Home Blog Page 84

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा धारावाहिक रूपमा प्रकाशित दसवटा लेखहरूको सङ्ग्रह हो । बिक्रीबाट आएको रकम ‘शब्दसंवाद’ को कोषमा रहने गरी प्रकाशित यस सङ्ग्रहका लेखहरू निजनाम, महामतिको प्रकटवाणी, निजानन्द र रासलीला, चौंसट्ठी विद्या, श्रीकृष्णजी र ब्रह्मलीला, निजानन्द स्वामीको स्वर्णमूर्ति, यु–ट्युबमा तारतमसागर जस्ता विषयमा छन् ।

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठलाई लिएर ‘घटना र विचार साप्ताहिक’ को ‘प्रेरक व्यक्तित्व’ स्तम्भमा पत्रकार जयप्रकाश त्रिपाठीले लेख्नुभएको ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ लेख अनलाइन संस्करणमा थुप्रै पाठकहरूले पढेको र मन पराएको देखिएको हुँदा त्यही लेखलाई पुस्तिकाका रूपमा प्रकाशन गरिएको हो । अढाई लाखजतिले अनलाइनमा यो लेख पढिसकेका छन् । यसबाट नै यस लेखको आकर्षण र बढिरहेका पाठकसङ्ख्याका विषयमा थाहा पाउन सकिन्छ ।

नागा बाबा रमेश गिरि

नागा बाबा रमेश गिरि

हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ काभ्रेको बनेपास्थित शैलेश्वर, धनेश्वर र विकटेश्वर, बुटवलको पर्रोहा तथा सिन्धुलीको कुशेश्वरमा बसी ती–ती ठाउँका धार्मिक स्थलहरूमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरेर विकासप्रेमी धार्मिक व्यक्तित्वका रूपमा चिनिनुभएका र आध्यात्मिक क्षेत्रमा पनि अत्यन्त सम्मान्य व्यक्तित्व बनाउनुभएका नागा बाबा रमेश गिरिका विषयमा विभिन्न लेखकहरूले लेखेका संस्मरणात्मक लेखहरूसमेत सङ्ग्रह गरिएको स्मृतिग्रन्थ हो । यसको छुट्टै विशेषता रहेको छ ।

जागनीबोध

जागनीबोध

हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को संयुक्त सम्पादनमा प्रकाशित ‘जागनीबोध’ श्रीकृष्णप्रणामी दर्शनलाई केन्द्रमा राखेर नेपाल र भारतका विशिष्ट विद्वान्हरूद्वारा लेखिएका लेखहरूको सङ्ग्रह हो । यसमा श्रीकृष्णप्रणामी सम्प्रदायको परिचय, हिन्दूधार्मिक परिवेशमा त्यसको स्थान, त्यसले धार्मिक विद्वेषलाई न्यूनीकरण गर्नमा पु¥याएको योगदान, त्यस दर्शनको शाश्वतता, औचित्य र उपादेयता, धर्मसमन्वयका लागि त्यसबाट भएको उद्घोष, सर्वधर्मसमभावका लागि त्यसको देन र बदलिँदो विश्वपरिवेशमा त्यसको सामयिकता आदि विषयवस्तु समेटिएका छन् ।

रचनापछिका विवेचना

रचनापछिका विवेचना

‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका अन्य पुस्तकहरू पनि वाङ्मयिक बजारमा आउन सक्छन् । त्यसो भयो भने यसका सम्पादक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को नामबाट अर्को इतिहास थपिने सम्भावना हुन्छ । जीवनको सातौँ दशकमा पत्नीपीडाबाट पीडित बनेको अवस्थामा पनि आत्मबल घट्न नदिई ‘रचनापछिका विवेचना’ पुस्तकमार्फत वाङ्मयसेवाका लागि आफूलाई समर्पित तुल्याउनु सम्पादकको अत्यन्त प्रेरणादायी विषय हो ।

अग्निजल

अग्निजल

अग्नि सामथ्र्यवान्, जल पनि सामथ्र्यवान् । दुवैको सामथ्र्य एकीकृत गर्ने अगस्त्य–प्रयत्न हो अग्निजल । जलबाट अग्नि प्रज्ज्वलित हुने र अग्निबाट जल प्रवाहित हुने विरोधाभासी बिम्ब हुन्छ अग्निजल । मानव–जीवन अग्निजलकै प्रतीक हो । मीरा पौड्यालले देखेको ‘अग्निजल’ उनैले लेखेको कवितासङ्ग्रहको नाउँ पनि हो । १२३ वटा कविताको यस सङ्ग्रहमा छन् धेरै कविता थोरै हरफका, थोरै कविता केही बढी हरफका । यसभित्रका कविता तीन प्रकारका छन् — उत्तम अर्थात् भावसामथ्र्यमा बलिया, मध्यम अर्थात् शब्दसामथ्र्यमा साधारण र निम्न अर्थात् शिल्पसामथ्र्यमा कमजोर । कमजोर कविता कम, साधारण कविता तीभन्दा बढी र बलिया कविता तीभन्दा पनि बढी छन् ।

