- Episode 54 – Shabda Sanchar 29:51
शब्दसञ्चारः वैशाख ०७, २०७८
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दयात्रा बालसाहित्य सम्मानबाट २०६९ सालमा सम्मानित कवि श्यामदास वैष्णवको निधनले हामीलाई दुःखित बनाएको छ । हामी उहाँको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त छौँ ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दयात्रा स्तम्भकार सम्मानबाट २०७३ सालमा सम्मानित प्रा. डा. गोपाल शिवाकोटीको निधनले हामीलाई दुःखित बनाएको छ । हामी उहाँको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त छौँ ।
शब्दयात्रा प्रकाशन परिवार
सम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस पठाउन अनुरोध
शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७८ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही २०७८ साल वैशाख २० गतेभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।
पहिलो चरणमा समर्पण गरिने सम्मानहरू —
(१) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि विधाबाट राष्ट्रका लागि उल्लेख्य योगदान पु¥याएका व्यक्ति ः गत वर्ष ठाकुरप्रसाद मैनाली सम्मानित),
(२) शब्दयात्रा शिक्षा सम्मान (शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष प्रा. डा. मनप्रसाद वाग्ले सम्मानित),
(३) शब्दयात्रा विज्ञान–प्रविधि सम्मान (विज्ञान–प्रविधि क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष देवीप्रसाद चापागाई सम्मानित),
(४) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासनिक कर्मचारी भएर अन्य क्षेत्रमा पनि योगदान पु¥याएकी महिला ः गत वर्ष साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित),
(५) शब्दयात्रा सामाजिक जागरण सम्मान (समाजसेवाका माध्यमबाट सामाजिक जागरण गराउने व्यक्ति वा संस्था ः गत वर्ष डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ सम्मानित),
(६) शब्दयात्रा शोध सम्मान (कवि नन्दिकेश्वर अधिकारी र उनको साहित्यिक वंशजको शोध र प्रकाशनमा संलग्न व्यक्ति वा संस्था : गत वर्ष जीवनचन्द्र कोइराला सम्मानित),
(७) शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट लागेको कृति र कृतिकार : गत वर्ष ‘विधवा वासना’ उपन्यासका लागि प्रजापति तिमिल्सिना सम्मानित),
(८) शब्दयात्रा शिक्षक सम्मान (शिक्षकका रूपमा आदर्श स्थापना गरेका व्यक्ति : गत वर्ष सुश्री एक्कुमाया पुन सम्मानित),
(९) शब्दयात्रा स्तम्भकार सम्मान (राष्ट्रिय स्तरको सञ्चार माध्यमका स्तम्भकार : गत वर्ष पदम दाहाल सम्मानित) ।
सम्मान्य व्यक्तित्व चयन समिति, शब्दयात्रा प्रकाशन
शब्दसाधक तीर्थका विषयमा वृत्तचित्र निर्माण
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दसाधक तीर्थका विषयमा नेपाल बोर्डर अनलाइन टीभीले १५ मिनेटको सङ्क्षिप्त वृत्तचित्रको निर्माण गरेको छ । उक्त वृत्तचित्र नेपाल बोर्डर अनलाइन टीभी च्यानल, यु–ट्युब, शब्दयात्रा प्रकाशनको वेबसाइट र संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको फेसबुक पेजबाट हेर्न सकिन्छ । यो वृत्तचित्रको निर्माणका लागि साहित्यकार, साहित्यिक पत्रकार तथा सञ्चारकर्मी रेणुका भट्टराईप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
