Home Blog Page 92

‘माच’ छापिने

0
लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित लेखहरूको सङ्ग्रह ‘माच’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा छापिन लागेको छ । यसअघि उहाँद्वारा लिखित जीवनीग्रन्थ ‘गोमाको फूलबारी’ पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको थियो । ‘माच’ शब्दयात्रा प्रकाशनको १ सय ७९ औँ प्रकाशनपुष्प हो । ‘माच’ प्रकाशन हुन लागेकोमा कृतिकार लोकेन्द्र ढकाललाई हार्दिक बधाई छ ।

चार सम्मानको घोषणा

0

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७९ सालको पहिलो चरणमा सम्मान गर्नुपर्ने १० विधाका सम्मानमध्ये ४ वटा सम्मानका लागि चयन गरिएको नाम उपलब्ध गराएको छ । त्यसअनुसार शब्दयात्रा होम–तोत्र शिक्षा सम्मानबाट डा. उत्तमकृष्ण कर्माचार्य (भक्तपुर), शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मानबाट प्रा. केदारनाथ श्रेष्ठ (भोजपुर), शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट लक्ष्मी खतिवडा हुमागाईं (इलाम) र शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट शारदाप्रसाद शर्मा धिताल (काभ्रेपलान्चोक) लाई सम्मानित गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन रमेश पौड्याल, निर्मलाकुमारी यगोल श्रेष्ठ, उर्मिला श्रेष्ठ भोजपुरे र गीता अधिकारीले गर्नुभएको छ । शब्दयात्रा प्रकाशनबाट विभिन्न १० विधा उल्लेख गरी ती विधाका लागि सम्मानयोग्य व्यक्तिको नाउँ र योगदानको विवरण उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरिएको थियो । त्यसपछि प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले सम्मान गर्नका लागि नाउँ चयन गरेको हो । बाँकी ६ विधाका लागि पनि छिटै नाउँ सार्वजनिक गरिनेछ । चयन समितिमा आख्यानकार प्रजापति तिमिल्सिना संयोजक तथा सहदीप पलान्चोके र वेदप्रसाद गौतम सदस्य हुनुहुन्छ ।

जून मामा र धृृतराष्ट्रको शुभकामना

0
शब्दयात्रा प्रकाशनको १ सय ७७ औँ प्रकाशनपुष्पका रूपमा ‘जून मामा’ नामक बालकवितासङ्ग्रह र १ सय ७८ औँ प्रकाशनपुष्पका रूपमा ‘धृतराष्ट्रको शुभकामना’ नामक व्यङ्ग्यकवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यी दुवै कृतिका कृतिकार हरि कोर्काली हुनुहुन्छ । हरि कोर्काली पूर्वप्रशासक हरिकृष्ण खतिवडाको साहित्यिक नाम हो । उहाँ भोजपुर जिल्लाका प्रतिभा हुनुहुन्छ । उहाँले यसअघि ‘नेपाल बन्द’ नामक कवितासङ्ग्रह प्रकाशन गराउनुभएको छ । ‘जून मामा’ मा प्रमोद प्रधानले र ‘धृतराष्ट्रको शुभकामना’ मा डा. गोविन्दराज भट्टराईले मन्तव्य लेख्नुभएको छ ।

‘मनमा नअटेका कुरा’ प्रकाशन हुने

0
सङ्खुवासभा जिल्लाका साहित्यकार लोकमान मास्केको कवितासङ्ग्रह ‘मनमा नअटेका कुरा’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुन लागेको छ । यस सङ्ग्रहमा उहाँका ७३ वटा गद्यकविता सङ्कलित छन् । यो सङ्ग्रह शब्दयात्रा प्रकाशनको १ सय ७६ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनले प्रतिवर्ष औसत १६ वटाका दरले पुस्तक प्रकाशन गर्ने गरेको छ ।

हार्दिक बधाई

0
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित समालोचना सम्मानबाट सम्मानित व्यक्तित्व दधिराज सुवेदी २०७९ सालको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार प्रदान

