रवचन गर्नुभएको छ । उहाँलाई सनातन वैदिक धर्मसँग सम्बद्ध रहेर प्रवचन गर्न आमन्त्रण गरिएको थियो ।
पुण्येश्वर महादेवस्थानमा हरेक महिनाको २५ गते आध्यात्मिक कार्यक्रम गरिने भएकाले त्यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट कुनै पनि प्रतिनिधि उपस्थित भई आध्यात्मिक प्रवचन गरिदिन आयोजकका तर्फबाट शब्दयात्रा प्रकाशनलाई अनुरोध गरिएको छ ।

‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक छापिँदै

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा अङ्ग्रेजी भाषामा ‘बेलप्रसाद श्रेष्ठ ः द म्यान बिहाइन्ड धुलिखेल’ नामक पुस्तक प्रकाशन हुने भएको छ । उहाँकै सम्पादनमा केही वर्षअघि ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ नामक अभिनन्दनग्रन्थ प्रकाशन भएकोमा त्यसभित्रका महत्त्वपूर्ण लेखहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी केही थप लेखहरू पनि समावेश गरेर अङ्ग्रेजीभाषी पाठकहरूका लागि ‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक तयार पारिएको हो ।
नेपाली भाषाका लेखहरूलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय डा. भास्कर हुमागाईं र इ. रोशन अधिकारीले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि विदेशी पाठकहरूका लागि शब्दयात्रा प्रकाशनले यो पुस्तक प्रकाशन गर्न लागेको हो ।