शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काद्वारा लिखित गीतसङ्ग्रह ‘हारजीतको जिन्दगी’ लाई सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमको प्रमुख आतिथ्यमा सुभाष स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमाथि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि पदम दाहालले टिप्पणी गर्नुभएको थियो । सार्वजनिक गर्दा प्रमुख अतिथि भरत जङ्गम, प्रतिष्ठानका सम्मान संयोेजक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, अतिथि हरिकृष्ण खतिवडा, टिप्पणीकार तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पदम दाहाल र कृतिकार चन्द्रबहादुर खड्काले एकसाथ सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घलेले गर्नुभएको थियो ।
डा. भास्कर हुमागाईं सम्मानित
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. भास्कर हुमागाईं ‘सुभाष स्मृति स्वास्थ्यसेवा सम्मान, २०७८’ बाट सम्मानित हुनुभएको छ । भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमको प्रमुख आतिथ्यमा सुभाष स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उहाँलाई सम्मान गरिएको हो । सम्मानका क्रममा उहाँलाई अतिथि हरिकृष्ण खतिवडाले दोसल्ला, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य चन्द्रबहादुर खड्काले उपहार र प्रमुख अतिथि तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानपत्रको वाचन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जाराले गर्नुभएको थियो ।
भक्तपुर सम्पर्क केन्द्रका सदस्य सम्मानित
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारी प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएको छ । उहाँलाई प्रगतिशील लेखक सङ्घ भक्तपुरको पूर्वअध्यक्षका रूपमा सम्मान गरिएको हो । प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।
सहयोगीहरूलाई कदरपत्र प्रदान
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रह २०७८ साल पुस ३ गते मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिकीकरण गर्दा उक्त कार्यक्रमलाई सम्पन्न गर्नमा व्यवस्थापन र संयोजन गर्नुभएका बुद्धिकुमार घो तथा सो कार्यक्रमका स्वयम्सेवक ममता अवाल, सङ्गीता श्रेष्ठ, श्यामसुन्दरी श्रेष्ठ र चनकेशरी श्रेष्ठलाई कदरपत्र प्रदान गरेको छ । कार्यक्रमको सभापतित्व हरिबहादुर श्रेष्ठले तथा सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको उक्त कार्यक्रममा डिल्लीराम गौतमले स्वागत मन्तव्यका साथ खादा लगाइदिनुभएको थियो भने डा. इन्दुल केसीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पदम दाहालले सम्मानपत्र वाचन गरेर सुनाउनुभयो भने सुनील सापकोटाले कार्यक्रमको परिचय गराउनुभएको थियो । प्रजापति तिमिल्सिनाले गीत सुनाउनुभएको थियो ।
प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा प्रस्ताव लेखन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी यही फागुन २७ गते सञ्चालन गरियो । कुनै पनि कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक पर्ने प्रस्ताव कसरी तयार गर्ने भन्ने बारेमा डा. इन्दुल केसीले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा जीवनाथ अधिकारी, पदम दाहाल, सुनील सापकोटा, प्रजापति तिमिल्सिना, डिल्लीराम गौतम, बुद्धिकुमार घो, हरिबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । उक्त कार्यशाला गोष्ठी अत्यन्त उपयोगी रहेको तर समय छोटो भएका कारण प्रशस्त अभ्यास गर्न नसकिएकाले अर्को कार्यक्रम पनि आयोजना हुनुपर्ने सहभागीको चाहना अनुरूप निकट भविष्यमा पुनः अर्को कार्यशालाको आयोजना गरिने जानकारी कार्यक्रमका संयोजक जीवनाथ अधिकारीले गराउनुभयो । कार्यक्रमको आयोजना भक्तपुर ठिमीको आदर्श माध्यमिक विद्यालयमा गरिएको थियो ।
