शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा श्रीमती रोमिला लुम्बा थापालाई प्रदान गरेको छ । यही २०७८ साल फागुन २ गते सोमबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उहाँलाई प्रमुख अतिथिका रूपबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले छात्रवृत्तिको प्रमाणपत्र, सभापतिका रूपबाट लेखक केदारनाथ तिमल्सिनाले छात्रवृत्तिको रकम दस हजार रुपियाँ र शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोकेले गलबन्दी प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आजीवन सदस्य सकुल थापा, कार्यालय व्यवस्थापक सङ्गीता केसी आदिको उपस्थिति रहेको थियो । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ का लागि लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको हुनाले त्यही कोषको ब्याजबाट हरेक वर्ष यो छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार काभ्रेपलान्चोक जिल्लाकै छात्राले पाउने यस छात्रवृत्तिको रकम दस हजार रुपियाँ रहेको छ ।