शब्दयात्रा प्रकाशन र समाजसेवी सावित्री जङ्गम थापाका बीच शब्दयात्रा प्रकाशनको प्रयोजनका लागि घर निर्माण गर्ने विषयमा सहमति भएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको आग्रहमा समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनको प्रयोजनका लागि आफ्ना तर्फबाट तीन तलाको ट्रस–घर निर्माण गरिदिन मन्जुरी दिनुभएकाले घर निर्माण गर्ने सहमति भएको हो । सहमति अनुसार सावित्री जङ्गम थापाले निर्माण गरिदिने घरको भुइँतलालाई सभाकक्ष, बीचको तलालाई पुस्तकालय र अनुसन्धान कक्ष तथा माथिल्लो तलालाई शब्दयात्रा प्रकाशनको कार्यालय बनाइनेछ । अनुसन्धान कक्षको नाउँ ‘सावित्री जङ्गम थापा अनुसन्धान कक्ष’ राखिने, अनुसन्धान कक्षको व्यवस्थापन र संरक्षण गर्ने जिम्मा शब्दयात्रा प्रकाशनले लिने र बीचको तलाको नाउँ ‘सावित्री–भोला सदन’ राखिने पनि सहमति भएको छ । स्मरणीय छ शब्दयात्रा प्रकाशनका लागि समाजसेवी कृष्णमणि कुइकेलले बनेपा नगरपालिका वडा नं. ६ मा ५ आना जग्गा दान गर्नुभएको थियो । त्यही जग्गामा शब्दयात्रा प्रकाशनले विभिन्न विधाका पाँचजना प्रथम साधकका सालिकहरू स्थापना गरी बुद्धरत्न मानन्धरको सहयोगमा शब्दयात्रा स्तम्भको निर्माण पनि गरेको छ ।