शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समाजसेवी कृष्णमणि कुइँकेललाई प्रदान गरेको छ । आज २०७९ साल जेठ १४ गते बनेपामा स्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिएको हो । त्यस क्रममा चूडाप्रसाद चौलागाईंले पुरस्कारको प्रमाणपत्र वाचन तथा रुद्राक्षमाला प्रजापति तिमिल्सिनाले, उपहार साधुराम गिरीले, रकम वेदप्रसाद गौतमले, दोसल्ला हरिगोपाल प्रधानले, शब्दयात्रा पट्ट प्रकृति प्याकुरेलले र प्रमाणपत्र रामप्रसाद अधिकारीले प्रदान गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन शिक्षासेवी माधवप्रसाद आचार्यले, स्वागत भाषण लेखक दामोदर घिमिरेले र स्वस्तिवाचन लेखक केदारनाथ तिमिल्सिनाले गर्नुभएको थियो । गीतिभास्कर मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले युगल गीत गाउनुभएको उक्त कार्यक्रममा कवि पदम दाहालले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व कृष्णमणि कुइँकेलले पुरस्कारमा प्राप्त गरेको रकम शब्दयात्रा प्रकाशनको निर्माण समितिमा रहने गरी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको फेसबुकबाट सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले प्रत्यक्ष प्रसारण गराउनुभएको थियो । दस हजार रुपियाँ राशीको यस पुरस्कारको आर्थिक व्यवस्थापन पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।