0

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समाजसेवी कृष्णमणि कुइँकेललाई प्रदान गरेको छ । आज २०७९ साल जेठ १४ गते बनेपामा स्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिएको हो । त्यस क्रममा चूडाप्रसाद चौलागाईंले पुरस्कारको प्रमाणपत्र वाचन तथा रुद्राक्षमाला प्रजापति तिमिल्सिनाले, उपहार साधुराम गिरीले, रकम वेदप्रसाद गौतमले, दोसल्ला हरिगोपाल प्रधानले, शब्दयात्रा पट्ट प्रकृति प्याकुरेलले र प्रमाणपत्र रामप्रसाद अधिकारीले प्रदान गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन शिक्षासेवी माधवप्रसाद आचार्यले, स्वागत भाषण लेखक दामोदर घिमिरेले र स्वस्तिवाचन लेखक केदारनाथ तिमिल्सिनाले गर्नुभएको थियो । गीतिभास्कर मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले युगल गीत गाउनुभएको उक्त कार्यक्रममा कवि पदम दाहालले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व कृष्णमणि कुइँकेलले पुरस्कारमा प्राप्त गरेको रकम शब्दयात्रा प्रकाशनको निर्माण समितिमा रहने गरी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको फेसबुकबाट सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले प्रत्यक्ष प्रसारण गराउनुभएको थियो । दस हजार रुपियाँ राशीको यस पुरस्कारको आर्थिक व्यवस्थापन पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनका दुई पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा साहित्यकार माधवप्रसाद चापागाईंद्वारा लिखित दुई साहित्यिक पुस्तक ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) तथा ‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) लाई आज २०७९ साल जेठ १४ गते शनिबार सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले एकसाथ पुस्तक सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा ‘कथा र कविता’ माथि समीक्षक शारदाप्रसाद शर्माले र ‘सङ्घर्ष र जीवन’ माथि समीक्षक लोकेन्द्र ढकालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । सञ्चारकर्मी शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी रामप्रसाद अधिकारी प्रमुख अतिथि र समाजसेवी चन्द्रबहादुर खड्का सभापति हुनुहुन्थ्यो । कृतिकार माधवप्रसाद चापागाईंको चिनारी शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य अमृत अधिकारीले गराउनुभएको थियो भने कृतिकारले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन सङ्गीता केसी र सहदीप पलान्चोकेले गर्नुभएको थियो ।

दुई पुस्तक सार्वजनिक गरिने

0
साहित्यकार माधवप्रसाद चापागाईंद्वारा लिखित एवम् शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई आगामी जेठ १४ गते शनिबार सार्वजनिक गरिने भएको छ । सार्वजनिक गर्न लागिएका कृतिहरू ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) तथा ‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) रहेका छन् । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा आयोजना गरिने विशेष कार्यक्रममा दुवै कृतिहरू सार्वजनिक गरिनेछन् ।

हरि मञ्जुश्रीले सम्पादन गरेको १०१ औँ पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गरेको १०१ औँ पुस्तक यही २०७९ साल जेठ ८ गते आइतबार सार्वजनिक गरियो । पुस्तकको नाउँ ‘नेपालमा मस्टो परम्परा’ हो । यसको प्रकाशन काठमाडौँ विश्वविद्यालय अन्तर्गतको संस्था हिमालय एसियाली अध्ययन केन्द्र (हिकास) ले गरेको हो । यसमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शुभकामना र हिकासका कार्यकारी निर्देशक प्रा. डा. सागरराज शर्माले प्रकाशकीय लेख्नुभएको छ । डा. सत्यमोहन जोशीको प्रेरणाबाट सुरुमा जीवनचन्द्र कोइरालाले यस पुस्तकको सम्पादन गर्न थाल्नुभएको थियो । करिब १३० पृष्ठ सामग्री पुगेपछि उहाँको देहावसान भयो । त्यसपछि डा. सत्यमोहन जोशीले पुस्तकको बाँकी सम्पादन गर्न हरि मञ्जुश्रीलाई जिम्मा दिनुभयो र उहाँले सम्पादन गर्नुभयो । पुस्तक ३१२ पृष्ठको छ । यो पुस्तक प्रमुख अतिथिका रूपबाट काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले सार्वजनिक गरिदिनुभयो । प्रकाशक हिकासका तर्फबाट सञ्चालक सदस्य मुकुन्दप्रसाद उपाध्यायले उक्त पुस्तक डा. सत्यमोहन जोशीमा समर्पण गर्नुभयो । पुस्तकमाथि डा. प्रयागराज शर्माले टिप्पणी गर्नुभयो । प्रा. सुरेशराज चालिसेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा किरण थापाले स्वागत भाषण गर्नुभयो । कार्यक्रममा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी र सुन्दरराज चालिसे सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठानका तर्फबाट डा. सत्यमोहन जोशीमा अभिवन्दनापत्र समर्पण गरियो । कार्यक्रमको सञ्चालन हरि मञ्जुश्रीले गर्नुभएको थियो । उक्त कार्यक्रम वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०३ औँ जन्मदिवसको सन्दर्भ पारी ललितपुरस्थित लोकसाहित्य परिषदको सभाकक्षमा आयोजना गरिएको थियो । यो पुस्तकसमेत हरि मञ्जुश्रीले सम्पादन गरेका १०१, लेखेका ३२ र अनुवाद गरेको १ गरी उहाँका पुस्तकको सङ्ख्या १३४ पुगेको छ ।

बेलप्रसाद श्रेष्ठको नाउँमा पनि सम्मान

0
अग्रज समाजसेवी तथा लेखक बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनको सम्मान कोषमा एक लाख पन्ध्र हजार रुपियाँ र यस वर्षको सम्मानका लागि थप दस हजार रुपियाँ गरी जम्मा एक लाख पच्चीस हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । त्यसैले कोषको अभावमा अनियमित भइरहेको दानशीलता सम्मान यसै वर्षदेखि ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ नाउँले यही कोषबाट नियमित रूपमा हरेक वर्ष समर्पण गर्न सकिने भएको छ । शब्दयात्रा प्रकाशनका तर्फबाट गरिएको आग्रह स्वीकार गरी सम्मानको निरन्तरताका लागि रकम प्रदान गर्नुभएकोमा बेलप्रसाद श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।