हामी अब गर्छौं

हामी अब गर्छौं

गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो । आयाममा लघु भए पनि यसको विषयवस्तु विस्तृत छ र विचारका दृष्टिले यो प्रभावकारी पनि छ । यो पुस्तक पाठकले पढेपछि ऊ मुलुकप्रतिको प्रेमले निथ्रुक्क भिज्छ र उसको मनमा यसले ‘हामी अब गर्छौं’ भन्ने खालको सकारात्मक ऊर्जा तरङ्गित गराइदिन्छ । यो नै यस कृतिको शक्तिवत्ता हो ।

मेरो दुःखी जीवन

मेरो दुःखी जीवन

अक्षर बुझ्न कठिन थियो । शब्द खुट्याउन गाह«ो थियो । लेखाइको सिलसिला मिलेको थिएन । त्यसैले विषयवस्तु र भाषाशैलीको कुरा गर्नै परेन । बल्लतल्ल अक्षराङ्कनसम्म गराइयो र पुस्तक छपाइयो । यस पुस्तकभित्र साहित्यिक पुस्तकमा खोजिने तàवहरू पाइँदैनन् । यसभित्रका कतिपय प्रसङ्गहरू त बुझ्नका लागि पनि पाठकलाई हम्मेहम्मे पर्छ । यसो हुनुको कारण नै कुलबहादुर बन्जाराको सीमित क्षमता हो । विद्यालय नगएको र पढ्न नपाएको मान्छेले यति लेख्नु र छपाउन आँट गर्नु नै पढेलेखेका मान्छेका लागि ठूलो हाँक हो भन्ने सम्झेर यस पुस्तकलाई हातमा लिइदिए त्यही नै ठूलो कुरा हुनेछ । कुलबहादुर बन्जाराको अक्षरप्रतिको प्रेम देखेरै शब्दयात्रा प्रकाशनले यस पुस्तकको प्रकाशन गरिदिएको हो । साहित्यिक श्रीवृद्धिका लागि त अरू–अरू पुस्तक प्रकाशनमा ल्याइएकै छ ।

भग्नावशेष

भग्नावशेष

सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने दृष्टिकोण, शिक्षा आर्जन गर्नका लागि गर्नुपर्ने सङ्घर्ष, २०७२ साल वैशाख १२ र २९ गतेको महाभूकम्पले पु¥याएको जनधनको क्षति, सौतामाथिको प्रेम, पारिवारिक विवाद र मिलाप, हिन्दूसंस्कारप्रतिका आ–आफ्नै व्याख्या, सामाजिक द्वन्द्व र आपसी सहयोग आदिजस्ता सन्दर्भहरू यसमा गाँसिएका छन् । अघिल्ला कृतिहरूको तुलनामा यस कृतिमा विषय–सन्दर्भलाई प्रस्तुत गर्ने क्रममा विभिन्न प्रकारका विचलनहरूलाई न्यून गर्नमा कम ध्यान दिइएको आभास भए तापनि पाठकलाई उपन्यास पढ्दा घटनासँगसँगै आफू पनि त्यहाँ समावेश भइरहेको अनुभव हुन्छ ।

फालिकोटको फाली

फालिकोटको फाली

भोजपुरको ‘फालिकोट’ ज्ञानेन्द्रराज भट्टराईको जन्मस्थल हो भने हलोमा राखिने ‘फाली’ उनको जीवनको बिम्ब । यस कृतिमा ‘फाली’ कृतिकारको चारित्रिक कमजोरी र सबलताको चिह्न, उनको सेवाक्षेत्रको विशेषता र योगदानको पहिचान अनि पारिवारिक जीवन र जीविकाको प्रतीक बनेको छ । ‘फालिकोटको फाली’ ले नेपालको न्यूनवित्तीय ग्रामीण जीवन भोगेको र परिस्थितिको भुमरीभित्र फनफनी घुमेको एउटा जीवनको सग्लो चित्र उतारेको छ । यसले विद्रोही चेतना भएर पनि अन्तर्मुखी स्वभाव, पारिवारिक परिवेश, कर्मक्षेत्रभित्रको दुर्दान्तता र देशको राजनीतिक परिस्थिति, प्रशासनिक उत्पीडन र सामाजिक मनोवृत्तिका कारण निरीह बन्न पुगेको एउटा शिक्षित नागरिकको जीवनलाई प्रस्तुत गरेको छ । कृतिकारको स्मरणवृत्तान्तका रूपमा प्रस्तुत भएको यस कृतिले थुप्रै ऐतिहासिक प्रसङ्गहरूलाई पनि राम्ररी प्रस्तुत गरेको छ ।