शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा यो साता शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिक्षासेवी तथा लेखक लोकेन्द्र ढकालले प्रवचन गर्नुभयो । उहाँले गत साता नेपालमा पनि युवा पुस्ताका केही व्यक्तिहरूले मानेको भ्यालेन्टाइन डे र हिन्दू संस्कृतिका अन्य विषयहरूमा बोल्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम विद्युतीय माध्यममा भएको थियो । कार्यक्रममा प्रवचनमाथिको टिप्पणी कवि पदम दाहालले गर्नुभएको थियो भने अन्तरसंवादमा डा. इन्दुल केसी, शिव बन्जारा, जीवनाथ अधिकारी र सहदीप पलान्चोके सहभागी हुनुभएको थियो ।
हरि मञ्जुश्रीबाट दुई विषयमा प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले एकै हप्ताभित्र दुई फरक–फरक कार्यक्रममा दुई फरक–फरक विषयमा प्रवचन गर्नुभएको छ । उहाँले युनिभर्सिटी अफ थर्ड एजले आयोजना गरेको कार्यक्रममा व्यक्तिकेन्द्रित ग्रन्थको सम्पादनका विषयमा प्रवचन गर्नुभएको हो । त्यस बखत उहाँले सङ्कलन, संयोजन र सम्पादनमा रहेको पृथकताका विषयमा जानकारी गराउनुभएको थियो । त्यसै गरी उहाँले सनातन वैदिक विवेचना अन्तर्गत आयोजित कार्यक्रममा योगी नरहरिनाथका विषयमा प्रवचन गर्नुभएको हो । त्यस बखत उहाँले योगी नरहरिनाथबाट नेपालको ऐतिहासिक अभिलेख र सांस्कृतिक उत्थानका विषयमा गरिएको योगदानका विषयमा विशद् चर्चा गर्नुभएको थियो ।
शब्दसञ्चारः फागुन २४, २०७८
- Episode 92 – Shabda Sanchar 30:27
शब्दसञ्चारः फागुन १७, २०७८
- Episode 91 – Shabda Sanchar 31:11
शब्दसञ्चारः फागुन १०, २०७८
- Episode 90 – Shabda Sanchar 31:47
फोटो पत्रकारलाई पनि कदर गरिने
शब्दयात्रा प्रकाशनले २०७९ सालदेखि काभ्रेपलान्चोक जिल्लाका फोटो पत्रकारलाई पनि कदर गर्ने भएको छ । यसको जानकारी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको हो । अहिलेसम्म हरेक वर्ष शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय सञ्चारकर्मी दुईजनालाई कदरपत्र प्रदान गर्दै आएकोमा २०७९ सालदेखि एकजना फोटो पत्रकारसमेत थप गरेर हरेक वर्ष ३ जना पत्रकारलाई कदरपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभएको थियो । काभ्रेपलान्चोक जिल्लाका फोटो पत्रकारका लागि व्यवस्था गरिएको फोटो पत्रकारिता कदरपत्रको आर्थिक व्यवस्थापन अग्रज फोटो पत्रकार तथा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगापाल प्रधानले गर्ने हुनुभएको हो ।
काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकारलाई कदरपत्र प्रदान
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुईजना पत्रकारलाई २०७८ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । कदरपत्र पाउने पत्रकारहरू राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपी हुनुहुन्छ । उहाँहरूलाई गत फागुन ७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरिगोपाल प्रधानले उपहार र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा राजकुमार पराजुलीका विषयमा रामकृष्ण तिमल्सिनाले र ज्ञानमणि नेपाल कालोटोपीका विषयमा प्रदीप केसीले जानकारी गराउनुभएको थियो । शिक्षासेवी माधवप्रसाद आचार्यले समुद्घाटन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कदरपत्र प्राप्त गर्ने दुवै पत्रकारले पनि मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कदरपत्रको वाचन आजीवन सदस्य पुण्यवती घले र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले तथा स्वागत भाषण सञ्चालक सदस्य केदारनाथ तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन शिक्षासेवी माधवप्रसाद आचार्यले र समीक्षासहित समापन गीतिभास्कर मच्छेश्वर सापकोटाले गर्नुभएको थियो । मञ्चस्थ महानुभावहरूलाई देवीप्रसाद ढुङ्गानाले माला लगाइदिनुभएको र कार्यालय व्यवस्थापक सङ्गीता केसीले आवश्यक सामग्रीको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रमलाई शब्दयात्रा प्रकाशनका गतिविधिहरूको जानकारी गराउने हरि मञ्जुश्रीको फेसबुकबाट सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले लाइभ प्रसारण गराउनुभएको थियो ।
विकलाङ्ग छात्रवृत्ति सुजन कामीलाई प्रदान
शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ सिन्धुलीको गोलन्जोरमा जन्मिई हाल काभ्रेपलान्चोक जिल्लाको नालामा बसोवास गरेर चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विकलाङ्ग छात्र सुजन कामीलाई प्रदान गरेको छ । शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनले उक्त छात्रवृत्तिको व्यवस्था गरेको हो । त्यसका लागि भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ८ दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको नाउँमा शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत फागुन ७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सुजन कामीलाई ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ प्रदान गरिएको हो । छात्रवृत्ति वितरण गर्ने क्रममा शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति र यो छात्रवृत्ति पाउने विद्यार्थी सुजन कामीका विषयमा निर्मला श्रेष्ठले जानकारी गराउनुभएको थियो भने कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, पत्रकार हरिगोपाल प्रधानले गलबन्दी, अतिथि डा. रूपनारायण श्रेष्ठले छात्रवृत्तिको रकम आठ हजार रुपियाँ र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले छात्रवृत्तिको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । छात्रवृत्तिका व्यवस्थापक डा. रूपनारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको र शिक्षासेवी तथा लेखक लोकेन्द्र ढकालले छात्रवृत्तिको प्रमाणपत्र वाचन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो ।
शब्दसञ्चारः फागुन ०३, २०७८
- Episode 89 – Shabda Sanchar 29:01

