पत्रकारिता छात्रवृत्ति प्रदान
हिरण्यकुमारी पाठकलाई पतिशोक
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट २०७७ सालमा सम्मानित व्यक्तित्व श्रीमती हिरण्यकुमारी पाठकलाई पतिशोक परेको छ । उहाँका पति अग्रज कानुन व्यवसायी तथा राजनीतिज्ञ प्रेमकृष्ण पाठकको गत माघ २३ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । शब्दयात्रा प्रकाशन परिवार गतात्माले मोक्ष प्राप्त गरोस् भन्ने कामना गर्दै श्रीमती हिरण्यकुमारी पाठकलगायत शोकाकुल परिवारजनप्रति हृदयतः सहवेदना तथा समवेदना व्यक्त गर्दछ ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा कर्मयोद्धा पदम दाहालको यात्रा
शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा यसपटक शिक्षासेवी तथा साहित्यसेवी पदम दाहालले आफ्नो शैक्षिक तथा साहित्यिक यात्राका विषयमा जानकारी गराउनुभयो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य आजीवन सदस्य लोकेन्द्र ढकालले र सभापतित्व आजीवन सदस्य पुण्यवती घलेले गर्नुभएको थियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको यस शृङ्खलामा कर्मयोद्धा पदम दाहालले आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेपछि सहभागीहरूले पदम दाहालसँग विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो भने पदम दाहालले पनि ती जिज्ञासाहरूको समाधान गरिदिनुभएको थियो । विद्युतीय माध्यमबाट भएको उक्त कार्यक्रममा बिरजा घिमिरे, जीवनाथ अधिकारी, हरिप्रसाद चौलागाई, शिव बन्जारा, डा. इन्दुल केसी आदिको उपस्थिति रहेको थियो । विभिन्न विधाका कर्मयोद्धाहरूबाट आफ्ना ज्ञान र अनुभवहरू अरूलाई हस्तान्तरण गराउन शब्दयात्रा प्रकाशनले हरेक शुक्रबार बेलुका साँझ ७ बजेदेखि यस कार्यक्रमको सञ्चालन गर्ने गरेको छ । यसअघि विभिन्न व्यक्तिहरूले यस कार्यक्रममा आफ्ना ज्ञान र अनुभवहरूको आदानप्रदान गरिसक्नुभएको छ ।
शब्दयात्रा प्रकाशनबाट ‘गीता–माली’ को तेस्रो संस्करण प्रकाशन गरिने
शब्दयात्रा प्रकाशनबाट १५ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशन गरिएको तथा काभ्रेपलान्चोक बनेपास्थित शैलेश्वर महादेव सिद्धपीठका महन्त मुक्ति शर्मा महाराजद्वारा नेपाली भाषामा काव्यानुवाद गरिएको काव्य ‘गीता–माली’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । यस पुस्तकको पहिलो संस्करण २०६९ सालको साउन महिनामा र दोस्रो संस्करण २०६९ सालको पुस महिनामा प्रकाशन गरिएको थियो । यस काव्यको तेस्रो संस्करणलाई यही फागुन महिनामा सार्वजनिक गरिने भएको छ ।
राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपीलाई कदर गरिने
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय पत्रकारद्वय राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपीलाई २०७८ सालको शब्दयात्रा कदरपत्र प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ । शब्दयात्रा कदरपत्र २०७७ सालमा मधुसूदन गुरागाईं र भगवती तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
‘अशोकचन्द्र धुँजूका लेखहरू’ सार्वजनिक
शब्दयात्रा प्रकाशनको आयोजनामा गत आइतबार २३ गते श्रीपञ्चमीका दिन ‘अशोकचन्द्र धुँजूका लेखहरू’ नामक लेखसङ्ग्रहलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काठमाडौँ विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख शेखरप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सभापति, प्रमुख अतिथि र कृतिकारले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनले पुस्तक सार्वजनिक गर्दा नेपालको मौलिक सम्पदा लोप नहोस् भन्ने उद्देश्यले थैलीमा राखिएको पुस्तकलाई थैलीबाट झिकेर सार्वजनिक गर्ने गरेको छ । सभापतिका रूपबाट हरि मञ्जुश्रीले स्वागत मन्तव्यका साथै शब्दयात्रा प्रकाशन र कार्यक्रमका विषयमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा कृतिकार अशोकचन्द्र धँुजूको परिचय गराई पुस्तकको विशेषताका बारेमा सम्पादक शिव बन्जाराले जानकारी दिनुभएको थियो भने कृतिकार अशोकचन्द्र धुँजूले मन्तव्य व्यक्त गर्नुभएको थियो । मञ्चस्थ व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य अमृत अधिकारीले माला लगाइदिएर स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले र शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथिलाई उपहार समर्पण दामोदर घिमिरेले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको कार्यक्रम विसर्जन गर्दा समीक्षाका साथ विसर्जन गर्ने प्रचलन भएकाले कार्यक्रमको समीक्षा गरी पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसीले सभा समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा कवयित्री पुण्यवती घले, लेखक पूर्णबहादुर कर्माचार्य, श्रीखण्डपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जयराम श्रेष्ठ आदिको पनि उपस्थिति थियो ।
शब्दयात्रा प्रकाशनबाट नवकविता वाचन सम्पन्न
शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्र तथा प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार सञ्चालन हुने गरेको नवकविता वाचन कार्यक्रमको सातौँ शृङ्खला ‘नारी विशेष शृङ्खला’ का रूपमा माघ २२ गते शनिबार सम्पन्न भयो । भर्चुअल रूपमा जुमका माध्यमबाट सञ्चालन भएको सातौँ शृङ्खलामा तेह्रजना कवयित्रीहरूले विविध प्रकृतिका कविता वाचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको प्रमुख आतिथ्य तथा डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो भने सुनसरीबाट कवयित्री विमला पोखरेलले वाचित कविताहरूको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कविता वाचन गर्ने कवयित्रीहरू गीता मञ्जुश्री काभ्रेपलान्चोक, टीका श्रेष्ठ खोटाङ, नवीना श्रेष्ठ ललितपुर, निर्मला श्रेष्ठ काभ्रेपलान्चोक, पुण्यवती घले काभ्रेपलान्चोक, बासमती राना थारू कञ्चनपुर, बिरजा घिमिरे काठमाडौँ, लक्ष्मी तिवारी ढकाल स्याङ्जा, लक्ष्मी बडाल काभ्रेपलान्चोक, रश्मि अधिकारी हुमागाई भक्तपुर, शर्मिला पौडेल सिन्धुपाल्चोक, सीता सुवेदी पन्थी भक्तपुर तथा सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा हुनुहुन्थ्यो । कार्यक्रममा आगामी कार्यक्रम फागुन १४ गते शनिबार हुने जानकारी दिइएको थियो ।
‘शब्दसंवाद’ मा उद्धवप्रसाद भट्टराईबाट योग र ध्यानको चर्चा
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा साप्ताहिक रूपमा जुमका माध्यमबाट सञ्चालन हुँदै आएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रममा यो साता योगगुरु उद्धवप्रसाद भट्टराईले योग र ध्यानका विषयमा प्रवचन गर्नुभयो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रवचनपछि सञ्चारकर्मी शिव बन्जारा तथा कवित्रय सुनील सापकोटा, पदम दाहाल र जीवनाथ अधिकारीले योग र ध्यानसम्बन्धी जिज्ञासा राख्नुभएको थियो भने प्रवचनमाथिको टिप्पणी डा. इन्दुल केसीले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रजापति तिमिल्सिना आजीवन सदस्य
शब्दयात्रा प्रकाशनले आख्यानकार प्रजापति तिमिल्सिनालाई शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्रदान गरेको छ । श्री तिमिल्सिनाले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवारले हर्ष व्यक्त गरेको छ र उहाँको ज्ञान र अनुभवबाट लाभान्वित हुन पाउने अपेक्षा पनि प्रकट गरेको छ । उहाँको उपन्यास ‘विधवा वासना’ लाई शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा भीमभक्तमानसिंह बस्न्यात सिर्जना सम्मान’ समर्पण गरेको थियो । कास्की जिल्लामा जन्मनुभएका उहाँको बसोवास हाल काठमाडौँमा रहेको छ ।
शब्दसञ्चारः माघ २५, २०७८
- Episode 88 – Shabda Sanchar 29:15

