शब्दयात्रा प्रकाशनको आयोजनामा गत आइतबार २३ गते श्रीपञ्चमीका दिन ‘अशोकचन्द्र धुँजूका लेखहरू’ नामक लेखसङ्ग्रहलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काठमाडौँ विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख शेखरप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सभापति, प्रमुख अतिथि र कृतिकारले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनले पुस्तक सार्वजनिक गर्दा नेपालको मौलिक सम्पदा लोप नहोस् भन्ने उद्देश्यले थैलीमा राखिएको पुस्तकलाई थैलीबाट झिकेर सार्वजनिक गर्ने गरेको छ । सभापतिका रूपबाट हरि मञ्जुश्रीले स्वागत मन्तव्यका साथै शब्दयात्रा प्रकाशन र कार्यक्रमका विषयमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा कृतिकार अशोकचन्द्र धँुजूको परिचय गराई पुस्तकको विशेषताका बारेमा सम्पादक शिव बन्जाराले जानकारी दिनुभएको थियो भने कृतिकार अशोकचन्द्र धुँजूले मन्तव्य व्यक्त गर्नुभएको थियो । मञ्चस्थ व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य अमृत अधिकारीले माला लगाइदिएर स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले र शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथिलाई उपहार समर्पण दामोदर घिमिरेले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको कार्यक्रम विसर्जन गर्दा समीक्षाका साथ विसर्जन गर्ने प्रचलन भएकाले कार्यक्रमको समीक्षा गरी पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसीले सभा समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा कवयित्री पुण्यवती घले, लेखक पूर्णबहादुर कर्माचार्य, श्रीखण्डपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जयराम श्रेष्ठ आदिको पनि उपस्थिति थियो ।