शब्दयात्रा पुस्तकालयका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशन पुस्तकालयको विकासका लागि अमेरिकामा बसोबास गर्ने शब्दयात्रा प्रकाशनका सहयोगी समुन्नत श्रेष्ठले बीस हजार रुपियाँ पठाइदिनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँको यो उदारतापूर्ण सहयोगका लागि उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ । उहाँजस्तै उदारमना मित्रहरूको सहयोगबाट शब्दयात्रा प्रकाशन गतिमान् भइरहेकाले भविष्यमा पनि कुनै न कुनै प्रकारको सहयोग यथासम्भव प्राप्त भइरहने कुरामा शब्दयात्रा प्रकाशन विश्वस्त छ ।
चयन समिति गठन
शब्दयात्रा प्रकाशनले २०७८ सालको जेठ महिनामा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति तथा संस्थाको नाउँ चयन गर्न तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । समितिको संयोजकमा शिक्षासेवी लोकेन्द्र ढकाल तथा सदस्यहरूमा साहित्यसेवी सरस्वती चिमौरिया र दामोदर घिमिरे रहनुभएको छ । समितिलाई वैशाख महिनाभित्र सम्मान्य व्यक्ति तथा संस्थाको चयन गरिसक्न आग्रह गरिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनामा शोध, सिर्जना, महिला प्रतिभा, राष्ट्रझङ्कार, शिक्षा, सामाजिक जागरण, स्तम्भकार, शिक्षक र विज्ञान–प्रविधि गरी नौ विधामा पाँच–पाँच हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार सहितको सम्मान समर्पण गर्ने गरेको छ ।
‘शकुनावली’ सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ५३ औँ पुस्तक ‘शकुनावली’ सार्वजनिक गरिएको छ । प्रतापदिल साधुले लेख्नुभएको ‘शकुनावली’ ८५ वर्षअघि भारतको बनारसबाट प्रकाशन भएकोमा त्यो पुस्तक अप्राप्य भइसकेको हुँदा त्यसलाई सहदीप पलान्चोकेले सङ्कलन तथा सम्पादन गरेपछि राजेन्द्र थापाको आर्थिक सहयोगमा यो पुस्तक प्रकाशन गरिएको हो ।
शब्दयात्रा प्रकाशनले आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठ, सभाध्यक्ष अग्रज पत्रकार हरिगोपाल प्रधान र पुस्तकका सङ्कलक तथा सम्पादक सहदीप पलान्चोकेले शब्दयात्रा प्रकाशनले चलाएको परम्परा बमोजिम थैलीबाट पुस्तक निकाली संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
यस पुस्तकको बिक्रीबाट प्राप्त भएको सम्पूर्ण रकम सङ्कलक तथा सम्पादकमार्पmत सनातन धनेश्वर भजन मण्डलका लागि खर्च गरिने भएको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्षको शुभकामना
शब्दयात्रा प्रकाशन परिवारका सम्पूर्ण मित्रहरू !
विक्रम सम्वत् अनुसारको नयाँ वर्ष २०७८ आजदेखि प्रारम्भ भएको छ । यस अवसरमा शब्दयात्रा प्रकाशनका संस्थापक, सञ्चालक, सदस्य, दाता, कार्यालय सहयोगी, अर्थसहयोगी, अन्य सहयोगी, लेखक, स्तम्भकार, पाठक, मुद्रक, शुभेच्छुक तथा उहाँहरूका परिवार सबैमा हार्दिक मङ्गलकामना व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशन विचार, विवेक, कल्पनाशीलता र रचनात्मकतालाई जाग्रत गराउने संस्था हो । विचारहरूलाई मन्थन गरेर गूढ तत्त्व फेला पार्ने र त्यस तत्त्वलाई मानव–कल्याणका लागि उपयोग गर्ने हाम्रो संस्कार अनुसार नै हामी आफूलाई अघि बढाऊँ । सम्भावनाका क्षेत्रहरू पहिल्याऊँ । राष्ट्रिय समाज र स्थानीय समुदायको हितमा कार्यक्रमहरू सञ्चालन गरौँ । अनि मात्र हामी शब्दयात्रा प्रकाशनको महिमालाई अझ उच्च बनाउन सक्छौँ ।
नयाँ वर्ष २०७८ ले हामीलाई आफ्नो कर्तव्य निर्वाह गरेर शब्दयात्रा प्रकाशनको गौरव र गरिमा बढाउने उत्साह, उमङ्ग, शक्ति र सामथ्र्य देओस्, यस संस्थासँग जुनसुकै रूपमा सम्बन्धित व्यक्तिमा पनि शान्ति र समृद्धि प्राप्त भएर आत्मबल सुदृढ र जीवन सुखमय बनोस्, शब्दसाधक तीर्थबाट निरन्तर सकारात्मक ऊर्जा प्रवाहित भइरहोस्, नीलकण्ठेश्वर महादेवसँग म यही प्रार्थना गर्दछु ।
शब्दसञ्चारः चैत ३१, २०७७
- Episode 53 – Shabda Sanchar 30:05