आजीवन सदस्यता प्रदान
शब्दयात्रा प्रकाशनले आध्यात्मिक चिन्तक तथा लेखक ढुण्डिराज पोखरेललाई आजीवन सदस्यता प्रदान गरेको छ । दोलखा जिल्लाको मालुमा जन्मनुभएका ढुण्डिराज पोखरेल हाल काठमाडौँमा बसोवास गर्नुहुन्छ । ढुण्डिराज पोखरेलले नेपाली समाजमा आध्यात्मिक तथा नैतिक जागरण गराउन विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ । उहाँ साहित्य र अध्यात्म क्षेत्रका विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ भने विभिन्न सम्मानबाट सम्मानित पनि हुनुभएको छ । शब्दयात्रा प्रकाशनले आफ्नो परिवारको नयाँ सदस्यका रूपमा उहाँलाई हार्दिक स्वागत गरेको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनले लेखक सुनील सापकोटालाई पनि आजीवन सदस्यता प्रदान गरेको छ । उहाँ ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ का आर्थिक व्यवस्थापक पनि हुनुहुन्छ । देवीप्रसाद सापकोटाको सालिक निर्माण गर्न उहाँले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग जुटाइदिनुभएको थियो । उहाँको पहिलो पुस्तक ‘स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा’ नामक जीवनीकृति शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो र त्यही पुस्तकका कारण उहाँ ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट २०७१ सालमा सम्मानित हुनुभएको थियो । ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ र ‘सावित्री चरित्र’ पुस्तकको प्रकाशन गर्नका लागिसमेत शब्दयात्रा प्रकाशनले उहाँको सहयोग प्राप्त गरेको थियो । उहाँजस्ता उदारमना सहयोगी व्यक्तित्वलाई सदस्यका रूपमा प्राप्त गरेर शब्दयात्रा प्रकाशनले गौरवको अनुभव गरेको छ ।
शब्दयात्रा प्रकाशनको घर बनाउने सहमति
शब्दयात्रा प्रकाशन र समाजसेवी सावित्री जङ्गम थापाका बीच शब्दयात्रा प्रकाशनको प्रयोजनका लागि घर निर्माण गर्ने विषयमा सहमति भएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको आग्रहमा समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनको प्रयोजनका लागि आफ्ना तर्फबाट तीन तलाको ट्रस–घर निर्माण गरिदिन मन्जुरी दिनुभएकाले घर निर्माण गर्ने सहमति भएको हो । सहमति अनुसार सावित्री जङ्गम थापाले निर्माण गरिदिने घरको भुइँतलालाई सभाकक्ष, बीचको तलालाई पुस्तकालय र अनुसन्धान कक्ष तथा माथिल्लो तलालाई शब्दयात्रा प्रकाशनको कार्यालय बनाइनेछ । अनुसन्धान कक्षको नाउँ ‘सावित्री जङ्गम थापा अनुसन्धान कक्ष’ राखिने, अनुसन्धान कक्षको व्यवस्थापन र संरक्षण गर्ने जिम्मा शब्दयात्रा प्रकाशनले लिने र बीचको तलाको नाउँ ‘सावित्री–भोला सदन’ राखिने पनि सहमति भएको छ । स्मरणीय छ शब्दयात्रा प्रकाशनका लागि समाजसेवी कृष्णमणि कुइकेलले बनेपा नगरपालिका वडा नं. ६ मा ५ आना जग्गा दान गर्नुभएको थियो । त्यही जग्गामा शब्दयात्रा प्रकाशनले विभिन्न विधाका पाँचजना प्रथम साधकका सालिकहरू स्थापना गरी बुद्धरत्न मानन्धरको सहयोगमा शब्दयात्रा स्तम्भको निर्माण पनि गरेको छ ।
साधुराम गिरीको जन्मदिवस कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको जन्मदिवस कार्यक्रम हिन्दू विधिविधानपूर्वक सम्पन्न गरिएको छ । यही फागुन १८ गते बनेपामा अवस्थित काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालयमा उहाँको जन्मदिवस मनाइएको हो । त्यस अवसरमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई जन्मदिवसको शुभकामनापत्र प्रदान गर्नुभएको थियो भने शारदाप्रसाद शर्माले रुद्राक्षको माला लगाइदिनुभएको थियो । यसै गरी काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोकेले साधुराम गिरीका विषयमा आफूले लेखेको कविता वाचन गर्नुभएको थियो । त्यसअघि साधुराम गिरीले दीप, कलश र गणेशका साथै अष्टचिरञ्जीवीको विधिवत पूजा गर्नुभएको थियो । ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अनुसन्धान समितिका संयोजक डा. इन्दुल केसी, कार्यालय व्यवस्थापक सङ्गीता केसी, चूडाप्रसाद चौलागाईं, शकुन्तला बन्जारा आदिको पनि उपस्थिति रहेको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा सम्बद्ध व्यक्तिहरूको जन्मदिवस हिन्दू विधानअनुसार मनाइदिने गरेको छ ।
भक्तपुर प्रतिभा पुरस्कार समर्पण
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा गत फागुन २१ गते शनिबार भक्तपुरको कौशलटारमा सम्पन्न विशेष कार्यक्रममा अग्रज साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रमुख अतिथिका रूपबाट प्रा. श्रीमती कोमलवदन मल्ललाई २०७८ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ को अभिवन्दनापत्र प्रदान गर्नुभयो । त्यस बखत प्रा. मल्ललाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट लगाइदिनुभएको थियो भने पुरस्कारका संस्थापक भ्रष्टविरोधी शास्त्रका प्रवर्तक भरत जङ्गमले नगद पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वलाई विशिष्ट अतिथिका रूपबाट समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाले उपहार प्रदान गर्नुभएको थियो भेन शब्दयात्रा प्रकाशन अनुसन्धान समितिका संयोजक डा. इन्दुल केसीले सभापतिका रूपबाट गलबन्दी लगाइदिनुभएको थियो । कार्यक्रममा अतिथिका रूपमा शिक्षासेवी प्रा. डा. सर्वज्ञ मल्ल र शङ्कर मानन्धर पनि उपस्थित हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमले स्वागत मन्तव्य र सदस्य जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य पदम दाहालले पुरस्कृत व्यक्तित्वका बारेमा जानकारी गराउनुभएको थियो । आजीवन सदस्य केदारनाथ तिमिल्सिना र सुनील सापकोटाले मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षको माला समर्पण, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले प्रमुख अतिथिलाई उपहार समर्पण, कार्यालय व्यवस्थापक सङ्गीता केसीले सामग्री व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रममा महालक्ष्मी राजभण्डारीले भजन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा आजीवन सदस्य प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभएको थियो भने संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कथाकार तथा शिक्षासेवी पशुपतिमान प्रधान, गायक पुष्कर जङ्गम, कवि तथा पूर्वप्रशासक हरिकृष्ण खतिवडा, समाजसेवी चन्द्रबहादुर खड्का, डा. भास्कर हुमागाईं, आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल, कवयित्री रश्मि अधिकारी, अन्वेषक लालबहादुर भुजेल, सफ्टवेयर इन्जिनियर रोशन अधिकारी, पत्रकार कृष्ण किसी आदिको उपस्थिति रहेको थियो ।
शिक्षासेवीहरूबाट शब्दसाधक तीर्थको अवलोकन
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दसाधक तीर्थमा काभ्रेपलान्चोक जिल्लाका प्रसिद्ध शिक्षासेवीहरू रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य, लोकेन्द्र ढकाल, पूर्णबहादुर कर्माचार्य, ऋषिराम दाहाल, देवीप्रसाद ढुङ्गाना आदि एकैसाथ पुग्नुभयो र नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारीको सालिकका अगाडि उभिई तस्बिर खिच्नुभयो । उहाँहरूले त्यहीँ बसेर शैक्षिक विमर्श पनि गर्नुभयो । त्यस बेला शब्दसाधक तीर्थको परिकल्पना गरी त्यसलाई कार्यरूप दिने व्यक्तिको नाताले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पनि उपस्थित हुनुहुन्थ्यो ।

