काभ्रेपलान्चोक जिल्लामा बसेर नेपालकै गौरव बढाउने काम गर्नुभएका साहित्यकार, भाषासेवी, ग्रन्थसम्पादक, साहित्यिक सङ्गठक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको छ । उहाँलाई काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गम, पूर्वमन्त्री कान्ता भट्टराई, समाजसेवी सावित्री थापा, नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार पोष चापागाई, बालसाहित्यकार गोपाल पराजुली, साहित्यिक पत्रकार चेतनाथ धमला, साहित्यकार नवीना श्रेष्ठ, समाजसेवी बेलप्रसाद श्रेष्ठ, गीतिभास्कर मच्छेश्वर सापकोटा, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला, शिक्षासेवी रामप्रसाद अधिकारी आदिसहित ३० जना व्यक्तिहरूले हस्ताक्षर गरेर ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको हो । उपाधिको अभिवन्दनापत्र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।
काभ्रेपलान्चोक जिल्लामा जनस्तरबाट उपाधि प्रदान गरिएको यो तेस्रोपटक हो । पहिलोपटक शिक्षासेवी तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई अक्षरधामको सक्रियतामा शैक्षिक शिरोभूषण उपाधि र दोस्रोपटक गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई शब्दयात्रा प्रकाशनको सक्रियतामा गीतिभास्कर उपाधि प्रदान गरिएको थियो । तेस्रोपटक हरि मञ्जुश्रीले ‘शब्दसारथि’ उपाधि प्राप्त गर्नुभएको छ । उपाधिको स्मृतिचिह्नका रूपमा हरि मञ्जुश्रीलाई डा. भोला थापाले ‘शब्दसारथि’ लेखिएको पदक प्रदान गर्नुभएको थियो ।
उपाधि गर्ने क्रममा हरि मञ्जुश्रीलाई त्यही समारोहमा ६ फिट अग्लो ताम्रपत्रबाट पनि अभिवन्दना गरिएको थियो । डा. भोला थापा र भरत जङ्गमले ताम्रपत्रमा लेखिएको अभिवन्दना समर्पण गर्नुभएको थियो । अभिवन्दित व्यक्तिको कदभन्दा अग्लो ताम्रपत्र यसअघिका सार्वजनिक समारोहमा प्रदान गरिएको थिएन ।
समारोहमा उपस्थित सबैजनाले दस्तखत गरेर तयार पारेको ६ फिट लम्बाइ र ६ फिट उचाइको बृहत् सम्मानपत्र पनि हरि मञ्जुश्रीलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा हरि मञ्जुश्रीलाई काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ, खोटाङ र ओखलढुङ्गा जिल्लाका विभिन्न ६० वटा संस्थाले सम्मान समर्पण गरेका थिए । एकै दिन एउटै समारोहमा ६० वटा संस्थाले एकजना व्यक्तिलाई सम्मान गर्नु दुर्लभ घटना मानिन्छ । यसअघि काभ्रे जिल्लामा डा. सुरेशराज शर्मालाई मात्र ६० वटा संस्थाले एकै दिन सम्मानपत्र प्रदान गरेका थिए ।
यसै गरी सोही समारोहमा हरि मञ्जुश्रीका विषयमा १ सय ३७ जना लेखकका लेखहरू समावेश भएको ६ सय ४८ पृष्ठको ‘शब्दकलाका नायक’ नामक हरि मञ्जुश्री सम्मानग्रन्थलाई डा. भोला थापा, डा. सुरेशराज शर्मा र भरत जङ्गमले थैलीबाट झिकेर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन शारदाप्रसाद शर्मा र निर्मला श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो । समारोहमा सम्पादक शारदाप्रसाद शर्माले पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो भने ग्रन्थका सम्पादक तथा समितिका सचिव निर्मला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
भाषासेवी हरि मञ्जुश्री र उहाँको अर्धाङ्गिनी गीता मञ्जुश्रीलाई भरत जङ्गमले दुवोको माला र डा. भोला थापाले किरीट लगाइदिनुभएको उक्त समारोहमा आयोजक समितिका सदस्य चन्द्रबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने हरि मञ्जुश्रीलाई समर्पण गरिएको मूल अभिवन्दनापत्रको बेहोरा कृष्णमणि कुइँकेलले पढेर सुनाउनुभएको थियो । यी सबै कार्यक्रमहरू मोती महोत्सव अन्तर्गत एकै दिन सम्पन्न गरिएका थिए ।
यसअघि हरि मञ्जुश्रीको मोती महोत्सव भव्य रूपमा मनाउन भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गम संयोजक र समाजसेवी निर्मला श्रेष्ठ सचिव रहेर साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति गठन गरिएको थियो । त्यस समितिले गत असोज ५ गते सोमबार मोती महोत्सव गर्नुपर्ने भए तापनि कोरोना महामारीका कारण सम्भव नभएकाले यही २०७७ साल चैत २८ गते शनिबार मोती महोत्सवको कार्यक्रमको आयोजना गरिएको थियो । विशिष्ट व्यक्तिहरूको उमेरको छैटौँ दशकमा मनाइने मोती महोत्सव अन्यत्र मनाइए पनि काभ्रे जिल्लामा पहिलोपटक सार्वजनिक रूपमा मनाइएको हो ।